काठमाडाैं । आज माघे संक्रान्ति । विशेष विशेष परिकार खाने दिन ।
विशेष परिकारमध्ये पनि सक्खरबाट बन्ने परिकारले विशेष महत्व राख्ने दिन । सक्खर उखुबाट बन्छ । उखुबाट अरु धेरै गुलिया चीजहरु बन्छन् । जस्तै चाकु, तिलौरा, लड्डु ।
तर, यो दिन सक्खरको विशेष दिन हो, भन्ने मलाई थाहा थियो । सक्खरबाट बनेका धेरै परिकारको स्वाद मेरो जीब्रोले थाहा पाईसकेको थियो ।
मलाई अरु उत्कृष्ट परिकारहरुको बारेमा विशेष जान्न मन लागेको थियो । सोंचे मौका यही हो ।
म पेशाले पत्रकार । यो पनि साेंचे यस्तो विभिन्न परिकारहरुको बारेमा मैले जानेर त्यसलाई प्रकाशित गर्न पाए म जस्ता कतिले थाहा पाउँथे होला ।
मनमा निकै खुलदुलीका साथ सक्खरबाट बन्ने विशेष परिकार बन्ने ठाँउ पत्ता लगाएँ । त्यो ठाँउ थियो काठमाडौंको टोखा ।
त्यसपछि सहकर्मी राम श्रेष्ठसँग मैले टोखाको यात्रा तय गरे । राम हाम्रो कार्यलयको क्यामेरा म्यान हुन् ।
राम र म टोखा लाग्यौं । सामाखुसीबाट टोखा लाग्ने बाटोमा भूतखेल भन्ने ठाउँ आउँछ । हामी पुग्दा त्यो भूतखेललाई विभिन्न परिकारहरुको वास्नाले ढाकेर राखेको थियो ।
आहा कति मिठो बास्ना । यही भन्दै हामी टोखा लाग्यौं ।
जब टोखा पुग्यौं
ठाउँ ठाँउमा बेच्न राखेका चाकु, तिलको लड्डू, मुरीको लड्डु, यस्तै यस्तै मिठाइले टोखाको रौनक बढाइरहेको थियो । पसलमा भीडभाड थियो । ठूलो संख्यामा मानिसहरु किन्न आएका थिए मिठाइ । केही मानिस भने टोखाको रौनक हेर्न आएका थिए ।
केही भने म जस्तै जान्न र अरुलाई पनि सञ्चारमाध्यममार्फत बुझाउन आएका थिए ।
त्यहाँ भएका पसलमध्ये एउटामा बढी भीड थियो । सोही पसलतर्फ गयौं हामी । त्यो त पसल मात्र नभएर उद्योग पनि रहेछ । ‘टोखा चाकु उद्योग’ ।
त्यो उद्योगका साहुजी न्हुँच्छे नारायण श्रेष्ठ रहेछन् । म उनीसँग कुराकानी गर्न थाले । सहकर्मी रामले भिडियो खिच्न थाले ।
हुन त हामीले बाटो बाटोको विभिन्न परिकारहरुको भिडियो खिच्दै आएका थियाैं । मनमा लागेको कौतुहलता मेटाउन न्हुँच्छे नारायणसँग पनि कुरा गर्न थाल्यौं ।
न्हुँच्छे नारायणको उघोग ठूलो रहेछ । करिब १६ जना कर्मचारीलाई रोजगारी दिएका रहेछन् उनले । उनीमात्र होइन, उनको तीन पुस्ता चाकु व्यवसायमा तल्लीन रहेछ । न्हुँच्छे नारायणदेखि नाती सम्म ।
चाकु व्यवसायमा निकै अनुभवी थिए उनी । कुराकानीका क्रममा उनबाट मैले धैरै कुरा थाहा पाउने अवसर पाएँ ।
न्हुँच्छे नारायणबाट थाहा पाएका विशेष कुराः
१. चाकु, तिलको तिलौरा विश्वकै उत्कृष्ट मिठाइ २.केमिकलरहित मिठाइ ३.चालीस पचास बर्षदेखि बनाउन थालिएको ४.देशका विभिन्न जिल्लासहित विदेशमा समेत निर्यात हुने ५.चाकु उत्पादनबाट लाखौं फाइदा हुने ६.टोखा कुनै समयमा उखु बारी ७.स्वास्थ्यबद्र्धक पौष्टिक तत्वयुक्त मिठाइ
हुन त म पनि चकलेटको पारखी हूँ । विभिन्न किसिमका चकलेट खान म रुचाउँछु। तर, जब न्हुँच्छेले आफ्नो पसलको परिकार खान अनुरोध गरे । र मैले खाएँ । तब मलाई लाग्यो अब म सधै यही मिठाइ अर्थात चाकु खान्छु ।
न्हुँच्छेले भनेजस्तै मलाई पनि लाग्यो यो विश्वकै उत्कृष्ट मिठाइ हो । यस्तो उत्कृष्ट मिठाइ नेपालमै बन्दोरहेछ भन्ने मलाई थाहा भयो ।
र विदेशमा पनि यसको माग रहेछ भन्ने पनि थाहा पाएँ । त्यसपछि नेपाली केमिकलरहित मिठाई खाँदै खुसी हुँदै हामी फर्कियौं ।
यससम्बन्धी विशेष कुराकानी हेर्न तलको भिडियो क्लिक गर्नुहोस्
