दिनभरिको कामको थकान, अफिस बिदा पछिको बिरक्तिएको मन, कामप्रति उत्साहहीन वातावरण, खै किन हो कुन्नि ? आफैलाई थाहा छैन । कोठामा काम गर्न मात्र हो र ? बस्न पनि मन लागेन । बजारतिर घुम्ने, टहलिने, हावा खाने, मन बहलाउने सोच बनाएर निस्किएँ कोठाबाट ।
मेरो यात्राको योजनामा कुनै गन्तब्य थिएन । साथीहरुलाई देखेर म पनि नजिकैको चिया पसलमा पुग्येँ, चिया खाने मन होइन, बहाना मात्र । बाटोमा दुई—चार जना भेट हुँदा होस वा विद्यालय, अफिस, गाउँ घर, सबैले गर्ने एउटै गफ, चियापसलमा पनि चल्दै थियो । कोही रोइरहेका, कोही रुँदारुँदै थाकिसकेका, कोही घरको धुरीमा, कोही रुखमा, कोही पानीभित्र आधा शरीर, कोही आफ्नो पोकोपुन्तुरो बोकेर परपर दौडदै ।
हेर्दा—हेदै जलमग्न गाउँ, अनन्त क्षितिजसम्म पुग्ने गरी एकाएक फैलिएको त्यो नवोदित समुद्र । एउटा तीन बर्षे बच्चाको लास, पोल्ने त कुरै भएन, गाडने पनि जमीन भेटिएन । गाउँ नजिकै आफनो उग्र रुप देखाउदै, दौडिरहेकी कोशी । आफ्नो भन्दा पनि ठूलो पीडा भएर होला, सबै गाउँलेहरु सहानुभूतिस्वरुप लागे कोशी किनारातर्फ, उसैलाई लिएर ।
अर्धमुर्छामा परेकी आमा, सत्लङ्ग सुतिन् त्यही नदीको तटमा । बाबुले निर्ममतापूर्वक दुई मुड्की आफ्नै छात्तीमा बजार्दै कोशीको छेवैमा उत्तानो पारेर राखिदिए छोराको शब । ऊ आमाको काखमा आनन्दसँग निदाए झंै बगिरह्यो बगिरह्यो, कोशीको काखमा । गाउँलेहरु कोही मुन्टो पछाडि फर्काए, कोही अश्रुवन्त आँखा चिम्लिीए, त्यो हृदयविदारक दृश्यलाई हेर्न नसकेर, कसैले एक टङ्कार हेरिरहे दृष्टि—पटलमा राख्न सकुन्जेलसम्म ।
बिस्तारै घट्दै गएको पानीको सतह, राहत र उद्घारमा जुट्दै गरेका दुनिया । राहत र उद्घारसंगै आवाजहरु पनि उठ्दै थिए, नदीको बाटो थुनिएको कुरा, बाटो छेक्न नपाइने कुरा, हेपेको कुरा, चेपेको कुरा । पार्र्टी—नेता, शासन—प्रशासनले नदेखेको नसुनेको हैन, नदेखे झैं नसुने झंै गरेका कुरा । किन नसुने झंै गरेको होला ? सबै सबैको मनमा उठेका अनुतरित प्रश्नै प्रश्नहरू ।
मेरो वैराग्यताले थप उचाइ लियो, बस्न मन लागेन, जुरुक्क उठेर अगाडि बढ्दै थिएँ, साथीले बोलाउनु भयो, उहाँकै पसलमा । गतबर्ष कृषि उत्पादनले बजार पाएन, पारीबाट राजस्व छलेर आएको सस्तो उत्पादन भित्रियो । यस बर्ष उत्पादन ज्यादै कम गरियो, बजार नपाउँने डरले । यसैपालि मूल्य पनि खुब चुलिएको छ, बिषादिको हल्ला पनि धेरै छ । अरु देशबाट फर्काइएको, समय सीमा बाँकी नभएको, खानै पर्ने हाम्रो नियति ।
