डा. वासुदेवकृष्ण शास्त्री -
वैदिक मन्त्रहरुमा रुद्र, श्रीपशुपति महाशिव, महादेव, आशुतोश, अघोर, सद्योजात, वामदेव, तत्पुरुष, ईसान रुद्र आदि नामहरुबाट चारै वेदका ऋचाहरुमा भगवान शिवको स्तुति गरिएको छ । अन्वेषकहरुले नक्षत्र कालगणना अनुसार वैदिककालीन सभ्यता ३० हजार वर्षभन्दा पनि पूर्व मानेका छन् । ज्योतिष शास्त्र अनुसार फाल्गुण कृष्णपक्ष त्रयोदशी र चतुर्दशी सन्धि रात्रीलाई महाशिवरात्री मानिएको छ ।
धर्मशास्त्र अनुसार रात्री चार प्रकारका हुन्छन् –
कालरात्री– (महाअष्टमीको रात्री)
मोहरात्री– (कृष्ण जन्माष्टमीको रात्री)
महाशिवरात्री– (शिवरात्री)
दारुणरात्री– (होली पूर्णिमाको रात्री)
भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो महाशिवरात्री । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्री मनाइन्छ । सम्पूर्ण अक्षर, सप्तस्वर, नाद, व्यञ्जन, परा–अपरा विद्याका स्रोत भगवान शंकारलाई नै मानिएको छ ।
शिवको पूजा रात्रीको समयमा गरिन्छ । जवकि दिनमा पनि व्रत, उपवास गरेर रात्रीकालीन समय भगवान शिवको पूजा गर्ने विधान छ । भगवान शंकर सत्व, रज तथा तम तीनै गुणभन्दा माथि मानिएकोले संहार शक्तिका अधिष्ठातृ देवता हुन् । त्यसैले अन्धकारयुक्त रात्री शंकरजीलाई प्रिय लाग्नु स्वाभाविक देखिन्छ ।
कृष्णपक्ष र शुक्लपक्ष गरी महिनामा दुई पक्ष हुन्छन् । शुक्ल पक्षमा चन्द्रमा क्रमशः पूर्ण स्थितिमा आउने भएकाले चराचर जगतका सम्पूर्ण रसवान् पदार्थहरूको पनि क्रमशः वृद्धि हुँदै जान्छ । त्यसैगरी कृष्णपक्षमा चन्द्रमा क्रमशः क्षीण हुँदै जाने हुँदा रसवान् पदार्थहरूले पनि क्षीण हुँदै जान्छन् । चन्द्रमा कृष्णपक्ष अमावश्यामा एकदमै क्षीण हुने हुँदा त्यसको प्रभाव भूमण्डलका सम्पूर्ण प्राणीमा पर्दछ । कृष्णपक्षको यही रात्रीमा शिवजीको आराधना गर्ने नियम बनाइएको हो ।
कृष्णपक्ष त हरेक महिनामा हुन्छन् तर ती हरेक महिनाको त्रयोदशीको रात्रीलाई किन शिवरात्री भनिँदैन ? अवश्य पनि हरेक महिनाको त्रयोदशीको रात्रीलाई महाशिवरात्री मानिँदैन तर शिवको आराधना गर्ने रात्री भने मानिन्छ ।
फाल्गुण कृष्ण त्रयोदशी र चतुर्दशीको सन्धि रात्री ‘महाशिवरात्री’ हो । यसकारण क्षयपूर्ण तिथि अमावश्याको अन्धकारको दुष्प्रभावबाट बच्नका साथै मानव जीवनमा ज्योति, शान्ति, समृद्धिका लागि एक दिन पहिले अर्थात् त्रयोदशीको रात्रीमा शिवजीको उपासना गर्ने परम्परा राखिएको हो ।
महाशिवरात्रीमा बालेको धुनीको विभूत तिलक शिशिर ऋतुपछि वसन्तको आगमनको स्वागतका लागि मनाइने वसन्तोत्सव पर्व फाल्गुण शुक्ल पूर्णिमा (होली पूर्णिमा) का दिन धारण गर्ने विधान छ । रक्षाबन्धनको दिन बाँधेको रक्षासूत्र गाईतिहारे औंसीका दिन गौपूजा गरी अर्पण गरी गाईको पुच्छरमा बाँधेजस्तै ।
