हरेन्द्र लावती --
धेरै वर्ष अघि म पाँचथर जिल्लाको दुर्गम यासोक भदौरेमा हुर्किएको हूँ । स्कुल जान आधा घन्टा हिँड्नुपर्थ्याे । बाटोमा भिर र जंगल थियो ।
अहिले अभिभावकहरु सन्तानलाई स्कुलको ढोकासम्म पुर्याउन जान्छन् । तर हामी पाँच ६ वर्षको उमेरमा खाली खुट्टा स्कुल जान्थ्यौं, पटपटी खुट्टा फुटेको हुन्थ्यो । जंगलमा बाँदरले टोक्ला झम्टिएला भनेर डराउँदै स्कुल जान्थ्यौं । हाम्रो त्यो जेनेरेशनका कतिपयसँग अहिले गाडि बंगला होला, ठूलो व्यापार होला, धेरै प्रगति गरेका होलान् तर प्राय सबैले आफ्नो यस्तो अतित बिर्सिएका छन् ।
त्यसबेला हामीसँग टिफिन हुँदैनथ्यो, अहिलेका विद्यार्थीसँग रोजारोजा टिफिन हुन्छ । आज स्याउ लैजाउ भन्दा 'नाईं म अंगुर लैजान्छु' भन्छन् । चाउमिन विस्कुट खाजा लैजान्छु भन्छन् । उनीहरुको डिमान्ड अनुसारको खाजा पठाइदिन्छौं । हाम्रो जमानामा टिफिन हुँदैनथ्यो, खाजा भन्ने नै हुँदैनथ्यो ।
हामी टिफिनको घन्टी ट्याङट्याङ लाग्नासाथ कक्षाबाट बाहिर दगुर्थ्याैं अनि रुखरुखमा चढ्थ्यौं । सिजनेबल फलफूल खोज्थ्यौं । कहाँ जंगली फलफूल फलेको छ भनेर खोज्थ्यौं । रुख चढ्थ्यौं । ६ सात वर्षको उमेरमै रुख चढ्ने बानी भयो । सल्लाको रुखसँग खेल्थ्यौं, सल्लाको खोटोसँग खेल्थ्यौं, पातसँग खेल्थ्यौं, माटो र बालुवासँग खेल्थ्यौं । वास्तवमा हामी प्रकृतिसँग खेल्थ्यौं।
आज हामी विभिन्न विदेशी शिक्षाको पछाडि लागेका छौं । अभिभावकहरु मन्टेश्वरीको पछाडि लागेका छौं । हाम्रो इरिस एकेडेमीमा पनि मन्टेश्वरी छ । ठूलो रकम खर्चेर हामीले मन्टेश्वरी तयार पारेका छौं । मन्टेश्वरी ल्याबका लागि हामीले ठूलो रकम खर्चेर किनेका सामान देख्दा मलाई अचम्म र अनौठो लाग्छ । मन्टेश्वरी ल्याबमा प्रयोग भएका कैयौं सामग्रीहरु हामीले बाल्यकालमा खेलेका रहेछौं । बालुवा र माटोसँग खेल्ने कुरा, प्रकृतिसँग घुलमिल हुने कुरालाई यूरोपेली अमेरिकीहरुले सिद्धान्त बनाए । त्यही सिद्धान्त अहिले हामी उनीहरुसँग पैसामा किन्दैछौं ।
हिजो हामीले सिकेको शिक्षा सही रहेछ, हामीले प्रकृतिसँग खेलेको र सिकेको सही रहेछ । त्यसैमाथि गोराहरुले रिसर्च गरेर सिद्धान्त बनाए । हामी त्यही किनिरहेका छौं ।
पतन्जलीको नाममा हामीले खाने औषधी पनि हाम्रै जडिबुटी हो । त्यसमा हाम्रो पसिना छ । विभिन्न मल्टिनेशनल कम्पनीले बनाएका औषधी हाम्रै वनजंगलका जडिबुटि हुन् । हामी किनेर खान्छौं । दसपन्ध्र वर्ष अगाडि सुन्तला किन्न पर्दैनथ्यो, हाम्रा बारीभरी सुन्तला हुन्थ्यो । बारीमा फलेको तरकारीले हामीलाई पुग्थ्यो । अहिले किन्नुपर्छ । त्यो पनि कि चाइनबाट आउँछ, कि भारतबाट आउँछ । हामीलाई यस्तै गर्न शिक्षा चाहिएको हो ?
