भगवती न्याैपाने --
नेपालको अविकास र गरिबीका अनेक कारण छन् । मुख्य कारण तीनवटा छन् । पहिलो हो– राजनीतिक स्थिरता र सही राजनीतिक प्रणाली नहुनु । दोस्रो हो– स्पष्ट नीति तथा योजना नहुनु र योजनालाई मद्दत पुग्ने कार्यक्रम नहुनु । तेस्रो हो– भ्रष्टाचार ।
यहाँ तेस्रो कारण अर्थात् भ्रष्टाचारको चर्चा गर्न लागिएको हो ।
धेरैलाई लाग्छ– भ्रष्टाचार नै कारण नम्बर एक हो । तर, विश्वव्यापी अनुभवले के देखाएको छ भने अविकास र गरिबीको मुख्य कारण भ्रष्टाचार होइन । विश्वमा भ्रष्टाचार नहुने कुनै मुलुक छैन । अतितमा पनि भ्रष्टाचार थियो । मानव समाज संगठित रुपमा जहिले देखि कार्यव्यवहारमा लाग्यो, त्यहीँ देखि भ्रष्टाचार छ । भ्रष्टाचार भएकै आधारमा कुनै देश पछाडि पर्छ भन्ने पनि सत्य होइन । तथापि, अविकास र गरिबीको मुख्य कारण भ्रष्टाचार त हो नै ।
्यहाँनेर के स्पष्ट पारौं भने जब भ्रष्टाचारको सम्बन्ध राजनीतिक अस्थिरतासँग गासिन्छ, जब नीतिगत भ्रष्टाचार नै निर्णायक बन्छ, तब देश अविकास र गरिबीको दुष्चक्रमा फस्छ । नेपालमा भएको यही हो । विकसित मुलुकहरुमा हुने भ्रष्टाचारको सम्बन्ध त्यहाँको राजनीतिक प्रणालीसँग गासिएको हुँदैन, व्यक्तिसँग मात्र गासिएको हुन्छ । नेपालमा भने नीतिगत निर्णय गरेरै भ्रष्टाचार गर्ने गरिन्छ ।
नेपालमा भ्रष्टाचार
नेपालमा संस्थागत भ्रष्टाचारको थालनी राणाकालमा भएको मान्न सकिन्छ । राणाकाल सकिएपछि देशमा अनेक प्रकारका शासन प्रणाली आए, गए । तर, भ्रष्टाचार चाहिँ सदाबहार रह्यो । हरेक प्रकारको शासन प्रणालीलाई भ्रष्टाचारले नै खायो । भ्रष्टाचार र राजनीतिक अस्थिरता एउटै सिक्काको दुई पाटा जस्तो भयो ।
यो अवस्थालाई तोड्ने या उल्टाउने प्रयास वर्तमान सरकारले मात्र सचेत ढंगले गरेको देख्न सकिन्छ । यसको मतलब अहिले भ्रष्टाचार छैन भन्ने होइन । संस्थागत भ्रष्टाचार निर्मूल गर्ने बाटोमा वर्तमान सरकार हिँडेको देखिन्छ । अहिले भ्रष्टाचार संस्थागत रुपमा नभएर व्यक्तिगत रुपमा भइरहेको छ । सत्य के हो भने व्यक्तिले गर्ने भ्रष्टाचार भविष्यमा पनि शायदै निर्मूल होला । मानवभित्र भ्रष्ट प्रवृत्ति छ । यो प्रवृत्ति मानवमा रहेसम्म भ्रष्टाचार रहिरहनेछ । त्यसैले व्यक्तिलाई अविश्वाश गर्ने राजनीतिक प्रणालीहरु विकसित भएका हुन् । व्यक्ति भ्रष्ट हुनसक्छ, त्यसैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रणालीहरु निर्माण भए, संयन्त्रहरु बने ।
