चेतन अधिकारी-
कोरोना भाइरसका एकजना संक्रमित देखिनासाथ सरकारले देश लकडाउन किन गर्न परेको होला ? धेरैले यो प्रश्न उठाएका थिए । कोरोना भाइरसको आतंकले पाँचदिन देखि देश पूर्ण रुपमा वन्द छ । हामीले भन्दै आएको ‘बन्द’ शब्दलाई अहिले ‘लकडाउन’ नामकरण गरिएको छ । अंग्रेजी शब्द भए पनि ‘लकडाउन’ नेपाली जनजीब्रोले स्वीकार गरिसकेको छ । तर, लकडाउन र विगतमा प्रचलित बन्दमा आधारभूत रुपमै फरक छ ।
लकडाउनको अर्थ घर बाहिर ननिस्किएर घरभित्रै बस्नु हो भन्ने सबैले बुझिसकेका छन् । लकडाउनको विकल्प रहेनछ भन्ने पनि जनताले बुझिसकेका छन् ।
देश लक डाउन भएपनि पनि सरकार र देशको प्रमुख पार्टी नेकपा ‘लकडाउन’मा बस्न मिल्दैन । विपत्को सामनामा अगुवाई गर्ने, लकडाउनको व्यवस्थापन गर्ने र यो विपत्बाट बाहिर निकाल्ने जिम्मेवारी यिनैको हो ।
सरकारसँग जनताले भरोसा गर्ने नै भए, सरकार सञ्चालन गर्ने पार्टी भएकाले नेकपा प्रति पनि जनताले ठूलो भरोसा गरेका छन् । यो संकटको घडीमा मानिसको भरोसा कि सरकारप्रति छ कि नेकपाप्रति ।
सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा विभिन्न कदम चालिरहेको छ । बैठक आयोजना गरिरहेको छ । भेटघाट हुन नसक्नेहरुसँग भिडियो संवाद, भर्चुअल बैठकबाट भए पनि छलफल जारी राखेको छ । त्यस अनुसारको परिणाम पनि दिन खोजिरहेको छ । यसको सन्देश सरकार कोरोनासँग भिड्न भरमुग्द तयारीका साथ क्रियाशील छ भन्ने हो । हिजो मुख्यमन्त्रीहरुसँग भएको भिडियो छलफलले पनि स्पष्ट पारेको छ कि संघीय सरकार देशव्यापी रुपमा कोरोना काउण्टरमा रणनीतिक रुपले लागिपरेको छ ।
गर्न सकिने काम धेरै छन्
आम मानिसलाई चासो छ यस कुरामा । हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुका नाममा विशेष सर्कुलर जारी गरेका छन् । कोरोना विरुद्ध भिड्न निर्देशन दिएका छन् । तर यो निर्देशनले मात्र पुग्दैन ।
नेकपाका हरेक नेतालाई नेकपाले यो संकटका बेला जुध्न केही न केही एसाइन्मेन्ट दिनुपर्छ । नत्र संकटका सारथी बनेर अरु नै कोही जनता माझ उदाउने सम्भावना रहन्छ । मानिसको स्वभावै कस्तो भने सुखमा जतिसुकै साथ दिए पनि दुःखको साथ उसले चिरस्थायी सम्झन्छ । त्यसैले मानवीय यो विपत्का बेला नेकपामा नेता कार्यकर्ताले जनतासँग कस्तो व्यबहार गरे भन्ने कुराको मूल्यांकन अढाइ बर्ष पछि हुने निर्वाचनमा जनताले अवश्य नै गर्नेछन् । त्यसैले पनि नेकपा ‘लकडाउन’ हुनुहुँदैन ।
