यशाेदा कार्की--
म अहिले अष्ट्रेलियामा छु । यहाँ रहँदा मेरो मन नेपालमा छ । अनि, नेपालमा उठ्ने विभिन्न प्रश्नले पनि म घेरिएकी हुन्छु ।
अष्ट्रेलियामा काम पाइँदैन रे । नेपालीको विजोग छ रे । काम नपाएर स्टेसनमा रात बिताउनुपर्छ रे । काम पायो भने पनि भाँडा माज्ने काम मात्र पाउँछ रे । त्यस्तो ठाउँमा कसरी बस्न सकेको भन्दै प्रश्न गर्ने गरिएको सुनिन्छ । अनि, अष्ट्रेलियामा पैसा फालाफाल छ भन्नेहरु पनि नेपालमा धेरै नै छन् ।
म अष्ट्रेलिया आएको १९ महिनाको अवधीमा यस्ता अनेक प्रश्न र टिप्पणीहरुको मैले सामना गरेकी छु ।
अष्ट्रेलियामा ५० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनरत छन् । ती ५० हजार मध्ये म पनि एक हूँ । माथि उल्लेख गरे अनुसार कै काम गरिरहेका छन् त नेपाली विद्यार्थीले ? माथि चर्चा गरिएकै जस्तो अवस्था नेपाली विद्यार्थीले अष्ट्रेलियामा भोगिरहेका छन् त ?
नेपालमा सतही ज्ञानका आधारमा जे टिप्पणी गरिन्छ अनि त्यस्ता सतही टिप्पणीका आधारमा जे प्रश्न सिर्जना गरिन्छ त्यसमा सत्यको अंश थोरै मात्र हुन्छ ।
फरक छ अष्ट्रेलिया
अहिले हामी जे देखिरहका छौं र जे सुनिरहेका छौं त्यो विल्कुलै अष्ट्रेलिया हैन । अष्ट्रेलियामा कुनै किसिमको दुःख छैन अथवा धेरै नै सुख छ भन्न खोजेकी कदापि होइन । मैले यो १९ महिनामा जे देखें र देखिरहेकी छु, त्यसलाई अक्षरमा उतार्न यो लेखमा प्रयास गरेकी छु ।
आफ्नै नियम, कानुनमा चलेको देश हो अष्ट्रेलिया । जहाँ झुट र कपटलाइ ठाँउ छैन । नियममा वाँधिएर बस्ने मानिसलाई सजिलो छ अष्ट्रेलिया, नियम कानुन र अनुशासनमा नबस्नेलाई कठिन छ अष्ट्रेलिया । नियम कानुनको अवहेलना कसैलाई पनि पटक्कै नछाड्ने देश हो अष्ट्रेलिया । पढ्नका लागि भनेर अष्ट्रेलिया आएका अधिकांश विद्यार्थीको सपना पैसा कमाउने नै हुन्छ । नहोस पनि किन ? नेपालबाट नै ऋण बोकेर आएका हुन्छन् अष्ट्रेलिया आउने युवा विद्यार्थीहरु । पैसा कमाउनु, कुनै विषयमा डिग्री लिनु, उज्जवल भविष्यको सपना देख्नु, खुल्ला आकासमा उड्नु, स्वतन्त्र भएर बाँच्नु जस्ता सपना सबैले देख्छन् । यस्तैयस्तै सपना देखेर अष्ट्रेलियाको क्रेज नेपालमा बढिरहेको बुझ्न गाह्रो छैन ।
अष्ट्रेलिया आएपछि
अष्ट्रेलिया आएपछि धेरै आशा अनि अलिकति डर र उत्साहका साथ बित्नेछ तपाईंको एक महिना जति समय । जसले धेरै सपना देखेको हुन्छ, उसले केही ठक्कर पनि खान्छ । सपना दिन प्रतिदिन घट्दै जान पनि सक्छ ।
तपाईंले पहिले देखि चिनेको मानिस अष्ट्रेलियामा छ भने तपाईं सुरक्षित महशुस गर्न सक्नुहुन्छ । गुगल सर्च गरेर राम्रो भन्दा राम्रो वायोडाटा बनाउने अनि विभिन्न साइटहरुमा रोजगार खोज्दाखोज्दै तपाईंको दुई महिना त्यतिकै बित्न सक्छ ।
