गोविन्द थापा--
प्रजा परिषद् पार्टीको बारेमा नबुझी नेपालको इतिहास बुझिँदैन । त्यति ठूलो योगदान भएको पार्टी गलत नीति र रणनीतिका कारण इतिहासमा कैद भयो, वर्तमानमा देख्न सकिँदैन । मुख्य नेतृत्वका कारण कुनै पनि पार्टीको उदय हुन्छ र अस्ताउँछ पनि ।
नेपालमा प्रजापरिषद्– २ को अवस्थामा पुग्न लागेको छ नेपाली कांग्रेस । कांग्रेसका नेताहरुको नियत, नीति र रणनीति यस्तै रहने हो भने आगामी सन्ततिले कांग्रेसको इतिहास पढ्न पाउने छन् तर देख्न पाउने छैनन् । कुनै गल्लीको थोत्रो घरमा कांग्रेसको साइनबोर्ड सीमित हुनसक्छ ।
यो तीन दशकमा कांग्रेस यसकारण प्रजापरिषद् बन्नबाट बच्यो कि उसले वामपन्थीहरुसँग सहकार्य गर्याे । ०४८ सालदेखि कांग्रेसको कुशासनले तत्कालीन माओवादीको जनयुद्धलाई मलजल गर्याे । कुशासनका कारण कांग्रेस समाप्त हुने संघारमा थियो तर तत्कालीन एमाले र माओवादीसँग सहकार्य गरेर बाच्यो । वामपन्थीहरुसँग सहकार्य नगरेको भए कांग्रेस धेरै वर्ष पहिले नै प्रजापरिषद् भइसक्थ्यो ।
तत्कालीन एमाले र माओवादीसँग सहकार्य गर्दै संविधान जारी गरेर कांग्रेसले आफ्नो बिग्रेको छवी केही सुधारेको थियो । भारतले लगाएको नाकावन्दीलाई साथ दिएर कांग्रेसले आफूलाई पुन प्रजापरिषद् बन्ने बाटोमा लगेको तथ्य घाम जत्तिकै छर्लङग छ ।
कतिपयको भनाई छ, कांग्रेसले भारतीय नाकावन्दीलाई साथ दिएको थिएन । यो सत्य होइन । कुनै खराब कामको विरोध गरिँदैन, टुलुटुलु हेरेर मात्र बसिन्छ भने त्यस्तो खराब कामको समर्थन गरेको ठहरिन्छ । यस अर्थमा नेपाली कांग्रेस नाकावन्दी समर्थक पार्टी थियो ।
‘नाकावन्दी’ शब्द समेत उच्चारण गर्न सकेन कांग्रेसले । नाकावन्दी विरुद्धमा उभिएको थियो भने कांग्रेसले वर्तमान संविधान आफ्नो अगुवाईमा बनेको भन्ने नैतिक अधिकार राख्न सक्थ्यो । त्यस्तो नैतिक अधिकार कांग्रेसले गुमायो । कांग्रेसको इतिहासमा लोकतन्त्रका लागि गरिएको संघर्ष पनि देखिन्छ तर त्यस्तो संघर्षलाई ओझेलमा पार्छ उसका जनविरोधी तथा देश विरोधी नीतिहरुले ।
कांग्रेसको शब्दकोषमा देशभक्ति र राष्ट्रियता भन्ने शब्द कहिल्यै थिएन र छैन भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । अहिले आएर कांग्रेसमा ‘देशभक्ति’ जागेको छ, कांग्रेसलाई यो देशको राष्ट्रियताको ‘माया’ लाग्न थालेको छ । नाकावन्दीको ‘न’ उच्चारण गर्न नसक्ने कांग्रेसमा अचानक र रातारात किन राष्ट्रवाद जागेको हो ? यसबारेमा विमर्श गरिएन र बेलैमा सावधान हुन सकिएन भने देशले दुःख पाउनेछ, जनताले समृद्धि देख्न पाउने छैनन् ।