अहिले नेपालमा भ्रष्टाचारको अवस्था के छ भन्ने चर्चा गरौं । आज भ्रष्टाचारले देश नै डुब्न लाग्यो, सक्कि सक्यो भनेर कोकोहोलो मच्चाइएको छ ।सत्य यही नै हो त ? बुझ्न पर्ने विषय यहीँनेर छ । सत्य बाहिर टिप्पणी गरिएको भन्दा नितान्त फरक छ । यसको मतलब भ्रस्टाचार शून्य छ, निगरानी र खबरदारी गर्न जरुरी छैन भन्न खोजिएको होइन । आवश्यक निगरानी गर्नुपर्छ, खबरदारी पनि गर्नुपर्छ । तर, वास्तविकता नबुझी गरिने चिन्ता र खबरदारीले खासै अर्थ राख्दैन ।
जब नेपालमा कम्युनिष्ट पार्टी (नेकपा)ले तीनवटै तहको निर्वाचनमा अत्याधिक मत प्राप्त गर्यो, त्यसले नेपालका प्रतिगामी, दक्षिणपन्थी तथा उग्रवामपन्थीहरुलाई ठूलो चोट लाग्यो । यी सबै तत्वहरु संगठित भए सरकार विरुद्ध । उनीहरुको समूहलाई अराजकतावादी समूह भन्न सकिन्छ । उनीहरुले पर्दा भित्र बसेर षड्यन्त्रकारी योजना बनाउन थाले । सर्वसाधारणले तलमाथि–दायाँवायाँ नहेरी, कुरा नबुझी छिटो विश्वास गर्ने कुरा पहिचान गरेर भ्रम फैलाउन थाले । उनीहरुले भ्रष्टाचारलाई मुद्दा बनाउन थालेको देखिन्छ । भ्रष्टाचारले देश बर्बाद हुन लाग्यो, मन्त्री र नेताहरुले सबै खाए, सिध्याए जस्ता हावादारी हल्ला फैलाउन थाले । उनीहरुको यस्तो हल्लाले जनताको एउटा सानो तप्का भ्रमित भएको पनि देखिन्छ ।
अराजकतावादीहरुलाई भ्रष्टाचारको मुद्दा उठाउँदा आम जनताको ध्यान तानिने छ, सबैले ध्यान दिएर सुन्ने छन्, भ्रम फैलाउन सजिलो हुन्छ भन्ने लाग्यो । त्यसपछि विगतका भ्रष्ट जमातहरु भ्रष्टाचार विरोधी भएर नयाँ अवतारमा देखिन थालेका छन् । उनीहरुले स्पष्ट रुपमा दुईटा रणनीति अपनाए, एउटा हो– विगतमा आफूले गरेका भ्रष्टाचारको ढाकछोप गर्ने, आफ्ना भ्रष्टाचारलाई जनताको विस्मृतिमा पुराउने । दोस्रो हो– अहिले जेजति भ्रष्टाचार छ त्यसलाई बढाईचढाई प्रस्तुत गर्ने र सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेका कामलाई ओझेल पार्ने ।
उपलब्धी नकार्दै, भ्रम फैलाउँदै
यो सरकार बन्दै गर्दा युवाहरुको ठूलो संख्या बेरोजगार थियो । देशको अर्थतन्त्र निकै कमजोर थियो अर्थात् ‘आउट अफ ट्रयाक’ थियो । देशको अर्थतन्त्र सही बाटोमा ल्याउँदै मजबुत बनाउन केही समय लाग्छ नै, सरकार बनेको करिब दुई वर्षसम्म धेरै उपलब्धी देखिन सक्दैन । यो तथ्य जनतालाई बुझाउनु परेको छ । तर, अराजकतावादी जत्थाले यसैमा खेल्यो । रातारात चमत्कार र विकास हुनुपर्छ, आकाशबाट फुत्त विकास झर्नुपर्छ, भ्रष्टाचार निमिट्यान्नै हुनुपर्छ भन्ने ढंगको प्रचार गर्दै सरकारले केही पनि गर्न नसकेको भ्रम फैलाउन खोजे ।
सबै वास्तविकतालाई सूक्ष्म रुपले बुझ्न सक्ने सर्वसाधारणको चेतना विश्वका कुनै पनि मुलुकमा हुँदैन । बहुमतको सरकारले पनि देशलाई समृद्धि दिन सकेन, दुई तिहाइको सरकारले पनि सकेन त्यसकारण भन्न पाईन्छ गणतन्त्र नै असफल भयो भन्ने ढंगले उनीहरु प्रस्तुत भइरहेको देखिन्छ । अँध्यारो कोठामा बसेर षड्यन्त्र रचिरहँदा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि उक्त षड्यन्त्रसँग अर्थात् अराजकातावादी जत्थासँग सहकार्य गर्यो । कांग्रेसले थाहा पाउन सकेन यो षड्यन्त्र स्वयं कांग्रेस कै लागि समेत कति घातक र विषालु हुन्छ भन्ने ।
