--नेसरिन मलिक
मध्यपूर्वमा साउदी अरेबियाबारे एउटा मजाक लामो समयदेखि चर्चामा छ । ‘साउदी अरेबियाले अन्तिम पाकिस्तानी जीवित रहेसम्म युद्ध लड्छ ।’
यसको अर्थ साउदीलाई आफ्नो युद्ध आफैं लड्ने इच्छा छैन भन्ने हो । साउदीको सैन्य लक्ष्यप्राप्तिका लागि पाकिस्तानीले लामो समयदेखि गरेको सहयोगलाई पनि जोडेर खिल्ली उडाइएको छ ।
सो पन्चलाईनमा अहिले सुडानीहरुको नाम पनि जोडिएको छ, उनीहरु भर्खरै साउदीको सेनालाई सहयोग गर्न मैदानमा आएका हुन् । श्रम र श्रमिक खरिद गर्ने मामिलामा साउदी अघि छ । लडाकु पनि खरिद गर्छ, साउदी ।
उसलाई आफ्ना नागरिक दक्ष छन् भन्ने लाग्दैन र उसले आफ्नो सेनाका हकमा पनि यही दृष्टिकोण फैलाएको छ ।
विश्वमा यस्ता गरिब देशहरु छन्, जसले उपयुक्त मुल्य पाएमा साउदीलाई सेना पठाउँछन् ।
यमनमा भइरहेको सैन्य आक्रमणलाई पनि यदाकदा ‘अरब गठबन्धनको आक्रमण’ भनिन्छ । साउदी नेतृत्वको लडाकुहरुका हकमा यो सम्मानित शब्दावली हो । इजिप्ट, जोर्डन, मोरक्कोलगायत खाडीका सहयोगीहरुसँगै सुडानी बाल सेनाले पनि यस युद्धमा सहभागिता जनाएका छन् । उनीहरुको जीवनको क्षतिपूर्ति, घरमा परिवारले नगदमा फिर्ता पाउँछ ।
यमनमा साउदीको नेतृत्वको लडाँइ लड्दा कस्तो अनुभव हुन्छ भनेर सुडानी सेनालाई सोधिएको प्रश्नमा उनीहरु भन्छन्, ‘साउदीको सेना आफैंलाई मुल्यवान् ठान्छ र युद्धको अग्रमोर्चामा जाँदैन । उनीहरु स्याटेलाईट फोनबाट भाडाका सैनिकहरुलाई निर्देशन दिन्छन् र उनीहरुलाई नै शत्रु भएको दिशामा धकेलिदिन्छन् ।’
अवस्था प्रतिकूल हुँदा, साउदी र उसका गठबन्धन सेनाले आकाशबाट बम खसाल्छन्, नागरिकहरु हातहात हुन्छन् । सम्भव भएसम्म अरुलाई मृत्युको मुखमा धकेलेर साउदीले भिड्छ ।
यो रहस्यमयी छ, गत साता साउदीका दुई तेल उत्पादनगृहमा भएको आक्रमणपछि धेरैले आशंका गरेका छन् कि साउदी र इरान युद्धमा जानेछन् । तर साउदी युद्धमा जानेछैन ।
उसले सहयोगीहरु भाडामा लिनेछ, अमेरिकी भरोसाको आड टेकेर उसले निरन्तर क्षेत्रीय शान्ति निर्माता रहेको झुठ जपिरहनेछ र उसले यो पनि भन्नेछ कि आफ्नो देशमाथिको कुनै पनि खतराले यस क्षेत्रलाई अस्थिर बनाउँछ ।
अमेरिका र साउदी अरेबियाले निरन्तर रुपमा आक्रमणमा इरान संलग्न भएको आरोप लगाइरहेका छन्, यसको जिम्मेवारी यमनको हुथी विद्रोहीले लिइसकेको छ । यो समुह इरानसँग नजिक छ र यमनको गृहयुद्धमा उसले साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले साउदीको रक्षार्थ सयौं अमेरिकी सैनिक र हवाई तथा मिसाईल्स उपकरण पठाउने घोषणा गरिसकेको छ ।
स्कोटहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदन अनुसार साउदी सन् २०१४ देखि २०१८ सम्म विश्वकै सबैभन्दा ठूलो हतियार खरिदकर्ता हो । यति धेरै हतियार खरिद गरेको देशलाई फेरि किन सहयोग चाहियो ?
