मंगलबार बिहान झिसमिसेको समय थियो । म सुतिरहेकी थिएँ । बिहान करिव पौने ६ बजेको थियो । अनौठौ खालको ठूलो आवाज आयो । आवाज अस्वाभाविक थियो ।
आवाज सुनेर मेरो घरपरिवार सबैजना उठे । छरछिमेकी पनि सबै उठे । हामीले सोच्यौं– गाडीको टायर पड्कियो होला ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका गुर्जुधारामा व्यस्त सडक छेउमै छ हाम्रो बसोबास । टायर पड्किएको आवाजसँग हामी चिरपरिचित थियौं ।
असामान्य आवाज टायर पड्किएको जस्तो थिएन ।
हामी बाहिर आयौं । सवारी दुर्घटना भएको रहेछ । हाम्रा लागि सवारी दुर्घटना पनि सामान्य हो ।
तर, बिहानको दुर्घटना सामान्य थिएन । हामी घटनास्थल पुग्यौं । त्यहाँ धेरै मानिस भेला भइसकेका थिए । प्रहरी पनि तत्कालै आइहाले । एकजना मानिस मारिएका थिए ।
दुर्घटना अनि दुर्घटनामा मृत्यु हुने घटना काठमाडौंका लागि सामान्य भइसकेको छ । सोमबार पनि काठमाडौंको सुकेधारामा बसको ठक्करले २१ वर्षीय सृष्टि पन्त मारिएकी थिइन् ।
उफ !
मृत्युको खबरले जसको पनि मन विचलित हुन्छ । तर, विचलनको पनि एउटा सीमा हुन्छ । समाचारको जंजालमा जतिखेर पनि आउने मृत्युका समाचारले हामी भित्रको संवेदनालाई चट्टान जस्तो बनाइसकेको छ । मृत्युको समाचारबाट मानिसहरु तबसम्म विचलित हुँदैनन् जबसम्म त्यो मृत्यु आफ्ना निकट मानिसको हुँदैन । अथवा, आफ्नो आँखा अगाडि हुँदैन ।
मंगलबार बिहान मृत्युको घटना निकटबाट देख्नुपर्ने दुर्भाग्यको दिन रहेछ मेरो । दुर्भाग्य त्यतिमा मात्र सीमित रहेन ।
मैले देखें– मृत मानिसको शरीर थियो, टाउको थिएन । म विचलित भएँ, त्यहाँ सबै मानिस विचलित भएको महशुस गरें । अकल्पनीय दृष्य थियो त्यो ।
तपाईंलाई यो कुरा पढ्दा पनि ह्रदयमा चोट लाग्यो होला, मैले त प्रत्यक्ष देख्न पर्याे ।
हे ईश्वर, जीवनमा कहिल्यै कसैले देख्न नपरोस् त्यस्तो दृष्य । कसैले पनि यस्तो मृत्यु भोग्न नपरोस् ।
सपनाको चीहान
सडकमा हिँड्दै गरेको हरेक मानिस मलाई सपना नै सपनाहरुको संग्रहालय लाग्छ । मेरा सम्पादक राजकुमार रेग्मीले ट्वीटर र फेसबुकमा लेखेको एउटा भनाई निकै चर्चित भएको थियो । केही वर्ष अघि उनले लेखेका थिए– ‘संसारको सबैभन्दा ठूलो चीहान मानिसको मन हो जहाँ हजारौं सपनाहरुको कंकाल भेटिन्छ ।’
लमतन्न परेर सडकमा पछारिएका ती मानिससँगै उनका हजारौं सपनाहरुले पनि मृत्यु वरण गरे । मेरो मनमा यही भाव आयो ।
त्यसै बीच भीडबाट एउटा आवाज आयो– ‘बाबु छोरा बाइकमा थिए, बाबुको यो हालत भयो, छोरा अहिले देखिएका छैनन् ।’
छोरा कता गए ? सबैजनाले यही सोध्न थाले ।
सडकमा एक मानिस लाश बनेर लडिरहेका थिए । उनी कसैका बाबु थिए, कसैका छोरा थिए, कसैका पति थिए । कूल मिलाएर उनी धेरैको सपना र विपना गाँसिएका मानिस थिए ।
नाम रहेछ उनको अर्जुन बहादुर केसी ।
सोधपुछका क्रममा थाहा भयो– उनी १० कक्षा पढ्ने आफ्ना छोरा अर्पणलाई स्कुल पुर्याउन घरबाट निस्केका रहेछन् । हाइभिजन कोलोनीबाट कलंकी स्थित एलआरआई स्कुलमा आफ्नो छोरालाई पुर्याउन हिडेका अर्जुनले मंगलबारको सूर्याेदय देख्न पाएनन् ।