परीक्षणका लागि आवश्यक ल्याव छैन, भए पनि पूर्व योजना अनुसारै नतिजा मिल्छ रे, रोक्न पनि नमिल्ने, उसकै अनुकूलतामा गरेको सम्झौको बन्धनमा परेका हामीहरु । शासन उसकै पक्षमा प्रशासन उसकै पक्षमा, हाम्रो को छर ? साथीको बिरक्तिएको आवाजले छिया छिया भएको मेरो मन । मैले थप भन्ने केही थिएन, एकै ठाउँमा बस्नै मन भएन, एउटा हात उठाएँ, बिदा मागेँ, फेरि हिडेँ गन्तब्यहीन यात्रातिर ।
बजारको बीचमा चोक, चोक छेवैमा प्रतीक्षालय, पाँच छ जना स्थानीयहरु, म पनि बसेँ एउटा छेउमा । रेडियोमा समाचार बज्दै थियो “अव सरकारले देशमा छिट्टै बेरोजगारी समस्या हटाउने, स्वाधीनता, आर्थिक विकास र सम्वृद्घि ल्याउने, शान्ति सुरक्षा कायम गर्ने, समाजवादी लक्ष्य प्राप्तिको लागि” । मेरो मनमा पलाएको आशाको त्यान्द्रोले थोरै मन हल्का बनायो ।
समाचार सकियो, च्यानल बदलियो, अर्को कार्यक्रम, “खरो प्रश्न” आर्थिक राजनीतिक बिश्लेषकहरु बीचको छलफल । उनीहरु भन्दै थिए, मागेर सम्वृद्घि आँउछ ? युवालाई श्रमिकको रुपमा बिदेश पठाएर सम्वृद्घि आँउछ ? उद्योग धन्दा बन्द गरेर ब्यापार घाटा कम हुन्छ ? रोजगारी बढ्छ ?
बिचौलिया, तस्कर, भ्रष्ट ठेकेदार, माफियातन्त्र, भष्टाचार, घुसखोरी, बौद्घिक पलायन, ब्यापार घाटा, कर छलीको रजाइँबाट सम्वृद्घि आँउछ ? सबैलाइ मुर्ख बनाउने ? सरकारी सेवाहरु शिक्षा, स्वास्थ्य, मालपोत, उद्योग, यातायात, वायुसेवा, आयल निगम, सबै बदनाम र तन्नाम बनाएर समाजवाद आँउछ ?
न्यायालय, विश्वविद्यालय, प्रहरी, प्रशासन, अख्तियार, राजदूत पाटीको भागवण्डामा नियुक्ति, नियुक्तिमा मोलतोल, मुलाकाज, कसरी आँउछ सुशासन ? दलालहरुले अरवौ कर तिर्न नपर्ने, जनताको दुई चार सय करले आर्थिक विकास हुन्छ ? आफ्नो धर्म संस्कृति, मौलिकता, मूल्य मान्यता, आचरण, नियम कानुन, स्वाभिमानलाई अनुदानसँग साँटेर स्वाधीनता जोगिन्छ ? राष्ट्रियता बलियो हुन्छ ? सुन्दासुन्दै म फेरि झसङ्ग झस्किएँ, च्वाट्टै चुडियो त्यो मेरो आसाको मसिनो त्यान्द्रो पनि । मैले आफैलाई मनमनै भनेँ, “हो, कसरी पत्याएको मैले, हुँदै नहुने कुरा पनि ।”
मेरो थप आत्मग्लानि बढदै गयो, अरु पनि कुराहरु चल्दै थिए, मेरो सुन्ने र सम्झने क्षमता नै क्षीण भैसकेको थियो । म कुनै प्रतिक्रियाबिना जुरुक्क उठेँ, अगाडि बढेँ । के सोचे हुन् कुन्नि ? सँगै बसेकाहरुले ?
