विक्रम केसी -
नाकावन्दीको बेला दसगजामा पुगेर देश विरुद्ध धर्ना बस्नेहरु र अहिले सरकार विरुद्ध भ्रम फैलाउनेहरु उस्तैउस्तै हुन् । पात्र लगभग उस्तै छन् । पात्रहरुको खलक पनि त्यही हो । प्रवृत्ति पनि उस्तै छ । नियत चाहिँ विगत नाकावन्दीमा धर्ना बसेको बेला भन्दा खतरनाक छ । नाकावन्दीको बेला उनीहरु नेपाल विरुद्ध मात्र लागेका थिए । अहिले चाहिँ समग्र मानवताकै विरुद्ध लागेका छन् ।
अचम्म छ, कसैलाई केको धन्दा घरज्वाईंलाई खानको धन्दा भनेजस्तो कोरोना विरुद्ध लडाईंको बेला सरकार विरोधी अभियान चलाउनेहरु छन् नेपालमा । यिनलाई ‘राजनीतिक भाइरस’ भन्न सकिन्छ । जसरी नाकावन्दीको बेला लाजशरम पचाएर केही खलपात्रहरु दसगजामा धर्ना बस्न गएका थिए, त्यसैगरी अहिले त्यो खलकका खलपात्रहरु सरकार विरोधी अभियान चलाउन लजाइरहेका छैनन् ।
नेपाल र नेपालीले एकखाले कोरोना भाइरसबाट मात्र बचेर नपुग्ने भएको छ । ‘राजनीतिक कोरोना भाइरस’ बाट पनि बच्नुपर्ने भएको छ । कोरोना भाइरस विरुद्ध लड्न सबैभन्दा वाधक यही ‘राजनीतिक भाइरस’ बन्नसक्छ ।
यो राजनीतिक भाइरसले अहिले सरकार विरुद्ध अभियान चलाइरहेको छ । खासगरी स्वास्थ्य मन्त्रीलाई अनेक तिलस्मी आरोप लगाइरहेको छ । कोरोना विरुद्ध लड्ने मोर्चाको अग्रपंक्तिमा स्वास्थ्य मन्त्री हुनु स्वाभाविक हो । उनै स्वास्थ्य मन्त्री विरुद्ध ‘राजनीतिक भाइरस’ले प्रहार केन्द्रीत गर्नुको नियत ठिक देखिँदैन ।
देश कोरोना भाइरस विरुद्ध लडिरहेको छ । सरकार कोरोना विरुद्ध लडिरहेको छ । यस्तो बेला सरकारको विरुद्धमा खनिने, स्वास्थ्य मन्त्री विरुद्ध अनेक आरोप सिर्जना गर्ने समूहको नियत ठिक छैन भनेर ठोकुवा गर्न सकिन्छ ।
अहिलेका स्वास्थ्य मन्त्री कतिलाई मन पर्ला, कतिलाई मन नपर्ला, अहिलेको सरकार कतिलाई ठिक लागेको होला, कतिलाई बेठिक लागेको होला । तर, मन परेन, वेठिक लाग्यो भनेर विरोध गर्न बेला यो हो त ? यस्तो विपतको सामना गर्न सरकारलाई बलियो बनाउनुपर्ने बेला सरकार विरुद्ध भ्रम फैलाउनेहरुको नियत के हो ? यो प्रश्नको जवाफमा भन्न सकिन्छ– यस्तो बेला सरकार विरुद्ध भ्रम फैलाउनेहरु मानवता विरोधी हुन् ।
जसरी कोरोना भाइरस विरुद्ध अनेक किसिमका भ्रामक समाचार फैलाउने काम असामाजिक तत्वले गर्दै आएका छन् । त्यसैगरी, सरकार विरुद्ध नानाभाँती कीर्ते कागज फैलाउने, स्वास्थ्य मन्त्रीले यति खाए र उति खाए भन्दै भ्रम फैलाउने काम राजनीतिक भाइरसहरुले गरिरहेका छन् । स्वास्थ्य मन्त्रीले यतिबेला कुनै पनि स्वास्थ्य सामग्री किन्नै हुँदैन भन्ने खालको धारणा राजनीतिक भाइरसहरुले फैलाइरहेका छन् ।
स्वास्थ्य मन्त्रीले स्वास्थ्य सामग्री किनेनन् भने किन किनिनस् भनेर निहुँ खोज्ने, किन्दाखेरी किन महंगोमा किनिस् भन्दै निहुँ खोज्ने । जसो गरे पनि निहुँ मात्र खोज्ने । यो सरासर ब्वाँसो प्रवृत्ति हो ।
यतिबेला ग्लोबल टेण्डर गरेर, अनेक प्रक्रिया पूरा गरेर, सबैभन्दा सस्तो मूल्यमा स्वास्थ्य सामग्री किन्न सकिन्छ र ?