सन् २०१८ मा साउदीले खरिद गरेका हतियारमध्ये ८८ प्रतिशत हतियार अमेरिकी थिए । सन् २०१८ को अत्यमा विश्वको १२ प्रतिशत हतियार साउदीले खरिद गरेको थियो । स्पष्ट छ, ड्रोन आक्रमणबाट बच्नका लागि साउदीले अमेरिकासँग यति धेरै सैन्य उपकरण मगाइरहनु आवश्यक छैन ।
त्यसो भए किन केवल एउटा युद्धमा संलग्न देश (यमन युद्ध, जहाँ यमन आफैं कमजोर छ र आक्रमण गर्न सक्दैन), यति धेरै हतियारको प्रयोग कहाँ गर्नेछ ?
हतियार परिचालन गर्नेभन्दा पनि हतियार खरिद गर्ने विषय मुख्य चूरो हो । यस्तो दशौं मिलियन डलरको हतियार खरिद प्रक्रियाले पश्चिमा सहयोगीहरु, जोसँग उसले हतियार खरिद गरेको छ, त्यहाँ व्यवसायिक सम्बन्ध सन्तुलित बनाउँछ ।
यसको बदलामा उनीहरुले साउदीको मानवअधिकार हनन, गैरन्यायिक अपहरण र हत्यामा चुप बसिदिनेछन् । उसै पनि साउदीसँग खर्च गर्न बाँकी पैसा पर्याप्त छ । उसको विदेश नीति नै आफ्ना साथी र गलत काममा मौनता खरिद गर्नका लागि पैसा खर्च गर्ने मोडलमा आधारित छ ।
र, साउदीले इरानप्रतिको अमेरिकी डरसँग पनि निरन्तर खेल्छ, यसकारण किनकी उसको आँखा बन्द छ भन्ने साउदीलाई थाहा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन हमलालगत्तै ट्वीट गरेर यस्तो देखाएका छन् ।
यही समय साउदीले अन्य अरब देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर मध्यपूर्व क्षेत्रमा अस्थिरता फैलाइरहेको छ । उसले मध्यपूर्व र उत्तरी अफ्रिकाका तानाशाहलाई हतियार आपूर्ति गरिरहेको छ । सामाजिक सञ्जालमार्फत आक्रमक र झुठा अभियानहरु चलाइरहेको छ ।
ट्वीटरले पनि गत साता साउदीका केही भ्रामक एकाउन्टहरुलाई खारेज गरिदिएको थियो । यति हुँदाहुँदै पनि यो देशले आफुलाई कमजोर र निर्दोषका रुपमा देखाउन खोजेको छ । मध्यपूर्वको अस्थिरताविरुद्धको पर्खालका रुपमा देखाउन खोजेको छ र उसका सहयोगीहरुले यस्तै रुपमा व्याख्या गर्छन् ।
उ अत्याधिक आक्रामक छ र अहिलेसम्म उसले आफ्नो अतिवादको परिणाम भोग्नुपर्ने संभावना पनि देखिँदैन । साउदी अहिले इरान, कतार र यमनसँग विवाद गरिरहेको छ । उसले सुडान र इजिप्टका सैन्य सरकारलाई सहयोग गरिरहेको छ र लेबनानमा निकै फोहोरी खेल खेलिरहेको छ । एकातिर उसले संसारभर अतिवादी सुन्नीहरुलाई निरन्तर प्रायोजन पनि गरिरहेको छ भने अर्कोतिर यी विषयबाट टाढा भएजस्तो पनि देखाउन खोज्दै छ ।
साउदीले इरानसँग युद्ध गर्नेछैन, तर अमेरिकाले उसको तर्पmबाट इरानसँग लडिदिनसक्छ । मध्यपूर्वका हकमा भड्किएको र सजाय पनि नपाउने उत्तेजक विधाताजस्तो हो, साउदी अरब ।
(चर्चित लेखिका नेसरियन गार्जियनकी स्तम्भकार हुन्, यो आलेख गार्जियनमा प्रकाशित भएको हो ।)
