शान्ता चौधरी--
जतिबेला म कमलरीका रुपमा कसैको घरमा दासीका रुपमा काम गर्थें, त्यतिबेला अन्तरराष्ट्रिय श्रमिक महिला दिवस बारे मलाई केही पनि थाहा थिएन । जब म अधिकारका लागि संगठित हुँदै बाहिरी समाजको सम्पर्कमा पुगेँ त्यसपछि मात्र यो दिवसले गौरवशाली इतिहास बोकेको थाहा पाएँ ।
हरेक वर्ष ८ मार्चका दिन मेराे मनमष्तिष्क तरंगित हुने गर्छ । ८ मार्चकाे सेराेफेराेमा महिला समानताका लागि अावाज उठाउने विभिन्न कार्यक्रममा म सहभागी हुन थालेका पनि वर्षाैं भइसक्याे । यस वर्ष भने दिदीबहिनीहरु माझ भेला भएर मनाउन पाइएन । काेराेनाका कारण भेला हुने सबै खालका कार्यक्रम स्थगित भएकाे छ । तर, भेला हुने नमिले पनि ८ मार्चकाे मर्म र भावना भने भुल्न सकिँदैन । याे दिवस मनाउने तरिका यस वर्ष केही फरक भयाे भन्दैमा दिवसकाे सान्दर्भिकता र सार्थकतामा फरक पर्दैन ।
कुनै पनि विषयसँग जोडिएको इतिहास हामीले बिर्सनु हुँदैन । श्रमिक महिला आन्दोलनबाट सुरु भएको ८ मार्चको मर्मलाई समाजवादी अग्रज महिलाले आत्मसात मात्रै गरेनन्, नेतृत्व नै गरेर अगाडि बढे । नेपालको सन्दर्भमा चर्चा गर्दा विशेष गरी वामपन्थी महिलाहरुले ८ मार्चलाई स्थापित गर्न नेतृत्वदायी भूमिका खेलेको इतिहास देखिन्छ । साधना प्रधान, सहाना प्रधान, मोतिदेवी श्रेष्ठ जस्ता कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेतृहरुले ८ मार्चलाई नेपालमा अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा स्थापित गरे ।
बुर्जुवा राजनीतिक विचारधारबाट निर्देशित महिलाहरूले ८ मार्चलाई नारी दिवसको अर्थमा मात्र बुझे । केवल सम्भ्रान्त वर्गका महिलाहरुको चाडका रुपमा मात्रै लिँदै आए । वास्तवमा हरेक क्षेत्रमा वर्गीय शोषण छ । समग्रमा महिलाहरु दोस्रो दर्जाका नागरिकका रुपमा बाँचिरहेका छन् । यद्यपी सम्भ्रान्त वर्गका महिला पनि पितृसतात्मक चिन्तनको शिकार त छँदैछन्, त्यहाँ पनि महिला र पुरुष बीच सहअस्तित्व छैन नै, तर पनि आर्थिक रुपमा जीवन चलाउन भने सहज छ ।
गरिखाने मजदुर महिला आज पनि पुरुष मजदुरका तुलनामा अझ बढी पीडित छन् । श्रमको उचित मूल्य पाउन सकेका छैनन् । बालुवा चाल्ने या गिटी फोर्ने महिला हुन् या सरकारी र निजी कारखानामा काम गर्ने महिला नै किन नहुन्, उनीहरुले पेटभरि खान पाउने गरी ज्याला पाउन सकेका छैनन् । समान कामको समान ज्यालाको नाराले सार्थकता पाउन आज पनि सकिरहेको छैन । त्यसैले ८ मार्चको इतिहासले तिनै श्रमिक महिलाको न्यायको आवाज बोलेको हो । यस दिनको गरिमा र मुख्य उद्देश्यलाई हामीले भुल्नु हुँदैन । यस दिनलाई पसिना पोखेर, नंग्रा खियाएर पनि बाँच्न कठिन हुने महिलाको आवाज बुलन्द गरेर मनाउनु पर्दछ । महिला र पुरुष श्रमिकका बीचमा हुने विभेदविरुद्ध नारा लगाएर मनाउनुपर्छ र वास्तविक श्रमिक महिलाले आफ्नो पर्व हो भन्ने ठानेर आफ्नो माग बुलन्द गर्न पाउनु पर्छ ।