यतिबेला प्रदेश २ बाहेक ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार छ । जनताले भरोसा गरेरै नेकपालाई अधिकांश प्रदेशमा बहुमत दिएका हुन् । चुुनावका बेला जनताका दुःखसुखमा साथ दिने बाचा गरेका उम्मेद्वार अहिले सत्तामा पुगेका छन् । जनता दुःखमा परेका छन् । त्यसकारण नेकपाको तर्फबाट उम्मेदवार बनेर बिजयी भएकाहरुले हिजोका बाचा पूरा गर्ने उपयुक्त अवसरको रुपमा अहिलेको महामारीलाई लिनुपर्छ ।
सरकारको अनुभूती भएन भन्ने जनगुनासो बेलाबेला सुनिने गरेको छ । त्यो गुनासो सम्बोधन गर्ने उपयुक्त अवसर पनि हो अहिलेको महामारी । त्यसकारण केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले अहिले जनतालाई राहात दिने, उनीहरुलाई साथमा लिने, महामारी विरुद्ध सरकारसँगै नागरिकलाई एकतावद्ध बनाउने उपयुक्त मौकाको रुपमा पनि अहिलेको अवस्थालाई दपयोग गर्नुपर्छ ।
प्रदेश सरकारहरुले संघीय सरकार भन्दा जनताका आवश्यकता र चाहना नजिकबाट बुझेका हुन्छन् । विपत्मा ठाउँ अनुसारका आवश्यकता पनि फरकफरक हुन्छन् । जस्तो कि यसबेला कर्णालीमा खाद्यान्नको बढी आवश्कता होला भने प्रदेश २ का लागि सीमाबाट हुने आवातजावत रोक्नु प्राथमिकता होला । त्यसैले प्रादेशिक आवश्यकतालाई ध्यानमा राखेर सरकारहरुले विशेष सहयोग प्याकेज र कार्यक्रम घोषणा गर्नुपर्छ ।
यसका लागि नेकपाको हाइकमाण्डले आफ्नो नेतृत्वमा भएका प्रदेश सरकारलाई निर्देशित गर्नुपर्छ, त्यसका लागि पनि नेकपा लकडाउन हुनुहुँदैन ।
‘गाउँ गाउँमा सिंहदरबार ,घरघरमा अधिकार’ भन्ने नारा सहित स्थानीय चुनावमा ६० प्रतिशत भन्दा बढी तहमा विजयी भएको थियो नेकपा । त्यो नारालाई सार्थक बनाउने मौका दिएको छ अहिलेको महामारीलाई । घरघरमै सिंहदरबारको अनुभूति गराउने यो सुनौलो मौका हो । कतिपय अवस्थामा जनप्रतिनिधिकोे सन्तोषजनक काम नभएको भन्दै जनताले विरोधका स्वर पनि उठाए । गाउँमा सिंहदरबारको अनुभूति पाइएन भनेर जनताले जनप्रतिनीधिलाई विभिन्न विशेषण दिएर व्यंग्य गरेको पनि सुनिन्छ । तर यस महामारीलाई पार लगाउन स्थानीय सहरकारले साँच्चिकै सिहंदरबारको अनुभूति गराइदिन सक्छन् जनजनमा ।
महामारी फैलिनबाट स्थानीय सरकारले गरेका प्रयास नै सर्वसाधारणले अनुभूत गर्ने हुन् । जब स्थानीय तहको प्रयासले सयौं, हजारौं र लाखौंको ज्यान बच्न सक्छ, तब सबै जनप्रतिनिधि हाईहाई । पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले आआफ्ना क्षेत्रका मानिसहरुलाई अहिलेको महामारी बारेमा बुझाउनुपर्छ । महामारीका बेला किन घर बाहिर निस्कनु हुँदैन ? गाउँमा नयाँ मान्छेको प्रवेशलाई किन कडाइ गर्नुपर्छ ? विदेशबाट आएका दाजुभाइ दिदीबहिनीलाई किन स्वास्थ्य जाँच गर्न पठाउने ? किन क्वारेन्टाइनमा राख्ने ? यस्ता कुरा जनप्रतिनिधिले बुझाइदिनु पर्छ ।
