टंक कार्की, चीनका लागि पूर्व राजदूत रहिसकेका छन् । नेकपाका केन्द्रीय सदस्य समेत हुन्, उनी । कुटनैतिक क्षेत्रमा विशेष ज्ञान राख्ने उनी पुराना बुद्धिजिवी समेत हुन् । हालसालै चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको ६ बुँदे सहमति, चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण लगायतका बिषयमा सनराइज खबरका लागि बालकुमार नेपाल र दुर्गा भट्टले गरेको कुराकानीको अंशः
कुनै बेला नेपाललाई दुई ढुंगा बिचको तरुल भनिन्थ्यो, अहिलेको अवस्था कस्तो छ ?
नेपालको भू–राजनीतिको अवस्थिति आफैंमा मूल्यवान छ । कुनै बेला एकाथरी मानिसहरु दुई शक्ति राष्ट्रको चेपाइमा परेकोले यसलाई विकासको वाधकको रुपमा हेर्थे ।
तर, अहिले अवस्था फरक छ । अहिले आर्थिक रुपमा उदाउँदो राष्ट्रहरुको बीचमा रहेको भनिन्छ । अहिले नेपालको विकास र स्थिरता छिमेकीसँग पनि जोडिने थालेको छ ।
के कारणले अहिले आएर छिमेकीहरुको कुटनीति परिवर्तन भएको हो?
छिमेकीहरुको कुटनीति परिवर्तन भएको होइन । छिमेकीहरु हिजोका औपनिवेषक कालखण्डका जस्ता रहेनन् । औपनिवेषिक युुगको अन्त्यसँगै चीन र भारत विकासतर्फ लागिसके । ती दुई राष्ट्रले विकासमा फड्को मारेपछि संसारले उपेक्षा गर्न नसक्ने शक्ति राष्ट्रका रुपमा उदाए ।
अहिले चीन दोस्रो शक्ति राष्ट्रका रुपमा छ । यो चाँडै पहिलो आर्थिक शक्ति राष्ट्रका रुपमा स्थापित हुँदैछ । त्यसैगरी भारतपनि आफ्नो ढंगले विकास गर्दै उदीयमान शक्तिका रुपमा आएको छ ।
यस्तो अवस्थालाई नेपालले ठिक ढंगले सदुपयोग गर्नुपर्छ । यसले हामीलाई विकासको गति माथी पु¥याउन सहज बनाउँछ ।
हालै चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच सहमति भयो, यसको अर्थ के होला ?
नेपाल कम्युनिष्ट आन्दोलनका दुई धारा चौथो महाधिवेशन (चौम) अथवा झापा आन्दोलन थियो । यी दुई धारा अहिले एक भएका छन् । यसअघि सीपीसीको यी दुई धारासँगै भातृ सम्बन्ध थियो ।
यी दुबै धारा एक भएर नेकपा बनेपछि त्यही सम्बन्धलाई निरन्तरता दिएको हो ।
अहिलेको सहमति कस्तो हो ?
हरेक सम्बन्धको परिस्थिति हुन्छ । र ती परिस्थिति परिवर्तन पनि हुन्छन् । त्यो अनुसार सम्बन्ध स्थापित हुन्छ ।
समयक्रममा यसमा समस्या आउलान् । त्यसलाई कसरी समाधान गर्ने, कुन मुद्दामा काम गर्ने भन्ने विषयमा भने छलफल हुन्छ ।
जस्तो कार्यकर्ता भ्रमणको कुरा उच्चस्तरीय भ्रमण आदान प्रदानको कुरा, एक अर्कालाई बुझ्ने कुरा हुन् । यस्ता कुरालाई अगाडि बढाउने भन्ने समझादारी विकास भएको हो ।
यस्तो सम्बन्ध त पहिला नै थियो नि ?
त्यही सम्बन्धलाई अहिले लिपिवद्ध गरिएको मात्र हो ।
यसले कस्तो प्रभाव पार्छ होला ?
