काठमाडौं । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले राजनीतिक माहौल तातिएको छ । राजनीतिक वृत्तले बहस, विवाद र गालिगलौजको विषय पाएको छ ।
कांग्रेसका नेताहरुले नेकपाका नेताहरुलाई चीनले प्रशिक्षण दिएको, नेपालको संविधान भत्काउन खोजेको दाबी गरेका छन् ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले त के सम्म दावी गरेका छन् भने अब संविधान भत्काइन सक्छ, संविधानको रक्षाको जिम्मेवारी कांग्रेसको काँधमा आएको छ । उपसभापति विमलेन्द्र निधीले पनि चिनियाँ कम्युनिष्ट पार्टीसँग मिलेर संविधान सिध्याउने खेल खेलेको बताएका छन् ।
त्यसैगरी कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले सी को विचारधाराको नक्कल गर्न खोजिएको वा पछ्याउन खोजिएको हो भन्ने स्पष्ट हुन केही समय पर्खनुपर्ने बताएका छन् ।
दुई पार्टीको विचारधारात्मक छलफलपछि कतिपयले त नेकपाले माक्र्सवाद, लेनिनवाद सरह ‘सी चिनफिङ विचारधारा’ अपनाएको सम्म दावी गरेका छन् ।
नेकपाले सी विचारधारा अपनाएको हो त ? अथवा, अपनाउन लागेको हो त ? अहिले उठाउन खोजिएका यस्ता प्रश्नको जवाफ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा बोल्दा नै दिइसकेका थिए । ओलीको भनाईतिर धेरैले ध्यान नदिएको हुनसक्छ । अध्यक्ष ओलीले विचारधारात्मक छलफल कार्यक्रममा निकै अर्थपूर्ण विचार राखेका थिए ।
अध्यक्ष ओलीले भनेका थिए– राजनीतिक दलले अनुकरण गर्नैपर्ने कुनै खास सूत्र हुँदैन । जतिसुकै सुन्दर भएपनि नक्कल, नक्कलै हो, त्यसो गर्नु हुँदैन । त्यो दिगो पनि रहन्न, अर्काको अनुकरणबाट सफलतामा पुग्नै सकिन्न ।
नेकपाले सी विचारधारा अपनाएको टिप्पणी कति अतिरञ्जित छ भन्ने ओलीको यो भनाईले नै प्रष्ट पार्छ । उनले नक्कल नक्कलै हुने भन्दै नक्कल दिगो नहुने र त्यसबाट सफल पनि नभइने बताएका थिए ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टीले अरुको सिद्धान्त नक्कल नगर्ने स्पष्ट पारेका छन् । उनले ट्वीटरमा लेखेका छन् – ‘सी चिनफिङको विचार, हाम्रो लागि होइन चिनियाँ कम्युनिष्ट पार्टीको सैद्धान्तिक मार्गनिर्देशको लागि महत्वपूर्ण हो । हामी अन्य प्रजातान्त्रिक, अग्रगामी, परिवर्तनकारी, समाजवादी र कम्युनिष्ट आन्दोलन र समाजको अनुभवबाट सिक्न तयार छौं, तर हामी नक्कल गर्दैनौं । यसमा भ्रमित हुनुपर्ने केही छैन ।’
छलफलले उत्साहित
नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी चलिरहका बेला भएको विचारात्मक छलफलले निकै सकरात्मक प्रभाव परेको बताएको छ । नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले आज जारी गरेको विज्ञप्तीमा छलफलबाट दुई पार्टी उत्साहित भएको उल्लेख छ ।
दुई पार्टीले आगामी दिनमा पनि विचारधारात्मक छलफल जारी राख्ने नेकपाको विज्ञप्तिमा उल्लेख छ ।
नेकपाले माक्र्स, लेनिनको विचार झैं सीको विचार पनि अंगाल्ने टिप्पणी र बहसले ल्याएको तुफान चियाको कपभित्रको आँधी भन्दा धेरै केही नहुने देखिएको छ ।
