आशिष पौडेल --
अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छाएका छन् ।
अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा हाउडी मोदी नाम दिइएको कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र मोदीको सम्बोधन भारतीय मिडियामा नछाउने त कुरै भएन, अमेरिका तथा संसारका अन्य प्रतिष्ठित सञ्चार माध्यमले यसलाई प्राथमिकताका साथ प्रसार गरे । भारतीय मूलका करिब ५० हजार अमेरिकीलाई सम्बोधन गदै ट्रम्पले मोदी तथा भारतको प्रशंसा मात्रै गरेनन् अति प्रशंसा नै गरे । यो दृष्य टेलिभिजनको पर्दामा हेरिरहँदा छिमेकी देश भएका नाताले एउटा नेपालीको शिर पनि केही गर्वले झुक्दो रहेछ ।
तर, विडम्बना हामीकहाँ भारत र भारतीय भन्ने बित्तिकै विरोध गर्नुपर्ने एउटा भाइरस सल्केको छ । भित्र जति लम्पसार परे पनि बाहिर देखाउँदा ढोंग गर्नुपर्ने एउटा डिमार्केशन लाइन हामीले कोरेका छौं । यो चल्दै आएको परम्परा हो । यसलाई हामीले अझै निरन्तरता दिएका छौं । व्यवहार बदलेका छैनौं, कूटनीति सिकेका छैनौं । भारतलाई रिझाउन परे चीन चिढ्याउने तथा चीन रिझाउन परे भारतलाई पिठ्युँ देखाउने जुन राणनीति हामीले लिएका छौं, त्यो केवल रणनीति हो कूटनीति होइन । र, यो रणनीति र कूटनीति दुवैमा धेरै पटक फेल भएर लडिसक्दा पनि हामी चेतेका छैनौं । हामी कहिले चेत्छौं हेर्न बाँकी छ ।
अहिले फेरि एकपटक सडकमा रहेका खम्बामा चीन र नेपालका राष्ट्रिय झण्डा सजाउने कुराले भर्खर चिसो छिर्दै गरेको असोजको काठमाडौं तात्न थालेको छ । कुनै हुने हुनामी नभएमा यसपटक चीनका राष्ट्रपति सी जिन पिंगको नेपाल भ्रमण लगभग पक्का छ । अहिलेसम्म असोजको अन्तिम साता भन्ने सामान्य जानकारी मात्र बाहिर आएको छ । यसकारण पनि भर्खरै उपचार गराएर तन्दुरुस्त भएर फर्केका हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको मुहारमा मुस्कान देखिएको छ ।
यो प्रसंग किन झिकिएको हो भने २०७३ असोज २५ गते प्रधानमन्त्री बनेका केपी ओलीले पदबाट राजीनामा दिँदा भनेका थिए– ‘अत्यन्त प्रतिकूल अवस्थामा मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको थिएँ । अनिश्चितकालीन बन्द हडतालले तराई–मधेस ठप्प भएको दुई महिना बित्न थालेको थियो । लोकतान्त्रिक विधिबाट निर्माण गरिएको संविधानलाई जलाउने काम भइरहेको थियो । आन्दोलनका नाममा ४५ जनाभन्दा बढी नागरिक र सुरक्षाकर्मीको ज्यान गइसकेको थियो । तीन हप्ता अगाडिदेखि नाकाबन्दी थियो र मुलुक असाधारण सङ्कटमा पुगेको थियो । सवारी साधनमा हाल्न इन्धन थिएन । चाडपर्वका बेला जनताको चुल्हो बाल्न मट्टतिेल र ग्यास थिएन । खाद्य पदार्थ र जीवन रक्षक औषधिको समेत हाहाकार हुँदै थियो । नेपाल–भारत सम्बन्ध इतिहासकै जटिल बिन्दुमा पुगेको थियो ।’
शायद नेपाल विरुद्ध भएको यस्तै नाकावन्दीका कारण पनि उनले भारतसँगको एकपक्षीय व्यापार तथा अन्य सम्बन्धलाई सामान्यीकरण गर्दै साँध जोडिएको अर्को छिमेकी चीनसँग दरिलो व्यापारिक सम्बन्ध स्थापित गर्न खोजे । यसले व्यापार मात्र नभएर अन्य द्विपक्षीय सम्बन्ध सन्तुलनमा पनि रचनात्मक भूमिका खेल्नमा मद्दत हुनेछ भन्ने ठानी चीनसँगको सम्बन्धलाई अघि बढाउने कोशिश गरेका थिए । जसको उदाहरणको रुपमा त्यो बेलामा तेल, रेल देखि उर्जा, सञ्चार र अन्य महत्वपुर्ण हस्ताक्षर गरेका थिए । जसमा चीनसँगको पारवहन सन्धिलाई कोशे ढुंगाका रुपमा लिन सकिन्छ ।
