काठमाडौं । राणा शासन सकिएको धेरै महिनापछि मात्र जुम्लासहित कर्णाली अञ्चलका गाउँमा प्रजातन्त्र आएको खबर पुगेको थियो । त्यसबेला सञ्चारको साधन थिएन, रेडियो पनि थिएन । सञ्चारको नाममा हुलाक मात्र थियो ।
नेपाली इतिहासको यो रोचक पक्ष पुन: ब्यूँतिएको छ तर अर्कै रुपमा ।
गत २७ पुसमा प्रदेश–३ को संसद्ले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा बनाउने निर्णय गर्यो । निर्णय भएको ११ दिनपछि मात्र राष्ट्रिय जनता पार्टी (राजपा) ले सो निर्णय थाहा पाएको छ ।
त्यसैले आज बुधबार अर्थात् ११ दिनपछि राजपाले सो निर्णय सम्बन्धमा विज्ञप्ति जारी गरेर टिप्पणी गरेको छ ।
देशको राजधानी समेत रहेको प्रदेशले नामकरण र राजधानी चयन जस्तो महत्वपूर्ण निर्णय गरेको यतिका दिन बितेपछि मात्र राजपाले किन टिप्पणी गर्यो ? रमाइलो विषय भएको छ । ०७ सालमा राणा शासन सकिँदा दुर्गमका जनताले महिनौंपछि मात्र थाहा पाएजस्तै अवस्था राजपाको हो त ? अहँ, होइन ।
राजपाले नाम र राजधानीमा असहमति जनाएको छ । नाम र राजधानीको निर्णय प्रदेश–३ को संसद्ले रातारात गरेको थिएन । कैयौं महिनाको बहस, विवाद र खिचातानीपछि निर्णय गरेको थियो । त्यसबेला राजपाले नाम यस्तो हुनुपर्छ, राजधानी यहाँ हुनुपर्छ भनेर चुईंक्क बोलेन ।
अहिले आएर भने निर्णयमा असहमति जनाएको छ । राजपाले ढिला टिप्पणी गरेको छ, ढिला विरोध गरेको छ र अनौठो विज्ञप्ति दिएको छ ।
समस्या मात्र देखाउने तर समाधान भने फिटिक्कै देखाउन नसक्ने चरित्र नेपाली राजनीतिको विशेष खालको विशेषता हो । यो विशेषता राजपामा झन् धेरै छ भन्ने जगजाहेर छ । राजपाको विज्ञप्ति त्यसैको द्योतक हो ।
राजपा राष्ट्रिय पार्टी हो तर यसले राष्ट्रिय महत्वका विषयहरुमा विरलै विज्ञप्ति जारी गर्छ । अनौठो छ राजपाको आजको विज्ञप्ति । विज्ञप्ति जारी गरेका हुन् पार्टीका वर्तमान संयोजक महेन्द्र राय यादवले । प्रदेशले निर्णय गरेको ११ दिनपछि आएको उनको विज्ञप्तिमा प्रदेशको नाम र राजधानी के हुनुपर्छ भन्ने लेखिएको छैन । सिर्फ विरोध गरिएको छ ।
बागमती नाम र हेटौंडा राजधानी हुँदा पहिचान मेटिने राजपाको धारणा छ । विज्ञप्तिमा यादवले लेखेका छन्– ‘राजपा नेपाल यस्ता पहिचान मेटाउने निर्णयप्रति असहमति जाहेर गर्दछ ।’ कसरी मेटियो पहिचान भन्ने उनले केही खुलाएका छैनन् ।
बागमती नाम र हेटौंडा राजधानी हुँदा ‘विविधतायुक्त नेपाली समाजमा आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, दलित, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत जातजाति तथा अन्य समुदायहरुको पहिचानसहितको संघीयताको मूलमर्म र भावनामा ठेश पुग्ने’ उनको विज्ञप्तिमा उल्लेख छ ।
बागमती नाम र हेटौंडा राजधानी हुँदा सबै समुदायलाई कसरी ठेस पुग्यो भन्ने पनि उनले खुलाएका छैनन् ।
विगतमा बोल्दै आएको भाषामा यादवको विज्ञप्ति आएको छ र त्यसमा तर्क छैन, सिर्फ सुगा रटाई मात्र देखिन्छ । ‘पहिचान र पहुँचमाथिको अधिकार र मर्मलाई अवमूल्यन गर्ने कार्य राष्ट्रिय एकताको मूल भावना विपरित छ’ – यस्तो वाक्य पनि यादवको विज्ञप्तिमा उल्लेख छ । के कारणले पहिचान र पहुँच गुम्यो ? अहँ, विज्ञप्तिमा जवाफ छैन ।
विरोधका लागि विरोध गर्ने, समस्या मात्र देखाउने, समाधानको ‘स’ पनि नदेखाउने, सिर्फ विरोध गर्ने प्रवृत्तिको डरलाग्दो उदाहरण हो महेन्द्र राय यादवको विज्ञप्ति ।बागमती नाम र हेटौंडा राजधानी हुँदा पहिचान मेटियो भन्ने विचार राजपाको छ । के गरेको भए पहिचान मेटिँदैनथ्यो ? यो पनि विज्ञप्तिमा उल्लेख छैन ।
राजपाको सिर्फ ८४ शब्दको विज्ञप्ति किन निकालिएको हो भन्ने विज्ञप्तिको लेखाईमा केही पनि खुल्दैन । नाम र राजधानीमा असहमति हो भने पहिचान मेटिएको देखि लिएर संघीयताको मर्म विपरित भन्ने सम्मका शब्दावली हाल्न आवश्यक थिएन ।
प्रदेशले निर्णय गर्यो, जेसुकै निर्णय गरे पनि विरोध नै गर्नुपर्छ, जे निर्णय गरे पनि पहिचान र संघीयता विरोधी भन्नुपर्छ भन्ने मानसिकताले विज्ञप्ति आएको छर्लङ्ग देखिन्छ ।
