अनुपम शर्मिला--
औपचारिक घोषणा हुन मात्र बाँकी छ, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदैछन् । अनौपचारिक रुपमा त मिति पनि आइसकेको छ । तर, चिनियाँ चलन के छ भने भ्रमणको औपचारिक घोषणा अन्तिम समयमा मात्र गरिन्छ ।
तीन साता अघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आए । उनी दुई दिन बसे । उनको दुई दिने भ्रमणमा जेजस्ता भेटघाट भए, जेजस्ता अभिव्यक्ति आए, त्यसलाई केलाउँदा प्रष्ट हुन्छ– सी नेपाल आउँदैछन् ।
केही दिन अघि नेपाल र चीनका कम्युनिष्ट पार्टी बीच अलि विशेष र अनौठो खालको वैचारिक छलफल भयो । यो वैचारिक छलफल पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणतिर लक्षित थियो भन्ने बुझ्न गाह्रो छैन ।
राष्ट्रपति सी नेपाल आउँछन् कि आउँदैनन् ? कहिले आउँछन् ? केही वर्षदेखि निरन्तर यस्तो प्रश्न उठिरहेको थियो । यो प्रश्नको औपचारिक जवाफ आउन धेरै दिन लाग्ने छैन । र, जवाफ सकारात्मक हुने पनि निश्चित प्राय भइसकेको छ ।
सी आउने लगभग तय भएको बेला विगतमा उनको नभएको भ्रमणको पनि चर्चा गरौं । दोस्रो कार्यकालका लागि सी अहिले राष्ट्रपति छन् । उनी नेपाल आउने चर्चा विगतमा पनि भएको हो । चर्चा मात्र होइन, दुवै देशले प्रयास पनि गरेका हुन् । तर, चिनियाँ राष्ट्रपतिलाई हिमालमै रोक्ने, यता आउन नदिने विभिन्न राजनीतिक शक्ति छन् । ती शक्ति सफल भए । सी नेपाल आएनन् । यसअघि पनि सी नेपाल आउने चर्चा चल्यो तर आएनन् ।
सीले आफ्नो पहिलो कार्यकालमा नेपाल भ्रमण गरेनन् । दोस्रो कार्यकालमा नेपाल आउन लागेका हुन् ।
केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीत्व कालमा सी नेपाल आउने निश्चित जस्तै थियो । सी आउने भएपछि केपी ओली विरुद्ध अविश्वाशको प्रस्ताव ल्याइयो । उनको सरकार ढल्यो । त्यसबेला ओलीले प्रश्न उठाएका थिए– अबका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउँछन् ?
त्यो प्रश्नको जवाफ समयले दियो । सी नेपाल आएनन् । नेपाल भ्रमणमा ल्याउन कुनै पहल भएन । भ्रमण गराउनका लागि नभएर रोक्नका लागि नयाँ सरकार बनेको थियो भन्ने त्यसबेला प्रष्ट भएकै हो । अहिले पनि सीको भ्रमण रोकिन्छ कि ? यो प्रश्नको अब खासै अर्थ भएजस्तो लाग्दैन ।
तर, नेपालले केही प्रश्नको जवाफ भने खोज्नुपर्छ । चिनियाँ राष्ट्रपतिले यति लामो समय किन नेपाल भ्रमण गरेनन् ? नेपालको तर्फबाट चीन भ्रमण भयो तर चीनको तर्फबाट उच्च भ्रमण किन भएन ? चीनको अनिच्छाले मात्र चिनियाँ राष्ट्रपतिको भ्रमण नभएको हो कि नेपालतिरबाट छेकबार लागेर पनि नभएको हो ?
