बालकुमार नेपाल--
लक्ष्मणसिंह खड्का कुनै बेला चर्चाको शिखरमा हुन्थे । अहिलेको पुस्ताले उनलाई त्यति धेरै चिन्दैनन् । उनको परिचय नै सडकमा एक्लो भाषण गर्ने मान्छेका रुपमा स्थापित थियो । ०४९ साल ताका उनी राजाको पक्षमा र दलहरुको विपक्षमा जनमत सृजन गर्ने गरी सडकमा चिच्याउँदै हिँड्थे । चिच्याएर दलका नेताहरुलाई
उनले आमाचकारी गाली गर्दा तमासे वटुवाहरु स्वाद मानीमानी ताली पड्काउँथे । उनले जति भाषण गरेपनि नेपालमा राजतन्त्र टिक्न सकेन । समयले फाल्यो ।
एकदिनको कुरा थियो । तत्कालीन राष्ट्रियसभामा विपक्षी दलका नेता माधवकुमार नेपाल आफैं गाडी चलाएर संसदीय दलको कार्यालय सिंहदरवार पस्दै थिए । गेटमा बसेका लक्ष्मणसिंह खड्काले उनलाई सत्तो सराप गर्न थाले । जाडो याम थियो, गलबन्दी लगाएका माधव नेपालले गलबन्दी खोल्दै खड्कासँग भनाभन गर्न थाले । त्यसपछि लक्ष्मणसिंहलाई अखिलका कार्यकर्ताले उचालेर सिंहदरबार बाहिर पुर्याइदिएका थिए ।
त्यसपछि धेरै समय खड्का सिंहदरबार तिर देखिएनन् ।
आजकाल लक्ष्मणसिंह कता छन् ? थाहा छैन । बुढ्यौली लागेर नेताहरुलाई गाली गर्दै सडकमा हिँड्ने जोशजाँगर शायद घट्यो होला । अहिले ती लक्ष्मणसिंह देखिँदैनन् तर उनका अवतारहरुको कुनै कमी छैन् ।
अहिले नेपाली राजनीतिमा केही थान लक्ष्मणसिंह खड्का प्रकट भएका छन् । जस्तो कि ज्ञानेन्द्र शाही । जसले चितवनमा युवाहरुको रामधुलाई भेटेका छन् । जो लक्ष्मणसिंह खड्काले पनि पहिला बेला बेलामा भेट्थे ।
तीनले जे आवरणमा भाषण गरेपनि उनको मुख्य उद्देश्य दरवारको टाट्नामा घाँस खाने चाकडी हो । किनकी पूर्व राजा ज्ञानेन्द्र त्यति लाटो मान्छे होइनन् । जो ज्ञानेन्द्र शाहीबाट राजतन्त्र फर्कन्छ भन्ने अपेक्षा राख्दैनन् । उनी ज्ञानेन्द्रको अभियानबाट खुसी हुन सक्लान् । तर आशावादी हुन सक्दैनन् । त्यसैले ज्ञानेन्द्र शाहीबाट कुनै राजतन्त्र फर्कन्छ भन्ने कुरामा न पूर्व राजा ज्ञानेन्द्र आशावादी छन् । न अरु राजनीतिक दल यीनले राजा फर्काउछन् भन्ने डरमा छन् ।
चितवनमा उनलाई गत शनिबार युवाहरुले रामधुलाई गरेका छन् । लोकतन्त्रमा रामधुलाई राम्रो काम होइन । रामधुलाई गर्ने भन्दा रामधुलाई खान वातावरण बनाउने मानिस गलत हाे । राजावादी जत्थाले नेपाली राजनीतिमा रामधुलाईलाई फेरि एकपटक प्रवेश गराएकाे छ । प्रजातन्त्रको जननी मानिएको बेलायतमा पनि विरोधको सीमा छ । लण्डनकाे हाइड पार्कमा बसेर आफूलाई चित्त नबुझेको कुरा भन्न पाईन्छ । तर त्यही कुरा बकिंघम दरवार अगाडि भन्न पाइन्न ।