वसन्त ऋतुको सुरुआतसँगै चारैतिर उजाड वातावरण, पतझरका कारण प्रकृति सुक्खा र फुस्रो देखिन थाल्छ । यस्तो लाग्छ, भगवान शिवको रौद्रशक्ति प्राकृतिक सुन्दरताको संहारमा लागेको छ । रुद्र एकादश रूपमा हुने भएकाले वर्षको एघारौं महिना अर्थात् फागुनमा शिवजीको पूर्ण स्वरूपको अवस्थामा महाशिवरात्री पर्वको निरूपण गरिएको हो ।
भगवान शिवका दृश्य जगत्मा पाँच मुख छन्,
१) अघोर
२) सद्योजात
३) वामदेव
४) तत्पुरुष
५) इशान रुद्र
यी हुन पशुपतिनाथका पाँच स्वरुप
१) पृथ्वी
२) जल
३) तेज
४) वायु
५) आकाश
चराचर जगत, पाँच तत्व र मन, बुद्धि, चित्त, अहंकार, ऊर्जा, चेतनाको यही नै हो पशुपतिनाथको स्वरुप ।
भगवान शिवको त्रिशुल तीन शक्तिले युक्त आयुध हो । करोडौं–करोड वर्ष पहिले सृष्टिसँगै र वनस्पतिको अस्तित्व धरतीमा रहेको कुरा वैदिक वाङ्मय र आधुनिक अनुसन्धानले पुष्टि गरिसकेका छन् । त्रिशूल नामधारी आयुध एक तीरमा दुइटा शूल जोडेर त्रिशक्तियुक्त, त्रिनेत्रधारी भगवान शिवको आयुध वन्दछ । शशांकशेखर त्रिशूलरूपी आयुधधारी भगवान रुद्रलाई वैदिक वाङ्मयका ऋचाहरूमा स्तुति गरिएको छ । भगवान शिवले धारण गरेको त्रिशूल नै संसारको सबैभन्दा पुरानो आयुध (अस्त्र) हो ।
संसारमा तीन प्रकारका शक्तिहरूले विशेष काम गरेका हुन्छन् । पहिलो शक्ति सृष्टि, दोस्रो पालन र तेस्रो संहार । आधुनिक भाषामा भन्दा गतिशीलताको कारण (इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन) त्रिशक्ति निरन्तर क्रियाशील रहन्छन् ।
शिवको हातमा रहेको त्रिशूलले तीन प्रकारका ताप (आधिभौतिक, आध्यात्मिक र आधिदैविक) को समन गर्दछ । सृष्टिको आदिधर्म भगवान शिवबाट प्रतिपादित हुन्छ । आदिशास्त्र पनि त्रिशूल नै हो । त्रिशूल, वज्र, डमरु, पाश भगवान शिवका आयुध हुन् ।
वेदमा चर्चा पाइन्छ भुजाहरूमा सुवर्ण धारण गर्ने रुद्रलाई नमस्कार छ, जीवहरूको पालन गर्ने पालनहार रुद्रलाई नमस्कार छ । हिमालय–कैलाशमा बसेर सम्पूर्ण चराचर जगत्मा शासन गर्ने त्रिशूलधारी रुद्रलाई नमस्कार छ ।
भगवान शिवले काम, क्रोध, लोभ, मोह, मद–मात्सर्य अहंकारले लठ्ठ परेर नसाले ग्रस्त संसारका प्राणीजगत्लाई उपदेश दिनका निमित्त कालकूट विष कण्ठमा धारण गर्नुभयो । मानिसभित्र रहेको क्रोध, दम्भ, अहंकार समन गर्न भगवान शिवले संसारको सृष्टि बचाउन कालकूट विष ग्रहण गरेर प्राणी मात्रलाई कल्याण प्रदान गरे ।
रसायनमा शास्त्र महाविष कालकूट हो भने मन्दविषहरू भाङ, धतुरो, गाजा आदि हुन् । अहंकारले ग्रस्त प्राणी मन्दविषले ग्रसित छ त्यसबाट बच्न भगवान शिवले कालकूट धारण गरे । सृष्टि र संहारका दुवै शक्ति शिवमा निहित छन् ।
भगवान शिवलाई पञ्चामृत (दूध, दही, घिउ, मह, सक्कर), बेलपत्र, भाङ, धतुरो सांसारिक मन्दविषहरू भगवान रुद्रलाई अर्पण गरी आफू शाश्वत् शान्ति प्राप्त गर्ने मार्गतर्फ लाग्नुपर्दछ ।
