काठमाडौं । प्रधानमन्त्री मात्र होइनन् केपी शर्मा ओली, उनी नेपालका सर्वाधिक प्रभावशाली वक्ता समेत हुन् । उनका हरेकजसो भाषणले नेपाली राजनीति तथा समाजमा तरंग ल्याइदिन्छ ।
कसले के भन्छ, के प्रतिक्रिया आउँछ भन्ने हिसाबकिताब नगरी बोल्छन् प्रधानमन्त्री ओली । नेपाली राजनीतिका सर्वाधिक खरा र प्रष्ट वक्ता पनि ओली नै हुन् ।
भगवान गौतम बुद्धले सत्य बोल तर, अप्रिय सत्य नबोल भनेका छन् । त्यस विपरित प्रधानमन्त्री चाहिँ अप्रिय भए पनि सत्य बोल्ने स्वभावका छन् । त्यसैले उनका अभिव्यक्तिले विवाद, चर्चा र प्रशंसा भरपूर पाउने गरेको छ ।
प्रधानमन्त्री ओलीले २९ पुसका दिन चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँगको भेटमा यस्तो अभिव्यक्ति दिए, जसले ठूलो तरंग ल्याइदिएको छ । प्रधानमन्त्री ओलीका अभिव्यक्तिले खासगरी पत्रकारहरुमा, पत्रकारहरुमा पनि सम्पादकहरुमा तीव्र प्रतिक्रिया ल्यादिएको छ ।
प्रधानमन्त्री ओलीका अभिव्यक्ति बंगाएर पनि मिडियामा प्रचार हुने गरेको छ । सम्पादकहरुमाथि गरिएको प्रधानमन्त्रीको टिप्पणीमा केके छ ? सो दिन प्रधानमन्त्रीले अन्य केके विचार राखे ? सो दिनको विचारको सारसंक्षेप:
नेपाल भिखारीको देश होइन
मैले घोषणा गरेको छु– यति उर्वर देशमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैन । तपाईं हामी सबैले बाटाका छेउमा बालबालिकाहरु कुकुरसँग लडाईं गरेर खानेकुरा टिपिरहेको देख्थ्यौं । तर, अहिले यो सरकार बनेपछि तपाइले सडकमा बालबालिका देख्नुहुन्न किनभने उनीहरुलाई राख्ने, बसाउने, पढाउने प्रबन्ध फरक ढंगले गरिएको छ । त्यसकारण सडक बालबालिकाबाट नेपाल मुक्त छ ।
सडक किनारामा जिङ्रिङ्ग कपाल बढिराखेको मानिसहरु हुन्थे, घाउ भइराखेको हुन्थ्यो, झिँगा भन्किराखेको हुन्थ्यो, कुकुरसँगै सुतिराखेको हुन्थ्यो, कुकुरले घाउ चाटिराखेको हुन्थ्यो, कागले ठुंगीराखेको हुन्थ्यो । त्यस्तो हामीले सडकको किनारामा देख्थ्यौं भने आज सडक मानव भन्ने नेपालमा छैनन् । हामी सडक मानव खोजीखोजीकन उठाएर त्यस्को प्रबन्ध गरिराखेका छौं । त्यसका लागि गैरसरकारी संस्थाहरुलाई समेत मोबिलाइज्ड गरिरहेका छौं ।
नेपालमा मानवता भएका, मानवीय भावना भएका मानिसहरु पनि छन् । त्यस्ता संस्थाहरु पनि छन् । तिनीहरुसँग सहकार्य गरेर यस्तो काम गरिराखेका छौं । तिनीहरुलाई प्रोत्साहित गरिराखेका छौं । जुनसुकै हिसाबले होस् अहिले सडकमा त्यस्तो जीर्ण मानव छैन । नेपाल भिखारीहरुको देश होइन, त्यसकारण बेघर हुनुपर्दैन । त्यस्तो मान्छे भेटिए घर भएकालाई घर पठाइदिने, साँच्चै बेघर बनेकाको प्रबन्ध गरिदिने । त्यो हामीले गरेका छौं । देख्दा अलिक स–साना लाग्ने कुराहरु तर समाजको उत्थानको लागि धेरै महत्वपूर्ण कुरा हो यो । ता कि कोही मान्छे सडक मानव हुनु पर्दैन ।
