अनुपम शर्मिला--
चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा देख्दा गर्वले छाती फुल्छ, श्रद्धाले शिर निहुरिन्छ भने तपाईं सच्चा नेपाली हो । नेपाल र नेपालीको गरिमा र गौरव हो राष्ट्रिय झण्डा । देशको शान, मान र इमान हो । नेपाली ज्ञान, विज्ञान, कला, संस्कृति, समृद्धि र एकताको परिचायक हो । यो झण्डाले नेपालको प्राचीताको परिचय दिन्छ, नेपाल र नेपालीको महानता झल्काउँछ ।
चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा देख्नासाथ विश्वमा जहाँ र जुन देशमा पनि नेपालीले गर्ववोध गर्छन् । त्यसैले जहाँजहाँ नेपाली छन् त्यहाँ चन्द्रसूर्य अंकित झण्डा छ । विश्वको सर्वाधिक प्राचीन झण्डा नेपालकै हो । विश्वमा सबैभन्दा फरक रंग, आकार र प्रकारको झण्डा नेपालकै हो । विश्वको सबैभन्दा सुन्दर झण्डा नेपालकै हो । विश्वको सबैभन्दा प्रतिकात्मक झण्डा नेपालकै हो । यति विलक्षण झण्डाको सम्मान गर्न, यसको गौरव र कीर्ति अझ बढाउन कुनै दिवससँग झण्डालाई गास्न आवश्यक थियो । यो वर्षबाट त्यो काम सुरु भएको छ ।
सरकारले संविधान दिवसलाई राष्टिय दिवसका रुपमा समेत मनाउने निर्णय गरेको छ । र, यो दिवस झण्डामय हुने भएको छ । सरकारले घरघरमा झण्डा फहराएर राष्ट्रिय दिवस तथा झण्डा दिवस मनाउन भनेको छ । अर्काे अर्थमा भन्ने हो भने ३ असोजमा नेपालले झण्डा दिवस पनि मनाउँदै छ ।
संविधान दिवस भनेको राष्ट्रिय दिवस हो । र, यो दिवस भनेको झण्डा दिवस हो ।
यो वर्षको संविधान दिवसको नारा नै ‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराऔँ’ भन्ने तय गरिएको छ ।
एकताको प्रतीक राष्ट्रिय झण्डालाई केन्द्रविन्दुमा राखेर संविधान तथा राष्ट्रिय दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राखेर दिवस मनाउने सरकारको घोषणा वास्तवमै सराहनीय छ । यो एउटा स्वर्णिम निर्णय हो । ऐतिहासिक निर्णय हो । सगरमाथा र गौतम बुद्धको देश भनेर विश्वमाझ परिचित नेपाललाई चन्द्रसूर्यको देश भनेर चिनाउन पनि राष्ट्रिय दिवस महत्वूर्ण हुनेछ । झण्डालाई केन्द्र बनाएर मनाइन लागेको दिवसले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न पनि ठूलो योगदान गर्नेछ । सरकारले राष्ट्रिय दिवस घोषणा गर्ने अनि झण्डालाई केन्द्र्रमा राख्ने निर्णय गरेपछि केहीले केही मानिसले नबुझेर नकारात्मक टिप्पणी पनि गरेको पाइन्छ । झण्डा दिवस भन्नु स्वतन्त्रता दिवस भने जस्तै हो भन्ने उनीहरुको भनाई छ । यो एकदमै गलत हो ।
विश्वको सबैभन्दा महान झण्डा नेपालको हुनु हरेक नेपालीका लागि गर्वको कुरा हो । यति महान झण्डालाई केन्द्रमा राखेर दिवस मनाउनु नराम्रो होइन । अति राम्रो हो । महान काम हो । सरकारी स्तरमा राष्ट्रिय झण्डाको सर्वोच्चता झल्कने गरी झण्डालाई अग्रपंक्तिमा राखेर दिवस मनाउने कामको थालनी ऐतिहासिक छ ।
विगतमा राष्ट्रिय झण्डालाई सीमित गरिएको थियो । राष्ट्रिय झण्डालाई जनताको बनाइएन । सरकारी कार्यालय र सरकारी प्रयोजनमा मात्र सीमित राखिन्थ्यो । तर, अब हरेक नेपाली नागरिकले राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न पाउने भएका छन् । सरकारले राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी कार्यविधि संशोधन गरेर नेपालको राष्ट्रिय झण्डालाई घरघरमा पुराउने बाटो खोलेको हो ।
अब नागरिकको घरमा, गैरसरकारी संंस्थाको कार्यालय र सवारी सधानमा समेत सम्मानपूर्वक राष्ट्रिय झण्डा राख्न पाउने अनुमति दिइएको छ । त्यतिमात्र होइन नागरिकले राष्ट्रिय झण्डा अंकित टिसर्ट समेत लगाउन सक्छन् ।
कुनै पनि औपचारिक कार्यक्रमहरू सञ्चालन गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्ने सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, (प्रथम संशोधनसमेत) २०६९ मा व्यवस्था छ ।
यो झण्डाको पछिल्लो परिमार्जन शंकरनाथ रिमालले गरेका हुन् । तर, नेपाली झण्डाको इतिहास हजारौं वर्षको गर्भमा छुपेको छ । यो झण्डा कोही एकजनाले तयार पारेका होइनन्, नेपाली जनका हजारौं पुस्ताले निरन्तर–निरन्तरको संस्कार र परिमार्जनले यो राष्ट्रिय झण्डा बनेको हो । यो झण्डा दैवी हो । यो झण्डा इश्वरीय हो । यो झण्डाको सम्मान र स्वाभिमानका लागि हजारौं हजारौं नेपालीले आफूलाई बलिवेदीमा चढाएका छन् ।
चन्द्रसूर्य अंकित झण्डामा गर्व गरौं, यो झण्डालाई शान्ति र समृद्धिको प्रतिक बनाऔं । यो झण्डालाई मानवताको सर्वाेच्च प्रतिक बनाऔं ।
हाम्रो झण्डा जिन्दावाद ।
