चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका महामहिम राष्ट्रपति कमरेड सि चिन फिङले गर्नुभएको ‘बर्ष २०२० सम्ममा चीनको ग्रामिण भूभागका बासिन्दालाई हालको गरिबीको रेखाभन्दा माथि उठाउने’ प्रतिवद्धता पूरा होस् र चीनले देखेको समाजवादी सपना शीघ्र पूरा होस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त गर्दछु ।
हाम्रा दुई पार्टीहरु बीच आज विचारधारात्मक (आइडोलोजिकल) प्रश्न र विचारधारा (थट) का बारेमा जुन उचाइबाट छलफल प्रारम्भ भएको छ, यसले मलाई अत्यन्त खुशी र उत्साहित बनाएको छ । दुई पार्टी बीच बढ्दो घनिष्ठतासँगै हामीले देखेको समृद्धिका सपना, हामीले बोकेको विचार र त्यसको सिर्जनात्मक प्रयोगका सकारात्मक परिणाम र सामना गर्नु परेका चुनौती बारे अनुभव आदान–प्रदान हुनु एकदमै स्वभाविक र सान्दर्भिक रहेको म ठान्दछु ।
समस्यारहित सम्बन्ध
छिमेकीको हिसाबले, चीन र नेपाल परापूर्व कालदेखिकै घनिष्ठ मित्रहरु हुन् । हामी अग्ला हिमाल र हिमाली नदीहरुबाट जोडिएका छौं । प्रकृतिले हाम्रा सिमानामा खडा रहेको हिमाल र बगिरहेको हिमनदीले हाम्रा सम्बन्ध पनि हिमाल जत्तिकै उच्च र कञ्चन छ । बेगवान गतिमा बगिरहने हिमाली नदी जस्तै स्वच्छ र अविच्छिन्न छ भन्ने बताइरहेको छ ।
हाम्रो मित्रता खुल्ला छ, स्वतन्त्र छ र अटल छ । हामी एक अर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं । एक अर्काको हितहरु र संवेदनशीलताको ख्याल गर्दछौं । राष्ट्रिय स्वाभिमानको कदर गर्दछौं । तर हाम्रो मित्रता स्वार्थहरुको लेनदेन भन्दा धेरैमाथि सम्मान, साथ र सहयोगमा उठेको छ ।
हाम्रा दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगी भावनाको आधारमा अघि बढाइ रहेका छौं । समय क्रममा अघि बढ्दा आइपर्ने विषयहरुलाई मैत्रीपूर्ण आपसी सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढ्छौं ।
हामी एक चीन नीतिमा सँधै स्पष्ट र दृढ छौं । छिमेकी मित्रराष्ट्र चीन विरुद्ध हामी, हाम्रो भूमिको प्रयोग हुन दिँदैनौं ।
चिनियाँ प्रणालीको श्रेष्ठता
कुनैपनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप, कुनै पनि बहानामा किन नहोस्, हुनुहुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । हामी चीनको आन्तरिक मामिलामा पनि कुनै पनि बहानामा बाह्य चलखेल हुनुहुँदैन भन्नेमा स्पष्ट छौं ।
कुनैपनि देशको शान्ति सुब्यवस्था र अमनचैन खलबल्याउन, स्थायित्वमा समस्या ल्याउन, सामाजिक एकतालाई बिथोल्न वा विकास प्रयासका गतिमा व्यवधान खडा गर्न बाहिरबाट प्रत्यक्ष वा परोक्ष रुपमा कसैले पनि, कुनैपनि अवस्था र बहानामा हात हाल्नु उचित हुनै सक्दैन ।