अनि, राजनीतिक भाइरसहरुको प्रश्न के देखिन्छ भने स्वास्थ्य सामग्री किन चीनबाट किनेको ? उनीहरुको विचारमा चीनबाट सामान किन्न हुँदैन । चीनबाट सामान किन्नु आपत्तिजनक हो भन्ने उनीहरुको मनसाय देखिन्छ । चीनबाट नकिनेर कहाँबाट किन्ने त ? अरु कुन देशले सामान बेच्न सक्छ यतिबेला ?
भारतले यतिबेला २६ प्रकारको औषधी निर्यात रोकेको छ । नेपालमा ती औषधी निर्यात खुला गरेको घोषणा गरेको छैन । भारतले मास्क र स्यानेटाइजर समेत निर्यातमा रोक लगाएको छ । मित्रराष्ट्र भारत आफैं लकडाउनमा छ । अनि, चीनबाट नकिनेर कहाँबाट किन्ने ? बेच्नेले मागेको दाम दिएर नकिनी सुखै छैन भन्ने सर्वसाधारण जनताले बुझ्नुपर्छ । राजनीतिक भाइरसहरुले फैलाएको भ्रमजालमा फस्न भएन । यदि भ्रष्टाचार भएको छ भन्ने लाग्छ भने पहिले कोरोनालाई विदा गरौं अनि भ्रष्टाचारको पनि छानविन गरौंला ।
यतिबेला सरकारलाई बलियो बनाउनुपर्ने होइन र ? यतिबेला स्वास्थ्कर्मीहरु र स्वास्थ्य मन्त्रीको टिमलाई प्रोत्साहन गर्नुपर्ने होइन र ? कि खुट्टा तान्ने बेला हो यो ? विपतका बेला मुलुक एकढिक्का भएर लड्नुपर्नेमा खुट्टा तान्नुलाई राजनीति भनिँदैन । यस्तो बेला सरकार विरुद्ध भ्रम फैलाउनु राजनीति होइन, ब्वाँसोकर्म हो ।
यतिखेर स्वास्थ्यकर्मीलाई नभई नहुने, उपचारलाई अति आवश्यक सामग्री किन किनिस् भन्दै निहुँ खोज्नेहरुको नियत नेपाली जनताले पहिचान गर्नुपर्ने बेला आएको छ ।
‘राजनीतिक भाइरस’ फैलाउने काम कसरी र कोबाट भइरहेको छ भन्ने पनि विवेचना हुन जरुरी छ ।
नेपाली कांग्रेसमा छन् एकजना नेता– कृष्णप्रसाद सिटौला । उनको एउटा सानो गुट छ । त्यो गुटका एक नेता हुन् गगन थापा । जो विगतमा एकपटक स्वास्थ्य मन्त्री पनि भएका थिए । उनलाई के लाग्छ भने सरकारको विरोध गर्ने ठेक्का उनले मात्र लिएका छन् । आफ्नो पार्टीले लिएको आधिकारिक नीति विरुद्ध उभिनुलाई उनी क्रान्तिकारी काम ठान्छन् । पार्टी बेग्लै हो, पार्टीभन्दा माथि म हूँ भन्ने मनसाय उनको क्रियाकलापमा झल्कन्छ ।
अहिलेका स्वास्थ्य मन्त्री सफल भएको देख्दा उनलाई भतभती पोलिरहेको छ भन्ने अनुमान गर्न गाह्रो छैन । गगनलाई औडाहा भएको देखिन्छ । अहिलेसम्मको सबैभन्दा सफल मन्त्री, अहिलेसम्मका सबैभन्दा सफल स्वास्थ्य मन्त्री भनेर उनले मिडियामा लेखाउने गरेको जगजाहेर छ । पार्टीभन्दा आफू माथि हूँ र आफू विशिष्ट हूँ भनेर देखाउन उनले कोरोनाको विश्वव्यापी महामारी सुरु भएपछि पनि अनेक चटक गरेका छन् ।
