दुर्गा भट्ट --
काठमाडौं । करिब एक शदी अघि काठमाडौंमा आलिशान र भव्य सिंहदरबार बन्यो । सर्वसुविधा सम्पन्न थियो सिंहदरबार । तर, त्यहाँ एउटा मुख्य चिज थिएन– शौचालय । २००७ सालपछि काठमाडौं तथा विभिन्न जिल्लामा बनाइएका कार्यालय भवन पनि थाेरैमा मात्र शौचालय बनाइएकाे थियाे ।
करिब एक शदी अघिसम्म नेपालमा शौचालयको अवधारणा नै थिएन । सन् १९८० मा नेपालका दुई प्रतिशत मानिसको मात्र शौचालयमा पहुँच थियो ।
विकराल थियो अवस्था ।
०७ सालपछि काठमाडौंमा आधुनिक होटल तथा रेष्टुराँ खुल्न थाल्यो । त्यसपछि शौचालय पनि बन्न थाल्यो ।
दुई वर्ष अघि सन् २०१७ मा नेपालमा बहुसंख्यक जनता शौचालयको पहुँचमा पुगिसकेका थिए । तर, करिब २२ प्रतिशत नेपाली शौचालयको पहुँचमा थिएनन् ।
त्यो विकराल अवस्थाबाट पार पाउँदै आज नेपाल खुला दिसामुक्त देश बन्न सफल भएको छ । यो सामान्य सफलता होइन । विकसित देशहरु, जहाँ खुला दिसामुक्त जनसंख्याको प्रतिशत शून्य छ, उनीहरुलाई हेर्ने हो भने नेपाल अहिले पनि पछाडि छ । तर, अतितको नेपाल हेर्ने हो भने, अहिले पनि खुला दिसामुक्त घोषित हुन नसकेका देशहरुलाई हेर्ने हो भने, आज जे घोषणा भयो, त्यो सामान्य सफलता होइन ।
नेपाल दक्षिण एसियाको पहिलो त्यो देश हो जो अधारभूत सरसफाईमा खुला दिसामुक्त राष्ट्र घोषित हुने पहिलो बनेको छ । आजबाट विश्वका सभ्य र सफा देशको पंक्तिमा उभिएको छ नेपाल । नेपालको यो ऐतिहासिक उपलब्धी हो ।
यो खुसीको घोषणा ०१७ मा मै गरिने भनिएको थियो । तर, सरसफाईका अनेक सूचकांकहरुको स्तर नेपालले उकास्न सकेन । सर्वत्र शौचालय बनाउन सकेन । खुला दिसामुक्त बन्ने नेपालको प्रयासलाई ठूलो धक्का लाग्यो ०७२ को विनासकारी भूकम्प र ०७४ को बाढीले ।
मानवीय तथा भौतिक विकासका लक्ष्यहरु हासिल गर्नमा नेपालको सबैभन्दा ठूलो बाधक राजनीतिक अस्थिरता रहँदै आएको छ । विगतमा बारम्बार सरकार परिवर्तन भइरहन्थ्यो, त्यसैले विकासका लक्ष्य हासिल गर्न कुनै सरकार पनि गम्भीर हुँदैनथे ।
तर, गत आमचुनावले देशलाई बहुमतको सरकार दियो, प्रधानमन्त्री बने केपी शर्मा ओली । त्यसपछि देशले दिगो विकासतर्फ पाइला चाल्यो । त्यसको परिणाम हो आजको घोषणा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नसाथ सम्बन्धित निकायका पदाधिकारीहरुलाई भेला गरेर नेपाललाइ सन् २०१८ मै खुला दिसामुक्त घोषणा गर्न भनेका थिए । तर, ओलीको निर्देशन पूर्ण कार्यान्वयन हुन सकेन ।
त्यसपछि प्रधानमन्त्री ओलीले बारम्बार दवाब दिइरहे । स्रोत अनुसार प्रधानमन्त्री ओलीले दशैं अघि नै खुला दिसामुक्त देश घोषणा गर्ने गरी काम गर्न बारम्बार दवाब दिएका थिए । त्यसैको परिणाम हो आजको घोषणा ।
सन् २०११ मा सरसफाइको गुरुयोजना तयार भएर लागू भयो । त्यसको आठ वर्षपछि नेपालले खुला दिसामुक्त हुने अपूर्व उपलब्धी हासिल गरेको छ ।