सरकारको नेतृत्व गर्ने पार्टी नेकपाको एकीकरण प्रक्रियामा भएको ढिलाईका कारण देशव्यापी संगठन परिचालन हुन सकेन । आम कार्यकर्ता जिम्मेवारी विहिन भएर निष्कृय बसे । भ्रम र अफवाहका विरुद्ध प्रतिवाद गर्ने र सरकारले गरेका राम्रो कामको प्रचार गर्ने अवस्था बन्न सकेन । यही मौका छोपेर सामाजिक सञ्जालमा रंग्याउने देखि लिएर चोक चोकमा कुर्लिने गरियो ।
उदाहरणका लागि सरकारले ३०० वटा पुल बनाएको कुरालाई ओझेलमा पार्दै एउटा भत्किएको पुल देखाएर सरकार प्रति वितृष्णा पैदा गराउन खोजियो । ३०० भन्दा बढी बिस्थापित तुईन ठूलो उपलब्धी हो तर बाँकी रहेको एउटा तुईनको फोटो प्रचार गरेर त्यो उपलब्धी ढाकछोप गर्न प्रयत्न गरियो । ९ सय ४५ किलोमिटर बाटो कालोपत्रे सडक बन्नु सामान्य उपलब्धी होइन तर कुनै सडकको खाल्डो र हिलो देखाएर त्यो उपलब्धीलाई उपहास गर्न खोजियो । सरकारले गुठी विधेयक ल्यायो । विधेयकमा के थियो भन्ने जनतालाई बताउन नपाउँदै काठमाडौं उपत्यकाका जनताले मान्दै आएको परम्परा, चाडपर्व र संस्कृति अन्त्य गर्ने विधेयक ल्याईयो भनेर हमला गरियो । विभागीय मन्त्रीले विधेयकमा उल्लेख भएको प्रत्येक दफालाई बुझाउन धेरै पटक प्रयास गरेको देखियो तर ती तथ्य विरुद्ध सुनियोजित रुपमा भ्रम फैलाइयो । यथार्थमा विधेयक जनता कै हितमा थियो ।
जनताको एउटा तप्कालाई सरकारले भन्दा पहिले तिनै अराजकतावादी जत्थाले गलत कुरा घोकाए ।
एउटा अराजकतावादी जत्था
अराजकतावादी तप्काबाट एउटा अभियान उत्पत्ति गराइएको छ । त्यसको नाम राखिएको रहेछ– नेपालका लागि नेपाली अभियान । भ्रष्टाचार विरुद्धको अभियान चलाउने रे यो अभियानले । तर, यो अभियानमा संलग्न पात्रहरुको अनुहार हेरेपछि नै थाहा पाउन सकिन्छ उद्देश्य के हो भनेर । यसमा संलग्न केहि व्यक्तिहरु जस्तै बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीको पृष्ठभूमि राजावादी हो । यी पात्रहरु तथा यिनसँग गासिएको अभियानले राजतन्त्र फर्काउन भ्रष्टाचार विरोधको आड किन लिइएको हो भन्ने पनि सबैले बुझ्न जरुरी छ ।
यही अभियानमा ज्ञानेन्द्र शाही भनिने ज्ञान बहादुर शाही नाम गरेका मानिस पनि देखिने गरेका छन् । उनको सामाजिक परिचय विगतका एक भारतीय राजदूतसँग कुम जोडेर फोटो खिचाएको बाहेक अरु केही देखिएन । भारतीय राजदूतसँग कुम जोडेर फोटो खिचेकै आधारमा कोही मानिस सामाजिक अभियन्ता बन्छ र ?