जस्तो कि– नेपाली कांग्रेसले कोरोना महामारी सम्बन्धमा सरकारलाई विभिन्न खाले सुझाव सार्वजनिक रुपमा दिइसकेको छ । मेरो पार्टीले कुरा बुझ्दैन, सुझाव यस्तो हुनुपर्छ भन्ने पाराले गगनले बेग्लै सुझाव दिए । गगन थापा नामको व्यक्तिले दिएको सुझाव र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिएको सुझावको एउटै तौल हुन्छ र ? अहँ, हुँदैन । गगनले सुझाव दिनु नै थियो भने आफ्ना सुझाव पार्टीलाई दिने र पार्टीले प्रमुख प्रतिपक्षीको हैसियतले सरकारलाई सुझाव दिने काम गरेको भए राम्रो हुने थियो । तर, गगन पार्टीलाई निच्चा र आफूलाई उच्चा देखाउन चाहन्छन् ।
अर्काे कुरा, सामाजिक सञ्जाल, विभिन्न अनलाइनहरुमा गगन थापाले ‘विशेष’ प्रभाव राख्छन् भन्ने थाहा भएकै कुरा हो । कांग्रेसभित्र गगनको गुट असाध्यै सानो आकारको छ तर बाहिर उनी शेर झैं आकारमा देखिन खोज्छन्– तिनै सामाजिक सञ्जाल सेनाको भरमा । सबैलाई थाहा भएको यो कुरा किन लेख्नपरेको हो भने गगनले यतिबेला आफ्नो त्यस्तो ‘विशेष प्रभाव’लाई सरकार विरुद्ध भ्रम फैलाउने काममा प्रयोग नगरेर कोरोना विरुद्ध जनचेतना फैलाउने काममा प्रयोग गर्नुपर्छ ।
गगन थापाको सेरोफेरो कसरी एकसाथ सरकार विरुद्ध खनियो, किन स्वास्थ्य मन्त्री विरुद्ध भ्रम फैलाउन केन्द्रीत भयो भन्ने यो लेखको विषय होइन । यो लेखको विषय ‘राजनीतिक भाइरस’ हो । ‘राजनीतिक भाइरस’ विरादरी भित्रका गगन थापा एक पात्र मात्र हुन् । पात्र धेरै छन् । जस्तो कि सुन्दरमणि दिक्षित । पेसाले उनी डाक्टर हुन् । डाक्टरी पेसाको मर्यादा र प्रतिष्ठालाई धज्जी उडाउँदै सुन्दरमणिले सरकार विरुद्ध विषवमन गरेको धेरैले सुनेको हुनुपर्छ । यदि नसुनेको भए उनको थप परिचय दिइहालौं– यी सुन्दरमणि नाकावन्दीका बेला देश विरुद्ध धर्ना बस्न दसगजा पुग्ने पात्र मध्येका हुन् ।
देशलाई, विश्वलाई काेराेना भाइरसले छपक्क गाँजेकाे बेला नेपालमा अस्थिरता फैलाउन चाहने, नेपाललाई असफल पार्न चाहने, नेपालमा सरकार स्थिर नहाेस् भनी भाकल गर्ने सबैखाले तत्वहरु एकै ठाउँ अाउन खाेजेकाे देखिन्छ । काेराेनाकाे विपतका बेला 'राजनीति' गर्न खाेज्ने यस्ता सबै तत्वलाई जनताले नै नांगेझार पार्नुपर्ने भएकाे छ ।
यो सरकारले काम गरेको अढाई वर्ष भयो । अढाई वर्षमा सरकारको मनग्ये विरोध भइसकेको छ । विरोध गर्न पाइएकै थियो । अझै यो सरकार अढाई वर्ष रहन्छ । कोरोना महामारी सकिएपछि सरकारको विरोधमा जति उफ्रिपाफ्री गरे पनि हुन्छ । तर, विरोध गर्ने बेला यो होइन । यो विपतको बेला सरकारलाई बलियो बनाउने हो । विपत सामना गर्न सरकारलाई बलियो बनाउनुपर्ने बेला, सरकारको होस्टेमा हैंसे गर्नुपर्ने बेला छिर्के लगाउनु मानवता विरोधी काम नभएर के हो त ? भ्रष्टाचारको तिलस्मी कथा सिर्जना गर्ने बेला पनि होइन यो । यो सिर्फ एवं सिर्फ सरकारलाई समर्थन गर्ने बेला हो, सरकारलाई बलियो बनाउने बेला हो ।
जसरी कोरोना भाइरस विरुद्ध जनता एकढिक्का भएका छन्, त्यसैगरी राजनीतिक भाइरस विरुद्ध पनि एकढिक्का हुनुपर्ने बेला आएको छ । नेपाली जनताले यो कुरा बुझौं ।