शिवलिंगको उत्पत्तिको सन्दर्भ
श्रीपशुपतिको मूल प्रकृति के हो भन्ने विषयमा वैदिक धर्मशास्त्रहरूमा उल्लेख पाइन्छ ।
पशुपतिस्वरूप लिङ्ग प्रार्दुभावको सन्दर्भमा, परम्शक्तिको मूल सत्ताबाट ज्योतिर्मय महालिङ्ग उत्पन्न भयो । त्यो ज्योतिर्मय अवस्थाबाट पाँच तत्वलाई प्रतिनिधित्व गर्दै श्री पशुपतिनाथ महालिङ्ग प्रकट भए । शरीरधारी लिंगस्वरूपमा भगवान पशुपतिनाथ उत्पन्न भए । अर्को एक पौराणिक कथनअनुसार, पाण्डवहरूले भगवान शिवलाई खोज्दै जाँदा अरण्यक वनमा भगवान शिव भैंसीको रूप धारण गरेर बसेका थिए । पाण्डवहरूले भैंसीको रूपमा बसेका महाशिवलाई देख्नासाथ चिने र भैंसीरूपी शिवको पुच्छर समाते । आधा भाग केदारेश्वर भगवान शिव केदारनाथमा विराजमान भए भने अन्य ज्योतिर्लिंगको शिरोभागको रूपमा भगवान पशुपतिनाथ प्रकट भए र पाण्डवसहित सम्पूर्ण देवगणले पूजा गरी स्तुति प्रार्थना गरे ।
भगवान पशुपतिनाथको निर्माण तथ्य र किटानका साथ कहिलेदेखि शुरु भयो भन्ने अभिलेखहरु पाइँदैन । विभिन्न किम्वदन्ती तथा पौराणिक कथनअनुसार गोपाल वंशका ग्वालाले ज्योतिर्मय स्वरुप भगवान पशुपतिनाथमा गाईले दूध चढाएको अवस्थामा देखेर त्यो स्थानमा उत्खनन् गर्दा ज्योतिर्मय भगवान शंकरले पारसमणि स्वरुपमा दर्शन दिएको प्रसंगहरु पाइन्छ ।
भगवान पशुपतिनाथलाई पशुपाश विमोचक पनि भनिन्छ । मनुष्य जन्मँदा पशुत्व भावबाटै धरतीमा आएको हुन्छ । भगवान शिवको अलौकिक कृपाबाट उसमा प्राण गतिशील हुन्छ । ‘शि’ को ईकार हटाउँदा शव शब्द बन्दछ । शिवबाट ईकार हटाउँदा शव वन्दछ । ‘इ’को अर्थ ऊर्जा हो । त्यो ऊर्जा शरीरबाट निक्लेपछि शरीर शव वन्दछ । शवमा ईकार जोडिएपछि मात्र शिव बन्छ । यहाँ ‘ई’ को अर्थ ऊर्जा हो । शवमा ऊर्जाको गतिशीलता प्राप्त भएपछि मात्र प्राणी चेतनशील र गतिशील तथा ज्योतिर्मय बन्दछ । शक्ति, ऊर्जा र विकासविना कुनै पनि पदार्थ तथा जीवको अस्तित्व कल्पना पनि गर्न सकिन्न ।
पौराणिक कथन
पशुपति स्वरूप शिवलिंगको उत्पत्ति कसरी भयो भन्ने विषयमा उत्तर दिँदै स्कन्द कुमार भन्छन्– एक समय सृष्टिकर्ता ब्रम्हा र पालनकर्ता विष्णुबीच विवाद पर्यो । आ–अाफ्नाे कार्यक्षेत्र र महत्वका बारेमा विवाद उत्पन्न भयो । ब्रम्हाजीको पक्ष थियो– जो विविध रूपका वस्तुविशेष र प्राणी समुदायले सृष्टि सजाउँछ, उसको महत्ता कायम हुनु स्वाभाविक ठहर्छ, त्यसैले मेरो उच्चता स्वतःसिद्ध छ । ब्रम्हाको कथनमा अतिशयोक्ति थिएन ।
उता विष्णुको पक्ष पनि सशक्त थियो जन्माइदिएर मात्र कहाँ हुन्छ र ? बढी भार त त्यसले लिनुपर्छ, जो हुर्काउने, बढाउने र लालन–पालनमा भाग लिन्छ । त्यसैले नित्य, सूक्ष्म निर्विकार र विश्वम्भर मसित समता राख्न अरू कसले सक्छ र ?