मुलुकहरु बलियो हुँदा कहिले कहिँ अनपेक्षित रुपमा दम्भ बढ्छ र तिनीहरुबाट असहज गतिबिधि हुने गर्छ । तर, चीन शक्तिशाली देश भैकन पनि यस्ता अवाञ्छित गतिविधिमा नलाग्नु विश्व राजनीतिक इतिहासमा नयाँ परिदृष्य हो । यस ब्यबहारबाट चीनले अङ्गालेको राजनीतिक प्रणालीसँग अरु राजनीतिक प्रणालीको भिन्नता र श्रेष्ठतालाई स्पष्ट पारेको छ । चीन न्यायोचित विश्व व्यवस्था, शान्ति, समानता, सह–अस्तित्व एवं भविष्य तर्फ उन्मुख सहयोगात्मक अग्रसरतामा विश्वास गर्छ भन्ने कुरा यस व्यवहारबाट पनि स्पष्ट हुन्छ ।
चीनको अभूतपूर्व उपलब्धी
चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं राष्ट्रिय कांग्रेसमा पार्टीका महासचिव कमरेड सि चिनफिङद्वारा अघि सारिएको ‘टुवार्ड अ प्mयुचर अफ सेयर्ड प्रष्परिटी’ अवधारणा र चीनको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ले यस कुरालाई अझ स्पष्ट पारेको छ ।
क्रान्तिको नेतृत्व गरेरमात्र होइन समृद्धि हासिल गर्ने जनताको चिरकालदेखिको सपना पूर्ण गरेर चिनियाँ कम्युनिष्ट पार्टीले आप्mनो गौरवमय इतिहास रचेको छ । विकास र सुशासनको मामिला चिनियाँ प्रगति र दृढसंकल्प वास्तवमै प्रेरणादायी छ । कम्युनिष्ट पार्टीहरुले क्रान्तिको नेतृत्व त गर्न सक्छन् तर विकासको गर्न सक्दैनन् भन्ने बुर्जुवा शक्तिको प्रचारलाई चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वले झूटो साबित गरिदिएको छ ।
तर यस अवस्थासम्म आइपुग्न स्थापनाको समयदेखि हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीले झण्डै एक शताव्दी लामो, उतार-चढावपूर्ण यात्रा तय गरेको छ । यदी चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व हुँदैन थियो भने क्रान्तिपूर्वको २८ बर्ष लामो कठिन क्रान्तिकाल र जनवादी गणतन्त्र चीनको स्थापना पछिको सात दशक भित्रै चिनियाँ समाजको रुपान्तरणमा आजको अभूतपूर्व उपलब्धी सम्भव हुने थिएन ।
विचारधारात्मक मोडल
माक्र्सवादको रक्षा र प्रवद्र्धनमा सिर्जनात्मक प्रयोगको मामिलामा पनि चिनियाँ अनुभव अब्बल रहँदै आयो । म स्मरण गर्छु– पार्टी इतिहासमा मूख्य मोडहरुको चर्चा गर्दा चिनियाँ मित्रहरू अक्सर तीन प्रमुख विचारधारात्मक मोडहरुबारे चर्चा गर्ने गर्नुहुन्छः
– सातौँ राष्ट्रिय महाधिवशेनद्वारा माओ–त्से–तुङ विचारधाराको स्वीकृति, जसले चीनमा माक्र्सवादको सिर्जनात्मक र नवीन प्रयोग गर्न मार्ग प्रशस्त गर्यो ।
– कमरेड माओको निधनपछि सिर्जना भएको अन्यौललाई चिर्दै कमरेड तङ स्याओ पिङद्वारा प्रतिपादित खुलापन र आधुनिकीकरणको नीति, जसले चीनमा विकासको नयाँ युगको प्रादुर्भाव ग¥यो ।
– र, चिनियाँ विशेषतासहितको समाजवाद तथा नयाँ युगका लागि सि चिनफिङ विचारधारा ।
सि चिनफिङ विचारधारा