यस देशमा तिनको पनि सरकार छ । सरकार भनेको तिनको पनि हो । त्यसरी हामीले काम गरेका छौं । तर, अहिले यस्ता कामहरुको प्रशंसामा लेख्ने कलम छैनन् । यस्ता कामहरुको प्रशंसामा लेख्ने, प्रशारण गर्ने टेलिभिजन छैनन् । यस्ता काम प्रकाशित गर्ने पत्रपत्रिका छैनन् । यस्ता कामहरुको प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । कसैकसैले कतै कतै छ्यास्स छुस्स लेखिहालेछ भने त्यसले त्यहीँ गाली खान्छ– सरकारको दलाल भइस् कि क्या हो ? आलोचनात्मक चेत खै ? राम्रा कुरा गर्न थालिस्, बिग्रिइछस् । सकारात्मक कुरा पनि गर्न थालिस् । यस्तो भन्ने एउटा तप्का छ । जसलाई तथ्य मतलव छैन, निन्दा गर्नुलाई आलोचनात्मक चेत भन्छ । त्यस्ता कुराहरुबाट हामी प्रभावित हुँनुहुँदैन । नेपालले विकास गर्दैछ ।
दुईटा टाइपराइटर
आज मात्र मैले थाहा पाएँ २०१० सालमा नेपालका नेपालका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले भारतका प्रधानमन्त्री जवाहराल नेहरुलाई पत्र लेख्नु भएको रहेछ । त्यो पत्रमा दुईवटा टाइपराइटर पठाइदिनुस् भनेर लेखिएको रहेछ । आज टाइपराइटर होइन, कम्प्युटर होइन, ल्यापटप होइन, आइप्याड तपाईंले नोट पनि गर्न मिल्ने, लेख्न पनि मिल्ने, सबै चिज गर्न मिल्ने मिनी कम्प्युटर तपाईंको मोबाइलमा, हरेकसँग छ । अथवा आजको भिन्नता कहाँ छ ? हामी कहाँ पुग्यौं ?
हामी डिजिटल नेपालको कुरा गरिराखेका छौं । निरक्षरताको प्रतिशत माथि भएको नेपाललाई डिजिटल नेपालमा पुर्याउँने, पेपरलेस अफिस, पेपरलेस कारोवारका कुरा हामी गरिरहेका छौं । हाम्रो महत्वकांक्षा यस्तो चर्को छ ।
जनतामा नपुराइएका उपलब्धी
मैले रेलका कुरा गरेँ । उत्तरसँग पनि बाटो खोल्नु पर्छ र व्यापारिक सम्बन्ध बढाउनु पर्छ भनेँ । पानीजहाजका कुरा गरेँ । पूर्व–पश्चिम रेलका कुरा गरेँ । उत्तर–दक्षिण रेलका कुरा गरेँ । अहिले तिनको सर्भेका काम लगभग सकिएर अब ती निर्माणका क्रममा प्रवेश गर्दैछन् । पानीजहाजका कुरा गरेँ । समुन्द्र साझा हुन् । समुन्द्रको किनारको तीस किलोमिटर मात्रै कुनै देशको अधिकारको कुरा हो । त्यसकारण हामीले ट्रान्जिट पोर्टका लागि ती देशहरुसँग सम्झौता गर्नुपर्छ ।
पहिले हामीलाई गाह्रो थियो । एउटा छिपछिपे पानी मात्रै भएको कोलकाताको पोर्ट थियो भने आज विशाखापटनम् होस् कि अर्को होस् कि बंगलादेश होस् कि चीन होस् कि अथवा उता मुम्बईतिरबाट, गोवातिरबाट होस् कि पूर्वतिरबाट होस् कि कताबाट चाहिन्छ, हामीलाई पोर्टको समस्या छैन । हामी त्यस स्तरमा गएका छौं । चीनसँग पनि हामीले विभिन्न ठाउँमा बन्दरगाहाहरु प्राप्त गरेका छौं । राष्ट्रको यस उपलब्धिलाई कुनै सम्पादकले जनतामा पुर्याउन लायक सन्देश ठान्दैनन् ।
हामी उठ्दैछौं
हामीले यस वर्षलाई भिजिट नेपाल भनेका छौं । हुनत कतिपयले तयारी नगरिकन गरेको भनेका छन् । यस्तो भन्न सकिन्छ । तर कति वर्ष तयारी गरेर गर्ने ? हाम्रा प्रयासहरुलाई केन्द्रित गरी भिजिट नेपाल पनि सफल पार्छाैं । भिजिट नेपाल सफल पारिरहँदा भिजिट नेपालमा मात्र हाम्रो ध्यान जान्छ भन्ने होइन ।