म टहलिदै पुग्दै थिएँ, अल्लि पर सडक छेउ । आँपको शित्तल छहारी, बेलुकीको हावा खाँदै दुई जना साथीहरु । बिरक्तिएको स्वरमा कुरा गदै थिएँ, मधेशमा खुलेको हाटबजार, सस्तो मूुल्यको, कहीँ कतै, कुनै मुलुकमा खुलाउनै नमिल्ने हाटबजार ।
छाला मधेशको चाला परदेशको, कँही कहिल्यै कसैले नदेखेका, नचिनेका, टाठाबाठा हुने खानेहरु, लामबद्घ भएर उभिएका । सबैले लगातार किन्दैछन् अरे नागरिकता, हाम्रो देशको...। उनीहरु थप भन्दै थिए, उद्योग बेचेर सकियो, नदी सकिँदैछ, नागरिकता बेचिँदैछ, टँुडिखेल मिचिँदै छ, कवि कलाकार डराउँदै छन्, बालुवाटार हराउँदैछन् । हैन अब त नारायण हिटी र हिमाल पनि भाडामा दिने तयारी छ भन्ने हल्ला चल्न थालेको छ नि ? अर्को साथीले भन्दै थियो, “देशको सिमाना मिचिँदैछन्, सिमानामा नागरिक लुटिँदैछन्, कुटिँदै छन्, ठगिँदै छन्, देशभक्तिपूर्ण चेतनाले जनताको रगत उम्लिदै छ, मातृभूमिको माया जाग्दै छ, जुलुसहरु उठिरहेका छन्, खै किन हो कुन्नि ? शासन प्रशासन मौन छन । आत्मग्लानि, स्वाभिमानमा आँच र असुरक्षाको त्रासमा भए जस्ता उनीहरु” ।
रिमरिम साँझ पर्दै जाँदा, दुईजना अधबैंसे महिला श्वास फेर्नै बिर्सेला झंै हतारहतार अगाडि बड्दै थिए, सायद बाटोछेउको हाम्रो बसाइले त्रसित भएर पो हो की ? एउटीले गुन्गुन आवाजमा भन्दै थिई, “के गर्ने चोरी, लुटपाट, बलात्कार खुब बढेको छ, न्याय पाउन पहुँच चाहिन्छ, ठूलाबडाको संरक्षणमा नै लुकाइन्छन् अरे अपराधिलाई । हामी सर्वसाधारणले न्याय कहाँ पाउने ?” अर्कीले थपी “केही अपराधीलाई त हाम्रो देशमा अस्थिरता ल्याउन कसैले खटाएकै हुन्छन रे नि, पैसा दिएर । सरकार पनि कारवाही गर्न डराउँछ रे, त्यस्ता मान्छेहरुलाई ” ।
“खै के हुन लागेको हो, कुन्नि, देशमा ?” फेरि उसैले थपी, “हाम्रो माष्टर काकाले भनेका राष्ट्रियतासँग साटिएको प्रजातन्त्र अनि गणतन्त्र रे । कसैले पठाइ दिएको संघियता र धर्म निरपेक्षता हो रे । त्यसैले भ्राताको भन्दा दाताको माया बढेको छ रे शासकहरुमा, साँचो कुरा बोल्नै पाईंदैन । अझै के के हुन्छ, भन्दै थिए ...।”
सायद मैले फेरि पनि धैर्य गुमाएर होला, फुत्त निस्किएँ, साथीहरुको बीचबाट । कोठा नजिकै आइपुग्दा झमक्कै साँझ परेको थियो । कसैले मलाई बोलायो होटलबाट, सडकको मलिनो बत्तीबाट होटलको चम्किलो बत्तीले मलाई निक्कै मुस्किल बनायो, उसलाई चिन्न ।