प्रजातन्त्र ज्ञानेन्द्र शाहीहरुले लडेर ल्याइएको होइन । उनले अहिले मान्ने गरेका धर्मपिता ज्ञानेन्द्र शाहसँग लडेर जनताले ल्याएका हुन् । प्रजातन्त्रका लागि युवाहरुले रगत बगाउँदै गर्दा ज्ञानेन्द्र शाहीहरु कतै गुच्चा खेल्दै थिए होलान् ।
लोकतन्त्र भनेको बग्दै गरेको पानीको दक्षिण दिशा हो । दक्षिण बग्दै गरेको पानीलाई केही समय रोक्न खोजिन्छ, त्यो केही समय रोकिन्छ । तर त्यसले आफ्नो बाटो समाउँछ । पहिलाका मण्डलेहरुले गरेको प्रयास पनि यही थियो ।
केही मानिस चितवनमा भएको घटनालाई पहिलाका मण्डले आक्रमणसँग तुलना गर्छन् । यो केवल एकलकाटे बहुलठ्ठी विचार हो । पहिला चुनाव लड्न पाउँदैनथे । अहिले पाउँछन् । पहिला ब्यबस्था विरोधी कुरा गर्न पाउँदैनथे । अहिले पाउँछन् । कानुन र संविधानले कुनै कुरा प्रतिबन्ध गरेको छैन । जसले अहिले व्यवस्था विरोधी कुरा गर्दा पनि सहज स्वीकार गर्छन त्यो तिनले ल्याएका होइनन् । ती तानाशाहका टाट्नमा घाँस खाने खसीहरुलाई लोकतन्त्रवादीले नै ल्याई दिएका हुन् ।
यो सडकको मामिला हो । सडक ज्ञानेन्द्र शाहीकाे मात्र होइन । सडक सबैको हो । सडकमा ज्ञानेन्द्र शाहीले भट्याउदा अरु चुप लागेर बस्छन् भन्ने छैन । सडकमा सत्ता पक्षका र प्रतिपक्षका सबै खाले मानिस हुन्छन् ।
राजा फर्काउने आवरणमा ज्ञानेन्द्र शाहीले संचालन गरेको अभियान सडकका अर्को पक्षलाई मन नपरेको हुन सक्छ । सडकमा हुने झडपलाई सरकारसँग जोडेर हेर्नु पूर्वाग्रह हुन्छ । सडकमा प्रहरीसँग भएको झडपलाई मात्र सरकारसँग जोड्न मिल्छ । त्यसकारण चितवनमा भएको घटनालाई सरकारसँग जोड्नु भनेको बुद्धिजीवीका नाममा कलंक हो । त्यसको साटो बरु आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्नु जायज हुन्छ ।
चितवनमा भएको घटना सुखद होइन । तर त्यो वातावरण कसले बनायो भन्नेमा जिम्मेवार छ । रक्सी खाएको ज्ञानेन्द्र शाहीको समूहले नेपालगञ्जमा पन्ध्र मिनेट फ्लाईट ढिलो गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईमाथि जुन अभद्र व्यवहार गर्याे, वातावरण उतेजनाको सुरुआत त्यहीँबाट भएको देखिन्छ । त्यसपछि ज्ञानेन्द्र शाहीको नेपालका लागि नेपाली अभियान के हो भन्ने कुरा अहिलेको पुस्ताले बुझिसकेको छ ।
आफूले रगत बगाएर ल्याएको लोकतान्त्रिक गणतन्त्रमा धावा बोल्दा समेत जनता चुप छन् । कसैकसैले प्रतिकार थालेका छन् । तर चितवन घटना कुनै सरकारले पठाएर वा खटाएर भएको होइन । जसरी ज्ञानेन्द्रले सडकबाट लोकतान्त्रिक गणतन्त्रको विरोध गरे त्यसको प्रतिकार पनि सडकबाट भयो । अब यो क्रम विस्तारै नबढ्ला भन्न सकिन्न । नीतिले भन्छ- राजा, केश र नङले एक पटक ठाँउ छोडेपछि त्यो फेरि पूरानै ठाउँमा फर्किन्न ।