कांग्रेसलाई पचेन
कांग्रेसमा जागेको राष्ट्रवादको जरा गत आमचुनावसँग गासिएको छ । चुनावमा कुनै पार्टी विजयी हुनु र पराजित हुनु सामान्य लोकतान्त्रिक अभ्याश हो । तर, गत चुनावमा कांग्रेस पराजित मात्र भएको होइन, सजाय पनि पाएको हो । नेपालको राष्ट्रियतालाई घात गरे वापत जनताले कांग्रेसलाई सजाय दिएका हुन् चुनावमा । यो कुरा कांग्रेसले बुझेको छ । त्यसैले कुनै न कुनै मौका र बहानामा त्यो पाप पखालेजस्तो गरेर गुमेको जनमत फर्काउने दाउमा थियो कांग्रेस । र, उसले कालापानी सीमा अतिक्रमणलाई सुनियोजित रुपमा उठाएको हो ।
यति कारणले मात्र कांग्रेसको राष्ट्रवाद जागेको होइन । कारण अरु पनि छ ।
कांग्रेसको परम्परागत चरित्र हेरौं, व्यवहार हेरौं । नेपाली सीमा मिचिँदा चुईंक्क कहिल्यै बोलेन । कालापानी सीमा दशकौंदेखि मिचिएको छ । त्यहाँ भारतीय सेनाले दशकौंदेखि कब्जा जमाएको छ तर कहिल्यै बोलेन । अहिले किन बोल्यो ? यसको कारण खोतलौं ।
नेकपाको वर्तमान सरकारले नेपालको इतिहासमै नयाँ ढंगको परराष्ट्र नीति अपनायो । विगतमा भारत रिसाउला कि, चीन पो रिसाउला कि भन्ने ढंगबाट नेपालको परराष्ट्र नीति सञ्चालित थियो । नेपालको हित गर्दा विदेशी रिसाउँछन् भन्ने खालको मानसिकताको परराष्ट्र नीति कांग्रेसले स्थापित गरेको थियो । अरुको अहित नगरी आफ्नो हित हुने काम गर्दा कुनै पनि देश रिसाउँदैनन् र रिसाउँछन् भने पनि त्यो उनीहरुको समस्या हो भन्ने आत्मविश्वाशी परराष्ट्र नीति वर्तमान सरकारले लिएको छ । कांग्रेसलाई यो पचेको छैन । कांग्रेसकाे पाचन प्रणालीलाई नेपालले स्वतन्त्र परराष्ट्र नीति पचाउन सक्दैन । याे नीतिलाई भत्काउन कांग्रेसकाे राष्ट्रवाद जागेकाे हाे । वास्तवमा नेपालकाे परराष्ट्र नीति नपचेकाले कांग्रेसलाई पखाला लागेकाे हाे । अहिले कांग्रेसमा जागेकाे कथित राष्ट्रवाद पखाला हाे ।
त्यसैले अहिले कांग्रेस पार्टी भारत र चीनसँग नेपालको सम्बन्ध कसरी बिगार्न सकिन्छ भन्नेमा केन्द्रीत छ । कालापानी समस्यालाई गलत ढंगले उठाएर भारतसँग सम्बन्ध बिगार्ने नियतले कांग्रेसको राष्ट्रवाद जागेको हो । वास्तवमा कांग्रेसले राष्ट्रवादको खोलमा राष्ट्रघातलाई अगाडि बढाइरहेको छ । हिजो पनि कांग्रेस राष्ट्रघाती थियो, आज पनि राष्ट्रघाती छ । उसको नियतले यही प्रष्ट्याउँछ ।
राष्ट्रवाद नै हो भने...