हुनत उनका कुरालाई त्यसबेला राम्रै जोक नबनाइएको पनि होइन । तर, जब चीनले यो विषयमा गम्भीरता देखायो र हस्ताक्षर कार्यान्वयन गर्न अघि बढ्यो त्यसपछि भने यो नेपाल केही र भारतका लागि सह्य भएन भन्ने कुराले त्यसबेला राजनीतिक वृतमा राम्रै चर्चा भएको थियो । र, माओवादी र एमाले गठवन्धन सरकार ढाल्नमा भारतको अपरोक्ष भूमिका थियो भन्ने पनि राजनीतिमा सामान्य जानकारी राख्ने सबैलाई थाहा भएकै कुरा हो । तर, यहाँका हरेका राजनीतिक तथा अन्य महत्वपूर्ण घटनाक्रमलाई भारतसँग जोडेर हेर्ने हाम्रो पुरानो बानी पनि छँदैछ ।
तेल, रेल र अन्य प्रकियालाई कायान्वयनका लागि चीनका राष्ट्रपतिले नेपाल भ्रमण गरेपछि केपी ओलीको राजनीतिलाई पनि यहाँ कसैले हल्लाउन सक्दैन भन्ने अड्कल, अनुमान र कुण्ठाग्रस्त सोच पनि देखियो । जसका कारण राष्ट्रपति सी को भ्रमण जसरी पनि रोक्नुपर्छ भनेर माओवादीले आफैं संलग्न सरकार विरुद्ध अविश्वाश प्रस्ताव दर्ता गर्यो । राजनीतिक अस्थिरतलाई कारण देखाएर चीनले राष्ट्रपतिको भ्रमण रद्द गर्यो भन्ने हल्लाले त्यसबेला व्यापकता नपाएको होइन ।
तर, अहिले भने परिस्थितिमा ३६० डिग्री कोणमा अन्तर आइसकेको छ । त्यसबेला अविश्वास प्रस्तावका समर्थक माओवादीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले सत्ताधारी दल नेकपाका अर्का अध्यक्ष भएका छन् भने निर्वाचन पछि प्राप्त दुई तिहाई मतको सरकारका जिम्मेवार नेता ।
चीनका सम्बन्धमा भन्नुपर्दा, चीन नेपालको एक असल छिमेकीका साथै उसले नेपालको हरेक राजनीतिक परिवर्तनलाई नेपालको आन्तरिक मामिलाका रुपमा लिएको प्रतिक्रिया दिने गरेको छ । यसरी हेर्दा उसको नेपालमा तिब्बत स्वार्थ बाहेक अर्को नरहेको देखिन्छ । तर, यही एक चीन रणनीतिमा सँगै गाँसिएर आउने तिब्बत तथा यो सँगै नेपालमा बेलाबखत लाग्ने ‘फ्रि तिब्बत’ नाराले भने उसले नेपाललाई जहिले पनि ‘न नजिक न टाढा’को तटस्थ नीति अनुरुप व्यवहार गर्ने गरेको देखिन्छ ।
तर, वर्तमान विश्वमा विस्तार हुँदै गरेको उसको भूमिका, बिआरआई रणनीति लगायत अमेरिकाले अगाडी सारेको इण्डो–प्यासिफिक नीतिमा नेपालको भूमिका के रहने र उसले के गर्छ भन्नेमा ऊ सावधानीपूर्वक हेरेर बसिरहेको छ ।
हालै भएको चिनीयाँ विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा केही परियोजना निर्माण तथा सहयोगका राशी पनि हस्तान्तरण गरिए । भलै हाम्रो अपेक्षा ठूलो थियो । हामी दुई देशका यस्ता उच्चस्तरीय भ्रमणमा नगद र जिन्सी कति कारोवार भयो भनेर हेर्छौं तर, यी र यस्ता सहयोग हाम्रो आवश्यकता कति अनि मुलुकको हितमा कति भनेर हेर्दैनौं । जसले गर्दा कहिलेकाहीँ हाम्रो आत्मसम्मानमा पनि ठेस लाग्ने गरेको छ ।
फेरी फर्कौं सी को भ्रमणतर्फ नै । विश्व महाशक्ति तथा पहिलो अर्थतन्त्र बन्ने होडमा रहेको चीनका शक्तिशाली राष्ट्रपतिको आगमन निश्चय पनि खुशीको कुरा हो । यसले दुई देशको सम्बन्ध विस्तारमा अहं भूमिका खेल्नेछ । साथै यसले आफूले खेल्ने भूमिकाले नै नेपाल र चीनबीचको आगामी सम्बन्ध कस्तो रहने भन्ने निर्भर रहन्छ । हाम्रो बोली र व्यवहार कस्तो रहने तथा हामीले प्रस्तुत गर्ने कूटनीतिक परिपक्वताले पनि छिमेकीसँगको सम्बन्धमा महत्वपूर्ण भूमिका खेल्नेछ । अर्को भनेको हामीले के पायौं र उसले यति दिनुपथ्र्यो यति थोरै मात्र दियो भन्नु भन्दा पनि हामीले हाम्रो आवश्यकता र आत्मसम्मान जोगाएर छिमेकी रिझाउने कला नसिकेसम्म यस्ता भ्रमण केवल सानातिना लेनदेन तथा शिष्टाचारमा मात्र सीमित रहन्छ भन्ने सबैलाई चेतना भया ।