हामी गाउँमा नपढिरहेका, पछाडि परेका, स्कूल नपुगेका बालबालिकालाई स्कुल पनि पुर्याइरहेका छौं । स्कूलबाट ड्रपआउट हुने कुरालाई रोकिराखेका छौं । त्यसको पनि प्रबन्ध हामी मिलाइराखेका छौं । देख्दाखेरी सानो कुरा हो, तर हामीले स्कूल जाने बालिकाहरुका लागि स्यानेटरी प्याडहरु वितरण गरेका छौं । देख्दा सानो कुरा छ, तर उनीहरु त्यस्ता कुराबाट ड्रपआउट हुँदैनन् । उनीहरु त्यसबाट स्कूल नजाने गर्दैनन् ।
हाम्रो समाज त छाउगोठ र छाउपडीवाला समाज हो । हामी कहाँ छौं भन्दा छाउपडीवाला दुनियाँमा छौं । तर, त्यस स्थितिबाट हामी माथि उठ्नु पर्छ । त्यस स्थितिबाट सामाजिक जागरण हामीले ल्याउनु पर्छ । हामी त्यो गर्दैछौं ।
हामीले ओडिएफ कन्ट्री अथवा खुला दिसामुक्त देश घोषणा गरेका छौं । नेपाल जस्तो देशलाई खुला दिसा मुक्त गर्नु सहज कुरा होइन । यो सभ्यताको एक लेवल माथि चढ्यो । त्यो एउटा सभ्यताको ठाउँमा पुग्यो ।
काठमाडौं पुरानो शहर हो । यहाँ पुरानो सभ्यता छ । यहाँ कला–संस्कृति छ । तर ट्वाइलेट हुँदैन्थ्यो । मानिसहरु भ¥याङमुनी बस्ने । अहिले भर्याङमुनीबाट ट्वाइलेटमा सार्ने काम भएको छ । तराइतिर त जलमैदान हुन्थ्यो । त्यो जलमैदानवालाबाट शहर बनाइएको छ । त्यसरी हामी एकएक स्तर उठिरहेका छौं ।
हाम्रा दाजुभाइ दिदीबहिनीहरु तुइनमा झुण्डिएर देशभरी खोला तर्दैथिए । त्यस ठाउँमा तुइन विस्थापित भएको छ, पुल बनेको छ । मैले तुइन विस्थापनको घोषणा गरेँ, अनि अलिकति मजाकमा उडाउन खोजे मान्छेहरुले । मैले दुईवर्ष भित्र टुङ्ग्याउने भनेको थिएँ । आफैँ ७–८ महिनामा सरकारबाट गएपछि दुई वर्षमा कहाँबाट हुन्थ्यो । फर्किएर आएपछि फेरि अगाडि बढाएँ । अहिले ती ठाउँहरुमा पक्की पुल बने पनि तीन वर्ष अघिका तस्बिर राखेर खै तुइन हटाएको भनेर प्रश्न गर्ने गरिन्छ । यो आलोचनात्मक चेतका कारण होइन, निन्दाका कारण यस्तो भइरहेको हो ।
जे मा पनि विवाद गर्छन् नेपाली
मैले मै बनाउँछु मेरो धरहरा भनेर सुरु गरेको थिएँ । त्यो भन्ने बित्तिकै म माथि तरवार चल्यो, ल बना धराहरा भनेर । प्रधानमन्त्रीमा फेरि फर्किएर आएर फेरि बनाउन सुरु गरेँ । अहिले चार तल्ला माथि उठिसक्यो । अब बाटो हिंड्दा पनि तपाईंहरु देख्न सक्नुहुन्छ । अर्काे वर्षको कात्तिकसम्म तपाईंहरु धरहराको टुप्पोमा चढ्न सक्नुहुन्छ । त्यहाँ हिंडेर पुग्न नसक्ने बुढाबुढीको लागि लिफ्टको प्रबन्ध गरिएको छ । बच्चा बोकेर पनि लिफ्टबाट जाने प्रबन्ध हुन्छ ।
विवाद गर्न नेपालीलाई आउँछ । जेमा पनि विवाद गर्ने । रानीपोखरीको पनि बारमा ताला लगाउनेदेखि तमासा अनेक भए । तर अब रानीपोखरी बन्दैछ । चैत भरिमा तयार भइसक्छ । खुलामञ्च, रत्नपार्क, टुँडिखेल, सिंहदरवार यस ठाँउलाई नयाँ ढंगले पुनःसंरचना गरेर काठमाडौं जस्तो बनाइन्छ ।