घटनास्थलमा पानीको बोतल थियो, बाइकमा एउटा जुत्ता अल्झिएको थियो, टाउको थिएन तर सग्लो शरीरमा चोट देखिँदैनथ्यो । शरीरमा चोट नभएर के भो ? एउटा सिंगो परिवार र समाजलाई ठूलो चोट लागिसकेको थियो । मेरा यी अक्षरहरु पनि तिनै चोट हुन् ।
महाप्रलय
मेरा आँखाले अर्जुनबहादुरका छोरालाई खोज्न थाले । अहँ देखिन । उनी कतै थिएनन् । पिताको मृत शरीर अगाडि बसेको छोरा चिन्न गाह्रो हुँदैन । तर, अर्पण देखिएनन् ।
त्यसपछि थाहा भयो– पिता गुमाएका ती विचलित किशोर घर पुगेछन् । पक्कै पनि, होसमा होइन, बेहोसीमा पुगे ।
पहिले उनी घरमा पसेनन्, घरमा भनेनन् । घरमा कसरी भन्ने ? सँगै गएको पितालाई सदाका लागि विदा गरेर आएँ भनेर कसरी भनूँ ? यस्तो भाव आयो होला उनमा । त्यसपछि उनले टोलमा भनेछन् ।
टोलबाट उनको घरमा सुनामी जसरी खबर पस्यो । सुनामी मात्र होइन, महाप्रलय नै केसी परिवारको घरमा पस्यो ।
त्यसपछि आफन्तहरु घटना स्थलमा आउन थाले । पत्नी मिना केसी पनि त्यहाँ आइपुगिन् ।
त्यसपछिको अवस्था म यहाँ अक्षर शब्दमा लेख्न सक्दिनँ ।
चालीस कटेसी...
मृत अर्जुन बहादुरको पारिवारिक अवस्थाका बारेमा त्यहाँ थाहा हुन थाल्यो । उनका बारे हरेक कुरा मेरा कानमा गोली झैं पसे, ह्रदय घाइते बनाउने गरी ।
अर्जुनको उमेर ४१ वर्ष । धेरै वर्ष युरोपमा रोजगारी गरेर तीन महिना पहिले सदाका लागि स्वदेश फर्किएका रहेछन् । उनले ठमेलमा पसल चलाएका रहेछन् ।
अनायसै मेरो मनमा एउटा गीत आयो– ‘....चालीस कटेसी रमाउँला...।’
अनायसै मेरा आँखा रसाए । म त्यहाँ बस्न सकिन । फरक्क फर्किएँ । घरतिर लागें ।
हे ईश्वर
जब सडकमा दुर्घटना हुन्छ अनि मूल्यवान मानव जीवन नष्ट हुन्छ, त्यसबेला एकजना मानिस मात्र मारिएको हुँदैन । एउटा परिवार, समाजको एउटा हिस्साले सदाका लागि आँशु बगाउनुपर्ने हुन्छ ।
घर फर्केपछि मैले सम्झें– अब यो खबर पर्वत जिल्लामा पुग्नेछ । त्यहाँ अर्जुनका बाआमा छन् । यो खबर कसरी सुन्छन् होला ?
मैले हजार पटक ‘हे ईश्वर’ भनें ।
पत्रकारितामा लागेपछि दिनहुँ मृत्युको समाचार लेखिरहेछु । हरेक मृत्यु दुखदायी हुन्छ भनेर लेख्न–भन्न पर्दैन । तर, कसैको मृत्युसँग कुनै कारणवस जोडिन पर्दा हुने पीडा कति असहनीय हुन्छ भन्ने हामी सबैले भोगेका छौं । आज मैले फेरि पनि त्यस्तो दुर्दान्त नियति भाेग्नुपर्याे ।
अर्जुन बहादुर दाइको मलामी जान सकिन, उनको परिवारको आँशु पुछ्न पनि सकिन, सहानुभूति प्रकट गर्न पनि सकिन । आफैंप्रति खेद छ मलाई । तर, यस्ता दुर्घटनाले व्यक्ति, परिवार र समाजलाई पुराउने चोटबारे लेख्न सक्छु । मैले त्यो दुर्दान्त क्षणबारे लेख्नैपर्छ भन्ने लाग्यो ।
मेरो लेखनीको उद्देश्य र सन्देश के त ? यो पनि मैले लेख्न बस्दा नै तय गरें । र, मेरो लेखनीको सन्देश सटिक र छोटो हुन्छ भन्ने तय गरें । मेरो सन्देश एक वाक्यमा लेख्छु ।
– यस्तो दुर्घटना नियन्त्रण गर्न कसले के गर्नुपर्छ, गर्न थालिहालौं ।