ज्ञानेन्द्र शाही भनिनेको चेतना स्तर दयालाग्दो छ । यिनी भ्रष्टाचार भयो भनेर कुतर्क गर्दै घाँटीको नसा फुलाएर बर्बराउँदै हिंड्दैछन् । भ्रष्टाचार जहाँ छ र जसले गरेको छ उ विरुद्ध प्रमाण सहित उजुरी दिए भैहाल्छ नि । देशमा कानुनको सर्वाेच्चता छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, न्यायालय छ, जनताबाट निर्वाचित संसद छ । राज्यका यी सबै निकायभन्दा माथि हामी नै छौं भन्दै चिच्याउनेलाई जनताले घिच्याउने बेला भयो अब ।
भ्रष्टाचार विरुद्धको अभियान भनेर सुन्दर नारा दिने तर काम भने राजनीतिक स्थिरता भत्काउने, जनताले भोट दिएर बनाएको सरकारलाई असफल पार्ने देखिएको छ ।
जनताले जलाएर खरानी बनाइसकेको व्यवस्थालाई बिउँझाउन सकिन्छ कि भनेर दुस्साहस गर्नेलाई राख्ने ठाउँ कहाँ हो ? राज्यले अब बुझ्नुपर्छ । जनतालाई आजको व्यवस्था प्रति वितृष्णा जगाउन गरिएको थुप्रै कर्तुतहरु मध्येको एउटा थियो नेपालगंन्ज विमानस्थलमा नेपाली जनताका आशा लाग्दा नेता, नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराई माथि जहाज भित्र नियोजित रुपमा गरिएको दुव्र्यवहार । जुन घटनाको जति नै निन्दा गरे पनि थोरैै हुन्छ । अति भएपछि धैर्यको बाँध टुट्छ । नेकपाका कार्यकर्ताहरु लामो समय सम्म चुपचाप सहेर बसे । अब त अति भयो भनेर जाग्न थालेको देखिन्छ । संविधानका खिलाफमा बोल्दै हिंड्नेहरुका विरुद्ध खासगरी युवाविद्यार्थीहरु उत्रन थालेका छन् । राजनीतिक दलका कार्यकर्ताहरुलाई ‘झोले’ भन्दै निन्दा गर्ने अधिकार यिनलाई कसले दियो । विदेशी, दक्षिणपन्थी, उग्रवामपन्थी तथा अराजकतावादीको झोले बन्नुभन्दा देशलाई सही बाटोमा अगाडि बढाउन चाहने राजनीतिक दलका कार्यकर्ता बन्नु गौरवको कुरा हो ।
देशमा बेथिति थियो , थिति बसाल्न केही समय लाग्छ नै । भ्रष्टाचार नियन्त्रण गर्न पनि समय लाग्छ । सरकार भ्रष्टाचार नियन्त्रणको बाटोमा कडाईसाथ लागेको देखिन्छ । अराजकतावादीहरु यो चाहँदैनथे, यो सरकार भ्रष्टाचारमा लिप्त होस् र प्रहार गर्न पाइयोस् भन्ने चाहन्थे । तर, परिस्थिति उल्टो भइदियो, नेकपाको सरकार कडाईसाथ भ्रष्टाचार विरुद्ध लागिदियो । तैपनि यी अराजकतावादी जत्थाहरु भ्रष्टाचार भयो भनेर कुर्लिरहेका छन् । यसो गरेर यिनले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई नै निस्तेज पार्न खोजिरहेका छन् । भ्रष्टाचारको विरोधको बहानामा अराजकतावादी जत्थाहरुले मुलुकको राजनीतिक स्थिरतामा प्रहार गर्न प्रयास गरिरहेका छन् ।
नेपाली जनताले सत्य र तथ्य बुझ्दै गलत तत्व विरुद्ध लाग्नुपर्छ । कसैले फैलाएको भ्रममा पर्न हुँदैन । याद गर्नुहोस्, जनता भ्रमित भए भने देश उठ्न गाह्रो हुने गरी थला पर्छ । अराजकतावादी तत्वहरुको लहलहैमा लागेर देशलाई थला पार्ने कि नपार्ने ? हरेक नेपालीले आत्मचिन्तन गर्नुपर्ने बेला आएको छ ।
