गाेविन्द थापा-
नेपालको अहिलेको अवस्था स्वर्णकाल भन्न लायक छ । केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्ष कार्यकाल पूरा गरिसकेको छ र यो अवधीमा जे भएको छ र आगामी दिनको जे शुभसंकेत देखिएको छ, त्यो आधारमा भन्न सकिन्छ– अहिले नेपाल स्वर्णकालमा छ ।
नेपाल अहिले स्वर्णकालमा भएको कुरामा कतिपय मानिस असहमत हुन सक्छन् । असहमत मानिस चार खालका हुन सक्छन् ।
पहिलो– तथ्य नबुझेर
दोस्रो– नेपाल खत्तम छ भन्ने बानी लागेर
तेस्रो– अतित नसम्झिएर
चौथो– बुझ्पचाएर
तथ्य नबुझेर
तथ्य थाहा नपाएको हुनाले नेपाल अहिले स्वर्णकाकालमा छ भन्ने कतिपयले बुझ्दैनन् । हिजो नेपाल के थियो, आज नेपाल के छ र भोलिको शुभसंकेत के देखिएको छ भन्ने नबुझेर नेपाल अहिले स्वर्णकालमा छ भन्ने कसैले बुझ्दैन भने त्यसलाई अन्यथा लिन मिल्दैन ।
तथ्य नबुझ्ने मानिस पनि दुई खालका हुन्छन् । एक खालका मानिसले वास्तवमै तथ्य बुझेका हुँदैनन् । अर्का खालका मानिस तथ्य नदेखेर कुतथ्य मात्र देख्छन् । सरकारले यो दुई वर्षमा हजारौं किलोमिटर सडक बनाएको छ, सयौं पूल बनाएको छ । उनीहरुले यो तथ्य देखेका बुझेका हुँदैनन् । आफ्नो गाउँटोल मात्र नेपाल होइन, नेपाल ठूलो छ र आफ्नो ठाउँमा विकासको गति अलि धिमा भए पनि सर्वत्र विकास भइरहेको छ भन्ने उनीहरु बुझ्दैनन्, थाहा पाउँदैनन् ।
तथ्यले बोल्छ– अहिले नेपालमा विकासको मूल फुटेको छ । गाउँगाउँमा विकास भइरहेको छ । जताततै रोजगार खुलेको छ, सडक पूल र भवनहरु बनिरहेको छ । नयाँनयाँ उद्योग व्यवसाय सुरु भएको छ । विगतमा राजधानीमा मात्र पाइने स्तरीय शिक्षा अहिले गाउँमा पनि पाउन सकिने भएको छ । जनता जागरुक भएका छन् । यस्तो कुरा नबुझेर कतिपय मानिसलाई नेपाल स्वर्णिम होइन, पूरानै युगमा छ भन्ने लाग्न सक्छ ।
यस्ता कुरा नबुझेकाहरुलाई बुझाउँदै जानुपर्छ ।
नेपाल खत्तम छ भन्ने बानी लागेर
कतिपय मानिस यस्ता हुन्छन् जो आफ्नो देश खत्तम भन्नमा रुची राख्छन् । उनीहरु यहाँको सबै नराम्रो, सबै खत्तम, नेपालमा केही हुँदैन, नेपालको भविष्य छैन भन्न रुचाउँछन् । नकारात्मक कुरामा मात्र बानी परेका तथा बानी पारिएकाहरु अहिले नेपाल स्वर्णकालमा छ भन्ने मान्दैनन् । कसैले ‘आहा कति राम्रो नदी’ भन्यो भने त्यस्ता नकारात्मक मानिसहरु ‘छ्या, ढुंगा र बालुवा मात्र भएको यस्तो नदी पनि के सुन्दर ?’ भनेर प्रतिक्रिया दिन्छन् । यस्ता मानिस नेपालमा मात्र नभएर हरेक समाजमा हुन्छन् । त्यस्ता खालका मानिसहरु अहिले नेपाल स्वर्णकालमा छ भन्नेमा सहमत हुँदैनन् ।
आफ्नो देशको उन्नति र प्रगतिमा गर्व गर्न नसक्नेहरु, आफ्नो देश अगाडि बढ्दा रमाउन नसक्नेहरु, आफ्नो देशले दह्रोसँग खुट्टा टेक्दा छिर्के लगाउनेहरु नेपालमा प्रशस्त छन् । यस्ता मानिसहरु आफ्नी आमा नराम्री भएकोमा ग्लानी गर्छन् । वास्तवमा आमा भनेको आमा नै हो, आमा भन्ने शब्द र भावनामा राम्री या नराम्री भन्ने दृष्टि नै गासिन सक्दैन । तर, यस्ता महानुभावहरु आमा समान देशको बदख्वाईं गर्ने, देशलाई गाली दिने काम गर्छन् । त्यस्ता मानिसले नेपाल अहिले स्वर्णिम कालखण्डमा छ भनेर मान्दैमान्दैनन् । समाजबाट नकारात्मक भावना तथा कुविचार हटाएर त्यस्ता मानिसलाई सुबाटोमा ल्याउनु सबैको कर्तव्य हो ।