नेपालले यो यात्रा तय गर्न अनेक उपाय लगायो । केही उपाय–
– शौचालय बनाउ विकास लैजाउ अभियान चलायो ।
– शौचालय बनाउन निव्र्याजी ऋण दियो ।
– विपन्नलाई सरकार आफैले शौचालय बनाइदियो ।
– बाआमालाई घरमा शौचालय बनाउनु भनी विद्यार्थीहरुलाई सिकाएर पठायो । घरमा दवाब दिन लगायो ।
– विद्यार्थी र बालबालिकालाई पूर्ण रुपमा परिचालित गर्यो ।
– खुला दिसा गर्नु भनेको सामाजिक अपराध हो भन्ने चेतना फैलायो
– शौचालय नबनाउने घरलाई स्थानीय तहबाट कुनै पनि सेवासुविधा नदिने नीति अनेक ठाउँमा लगाइयो ।
– स्थानीय दुग्ध संकलन केन्द्रहरुले शौचालय नहुने घरबाट दूध किन्न छाडे ।
सरकारले दर्जनौं अभियान चलायो । सबैखाले अभियानको केन्द्रमा स्थानीय समुदायलाई राख्यो । वास्तवमा सरकारले आज खुला दिसामुक्त अवस्था घोषणा गर्न सक्नुमा सारा नेपालीको योगदान छ । हरेक नेपालीको योगदानले यो सम्भव भएको हो ।
खुला दिसामुक्त अभियानमा शौचालय एक्लै थिएन, साथमा समग्र सरसफाइलाई प्रवर्द्धन गरिएको थियो । सरसफाई कार्यक्रमले क्रमिक रुपमा देशव्यापी सामाजिक अभियान कै रुप लिन थाल्यो ।
सरकारले पहिले गाविस तथा नगर (तत्कालीन) हरुलाई खुला दिसामुक्त बनाउने अभियान थालियो । आफ्नो गाउँठाउँलाई खुला दिसामुक्त घोषित गर्दा स्थानीयमा आएको गौरव र आत्मसम्मानले चमत्कारिक काम गर्याे । अन्य गाउँठाउँ पनि त्यसै गर्न प्रेरित भए ।
प्रतिस्पर्धा भयो । यो प्रतिस्पर्धामा कास्की जिल्लाले सबैलाई जित्यो । सो जिल्ला ०६८ माघमा खुला दिसामुक्त बन्यो । कास्कीलाई पछ्यायो चितवनले । क्रमश खुलामुक्त जिल्ला घोषणा हुन थाले ।
गत साउनमा भोजपुरले पनि आफूलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्यो । त्यसपछि नेपालले आफूलाई खुला दिसामुक्त घोषणा गर्ने औपचारिकता मात्र बाँकी रह्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल सरकारले रहर र लहडको भरमा देशलाई खुला दिसामुक्त गरेका होइनन् । नेपालले खुला दिसा नियन्त्रण गरेको तथ्यको अनुगमन संयुक्त राष्ट्र संघ अन्र्तगतका विभिन्न निकायहरुले निरन्तर गरिरहेका थिए । अर्थात्, विश्व समुदायले नै निगरानी गरिरहेको थियो ।
नेपालले खुला दिसामुक्त बन्नका लागि विश्व समाजले तय गरेको सबै मापदण्ड पूरा गर्याे। फलतः आज नेपाल खुला दिसामुक्त घोषणा भयो ।
सन् २००० मा नेपालमा बालबालिका मृत्युदर सात हजार थियो । त्यो संख्या २०१९ सम्म आइपुग्दा १२ सयमा झरेको छ । मृत्युदर घट्नुको एउटा कारण सरसफाई पनि हो । सरसफाईको चमत्कार आगामी दिनमा नेपालीले देख्ने नै छन् तर त्यसका लागि नेपालीले सरसफाई अभियानलाई अझ उच्च स्तरको बनाउनु परेको छ ।
नेपाल हरेक दिन एक कदम अगाडी भने जस्तै आज देशले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को यात्रामा एउटा दह्रो पाइला अघि सारेको छ ।
