विश्वकै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शन लगायत ज्ञान विज्ञानको उद्गम भूमिको गौरव प्राप्त हाम्रो देश नेपाललाई यहाँ विद्यमान भौगाेलिक र प्राकृतिक विविधता एवम् बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशिष्टताले महिमामण्डित तुल्याउँदै आएका छन् ।
नेपालको पूर्वी भागको कौशिकी, मध्य भागको गण्डकी र पश्चिमी भागको कर्णाली प्रस्रवण क्षेत्रमा विकसित सभ्यता र ज्ञान विज्ञानका परम्पराहरूले आज पनि समाजलाई आलोकित गराइरहेकै छन् । यही हिमाली राष्ट्रमा हाम्रा प्राचीन महर्षि, ऋषि र मुनिहरूले दीर्घ तपस्या र साधना गरेर प्रवर्तन गरेका दार्शनिक चिन्तनहरू आज पनि विश्वका लागि त्यत्तिकै मार्गदर्शक र उपयोगी छन् ।
समानता, स्वतन्त्रता, मानवता, भ्रातृता, विश्वबन्धुत्व, सद्भावपूर्ण सहअस्तित्व, शान्ति, समृद्धि र सुखको स्पष्ट मार्गचित्र कोर्न समर्थ यी चिन्तनहरूसँग वर्तमान पुस्तालाई समेत परिचित गराउनु आवश्यक छ ।
सङ्गच्छध्वं (सँगै जाऔँ), संवदध्वं (सँगै बोलौँ, राम्रो बोलौँ), सं वो मनांसि जानताम् (सँगै एकअर्काको मन बुझौँ), सह नौ भुनक्तु (सँगै खाऔँ), सह नाववतु (सँगै एकअर्काको रक्षा गरौँ), सह वीर्यं करवावहै (सँगै वीरता वा पौरख प्रदर्शन गरौँ), मित्रस्य चक्षुषा समीक्षे, मित्रस्य चक्षुषा समीक्ष्यन्ताम् (म मित्रका आँखाले हेर्छु, तपाईंहरू पनि मित्रकै आँखाले हेर्नुहोस्) भन्ने जस्ता उपनिषद्का चिन्तनहरू एवम् सिद्धार्थ गौतमले सङ्घ, धर्म र बुद्धको शरणमा जान अनि सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् ज्ञान, सम्यक् शील आदिको अनुसरण गर्न व्यक्त गरेका विचारहरू मानवीय मूल्यवत्ताका दृष्टिले सर्वाधिक शक्तिशाली छन् भन्ने मलाई लाग्छ । यी पौरस्त्य ज्ञानसम्पत्तिका केही उदाहरणहरू मात्र हुन् ।
यहाँ ज्ञान विज्ञानको अपार भण्डार नै छ । ज्ञानको महत्व बुझेर नै गीतामा ‘नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते’ अर्थात् यस संसारमा ज्ञानजत्तिको पवित्र वस्तु अरू कुनै छैन भनिएको हो । यस्तो ज्ञानलाई बुझ्न र यसको मीमांसा गर्न पनि मान्छेमा अन्तःप्रज्ञा हुनुपर्दछ । यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् अर्थात् जुन व्यक्तिमा स्वयम् प्रज्ञा छैन, शास्त्रले त्यसलाई के नै पो गरिदिन सक्छ र ? यो त्यसै भनिएको होइन । त्यसैले मानवीय अन्तःप्रज्ञालाई जागृत गराउँदै त्यसैका माध्यमबाट घर, छिमेक, समाज, राष्ट्र र विश्वलाई नै सत् मार्गमा हिँडाउन सक्ने प्राज्ञिक सामथ्र्यमा नै प्रज्ञा–प्रतिष्ठान जस्ता संस्थाहरूको प्रतिष्ठा र गौरव निर्भर रहन्छ भन्ने म ठान्छु ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले कानुनतः निर्धारित भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता विषय क्षेत्रसँग सम्बन्धित विभिन्न विधाहरूको अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला र प्रकाशनका माध्यमबाट राष्ट्रका प्राज्ञिक आकाङ्क्षाहरूलाई परिपूर्ति गरिरहेको र आफ्नो प्राज्ञिक प्रतिष्ठालाई पनि उच्च तुल्याइरहेकामा हार्दिक प्रसन्नता व्यक्त गर्दछु ।
यस प्रज्ञा–प्रतिष्ठानले हाम्रा प्राचीनतम ज्ञान विज्ञानका मानवीय हितसँग सम्बद्ध पक्षहरू र विविधतायुक्त नेपाली समाजका सांस्कृतिक, भाषिक, दार्शनिक, साहित्यिक आदि विशेषताहरूको थप खोज अनुसन्धान र प्रकाशन गरी अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका माध्यमबाट तीनलाई विश्वव्यापी बनाउन र विश्वका समकालीन प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली प्राज्ञिक जगत्लाई अद्यावधिक गराइराख्न चालिएका प्रयत्नहरूलाई अझै प्रभावकारी बनाउनुपर्दछ ।
हरेक व्यक्ति वा प्रतिभाका लागि स्वतन्त्रता र अवसर सुनिश्चित गर्न हामीले दशकौंको त्याग र वलिदानबाट स्थापना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रअनुकूल मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न यस प्रतिष्ठानको प्राज्ञिक पहल र अग्रसरताको सारा राष्ट्रले अपेक्षा गरेको छ ।
सङ्घीय संरचनाअनुसार वर्तमान सातओटा प्रदेशको र समग्र देशकै अद्यावधिक इतिहास लेखिनु आवश्यक भइसकेको छ । यसतर्फ समेत प्रतिष्ठानको ध्यान गएकै छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अवलम्बन गर्ने यस्ता प्राज्ञिक महत्वका नीति, योजना र कार्यक्रमहरूलाई सम्पादन गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउँछु ।
प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा चाहना हुँदाहुँदै पनि कारणवश उपस्थित हुन नसकेको अवगत गराउँछु । सम्पूर्ण प्राज्ञ लेखक, साहित्यकारहरूको हित र उन्नति चिताउँदै नेपाल प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञ सभाको पूर्ण सफलताको कामना गर्दछु ।
(नेपाल प्रज्ञा प्रतिष्ठानको ३४औं प्राज्ञ सभामा उपस्थित हुन नपाएपछि प्रधानमन्त्री ओलीले कुलपति तथा प्राज्ञ सभाका अध्यक्ष गंगाप्रसाद उप्रेतीलाई पठाएकाे लिखित सन्देश)