नेपाली कांग्रेस देशको प्रमुख प्रतिपक्षी पार्टी हो । यो पार्टीको अवमूल्यन गर्न हुँदैन । यो पार्टी सच्चियोस् भन्ने पक्षमा हरेक नेपाली नागरिक उभिनुपर्छ । राष्ट्रियताको मामिलामा त कांग्रेस झनै सच्चिनुपर्छ । अहिले कांग्रेस सच्चिएको भ्रम कतिपयलाई परेको हुनसक्छ । कांग्रेसले अहिले उछालिरहेको राष्ट्रवादको खोलभित्र राष्ट्रघात कतिपयले नदेखेका या नबुझेका हुनसक्छन् । तसर्थ, कांग्रेसले आफू सच्चिएको, देशको हितका लागि कालापानी अतिक्रमणको विरुद्धमा बोलेको हो भन्ने तथ्य स्थापित गर्न निम्न काम तत्काल गर्नुपर्छ ।
१ - विगतमा भारतले नाकावन्दी गरेको हो भनेर औपचारिक निर्णय गर्नुपर्छ र आधिकारिक रुपमा भन्नुपर्छ ।
२ - भारतले नेपालको जति पनि सीमा मिचेको छ, ती सबैको विरुद्धमा बोल्नुपर्छ ।
३ - आफ्नो लामो विगत कार्यकालमा गरेका अनेकौं राष्ट्रघाती कामहरुको विवरण कांग्रेस आफैंले सार्वजनिक गर्नुपर्छ (जनतासँग भने त्यो विवरण छ) र त्यसो गरेकोमा नेपाली जनता समक्ष माफि माग्नुपर्छ ।
४ - नेपालको राजनीतिक स्थायित्व भत्काउने विदेशी उद्देश्यलाई कुनै पनि हालतमा साथ नदिने सार्वजनिक प्रतिवद्धता व्यक्त गर्नुपर्छ ।
५ - कसैसँग विशेष सम्बन्ध नराख्ने, सबैसँग समान सम्बन्ध राख्ने नेपालको नीति हुनुपर्छ भनी प्रतिवद्धता जनाउनुपर्छ ।
६ - विगतमा कालापानी अतिक्रमण विरुद्ध कहिल्यै बोल्न नसक्नुको कारण खुलाउँदै त्यसवापत माफि माग्नुपर्छ ।
७ - नेपालको अकुण्ठित पारवहन अधिकारको पक्षमा उभिँदै भारतबाट जसरी नै चीनबाट पनि पारवहनको सुविधा प्रयोग गर्नका लागि पूर्वाधार निर्माणको पक्षमा आफूलाई उभ्याउनुपर्छ ।
यी सात काम नगरी कांग्रेसको कथित राष्ट्रवाद पत्याउन सकिँदैन । यस्ता काम अरु पनि छन् ।
देउवाको बोलि
पछिल्लो कालमा कांग्रेस सभापति शेरबहादुर देउवाको एउटा भनाई चर्चामा छ । देउवाका अनुसार कालापानीको नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले आफ्नोतिर पारेको हो । देउवाको यो भनाईलाई ‘झुठ अफ दि इयर’ अर्थात् वर्षकै सबैभन्दा झुठो अभिव्यक्ति भन्न सकिन्छ ।
यति पराकाष्ठा झुठ देउवाले किन बोल्नुपर्याे ? अथवा, किन बोलेका हुन् ? यो बारेमा सर्वत्र विचार विमर्श भइरहेको छ । तथ्य के हो भने देउवा तथा नेपाली कांग्रेसले अहिले राष्ट्रवादका नाममा जेजे गरिरहेको छ सबै झुठको जगमा उभिएको छ । हजारौं झुठहरुले कांग्रेस पुरिँदै छ । कांग्रेसले झुठको सहारामा भ्रम फैलाउने, देशमा बातावरण विथोल्ने, शान्ति र स्थिरता भत्काउने नियत लिएको प्रष्ट छ ।
नेकपाको बहुमतको सरकार बनेपछि कांग्रेसले अनेक मुद्दा आविष्कार गर्याे । अनेक विषयलाई उछाल्यो । तिललाई पहाड बनाएर भ्रम सिर्जना गर्न निरन्तर प्रयास गर्याे । तर, कुनैमा पनि ऊ सफल हुन सकेन । अहिले ऊ राष्ट्रवादको तरबार बोकेर मैदानमा आएको छ । त्यो तरबार उसको होइन, अरु कसैले बोकाइदिएको हो भन्ने पनि छर्लङग छ । यो तरबारले ऊ नेपालको शान्ति र स्थिरता भत्काउन चाहन्छ । तर, त्यो तरबारले कांग्रेस आफैंलाई सिध्याउँछ । त्यो तरबारले कांग्रेसलाई प्रजापरिषद् बनाउने छ ।