निःसन्देह अहिलेको समयमा सबै प्रगति र उपलब्धीहरुको श्रेय चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम चिनियाँ राष्ट्रपति सि चिनफिङलाई जान्छ । उहाँको सही र गतिशिल नेतृत्व एवं चीनको आन्तरिक तथा विश्व व्यवस्था सम्बन्धी उहाँका सुल्झिएका, समयानुकूल र गतिशील सोंचहरुको श्रृङ्खलाले एउटा विचार प्रणाली (स्कूल अफ थट)को आकार ग्रहण गरेका छन् । जसलाई चिनियाँ कम्युनिष्ट पार्टीले ‘सि चिन फिङ विचारधारा’को नाम र दर्जा दिएको छ ।
संकट कम प्रकट हुने मोडल
एक्काइसौँ शताब्दीको विकास र सफलताको मार्ग वास्तवमा चीनको विकास र सफलताको मार्गले निर्धारण गर्नेछ भन्नेमा अब धेरैमा भ्रम रहेन । त्यसैले चिनियाँ मोडेलको विकास दिगो र सफल हुने कुरामा विश्वास गर्न सकिन्छ । यस मोडेलमा संकटहरु कम प्रकट हुने र देखा परेका चुनौतिहरु सामना गर्न सकिने कुरामा पनि विश्वास गर्न सकिन्छ । किनभने यो विकास, अाफ्नै मौलिक जगबाट उठेको, अाफ्नै बुद्धि, पसिना एवं प्रयासमा हुर्किएको र व्यापकतालाई अङ्गालेको हुन्छ ।
यस मोडेलले अङ्गालेको अबको जमानाको विकास मोडेल, औपनिवेशिक जमानाको जस्तो उपनिवेशका श्रोतमाथि कब्जा जमाएर तिनका पसीनामा सवार भएर हासिल गरिएको कृत्रिम विकास र वैभव हैन । चीन अहिले विश्वको–
– दोश्रो ठूलो अर्थव्यवस्था,
– औद्योगिक वस्तु उत्पादन गर्ने सबैभन्दा ठूलो देश,
– वैदेशिक मुद्रा सञ्चय गर्ने विश्वको सबैभन्दा ठूलो देश,
– ब्यापारिक मालवस्तु निर्यात गर्ने विश्वको सबैभन्दा ठूलो देश,
– वैदेशिक प्रत्यक्ष लगानी गर्ने विश्वको दोश्रो ठूलो देश,
– विकासका लागि वित्त व्यवस्था गर्ने विश्वकै अगुवा मुलुक,
– र, विश्वको आर्थिक वृद्धि र सम्मृद्धिमा महत्वपूर्ण योगदान गर्ने मुख्य देश हो ।
नेपाल चीनसँग विकास साझेदारी गर्न चाहन्छ । आपसी अन्तरनिर्भरतामा आधारित सम्बन्ध स्थापित गरी दुवै देशबीच लाभकारी सहकार्य स्थापना गर्न सकिन्छ भन्ने हाम्रो साझा निष्कर्ष हो । चीनको घनिष्ठ र नजिकको छिमेकी भएका नाताले आर्थिक–सामाजिक तथा प्रविधि विकासका क्षेत्रमा चीनले गरेको चौतर्फि र तीब्र प्रगतिबाट नेपाली जनता अत्यन्तै खुशी छन् ।
नेपालले हालसालैका वर्षमा महत्वपूर्ण राजनीतिक परिवर्तन तथा उपलब्धि हासिल गरेको छ । द्वन्द्व र अस्थिरतामा रुमल्लिएर लामो अबधि व्यतीत गरेपश्चात् नेपाल प्रगतिशील र लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको छ ।
मार्क्सवादकाे स्थानीयकरण
विचारधारात्मक सिर्जनात्मकताका हाम्रा आ–आफ्नै तर समान प्रकृतिका अनुभव तथा ऐतिहासिक मोडहरू छन् । सन् १९७० को दशकको झापा विद्रोहले टुक्रा–टुक्रामा विभाजित तत्कालीन कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र पुनर्जीवित गर्न नयाँ गोरेटो पहिल्यायो । तत्कालिन नेकपा (एमाले)का महासचिव जननेता कमरेड मदन भण्डारीको उदय तथा उहाँले प्रतिपादित गर्नु भएको नौलो सिर्जनात्मक सिद्धान्त– जनताको बहुदलीय जनवादले सन् १९९० मा कम्युनिष्ट आन्दोलनमा आएको निराशालाई चिर्न मार्गदर्शन गर्यो ।