हामी एउटा मात्रै काम गर्दै छैनौं । टोखाबाट छहरे, वेत्रावतीबाट स्याफ्रुबेंसी टनेल गरेर एक घण्टामा ल्हासा पुग्ने प्रबन्ध गर्दैछौं, त्यो पनि हुँदैछ ।
फास्ट ट्रयाकको कुरा मात्र भइराखेको थियो । मैले हामी आफैं बनाउँछौं फास्ट ट्रयाक भनेर त्यसमा १० अर्व रुपैयाँ छुट्याएर काम सुरु भयो । फास्ट ट्रयाकको ट्रयाक ओपन लगभग भइसकेको छ । अब चार वर्ष भित्र हामी त्यसलाई कम्लिट गर्छाैं । तातोपानी नाका बन्द थियो । अब तातोपानी नाका खुलेको छ र अब राम्रो बाटो, डबल लेनको पक्कि बाटो तातोपानी तर्फ पनि हुन्छ । कोरला नाकातिरबाट पनि बाटो खुल्छ । यो सबै नेपालको ब्यापारलाई प्रवद्र्धन गर्नका लागि हो ।
समस्या छ, समाधान गर्छाैं
आइसीपीटीआर पनि तयार हुँदैछ । इन्टरमिडियट चेकपोष्ट । यसरी कामहरु जाँदै छन् । कोलकातामा र अरुतिर पनि नेपाली कन्टेनरहरुका लागि के सहजीकरण गरिएको छ, यहाँहरुलाई थाहा छ । निकासी हुने नेपाली अदुवामा समस्या छ भनिरहेका छन् । हामी यसमा के समस्या छ, खोजेर त्यो समाधान गर्दैछौं । अहिले मलेसियासँगको अन्तरविरोधका कारणले पाम आयलको असर नेपाललाई परेको छ । त्यो असर खोल्न हामी वार्ता गर्दैछौं । मलाई विश्वास छ हामी त्यो जरुर गर्न सक्छौं ।
अनेक चिजहरुमा हामी एकपछि अर्को सफलता प्राप्त गरिरहेका छौं । हामी एकपछि अर्को सफलताका साथ अगाडि बढेका छौं भने उद्योग वाणिज्यका क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न नसकिने समस्या होइन । राष्ट्रिय समस्या त हामी सजिलोसँग समाधान गरेर नेपाललाई एउटा नयाँ उचाईमा लगिराखेका छौं । जटिल समस्याहरु त हामी नयाँ उचाईबाट समाधान खोजिरहेका छौं भने यी त हाम्रा आफ्नै समस्याहरु, आन्तरिक समस्या हुन् । होला.. यो प्रारम्भिक दौडमा केही असजिलो केही अफ्ठ्यारो होला ।
मैले भनेको छु– कुन कानूनमा कहाँ संशोधन हुनु पर्यो त्यो तपाईंहरु मस्यौदा गरेर लिएर आउनुस् । कहाँनिर संशोधन गर्नु पर्यो के ब्यहोरा हटाउने, के राख्नु पर्यो, त्यो छलफल गराैं, संशोधन गरेर अगाडि बढौं । कहाँनिर केले अफ्ठ्यारो भयो ? के ले असुविधा भयो ? त्यो कुरा मकहाँ आओस् । तर व्यावसायिक क्षेत्रले पनि हामी राष्ट्र निर्माणको एउटा आम अभियानमा छौं भन्ने कुरालाई ध्यानमा राखेर इमानदार भएर काम गर्नु पर्छ । यो सरकार भन्ने कुरा छकाउने कुरा हो यसलाई छकाउनु पर्छ भन्ने होइन । हामीले सरकारलाई होइन देशलाई छकाइराखेका हुन्छौं ।
छोराछोरी नबिगार्नुस्
त्यसकारण छकाउने काम नगरौं जसलाई हामी गैरकानुनी काम भन्छौं त्यो नगरौं र कानुनमा कति सरलता सहजता चाहिन्छ त्यो सरकारले गर्छ । कानुनी ढंगले सहज बनाउने काम सरकारले गर्छ, पहिले । करका कुरा सुनेको छु पटक पटक । ती कुराहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छु । सम्पत्तिको अभिलेखीकरण वा लेखांकन गर्ने कुरा गरौंला । पहिले लगानी बढ्नु पर्यो । निश्क्रिय सम्पत्तिलाई सक्रिय बनाऔं । घरमा पैसा नराख्नुस्, लगानी गर्नुस्, मेरो आग्रह छ । बैंकमा अलि कम राख्नुस् । लगानी बढी गर्नुस् । लगानी गर्नका लागि बैंकबाट लोन लिनु पर्छ वा बैंकमा पैसा राख्नु पर्छ । पैसा बैंकमा राख्ने भनेको घरमा राखेजस्तै हो । मुख्य कुरा चाहीँ लगानीमा ध्यान दिनुहोस् । त्यसले रोजगारीमा र उत्पादनमा सघाउँछ ।