महिला दिवस कुनै चाडपर्व वा सम्भ्रान्त महिलाहरुको जमघट हुने अवसर होइन । यो तीजजस्तो सांस्कृतिक पर्व पनि होइन । बरु यो त संसारभरका मेहनतकश श्रमजीवी महिलाहरुले समानताको आवाज उठाउने दिन हो । जसले श्रमको क्षेत्रमा बाँकी रहेका विभेदहरु पनि अन्त्य गर्नुपर्छ । यो दिनलाई श्रमिक महिला दिवस हो भनेर बुझौं ।
८ मार्च नारी दिवस मात्र होइन, महिला दिवस मात्रै पनि होइन, अन्तरराष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने बुझौं ।
निश्चितरूपमा रुपमा ८ मार्च वर्गीय आन्दोलनसँग जोडिएको पर्व हो । शोषण र उत्पीडन विरुद्ध संघर्षको जेहाद छेडिएको दिन हो । शोषकका घेरा तोडेर श्रमिक महिलाका बर्जित एवं दमित आवाज बुलन्द रुपमा घन्किएको दिन हो । त्यसैले हामी इतिहाससँग गर्व गरेर यस दिनलाई ज्यादै महत्वपूर्ण पर्व ठान्दछौं ।
संसारभरिका धेरै देशहरुमा महिलाले १८ घण्टासम्म पुरुष बराबर श्रम गर्थे, पसिना बगाउँथे, काम समान हुन्थ्यो तर ज्याला असमान हुने गर्दथ्यो । त्यसैले कारखानामा श्रम गर्ने महिलाहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ लगायतका माग राखेर आन्दोलित बनेको दिन हो आठ मार्च । यस दिनमा नै महिला हक र अधिकारका सन्दर्भमा ऐतिहासिक उपलब्धीहरु पनि प्राप्त भएको थियो ।
सुन्दर हरफमा कोरिएका सुनौलो इतिहास हामीले पढेका छौं । सन १९०७ मार्च ८ मा जर्मनीको स्टुटगार्डमा समाजवादी महिलाहरुले पहिलो अन्तरराष्ट्रिय सम्मेलन गरेका थिए । उक्त सम्मेलनबाट क्लारा जेट्किनको नेतृत्वमा ‘श्रमिक महिला संगठन’ गठन भएको थियो ।
सन् १९०८ मा महिलाहरु माथिको दमन, १८ घण्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता विषयलाई लिएर अमेरिकाको शिकागो शहरमा कपडा कारखानामा काम गर्ने श्रमिक महिलाहरूले जेट्किनको नेतृत्वमा १५ हजार जनाको जुलुस निकालेका थिए ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तरराष्ट्रिय महिला सम्मेलन गरियो । क्लारा जेट्किन र रोजा लग्जेम्बर्गको अगुवाइमा भएको उक्त सम्मेलनमा १७ देशका सय जनाभन्दा बढी महिला प्रतिनिधि सहभागी थिए । सोही सम्मेलनले श्रमिक महिलामाथि हुँदै आएको विभेदको अन्त्य, महिलाको मताधिकार र महिलामाथि गरिने सम्पूर्ण खालको हिंसाको अन्त्य जस्ता मुद्दा अगाडि सारेको थियो ।
उक्त सम्मेलनमा नै क्लरा जेट्किनले ८ मार्चलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने प्रस्ताव गरेकी थिइन् । सम्मेलनले साे प्रस्ताव पारित गर्याे र सन् १९११ देखि विश्वभरका महिलाले ८ मार्चलाई अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउन थालेका हुन् ।
याे दिवसले महिलाकाे मात्र कुरा बाेल्दैन । यसले समाजमा न्याय, समानता र स्वतन्त्रताका लागि सबैलाई उत्प्रेरित र जागरुक बनाउँछ । विभेद र असमानता विरुद्ध सबै जागाैं र समाज परिवर्तनका लागि याेगदान दिँदै श्रमिक महिला दिवस मनाउन सबैमा अाग्रह गर्दछु ।