तपाईंले काम अवश्य पाउनु हुनेछ । तर रेफरेन्स छ भने सहज हुनेछ । अष्ट्रेलियामा आफैंले सबै काम व्यवस्थापन गर्नुपर्छ, कठिनाइ धेरै आउन सक्छ । यतिसम्म कि नेपालबाट नै खर्च मगाउनुपर्ने पनि हुनसक्छ । तसर्थ आउनु अगाडी तपाईंले हरेक कोणबाट अष्ट्रेलियालाई बुझ्नुपर्ने हुन्छ ।
केही गर्छु भन्ने भाव र क्षमता तपाईंसँग छ भने केही समस्या छैन । ढुक्क हुनुस्, उपयुक्त ठाँउ पाउन सक्नुहुन्छ । अष्ट्रेलियामा पलपलमा धेरै चुनौती आउन सक्छ, ती चुनौतीलाई अवसरमा रुपान्तरण गर्दै अगाडी बढ्नुस्, अष्ट्रेलिया बसाई उपलब्धीमूलक हुनेछ ।
नेपालीलाई अष्ट्रेलियामा बैङक, वित्तीय संस्था, चार्टर एकाउन्टेन्ट, अडिटर्स, रियल स्टेट, आईटी, अध्यापक, डाक्टरदेखि वैज्ञानिक तथा अनुसन्धानकर्तासंम्मको अवस्थामा देख्न सकिन्छ । कतिपयले आफ्नै व्यापार व्यवसाय गरेर राम्रो नाम र दाम कमाएका पनि छन् ।
सजग बन्नुहोस्
होस गर्नुस्, अष्ट्रेलिया आफ्नो समय, काम र अध्ययनलाई व्यवस्थापन गर्न नसक्दा डिप्रेसनमा जान पनि सक्नुहुन्छ । यहाँ धेरै विद्यार्थीले तनाव व्यावस्थापन गर्न नसकेको अवस्था पनि देख्न सकिन्छ ।
अष्ट्रेलिया आउँदा धेरै सपना अझ भनौं ठूलाठूला सपना देखेका हुन्छौं । त्यस्ता सपनाले यहाँ धेरै दुःख दिन सक्छ । त्यसैले यथार्थको धरातलमा उभिनुस्, आफ्नो सीमा र सम्भावनालाई बुझ्नुस् । नेपालमै सपना नदेख्नुस्, अष्ट्रेलियाको धरतीमा आफूलाई उभ्याएर, यहाँको समाजलाई बुझेर, यहाँको शासनप्रशासन अनि कार्यशैली थाहा पाएर अनि यहाँका चुनौती बुझेर मात्र सपना देख्नुस् ।
पैसामात्र कमाउने सोंच राखेर अष्ट्रेलिया आउन खोज्दै हुनुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ । सबैभन्दा धेरै पढाईमा ध्यान दिन्छु, हरेक पल अनि जिन्दगीमा आफ्नै बलबुँतामा केही गर्छु भन्ने सोंचेर आउनुहोस् । अष्ट्रेलियालाई आफ्नो देश बनाउँछु भनेर नआउनुस्, पढाई र कर्म थलो बनाउँछु भनेर आउनुहोस् ।
के कुरामा प्रष्ट हुनुस् भने आफ्नो देशभन्दा प्यारो केही हुँदैन, आफ्नो समाजभन्दा प्यारो केही हुँदैन, आफ्नो परिवार नाताकुटुम्ब र साथीसंगी नै जीवनका आधार हुन् । ती आधारसँग नाता टुटाउँछु भन्ने सोंचेर अष्ट्रेलिया नआउनुस् । पछि नेपाल नै फर्कन्छु, आफ्नै मातृभूमि फर्किएर केही गर्न सक्ने सीप, आत्मबल र विश्वास बोकेर फर्कने गरी अष्ट्रेलिया आउनुहोस् । आफ्नो चाहना र अनुभवको विषयमा विद्यावारिधी गर्छु भनेर आउनुहोस् । अष्ट्रेलियामा अवसर नै अवसर छ, चुनौती नै चुनौती छ । चुनौती सामना नगरी अवसर पाउन सक्नुहुन्न । अष्ट्रेलियाले हामीलाई दिन पनि जानेको छ र हामीबाट लिन पनि जानेको छ ।