अतित नसम्झिएर
अतितको जरा वर्तमानसँग गासिएको हुन्छ, वर्तमान नै भविष्यको जरा हो । अतित, वर्तमान र भविष्य आपसमा जोडिएको हुन्छ । हामी आज जे छौं, पुर्खाको विरासतका कारण छौं । हाम्रो सुखको जग पनि अतितमै थियो, दुखको जग पनि अतित नै हो । अतितको निरन्तरतालाई यो सरकारले भंग गरेको छ । दुखी नेपाल होइन, सुखी नेपाल बनाउन सरकार लागिपरेको छ ।
केही दशक यता देशले धेरै दुख पाएको थियो । कहिल्यै स्थिर सरकार नबन्ने, बहुमतको सरकार पनि ढल्ने, रातोदिन प्रधानमन्त्री फेरिने, जहिलेतहिले मन्त्रिमण्डल पुर्नगठन हुने, भ्रष्टाचार नै भ्रष्टाचार हुने, ठूलालाई कानुन नलाग्ने, सानालाई सजाय हुने परिपाटी देशले वर्षाैंसम्म भोगेको होइन र ?जहिलेतहिले बन्द हडताल हुने, हिंसा र मारकाट हुने, अशान्ति मात्र हुने युग हामीले भोगेका होइनौं र ? अहिले त्यस्तो छैन । ठूलालाई पनि कानुन लाग्छ, भ्रष्टाचार गर्ने ठूलावडा पनि कानुनको कठघरामा उभिन वाध्य छन् । बन्द हडताल छैन, हिंसा र काटमार छैन ।
अतितका ती अशान्त दिन र आजका दिन तुलना गर्ने हो भने नेपाल स्वर्णिम कालखण्डमा छ भन्ने प्रष्ट भइहाल्छ । जिम्मेवार सरकार नेपालमा विरलै भए, अहिले जिम्मेवार र जनताप्रति उत्तरदायी सरकार छ । यो तथ्य होइन र ? यस्तो तथ्य बुझ्न अतित सम्झनुपर्छ । विगत र अहिलेको समय तुलना गर्नुपर्छ । विगत र अहिलेको अवस्था तुलना गर्ने हो भने नेपाल स्वर्णिम कालखण्डमा छ भन्ने छर्लङग भइहाल्छ ।
नेपालले विकासमा व्यापक फड्को मारेको छ । हामीले अपेक्षा गरेजति विकास र समृद्धि हासिल नभएको पक्कै पनि हो । तर, विगतसँग तुलना गर्ने हो भने नेपालले हासिल गरेको उपलब्धी असाधारण छ । अर्थात्, नेपाल स्वर्णिम कालमा छ ।
बुझ्पचाएर
नबुझ्नु अपराध होइन । अज्ञानता अपराध होइन । तर, बुझेर पनि बुझ्पचाउनेहरु खतरनाक हुन्छन् । बुझेर पनि बुझ्पचाउनेहरुलाई कोरोना भाइरस समान मान्न सकिन्छ । यस्ता मानिसहरुले वैचारिक प्रदूषण फैलाउँछन् । बुझेर पनि बुझ्पचाउनेहरुका लागि नेपाल अहिले स्वर्णिम कालखण्डमा छैन, नर्क युगमा छ ।
नेपालले अहिले पाएको शान्ति र स्थिरता सामान्य उपलब्धी हो र ? मुलुकले धेरै ठूलो मूल्य चुकाएर यो शान्ति र स्थिरता पाएको छ । यो शान्ति र स्थिरता केही पनि होइन भने जसरी बुझ्पचाउनेहरुको ठूलै जमात नेपालमा तयार पारिएको छ ।
माथि नै उल्लेख गरियो– स्वर्णिम काल नबुझ्ने चार वर्गका मानिस छन् । पहिलो तीन वर्गका मनिसलाई चौथो वर्ग अर्थात् बुझेर पनि नबुझे जसरी बुझ्पचाउनेहरुले ठूलो भ्रममा पार्ने गरेका छन् ।
महिनैपिच्छे सरकार फेर्न लोकतन्त्र ल्याएको हो भनेजस्तो भान पारिरहेका छन् बुझ्पचाएका मानिसहरुले । नेपालमा अहिले विकासको मूल फुटेको कुरालाई यिनीहरु स्वीकार्दैनन् । यिनीहरु भन्छन्– विकास भएको भए नेपाल किन जापानजस्तो बनेन ? किन सिंगापुरजस्तो बनेन ? किन अमेरिकाजस्तो बनेन ? बुझ्पचाउनेहरु भन्छन्– जापान अमेरिका र सिंगापुरमा त्यहाँको सरकारले जनतालाई त्यस्तो सुविधा दिएको छ, यहाँ ओली सरकारले किन दिएन ?