चीन र नेपालका कम्युनिष्ट पार्टीका केही समानता छन् । हामी दुबै माक्र्सवाद लेनिनवाद मान्छौं । त्यस्तै समाजवाद र साम्यवाद हामी दुबै पार्टीका लक्ष्य हुन् ।
चीन विकसित समाजवादमा अगाडि बढिरहेको छ । हामी पनि समाजवादी बाटोमा जाने भनेपनि यसको कार्यान्वयन गर्ने तहमा हामी पुगिसकेका छैनौं । उनीहरु र हाम्रा प्रणाली भिन्न छन् । उनीहरुले कम्युनिष्ट पार्टी र अरु सहयोगात्मक डेमोक्रेटीक पार्टीको प्रणाली विकास गरेका छन् ।
तर हामीले प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली विकास गरेका छौं । विकासको स्तर चाहिँ धेरै भिन्न छ ।
हाम्रो अल्पविकसित मुलुक हो । उनीहरु दुनियाँंको दोस्रो अर्थतन्त्र भएको मुलुक हो । सांस्कृतिक हिसाबमा उनीहरु ९१ प्रतिशत हान समुदाय भएको मुलुक हो । हाम्रो अल्पसंख्यक जाति सम्मिलित राष्ट्र हो । हामी समान मुद्दामा मिलेर जान्छौ, नमिलेका मुद्दा त्यसमा बाधक बन्दैन ।
दुई पार्टीबीच ६ बुँदे सहमति भएपछि नेकपा चीनतर्फ ढल्कियो भन्ने टिप्पणी हुन थालेको छ, यो टिप्पणीमा कत्तिको सत्यता छ?
नेपालको विदेश नीति दुई छिमेक मुलुकलाई प्राथमिकता दिने हो । सुमधुर असल छिमेकी सम्बन्ध बनाउने हो । विकासका केही साझेदार देशहरु युरोप अमेरिका जापान, कोरिया पनि छन् ।
तर, हामीलाई यसले मात्र पुग्दैन ।
अहिले नेपालको खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया जस्ता मुलुकसँग पनि सम्बन्ध गाँसिएका छन् । यो बाहेक दौत्य सम्बन्ध बनाएका अरु थुप्रै मुलुक छन् ।
यस्तोमा सम्बन्धकै आधारमा कतै ढल्कियो भन्नु उपयुक्त हुँदैन ।
सीपीसीसँग भएको जस्तो सहमति भारतको बीजेपीसँग हुन सक्छ ?
सीपीसी र नेकपाको सम्बन्ध पार्टीगत हो । राज्यको होइन । राज्यको विदेश नीतिसँग यसले तलवितल गर्र्दैन ।
राज्यको विदेश नीतिलाई नै पार्टीहरुले भरथेग गर्ने हो । संविधानले दिएको नीतिमा नै पार्टीहरुले विदेश नीति बनाउने भएकोले नेकपाको विदेश नीति त्यही अनुसार छ । त्यसैले कसैतिर ढल्कने भन्ने कुरा आउँदैन ।
भारतले गरेको नाकावन्दीका कारण यो सहमति जुटेको हो?
यो तिललाई पहाड बनाउने कुरा हो । भारतीय नाकावन्दी बेग्लै मुद्दा हो । दुई पार्टीबीच भएको सहमतिमा गोरु बेचेको साईनो पनि छैन । यी अलग मामिला हुन् । चीन र भारत दुबैसंग असल छिमेकी, सुमधुर सम्बन्ध बनाउन चाहन्छौं ।
६ बुँदे सहमतिबाट जनताले के आश गर्ने?
दुई पार्टीबीचको सम्बन्धलाई व्यवस्थित गर्ने आधार हो, यो सहमति । दुईपक्षीय उच्चस्तरीय नेताहरुको आदान प्रदान, कार्यकर्ता आदान प्रदान, अन्तरक्रिया र अनुभव साटासाट जस्ता बिषय मात्र यसमा पर्छन् ।
यसबाट अनेक अर्थ निकाल्नु हुँदैन । यो पार्टी मार्फत् जनतामा जाने र जनता मार्फत् पार्टीमा आउने बिषय हो ।
दुई देशका पार्टीहरुबीच भएको सहमतिको नेपालमा पनि आलोचना भइरहेको छ नि ?