अभिभावकलाई सन्तानका लागि अंक र जिपिए मात्र चाहिएको देख्दा मलाई अनौठो लाग्छ । अभिभावकलाई अंग्रेजी शिक्षा मात्र चाहिएको छ । अंग्रेजी शिक्षाका लागि बोडिंङ स्कुल पठाउने होइन । दिनहुँ आधा एक घन्टा कार्टुन हेराउनुस्, अंग्रजी बोल्छ । तसर्थ अब शिक्षालाई हेर्ने दृष्टिकाेण अभिभावकले बदल्न जरुरी छ । अब हामीले देशमा मात्र होइन अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्नसक्ने नागरिक बनाउनुपर्छ । त्यसका लागि स्कुलले जगको काम गर्नुपर्छ । त्यो कसरी भने किताबी कुरा मात्र सिकाएर पुग्दैन । कसैलाई संगीत मनपर्ला, कसैलाई नृत्य मनपर्ला, कसैलाई भाषण मनपर्ला, कसैलाई आर्ट मनपर्ला।
हरेक बच्चा केही ट्यालेन्ट लिएर जन्मेको हुन्छ । म इन्जिनियर बन्न सकिन, त्यसैले छोराछाेरीलाई इन्जिनियर बनाउँछु भन्छन् अभिभावक । छोराछोरी डाक्टर इन्जिनियर बनेको सपना देख्छौं, बाँकी केही देख्दैनौं । हामीलाई असल पोलिटिसियन पनि चाहिएको छ । पछिल्लो समय सत्तरी असी करोडको काण्ड प्रकाण्ड सुनेका छौं । किन यस्तो भ्रष्टाचार ? किनभने देशले नेता पाएको छैन । त्यस्ता नेता एरिस एकेडेमी जस्तोले उत्पादन गर्नुपर्छ । समाज परिवर्तन गर्ने विद्यार्थी उत्पादन गर्नुपर्छ । क्रिकेटर उत्पादन गर्नुपर्छ, फुटबल खेलाडि उत्पादन गर्नुपर्छ, कलाकार उत्पादन गर्नुपर्छ, वैज्ञानिक उत्पादन गर्नुपर्छ । हरेक क्षेत्रको जग भनेको विद्यालय हो । त्यस्ताे जग बनाउन इरिस एकेडेमी तयार छ, हामी त्यसका लागि कम्मर कसेर लागिरहेका छाैं ।
याे पनि पढाैं - इरिस एकेडेमीको जमघटमा नेपालको शिक्षाबारे चिन्तन
अब हामीलाई अंग्रेजीले मात्र पुग्दैन, हामीलाई नेवारी पनि चाहिन्छ, हिन्दी पनि चाहिन्छ । सबै भाषा चाहिन्छ । अहिले चाहिँ अंग्रेजी पछि चिनियाँ भाषा चाहिएको छ । इरिस एकेडेमीले चिनियाँ भाषालाई उच्च प्राथमिकता दिएको छ । इरिसमा चिनियाँ भाषा सिकेका उपार्जन गौतम चिनियाँ भाषा प्रतियोगितामा नेपालमै प्रथम भएर चीन गए । त्यहाँ अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भए । समृद्ध वैद्य, समर्पपण रानामगर लगायतले इरिसबाट चिनियाँ भाषा सिकेर धेरै नै अगाडि बढिरहेका छन् । इरिसले कैयन खेल प्रतियोगिता जितेको छ । हामीले अंग्रेजीका नाममा या जिपिएका लागि मात्र विद्यालय छनौट गर्छाैं भने गल्ती गछौं ।
अब जिविकोपार्जनका लागि मात्र शिक्षा दिएर हुँदैन । विद्यार्थीलाई उद्यमशील बनाउने गरी शिक्षा दिनुपर्छ । पाँच ६ करोड जनसंख्या भएको दक्षिण कोरिया किन त्यति अगाडि बढेकाे छ ? किन कोरियासँग विश्वका अग्रणी ब्राण्डहरु छ ? किनभने उसले बालबालिकालाई उद्यमशील बनायो । विद्यार्थीलाई उद्यमशील बनाएकैले दक्षिण कोरिया त्यति अगाडि बढेको हो ।
विद्यालयको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालयले नै समाज र देश परिवर्तनको अगुवाई गर्नुपर्छ। विद्यालय भनेकाे शिक्षककाे मात्र हाेइन, विद्यार्थीकाे मात्र हाेइन । अभिभावककाे पनि हाे । विद्यालयकाे शिक्षा, हाम्रा बालबालिकाकाे शिक्षा हामी सबैकाे प्रत्यक्ष सराेकारकाे विषय हाे । देश बनेन भन्छाैं हामी, गुनासाे गर्छाैं । देश बनाउने हाे भने शिक्षामा जाेड दिउँ, बालबालिकामा ध्यान केन्द्रीत गराैं । हामी अभिभावकले अाफ्नाे अतित सम्झाैं अनि बालबालिकाकाे भविष्य कस्ताे बनाउने भनेर चिन्तन गराैं । सबैमा मेराे यही विनम्र अाग्रह छ ।
(हरेन्द्र लावती इरिस एकेडेमीका प्रिन्सिपल हुन् । साे एकेडेमीकाे अभिभावक दिवसमा प्रिन्सिपल लावतीले राखेकाे मन्तव्यकाे सारसंक्षेप)