यस्ता विचार, प्रश्न तथा तर्कहरु कतिपय मानिसलाई ठिक लाग्न पनि सक्छ । तर, ध्यान दिएर यस्ता कुरामा विचार गर्ने हो भने यस्ता तर्क र प्रश्न राम्रो नियतले आएको देखिँदैन । यस्तो तर्क गर्नु भनेको आफूलाई हेलिकोप्टर किनिदिएन भनेर गरिबको छोराले बाबुसँग गुनासो गरेजस्तै हो ।
नेपाल फेरि अस्थिर युगमा फर्कनुपर्छ, सरकारले जति राम्रो काम गरे पनि केही गरेको छैन भन्दै भ्रम फैलाउनुपर्छ भन्ने मान्यता यो वर्गका मानिसले राख्छन् ।
यही हो स्वर्णिम कालखण्ड
बुझ्पचाउनेहरुले जेसुकै भनुन्, तथ्यले चाहिँ भन्छ यही हो नेपालको स्वर्णिम कालखण्ड । अहिले राजनीतिक स्थिरता छ, यो सरकारले पूरै पाँच वर्ष काम गर्न पाउने सुनिश्चितता छ । कानुनको शासन छ, ठूला र संगठित राजनीतिक भ्रष्टाचार छैन । बन्द हडताल छैन । कुनै पनि किसिमको अशान्ति छैन । हामीलाई चाहिएको यही होइन र ? देशले खोजेको यही होइन र ?
सत्तारुढ पार्टीको आन्तरिक कलहले यो देश सधैं पीडित रहँदै आएको छ । अहिले सत्तारुढ पार्टीभित्र तीनजना त पूर्व प्रधानमन्त्री छन् । तैपनि आन्तरिक कलह छैन । हो, नेकपाभित्र विवाद अनेक होला, असहमति अनेक होला तर ती असहमतिले सरकारको स्थायित्वमा कुनै असर परेको छैन र आगामी दिनमा पनि नपर्ने सुनिश्चितता छ । यो सामान्य उपलब्धी हो र ?
०४७ सालदेखिको हिसाब गरौं, मुलुक यति शान्त कहिले थियो ? यति स्थिरता कहिले थियो ? अहँ थिएन । यति लोकतान्त्रिक बातावरण कहिल्यै थिएन । हो, नेपाल सिंगापुर, जापान, अमेरिका जस्तो बनेको छैन तर विगतको नेपाल नियाल्ने हो भने अहिले स्वर्णिम काल नै हो । कुनै पनि मुलुक एकै महिना या वर्षमा विकसित बन्न सक्दैन । विकास भनेको प्रक्रिया हो । विकासको प्रक्रियामा नेपाल तिव्र गतिमा अगाडि बढिरहेको छ । मुलुकमा भौतिक पूर्वाधारहरु बनिरहेको छ । गरिबी घटिरहेको छ । उद्योग व्यवसाय चम्किरहेको छ । भ्रष्टाचारीहरुलाई कारवाही भइरहेको छ । अपराध गर्ने ठूलाबडालाई पनि हतकडी लाग्छ भन्ने विश्वाश जनतालाई कहिले थिएन, अहिले त्यस्तो विश्वाश बढेको छ । अनि यो स्वर्णिम काल नभएर के हो ?
नेपालले विदेशीसँग कहिले टक्कर लिन सक्दैनथ्यो । विदेशी दवाबका सामु निहुरमुन्टी न हुने स्वभाव थियो विगतका सरकारहरुको । अहिलेको सरकार आफ्नो देशको हितका लागि विदेशीसँग पनि टक्कर लिइरहेको छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति स्थापित हुँदै गएको छ । नेपालको कालापानी क्षेत्र दशकौंदेखि भारतले मिचेको थियो । त्यो भूमि हाम्रो हो भन्ने हिम्मत विगतका सरकारमा थिएन, अहिले सरकारले हिम्मत गरेको छ । विदेशीका सामु नेपालको इज्जत प्रतिष्ठा बढेको छ । मानिसले लगाएको लुगा हेरेर धनी र गरिब छुट्याउन सकिने युग यो सरकारको पालामा विदा भएको छ । अहिले लुगा लगाएकै भरमा को धनी को गरिब छुट्याउन नसकिने भएको छ । नेपाली जनताको ठूलो हिस्सा राम्रो लुगा लगाउन सक्ने भएको छ । अर्थतन्त्र निरन्तर सुधार भइरहेको छ । आन्तरिक उत्पादन र खपत बढिरहेको छ । रोजगारीका नयाँनयाँ क्षेत्र खुलिरहेको छ । विगतमा रोजगार नपाएर जनता पीडित थिए, अहिले दक्ष कामदारको अभावको अवस्था छ । यो प्रगति नभएर के हो ? स्वर्णिम काल यही होइन र ?
यो स्वर्णिम काल नै हो । यो स्वर्णिम काल चिन्न सकिएन भने मुलुक पुन विगतको जस्तै अस्थिरताको दलदलमा भासिने छ । मुलुकलाई पुन अशान्त युगमा फर्काउने कि यो स्वर्णिम कालखण्डलाई झन स्वर्णिम बनाउन योगदान गर्ने ? यो प्रश्नमा हरेक नेपाली नागरिकले गम्भीर भएर सोचविचार गरौं ।
