काठमाडौं । बेला बेला काठमाडौंको दृश्य देख्दा लाग्छ, के काठमाडौं साँच्चिकै असुरक्षित नै हाे त ?
०७२ सालको भूकम्प र अहिले कोरोना त्रास । यस्तै कारणले मानिस सहर छाडेर एकाएक गाँउ फर्कदाको दृश्य देख्दा लाग्छ, काठमाडौं बस्न सुरक्षित नै छैन् । गाउँ फर्कने मानिसहरुको मुखबाट पनि सुन्न सकिन्छ काठमाडौं असुरक्षित छ ।
गाउँ नै सुरक्षित छ, जस्तो संकट आएपनि बाँचिन्छ । आफ्नाे परिवार र अाफन्त पनि सँगै हुन्छन् । गाउँका मानिस मिलनसार हुन्छन् । गाह्रो पर्दा सहयोग गर्छन् । मानवीय समवेदना पनि गाउँकै मानिसमा धेरै हुन्छ, त्यसैले गाउँ नै जान्छौ ।
यही साेँच्दै गाउँ जादैँछन् सहर पसेकाहरु ।
अहिले विश्व काेराेना भाइरसकाे त्रासमा छ । काेराेना डर नेपालमा पनि छ । यसकै कारण काठमाडौं लगायत भीडभाडको शहर छाड्नेको लर्कै लागेको छ ।
काठमाडौंको गोगंबु बसपार्क, कलंकी, कोटेश्वर लगायतका ठाउँमा झोला गुन्टा बोकेर गाउँ जानेको भीड देखिन्छ । उनीहरुका आँखाको भावबाटै प्रष्ट हुन्छ – जतिसक्दो गाउँ भागौँ र कोरोना जाेखिमबाट बचौँ ।
भागेर बाँचिन्छ भन्ने हाेइन । तर सुरक्षित हुनुपर्छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएकाे छैन तर, जोखिम भने उच्च छ । यही जोखिमकै डरले काठमाडौंसहितका सहर छाड्नेको संख्या बढेको छ ।
शनिबारसम्म करिब साढे तीन लाख बढीले काठमाडौं छाडेका छन् । सरकारले कोरोना जोखिमलाई ध्यान दिँदै एसईई परीक्षासहित सबै विश्वविद्यालयका परीक्षा स्थगित गरेकाे छ ।
देशभरका शिक्षण संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । यसकारण पनि गाउँ जानेको लर्को लागेको हो । जुन लर्कोमा विद्यार्थी मात्र छैनन्, छोराछोरी पढाउन बसेका अभिभावक तथा जीवनयापनका लागि काम गर्न बस्ने सर्वसाधारण पनि छन् ।
छिमेकी देश भारतमा कोरोना संक्रमण देखिएपछि स्वदेश फर्कने नेपाली पनि बढेका छन् । रहर र वाध्यता बनेको छ सहर अहिले, अझ काठमाडौंको कुरै नगरौँ । कसैको जिन्दगी चल्दैन यहाँ नआए । कोही गाउँमै जिन्दगी छाडेर आएका पनि छन् । अर्थात गाउँकाे खेतबारी बाँझाे राखेर काठमाडाैंमा बस्छन् ।
अध्ययन, जागिर र सुखसयलका लागि सहर पस्नेको जमात दिनहूँ बढिरहेकाे छ ।
जनता बचाउने सरकारको रणनीति
सरकारले नै जनतालाई बचाउन र सुरक्षित राख्न सहरका मानिसलाई गाउँ फर्कने रणनीति बनाएर काम थालेको छ । यातायात व्यवस्था विभागले बैशाख तीन गतेसम्म रुट पर्मिट फ्री घोषणा गरेको छ । सरकारले शैक्षिक संस्था बन्द गरिसकेको छ ।
नेपालमा सहरी क्षेत्रका मानिस गाउँमा जानासाथ आपसी भौतिक सम्पर्क स्वत घट्छ । काठमाडौं बाहिर सहरीभन्दा ग्रामीण ठाउँ धेरै छ । ती ठाउँमा मानिस स्थानान्तरण भए भने मानवीय सम्पर्क घट्ने र कोरोना प्रसारण नियन्त्रित हुने सरकारको विश्वास छ ।
कोरोनाको प्रसारण सहरबाट हुने गरेको विश्वव्यापी तथ्यांकले देखाउँछ । सहरमा कोरोना चाँडो गतिमा प्रसारण हुन्छ भने गाउँमा ढिलाे गतिमा ।
विश्वासको टेको आखिर गाउँ नै त रहेछ
गाउँमा भन्दा सहरमा चाँडो उपचार पाइन्छ र सुविधा पनि धेरै हुन्छन् । तर, जब संकटको घडी आउँछ हरेक व्यक्तिले यी सबै कुरा बिर्सिन्छ र गाउँ सम्झन्छ । अनि बाटो लाग्छ ।
जब मानिस अप्ठ्यारोमा पर्छ तब परिवार, आफन्त र सुरक्षित ठाउँ खोज्छ । त्यसैले मानिसहरु आफ्नो गाउँ–घर फर्कदैँछन् । भनिन्छ, आमाको काखमा भएपछि सन्तानले सुरक्षित महशुस गर्छ । गाउँ पस्नेहरु यही विश्वासका साथ हिँडेका छन् ।
आखिर विश्वास र भरोसाको टेको भनेकै गाउँ नै त रहेछ । आमा वुवा र परिवारको काखै त रहेछ ।
यदि सहरमा महामारी फैलियाे भने धेरै असर हुन्छ र उपचार पाउन गाह्राे हुन्छ । संक्रमण हुनु भन्दा अघि नै सतर्क रहनुपर्छ । यसकारण गाउँ फर्कनु सकरात्मक हाे ।
तर, अप्ठ्याराेमा मात्र गाउँ सम्झनु गलत हाे ।
संकटले दिएको शिक्षा
संकटका बेला गाउँ सम्झने हाम्रो बानीले दुईवटा प्रश्न उठाएको छ । एउटा – खेतबारी बाँझै राखेर शहरको सपना नदेखौँ । अर्को गाउँको सम्पत्ति बेचेर शहर नपसौँ ।