नेपाल कम्युनिष्ट पार्टी, जनवादी गणतन्त्र चीन स्थापना भएकै बर्ष स्थापित भएको थियो । अनेक टुक्रामा विभाजित नेकपालाई, स्वरुपको हिसावले सन् १९४९ कै अवस्थामा र शक्तिको हिसाबले त्योबेलाको भन्दा कैयौं गुणा बलियो, देश कै बलशाली पार्टीको रुपमा एकीकरण गर्ने काम करिब डेढ बर्ष अघि सम्पन्न भयो । त्यो एकीकरण प्रकृया, सन् १९७० कै दशकमा निर्मित नेकपाको अर्को बलियो भङ्गालो तत्कालीन नेकपा (माओवादी केन्द्र) र तत्कालिन नेकपा (एमाले) बीचको ऐतिहासिक एकतापछि सम्पन्न भयो ।
चीनको तुलनामा हाम्रा अाफ्ना केही भिन्न विशेषताहरु छन् । हामीले मार्क्सवादलाई हाम्रा आफ्नै अनुपम र विशिष्ट आवश्यकता र चुनौतीलाई सामना गर्ने गरी स्थानीयकरण गरेका छौँ, तदनुरूपको साँचोमा ढालेका छौँ ।
जनताको जनवाद
तत्कालिन एमाले र माओवादी केन्द्र बीचको एकीकरण पछि जनताको जनवाद नेकपाको सिद्धान्त हो । ‘जनता’ शब्द हाम्रो जनवादको वर्गीय सार हो । प्रतिस्पर्धामा आधारित बहुदलीयता हाम्रो शासन प्रणालीको रुप हो ।
नेपाली समाजको विविधतायुक्त सामाजिक सांस्कृतिक जगमा आधारित विशिष्टतालाई समुचित सम्बोधन गर्न हामीले यस प्रकारको सिर्जनात्मक प्रयोग गरेका हौँ । हामी विविधता र बहुलताको सम्मान गर्दछौँ र मार्क्सवादले जोड दिने मूल आधारहरूप्रति समेत उत्तिकै कृतसंकल्पित छौँ ।
कम्युनिष्ट पार्टीको भूमिका प्रकाश देखाउने मसालवाहकको झैँ अनुपम र विशिष्ट हुने गर्दछ । यसले कैयौँ मुलुकहरूमा क्रान्तिको नेतृत्व गरी सामाजिक–आर्थिक रूपान्तरणको अगुवाइ गरेको छ । त्यसो हुँदा, समृद्धि र सुशासनका लागि कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहन्छ । हामीलाई लाग्दछ – त्यस्तो भूमिका प्रतिस्पर्धात्मक प्रणालीमार्फत् गर्न सकिन्छ ।
तर कम्युनिष्ट पार्टी अनुशासित र एकताबद्ध हुनै पर्छ । कुनैपनि बहाना या नाममा अराजकता, गुटवाजी र विखण्डन सही र स्वीकार्य हुनै सक्दैन । पार्टीले अङ्गिकार गरेको विचार जति राम्रा भएपनि त्यस्ता प्रवृत्तिहरुले ती राम्रा विचारलाई समाप्त बनाउँछ ।
गत वर्षको कुरा
गत बर्ष भएको मित्र राष्ट्र चीनको राजकीय भ्रमणको बेला मैले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कूल, बेइजिङमा सम्बोधन गर्ने मौका पाएको थिएँ । उक्त अवसरमा मैले हामीले अपनाएका केही सारभूत सिद्धान्तहरू निम्नानुसार रहेको उल्लेख गरेको थिएँ ।