कार्यकारी आफ्नै रूप ब्रम्हा र विष्णुमा मायाको प्रभावले उब्जेको अहम्ता महेश्वरलाई सह्य भएन । कोर उपदेशले त्यस किसिमको ममता समन गर्न नसकिने र दीर्घकालसम्म कायम नहुने देखेर आफैंद्वारा त्यसको अनुभव गराउन एक ज्योतिर्लिंग प्रार्दुभाव भयो ।
भगवान शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य दिन हो महाशिवरात्री । भगवान शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आव्हान पूजा गरेर महाशिवरात्री मनाइन्छ ।
ऐश्वर्यशाली त्यो जोतिर्लिङ्ग सुरुमा सूक्ष्म थियो र लम्बाइचाहिँ पातालदेखि अनन्त लोकसम्म त्यसको अन्त्य कहाँ थियो थाहा भएन । लिंगोत्पत्तिसाथ आकाशवाणी भयो कि जसले यो लिंगको तलमाथि पहिल्याउँछ उही ठूलो । आअाफ्नाे महत्ता कायम राख्न तम्सेका ब्रम्हा र विष्णु लागे तल र माथि ।
विष्णु पाताल पुगी शेषनागसित भेटेर लिंगको मूलबारे सोधनी गर्दा उनले भने– अनादि रूप लिंगको मूल कसरी फेला पार्न सकिन्छ ? यस किसिमको विवादास्पद प्राकृत अवस्था छोडेर आनो निजी शान्तस्वरूप सम्झनुप¥यो । विष्णुलाई लाग्यो, ठीकै छ, नसकिने काममा दुराग्रह किन गर्नु ? लिंगको मूल फेला पार्न नसकेको कुरा ब्रम्हासमक्ष म स्पष्ट उल्लेख गर्नेछु भनी विष्णु फर्किए ।
त्यस्तै आकाशतिर लागेका ब्रम्हाजी ब्रम्हलोकभन्दा माथि गोलोक पुगे तर लिङ्गको शिर पत्ता लागेन । प्रतिस्पर्धामा विजयी नबन्ने स्थिति ब्रम्हाजीलाई आभास भयो । ब्रम्हाजीले बाटोमा भेटेका कामधेनु गाई र केतुकी पुष्पलाई साक्षी तुल्याएर पहिलेको ठाउँमा फर्किए ।
विष्णुले फेद पत्ता नलागेको कुरा स्विकारे । ब्रम्हाले झूटो साक्षी राखी लिङ्गको अन्त्य पत्ता लगाएको झूटो बयान दिए । झुटो बयान सुन्नासाथ भगवान रुद्र ज्योतिर्लिंग स्वरूपमा महाशिवरात्रीका दिन प्रकट भए । त्यो ज्योतिर्लिंग स्वरूपबाट ध्वनि उत्पन्न भयो– ब्रम्हाजी तिमीले झुटो साक्षी बटुलेर असत्य कर्म गर्यौ तसर्थ त्यसको दण्ड तिमीले भोग्नैपर्छ ।
केतकी पुष्प कुनै पनि पूजामा अबदेखि प्रयोग हुने छैन । कामधेनु गाईको पनि दूध, गहुँत आदि चले पनि तिम्रो मुखचाहिँ अपवित्र, अशुद्ध मानिनेछ ।
कलियुगमा गाईले अशुद्ध चिज खानेछन् भनेर ज्योतिर्लिंगबाट भगवान शिव अन्तध्र्यान हुनुभयो । असत्य बोल्ने गौको मुख अपवित्र र झूटो बयान दिने केतकी पुष्पलाई पूजामा वर्जित गरियो । भगवान शिवलाई गौर वर्ण, चन्द्रमौली महामृत्युञ्जय आदि नामले पुजा गरिन्छ ।
श्रीपशुपतिनाथ सहित विश्वभरिका ज्योतिर्लिङ्ग एवम् शिव मन्दिरमा विश्वभरिका शिव मन्दिरहरुमा धुमधामका साथ महाशिवरात्री पर्व मनाइन्छ । यो पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणाभावका साथ मनाऔं ।