होटलको बत्तीलाई हातको पालीले छेक्दै उसलाई हेरेँ, नजिकै गएर । उसले हातमा रहेको गिलासबाट एक घुट्का घुटुक्क बनायो, टवाक्क टेवलमा गिलास बजा्यो । मैले पत्याउनै सकिन, मेरो आदर्शको धरोहर आठ रेक्टरको भूकम्पले पनि ढल्दैन जस्तो लाग्थ्यो, खै के भएछ कुन्नि ? गल्र्यामगुर्लुम ढल्यो आज । मैले एकछिन निर्निमेष हेरिरहेँ उसको अनुहारमा, निष्प्राण मूर्ति बनेर ।
बिरक्त लाग्दो मुखाकृतिमा अनि घायल गर्भिणी मृग जस्तै देखिन्थ्यो ऊ । आफ्नो बेदना बिसाउन बोलाए झै लाग्यो मलाई । म एकछिन अक्क न बक्क बनेँ, उसको कमजोर अवस्था देखेर । बिस्तारै म टेबुलको अर्कोपट्टि कु्र्सीमा बसेँ, कुरा उसैले सुरु गरोस् भन्ने मनसायले । नभन्दै मनभित्र भित्रै उकुस—मुकुस भएर, गुम्सिएर, पिल्सिएर रहेको बेदनालाई प्रसंङ्गबिना भन्न सुरु ग्यो, ऊ आफैंले ।
फेरि एक घुट्का घुटुक्क पार्दै, मुख बिगार्दै ऊ भन्न थाल्यो “आज अंग्रेजी महिनाको पहिलो दिन, उसले आज बिहानै फोन गरेर बोलायो मलाई, उसैको अफिसमा । भित्र जान पास चाहिन्छ, उसैले मिलाएको रहेछ पास पनि । मलाई लिन ऊ आफैं गेटैसम्म आयो, अफिस समयको प्रारम्भ अगावै । मलाई एउटा कोठामा राख्यो, झ्याल ढोका खुल्लै थिए, मेरो कैतुहलता कुनै सन्दर्भसँग मेल खाँदै खाएन । न मैले उसलाई सोधेँ, न उसले मलाई बतायो, किन बोलायो, किन राख्यो त्यो एक्लो कोठामा ? कुनै प्रसङ्गबिना । मेरो मनमा उठ्दै बस्दै गरेका प्रश्नहरु । मैले झ्यालबाट हेरें, पूरै दृश्य, गेटैसम्मको, अति रमणीय चौर, बीचमा ढुङ्गा छापेर चिटिक्क पारिएको, बाटोको दायाँ वायाँ लहरै पूुलेका थरीथरीका फुलहरु । पानीका फोहरायुक्त तलाउ, देख्दैमा डरलाग्दा कुकुरहरु पनि घुमिरहेका थिए वरिपरि ।
अफिस समयको प्रारम्भमा नै मानिसको चहलपहल घना बन्दै गयो । कोही चिनेका जस्ता, कोही नचिनेका जस्ता, कोही मुखमा मास्क लगाएका, टोपी लगाउनेले नलगाएका, नलगाउनेले लगाएका । भरसलाग्दा, भद्र भलादमी, सुटेर बुटेर रसिला भरिला अनुहारहरु सबै सबैको । मैले बिस्फारित् आँखाले हेर्न थालेँ, एक टङ्ककारले हेरिरहेँ ( घरीघरी ऊ घुटुक्क पादै, मुख बिगादै, गिलास फट्ला झैं टेबलमा बजार्दै, थप कुरा भन्दै गयो) निक्कै लामो लाइन बनिसकेको थियो, काउण्टर खुल्नै लाग्दासम्म । मैलै बिषयको भेग पाउनै सकिन, ऊ भने भित्रबाहिर गर्दै थियो कुनै प्रतिक्रियाबिना । जव काउण्टर खुल्यो, मेरो अन्योलको रहस्य पनि एक्कै चोटि खुल्यो ।