१) हाम्रा मूल क्रान्तिकारी भावना र आदर्शहरू ओइलाउन नदिन हामीले समुचित बन्दोबस्त गरेका छौँ । दलीय राजनीतिमा प्राप्त सफलताले कार्यकर्ता पंक्तिमा आउन सक्ने आत्मतुष्टिमा रमाउने प्रवृत्ति तथा पार्टीका असल उद्देश्यबाट विचलित हुनसक्ने खतराप्रति हामी सचेत छौँ । कमरेड माओले भनेझैँ “शत्रुले परास्त गर्न नसकेका सहयोद्धाहरू विलास, अकर्मण्यता, भ्रष्ट आचरण तथा आत्मप्रसंशा जस्ता मीठा गोलीले ढल्न सक्छन् ।” म विश्वस्त छु– नेपाली तथा चिनियाँ दुवै देशका समाजवादी प्रारूपले यस कुरालाई बुझेका छन् ।
२) पूँजीवाद निर्देशित सामाजिक उन्नतिको कथन मार्फत पूँजीवाद र बुर्जुवा संस्कृतिबाट हाम्रो आन्दोलन पथभ्रंश हुनसक्दछ भन्ने तथ्यप्रति हामी सचेत छौँ । हामीले के देखेका छौँ भने समाजको उपल्लो तहलाई समृद्ध बनाए पनि, नवउदारवादले केही व्यक्तिको वर्ग रूपान्तरण गरे पनि, अन्ततः पूँजीवादले न्यायपूर्ण, समानतापूर्ण र जनकेन्द्रित विकास सहितको समाज स्थापना गर्न सक्दैन । जनताले अनुभूत गर्नसक्ने असली प्रगति समाजवादमा मात्र सम्भव छ ।
३) पार्टीका मूल सिद्धान्त, आदर्श तथा दृष्टिकोणसँग अविचलित राखिराख्न पार्टीका कार्यकर्ता पंक्तिलाई निरन्तर प्रशिक्षित, अभिमुखीकरण र मार्गदर्शन गरिराख्ने काम गर्नु आवश्यक छ । हाम्रो ध्यान युवापुस्तामा केन्द्रित हुनुपर्दछ, जसमा बल, ऊर्जा र सिर्जनात्मक शक्ति प्रचुर हुन्छ । तथापि, आक्रामक रूपले फैलिरहेको विश्व पूँजीवादको प्रभावले युवा समूहमा व्यक्तिवाद, उपभोक्तावाद तथा सामाजिक दायित्वबाट विमुख हुने प्रवृत्ति बढ्दो छ । तसर्थ, क्रान्तिमा परिपक्व भएका लामो अनुभवी पुस्ता र ऊर्जाशील युवापुस्ताबीचको खाडल पुर्न हामीले विशेष ध्यान दिनुपर्दछ ।
४) माक्र्सवादको रक्षा, प्रवद्र्धन तथा सिर्जनात्मक प्रयोग गर्नु पर्दछ । नवीन विचार तथा सोचप्रति हामी सदैव खुल्ला रहनुपर्दछ । नवप्रवर्तन र सिर्जनात्मकताको विकास हुने यसरी नै हो ।
अन्तमा,
राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । जतिसुकै सुन्दर भएपनि नक्कल, नक्कलै हो, त्यसो गर्नु हुँदैन । त्यो दिगो पनि रहन्न, अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिन्न ।
माक्र्सवाद सफल त्यतिखेर मात्रै हुन्छ, जब त्यसलाई हरेक देशले आप्mनै मौलिक परिस्थिति अनुरुप प्रयोग गरेको हुन्छ । चीनले अाफ्नै ढाँचाको समाजवादी मोडेल प्रस्तुत गरेको छ । हामीले परिवर्तन र विकासको अाफ्नै परिवेश र अन्तर्राष्ट्रिय परिस्थिति अनुरुपको नितान्त अाफ्नै मोडेल अपनाएका छौं । यसरी हाम्रा दुई पार्टीहरु “जुत्ताको नापमा खुट्टा काट्ने” हैन परिस्थितिको ठोस विश्लेषण गर्दै आ–अाफ्ना मुलुकको धरातलीय यथार्थताको आधारमा सिर्जनात्मक तरीकाले मार्क्सवादकाे प्रयोग र विकासमा समर्पित छन् ।
(नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको विचारधारात्मक छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राखेको विचार ।)
