काठमाडौ । बाहिर विशाल होटल । भित्र सानो हल । त्यो सानो हलमा आयोजना गरिएको कार्यक्रमले ल्याउँदै थियो सबैतिर हलचल ।
होटल मेरियटमा मंगलबार थियो नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच समझदारीमा हस्ताक्षर ।
सत्तारुढ नेकपाका लगभग सबैजसो नेता तथा चिनियाँ कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख सहभागी हुने भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । मंगलबार ११ः३० बजे तय भएको हस्ताक्षर कार्यक्रममा संचारकर्मीहरुको ठूलै भीड थियो ।
सानो हलको कार्यक्रमको मञ्चमा सिधा अडाडि थिए नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँं विदेश विभाग प्रमुख साङ ताओ । दुई तर्फ राखिएका कुर्सीको दाहिने तर्फ थिए प्रधानमन्त्री केपी शर्मा ओली भने अर्का अध्यक्ष प्रचण्ड बायाँ तर्फ थिए ।
हस्ताक्षर गर्ने बेलामा दुवै नेतालाई हस्ताक्षर कर्ताको पछाडि आउन भनियो । दुवैजना उठेर आआफ्नो ठाउँमा उभिए । एउटा महत्वपूर्ण कार्यक्रमको दृष्य थियो त्यो । अनौठो संयोग
सत्तारुढ नेकपा र चीनको सत्तारुढ सीपीसीको संयुक्त विचारधारात्मक छलफलमा सोमबार बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए –‘चीन शक्तिशाली भएर पनि अरु माथि थिचोमिचो गर्दैन ।’
नेपालको प्रधानमन्त्री तहबाट यस्तो कुरा आउनु अर्थपूर्ण हो । चीनका राष्ट्रपतिको नेपाल भ्रमणको तयारी स्वरुप गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धमा नेपालले फड्को मारेको बताए ।
प्रधानमन्त्रीको यो भनाइ त्यो दिन आयो जुन दिन चार वर्ष अघि नेपालको अर्काे छिमेकी भारतले नाकाबन्दी लगायो ।
भारतले नाकावन्दी लगाएपछि चीनले नेपाललाई अर्थपूर्ण सहयोग र सुक्ष्म कूटनीतिक साथ दिएको थियो । नाकावन्दीको वार्षिकी जनस्तरबाट मनाइँदै गर्दा प्रधानमन्त्री ओलीको अभिव्यक्ति संयोग मात्र हुनसक्छ । तर, उनको अभिव्यक्तिको अन्तर्यले भने धेरै परसम्मको संकेत गर्छ ।
ओलीको अभिव्यक्ति विगतमा भारतले गरेको नाकाबन्दी सम्झाउने बाडुली जस्तो थियो ।
दुई दिने कार्यक्रममा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ ले खुलेरै चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रशंसा गरे । चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव सी चिनफिङले अघि सारेको अवधारणा हो– ‘चिनियाँ विशेषता सहितको समाजवाद ।’ यसले सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको कुरा गरेको छ ।
त्यो सानो हलमा भएको हस्ताक्षरले नेपालको राजनीतिमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमा नै हलचल ल्याएको छ । दुई कम्युनिष्ट पार्टीबीचको सम्बन्ध नयाँं होइन । तर यस्तो सहमति भने पहिलो हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग व्यापार तथा पारवहन सन्धिमा सहमति गरेपछि एक किसिमको तरंग आएको थियो ।
दुई कम्युनिष्ट पार्टीबीच भएको ६ बुँदे सहमतिमा विकासको मोडल आदान प्रदान गर्ने कुराले ‘खोलावारी पड्काएको बन्दुकले पारी पहरो थर्के जस्तो’ भएको छ । अब नेकपाका नेता कार्यकर्ताले पहिलाको भन्दा तेज गतिमा चीन भ्रमण गर्न पाउने छन् भने चिनियाँं कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले नेपालको बाक्लै भ्रमण गर्नेछन् ।
चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणको सन्दर्भमा यो सहमतिले धेरै अर्थ राख्ने कूटनैतिक तहमा टिप्पणी भइरहेको छ ।