मानिससँग प्रत्यक्ष छोइन हुँदैन, हात मिलाउन हुँदैन, मास्क लगाउनुपर्छ, खोक्दा हाच्छ्यूँ गर्दा मुख छोप्नुपर्छ जस्ता कुरा बुझाउन गाउँभेला गर्र्न पर्दैन । जनप्रतिनिधिहरुले नगर÷वडा÷ टोलबासीलाई सम्बोधन गर्दै आफ्नै मोवाइलबाट भिडियो खिचेर फेसबुक मार्फत सन्देश जारी गर्न सक्छन् । त्यस बाहेक आम सञ्चार माध्यमलाई उपयोग गर्न सक्छन् । सामाजिक उतरदायित्व वहन गरिरहेका सञ्चार माध्यमहरुले यस्ता सन्देश प्रसारण गर्न कुनै मोलमोलाई गर्दैनन् ।
नेकपा र स्थानीय तहप्रतिको भरोसा
स्थानीय तहप्रति जनताको ठूलो भरोसा देखिन्छ । लक डाउनपछिको नेपालको चित्र हेर्ने हो भने स्थानीय तहप्रति आम मनिसले ठुलो भरोसा गरेका रहेछन् भन्ने झन् स्पष्ट भएको छ । माथिल्ला सरकारहरुमा ‘माथिकै’ मात्र बोलवाला हुने तर स्थानीय सरकारले साधारण जनको आवाज सुन्ने भएकोले पनि जनप्रतिनिधिको व्यस्तता बढेको छ अहिले । उनीहरुले आइसोलेसन वार्ड, क्वारेन्टाइन, उद्धार, राहत सबै चिजका लागि स्थानीय जनप्रतिनिधि गुहारेका छन् ।
त्यति मात्र होइन, दैनिक ज्याला मजदूरी गरेर खाने वर्ग लामो लकडाउनबाट भोकै पर्न थालेका छन् । यसका लागि उनै स्थानीय सरकारले आफ्नो पालिकाका वासिन्दाको पालनपोषणका लागि प्याकेज घोषणा गरेका छन् । यसका लागि कतिपय पालिकाले रकमको जोहो गरेका छन् भने कतिपय जनप्रतिनिधि चामलको बोरा बोकेर जनताको झुुपडीमा पुगेका छन् । यस्ता तहमा अधिकांश प्रतिनिधी नेकपाका भएकोले पनिन नेकपा ‘लकडाउन’ हुनुहुँदैन ।
पार्टी अध्यक्षद्धयले शुक्रबार दिएको निर्देशनमा पार्टीका भेला बैठक नगर्ने भनिएको छ । यस्ता बैठक भौतिक रुपमा भेला भएर नगर्ने भनिएको हो । तर केन्द्र, प्रदेश वा स्थानीय तहमा नेताहरुको संवाद हुनु जरुरी छ । आधुनिक प्रविधिको युगमा बैठक गर्न आमनेसामने भेला भइरहनु पर्दैन । भिडियो कन्फरेन्स मार्फत आफ्नै घरमा बसेर भर्चुअल बैठक गर्न, छलफल गर्न, कामको बाँडफाँट गर्न र निर्णय गर्न सक्छन् ।
यस महामारीको बेला संघीय सकारलाई पार्टीको सचिवालयको, प्रदेश सरकारलाई प्रदेश सचिवालयको र स्थानीय तहलाई स्थानीय कमिटीको निर्देशन जरुरी हुन्छ । पार्टीको निर्देशनका आधारमा सरकारहरुले महामारी विरुद्ध जुध्ने रणनीति बनाउन सक्छन् । राहत, उद्धारका प्याकेज घोषणा गर्न सक्छन् । र, महामारीबाट जनतालाई सुरक्षित अवतरण गराउन सक्छन् । जसको अपनत्व स्वयं नेकपाले पनि लिनसक्छ । त्यस कारण पनि नेकपा लकडाउन हुनुहुँदैन ।