मेरो ओठतालु सुक्न थाल्यो, चिट्चिट पसिना आउन थाल्यो, ऊ म भएको कोठामा फुत्त भित्र पस्यो, मुसुक्क हाँस्यो, एसी खोल्यो, “जी देखा आपने” भन्दै बाहिर गयो । हेर्दा हेदै मेरा आँखा तब तिर्मिराउन थाले, जब उनीहरुले रजिस्टरमा हस्ताक्षर गर्दै कसैले पकेट व्यागमा राख्ने गरी पाए, कसैले कोटको गोजीमा, कसैले झोलामा नै राख्ने गरी त कसैले खाम मात्र, सायद खाममा ठूलो मूल्यको चेक थियो होला, आ आफ्नो बरियता अनुसार सबैले पाए ।
मैले बचेखुचेको सबै शक्ति लगाएर हेरेँ, हेर्दा हेर्दै अस्पताल देखेँ, मन्त्रालय देखेँ, आयल नियम, अख्तियार, न्यायलय, योजना आयोग, सुरक्षा निकाय, प्रशासन, बायुसेवा, भन्सार, उद्योग, विश्वविद्यालय मात्र हैन, साथीदेखि पार्टीसम्म कति हो कति । मैले चिनेका मात्र हो र ? नचिनेका पनि, चिनेकाहरुलाई पनि सबै सम्झनै सकिनँ । साथी सायद म अर्धहोशमा थिएँ होला, मान्छेको भिड हटी सक्दासम्म ।
ऊ फेरि फुत्त आयो, म भएको कोठामा, र भन्यो “ क्या देखा ? हमरा कित्ना कित्ना, बढे बढे कुत्ते हें ? इत्ना कुत्ते पालनेकी लिए कित्ना बजेट खर्च कर्ना पड्ता ? इन्के सरकारी दाना तो नियमित सरल जिवनके लिए हे । मोज मस्ति कर्नाेके लीए हाम्ने कुछ थप्ना पड्ता हे । यी सबसे आज्ञाकारी हे, यी सारा हमरा हाज्ञ पालना करता हे । यी हमरा व्यापार नै हे, केवल डिप्लोमेसी हे । ऊ थप कुरा पनि भन्दै थियो, मैले सुन्नै सकिन ” ( सायद ऊ, भन्दा भन्दै सिथिल भैसकेको थियो, फेरी एक पटक स्वाठ्ठ पिउँदै, लुलो हातले गिलास टक्रक्क टेवलमा राख्यो) फेरी भन्दै गयो, “साथी मैले बल्ल बुझेँ, एक दिन मेरो पेचिलो प्रश्न थियो उसलाई, “आठ दशवटा कुकुर पाल्ने तिम्रो दुतावासमा कुकुरको दाना पानी खर्च दुई तीन अर्ब उठ्छ रे नि, हो ?” मैले भनेँ, उसले “हो” भन्योँ “कसरी सम्भव छ ? के तिमी मसंग मज्जाक त गर्दै छैनौ ? मज्जाक पनि अल्लि धेरै पो भयो कि” मैले भनेँ ।
उसले गम्भीरतापूर्वक भन्यो “ठिकै छ अहिलेलाई मज्जाक नै बनोस् । मैले मुखले त भनुला, बिश्वास दिलाउन गाह्रो पर्छ ।”
ऊ, उस्कै राजदूतावासको बरिष्ठ कर्मचारी, मेरो हेलमेलको साथी, राजनीतिक र कूटनीतिक मामलामा दखल राख्ने ऊ, जिज्ञासा राख्ने म । समय समयमा भेटघाट र चियागफ गर्ने हामीहरु । मेरो आदर्श राष्टवाद, राष्टिय स्वाधीनता, गौरवपूर्ण इतिहास र वर्तमानलाई खिल्ली उडाउन प्रयत्न गर्ने ऊ । आज मेरा आदर्श, गौरव, राष्ट्रियता, स्वाधीनता चक्नाचुर भएर फुट्यो, चुरा फुटे झै, मेरै अगाडी, लाज पचाउने ठाउँ पनि नराखी । साथी त्यसैले आज म...।
( लेखक बलराम भण्डारी श्री भवानी मा.वि पालुङटार गाेरखाका शिक्षक हुन् )