यी प्रश्नको जवाफ खोज्न सी नेपाल आउने बेलामा पनि खोज्नुपर्छ, भ्रमण सकेर फर्किएपछि पनि खोज्नुपर्छ ।
नेपालको विकास र स्थिरतालाई छिमेकीसँग जोडेर हेर्ने गरिन्छ । नेपालको आन्तरिक मामिलासँगै विकास र समृद्धि बारे दुवै छिमेकीले चासो राख्छन् । भारतले नेपालको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गरिरहेछ । उसले नेपालले संविधान जारी गरेकोमा असन्तुष्टी जनायो, भारतले नाकाबन्दी नै गर्याे ।
नाकावन्दीका बेला चीनले दुई–चार ट्यांकर पेट्रोलियम दियो । परिमाण र नेपालको आवश्यकताका दृष्टिले त्यति पेट्रोलियम सहयोग नगन्य थियो । तर, त्यसले के स्थापित गर्याे भने चीनबाट नेपालमा पेट्रोलियम आउन सक्छ । विपतमा चीनले नेपाललाई जस्तोसुकै सहयोग पनि गर्नसक्छ भन्ने प्रष्ट जनाउ थियो त्यो पेट्रोलियम सहयोग ।
नाकावन्दीकै बेला नेपालले चीनसँग पारवहन सम्झौता गर्याे । भारतको असहयोगमा चीनको यो कदमले नेपाललाई नयाँ दिशा दियो । यसलाई लिएर पनि विभिन्न अड्कलबाजी भए । भारत छोडेर नेपाल चीनतर्फ ढल्कियो भनियो ।
नेपालको आन्तरिक मामिलामा चीनले अहिलेसम्म हस्तक्षेप गरेको छैन । चीनविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने र एक चीन नीतिमा नेपाल अडिग छ । नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्तमा आधारित छ । अर्थात नेपाल–चीन सम्बन्ध समस्यारहित छ ।
नेपाल–चीनबीच कुटनीतिक सम्बन्ध कायम भएको धेरै भयो । तर, नेपालमा चीनबाट उच्चस्तरीय भ्रमण कमै मात्र भएको पाइन्छ ।
नेपालमा धेरै परिवर्तन भइसकेको छ । नेपालको मात्र नभएर समग्र दक्षिण एसियाको सन्दर्भ अर्कै भइसकेको छ । दक्षिण एसियासँग चीनको सघन व्यापारिक सम्बन्ध सुरु भएको छ । चीनले पनि विकासमा फड्को मारिसकेको छ । विश्व अर्थतन्त्रमा दोस्रो रहेको चीन पहिलो बन्ने होडमा छ ।
अर्थात्, चीन पहिले जस्तो रहेछ, नेपाल पनि पहिले जस्तो छैन । दुवै देश नयाँ परिवेश र सन्दर्भमा छन् । यस्तो अवस्थामा दुई देशबीच उच्च भ्रमण अत्यावश्क भइसकेको थियो । र, अब हुँदैछ भ्रमण ।
चिनियाँ राष्ट्रपतिको भ्रमणमा नेपालले केके सहयोग पाउँछ भन्ने गौण विषय हो । सम्पन्न देशका राष्ट्राध्यक्ष आउँदा सहयोगको वर्षा हुन्छ, तालुमा आलु नै फल्छ भन्ने खालको धारणा नेपालमा व्याप्त छ । के बुझौं भने सीको भ्रमण हुँदैमा तालुमा आलु फल्दैन । विदेशी सहयोग चाहिन्छ तर विदेशी सहयोगकै भरमा देश बन्छ भन्ने मुर्खता गर्न हुँदैन । चीनले नेपाललाई दिने साथ नै पर्याप्त छ
राष्ट्राध्यक्षको भ्रमण स्वयं नै ठूलो विषय हो । विश्वको दोस्रो अर्थतन्त्र, विश्वकै शक्तिशाली देश चीनसँग हाम्रो सम्बन्ध हुनुपर्ने जस्तो थिएन । सीको भ्रमणपछि नेपाल चीन सम्बन्ध नयाँ युगमा प्रवेश गर्नेछ । नेपालका लागि त्यही नै ठूलो उपलब्धी हो ।