हामी अझै राजनीतिक परिपक्वतामा पुगेका छैनौं । शीतयुद्धकालीन चस्माको कारण यस्तो भएको हो । सहमतिको विरोध गर्नुको कुनै तुक देख्दिन ।
चीनका राष्ट्रपति सी चिनफिङले छिट्टै नेपालको भ्रमण गर्ने तयारी छ, यसबाट नेपालले के अपेक्षा गर्ने ?
चीन–नेपाल सम्बन्ध अति पुरानो हो । बुद्ध धर्मको उद्भव देखि नै नेपाल–चीन सम्बन्ध विभिन्न आयामबाट जोडिएको छ । चीन–नेपाल कुटनैतिक सम्बन्ध भएको समय पनि निकै लामो छ ।
१९५५ मा दौत्य सम्बन्ध भएपछि नै चीन–नेपाल सम्बन्ध राम्रो हुँदै गयो । राष्ट्रपति तहबाट नेपाल भ्रमण भएको १९८४ बाट हो । तथापी विगत २३ वर्षयता चीनको राष्ट्रपति तहबाट नेपालको भ्रमण भएको छैन । अहिले राष्ट्रपति सी चिनफिङको भ्रमण हुने आँकलन गरिएको छ ।
अहिले नेपाल भ्रमण हुने जुन आँकलन गरिएको छ त्यो धेरै यर्थाथ जस्तो लाग्छ मलाई ।
यसबीचमा किन भ्रमण हुन सकेन ?
नेपालको आन्तरिक कारण नै चिनियाँं राष्ट्रपतिको भ्रमण हुन नसकेको हो ।
माओवादी जनयुद्ध, संविधान निर्माण र यसको संक्रमणकालको जस्तो अस्थिर अवस्थामा त्यो तहको भ्रमण नहुनु अस्वाभाविक मानिँदैन ।
भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणपनि १७ वर्षपछिको अन्तरालमा भएको छ ।
तर, अहिले नेपालले राजनीतिक स्थिरता प्राप्त गरेको छ । बलियो जनसमर्थित सरकार छ । त्यसैले राष्ट्रपतिको भ्रमणका लागि यो उपयुक्त समय हो जस्तो लाग्छ । अहिलेको चीनको आर्थिक सामथ्र्यलाई हामीले कसरी विकासमा अनुवाद गर्ने, ग्रहण गर्ने भन्नेमा धेरै अपेक्षा गरिएको छ । चीनले पनि आफ्नो सामथ्र्य अनुरुपको सहयोग गर्न तयार छौं भनिरहेको छ । त्यसैले एक अर्काबाट हामी बढी लाभ लिने स्थितिमा छौं ।
अहिले आएर चीनले नेपाललाई बढी प्राथमिकता दिएको हो ?
कुनै बेला चीनलाई सुतेको बाघ र एसियाको बिरामी बाघ भनिन्थ्यो । आजको चीन सुतेको र बिरामी बाघ दुबै होइन । अहिलेको चीन जल्दो र जाग्दो बाघ हो । त्यस्तो चीनबाट संसारका सबै मुलुक केही लिउँ र केही सिकौं भन्नेमा छन् ।
टाढाका अन्य मुलुकहरु त्यसरी लागेको परिप्रेक्ष्यमा हामी छिमेकी भएकाले हामीले पनि यसबाट धरै सिक्न सक्छौं ।
हाम्रा दुईवटा छिमेकी मुलुक उचाईमा पुगिरहेको बेला नेपाललाई अहिलेको अवस्थामा बस्दा उनीहरुलाई पनि शोभा दिँदैन । उनीहरुको सहयोग हामीलाई निश्चीत समयका लागि चाहिएको हो । हामी तंग्रिन सक्यौ भने हामी आफै गर्न सक्छौं ।