आयात प्रतिस्थापन गर्ने, निर्यात प्रवर्द्धन गर्ने, त्यस प्रकारका क्षेत्रहरुमा लगानी गर्नुहोस्, जसले प्रतिफल दिन्छ । अनावश्यक खालका खर्चमा केटाकेटीको पनि आदत नबिगार्नुस् । आनावश्यक खर्च, फजुल खर्च अक्सर मैले देखेको छु । नेताहरुले छोराछोरी पुल्पुल्याउने र बिगार्ने गरेको भनी कहिलेकाहीँ चर्चामा आउँछ । फलानो नेताको फलानो छोरा यस्तो बिग्रियो यस्तो भयो । बाउ बिग्रियो, आमा बिग्रियो, नेताको छोरा भएर भनेर टेलिभिजनमा देखाउँछ । ए तैंले चिनेको छस्, म कसको छोरा भनेर टेलिभिजनमा नेताको छोराको अनुहार देखाउँछ ।
अनि अर्को आउँछ र यो कसको छोरा मलाई त थाहा छैन, सीसीटीभीलाई थाहा होला भनेर सीसीटीभी जडान गरेको कुरा बताउँछ । अब हामी धेरै त्यस्ता लफडा हुन दिँदैनौं, किनभने प्रायः ठाउँहरुमा हामी सीसीटीभी जडान गर्छाैं । जसले नेताको छोरा, कसको छोरा भन्ने कुरा चिन्छ र व्यवार हेर्छ । र, व्यवहार अनुसारको कारवाही गर्छ ।
यसकारण हामी नयाँ युगतर्फ, नयाँ गतिका साथ अगाडि बढ्दैछौं । यस कुरामा तपाईंहरुको क्षेत्रको भूमिका असाधारण छ । त्यस भूमिकालाई तीब्र बनाउनु प¥यो । सरकारका तर्फबाट पूराका पूरा सहयोग हुन्छ । सरकार तपाईंहरुको साथमा छ ।
राष्ट्र निर्माण साझा अभियान
तपाईंहरु (व्यवसायी)लाई अप्ठ्यारोमा पारेर आर्थिक उन्नति हुन सक्दैन । तपाईंहरुलाई निराश बनाएर आर्थिक उन्नति हुन सक्दैन । तपाईंहरुलाई लगानी गर्ने, कारोबार गर्ने कुरामा हतोत्साहित गरेर, त्रसित बनाएर आर्थिक उन्नति हुँन सक्दैन ।
त्यसकारण सरकारले तपाईँहरुको मनदेखि त्रास हटाउने काम गर्छ । सरकार तपाईंहरुको मित्र हो । सरकार तपाईंहरुको सहयोगी हो । तपाईंको कारोवारलाई सहज बनाउँछ । त्यसैकारण मैले किन जलमार्गका कुरा गरेको छु ? पानीजहाज चलाउन म जाने त होइन । किन विभिन्न बाटाहरु खोलिराखेको छु ? किन बाटाहरु चौडा गरिराखेको छु ? अरु देशसँग व्यापारको प्रबन्ध सजिलो बनाउने, विभिन्न देशहरुसँग एमओयू गर्ने र सम्बन्धहरुलाई अगाडि बढाउने किन गरिराखेको छु ? हाम्रो देशको एयरलाइन्सको डेस्टीनेशन विभिन्न ठाउँमा किन बिस्तार गरिरहेको छु ?
किन गरिराखेको छु भन्दा विभिन्न ठाउँमा हामी जाऔँ । विभिन्न ठाउँका मान्छे यहाँ आउन् । विभिन्न ठाउँमा हामी सामान पठाऔं । त्यो म किन भनिराखेको छु ?
किनभने हाम्रो उद्देश्य को कहाँनिर छ भन्ने होइन । कसको प्रत्यक्ष सम्बन्ध के मा छ भन्ने होइन । हामी राष्ट्र निर्माणको एउटा महान उद्देश्यमा जुटेका छौं र त्यो अभियान हाम्रो साझा अभियान हो ।
