आज बिश्व त्रासदीमा छ, बियोगमा छ र छटपटाइरहेको छ, फगत एउटा अती सुक्ष्म अर्धजीव (जसलाई भाइरस भनिन्छ) अनेक थरिका, चिकित्सा पद्धती देखि अन्तरिक्षसम्म पहुँच भएको मानव सभ्यता माथि अकल्पनीय क्षति पुर्याइरहेको छ ।
मानव स्वास्थ्य जस्तो बिसुद्ध राज्यको दायित्वभित्र पर्ने बिषयलाई नाफा आर्जनको बस्तु बनाउनेहरु, आधुनिक बिज्ञानले मानव हितको लागि उत्पादन गरेका क्यान्सर लगायतका रोगहरुमा प्रयोग गरिने औषधीहरुको कर्टेलिङ गरेर अकुत सम्पत्ति कमाएकाहरु देखि बिनासकारी हतियार बिक्री गरेर मालामाल हुनेहरु समेत त्रस्त छन, निरिह छन, अर्कालाई दोष थोपरेर झोक्राएका छन ।
संक्रामक रोग निदान, उपचार र रोकथाममा २१ औं शताब्दीमा थुप्रै उल्लेखनीय उपलब्धी भएका छन् । यद्यपि, विश्व अझै पनि इबोला, जीका, सार्स र एन्टिबायोटिक प्रतिरोध जस्ता थुप्रै उदाउँदा र पुन उत्पन्न हुने संक्रामक रोगहरूको साथ गम्भीर सार्वजनिक स्वास्थ्य जोखिमको सामना गरिरहेको छ । भाइरसको जैविक फैलावट र उनीहरुको तिब्र रुपमा हुन सक्ने जैविक परिवर्तनले संसारमा कुनै पनि बेला ठूलो महामारी पैदा हुन सक्छ भन्ने कुरा इतिहासमा भएका ठूला महामारीको गहन अध्ययनको आधारमा बिज्ञानले व्याख्या गरिसकेको छ । र, यो कुनै नौलो बिषय पनि होइन ।
हरेक १० बर्षको अन्तरालमा इन्फ्लुएन्जा महामारी हुने गरेको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विद्यार्थी, अनुसन्धानकर्ताहरुको लागि कुनै नयाँ बिषय हाेइन । विश्व स्वास्थ्य संगठन जस्ता संस्थाहरुले यस्ता महामारी प्रतिरोधको तयारीका लागि हरदम लागिरहन सबै राष्ट्रहरुलाई सचेत गराइरहेको पनि छ । त्यति हुँदाहुँदै पनि किन आज संसार यो बिपतमा अकल्पनीय बिमार र मृत्युसँग जुधिरहेको छ ? यो पक्षमा केही विवेचना गर्न आवश्यक भएको छ ।
कोरोना भाइरसहरू RNA जिनोम भएका भाइरस हुन् जसलाई अल्फा, बीटा, गामा र डेल्टा आदी समूहमा बिभाजन गरिएको छ । बीटा कोरोना भाइरसले मानिसमा गम्भीर निमोनिया वा श्वासप्रश्वास समस्या उत्पन्न गराउँछ । कोरोना भाइरसका कारण उत्पन्न महामारी यो नै पहिलो हैन । २१ औं शताब्दीको सुरूदेखि नै गम्भीर तीव्र श्वासप्रश्वास सिंड्रोम कोरोना भाइरस (SARS-CoV) देखा पर्याे। २००२ र ०३ मा पाँच महादेशमा फैलियो । सार्सको मृत्युदर १० प्रतिशत थियो ।
सन् २०१२ मा मध्यपूर्वमा त्यस्तै खालको अर्को कोरोना भाइरसको प्रकोप देखियो । यस भाइरसलाई MERS-CoV भनिन्छ । यस भन्दा पहिला यी खालका भाइरस खासगरी सामान्य रुघासँग सम्बन्धित भनेर मात्र चिनिएका थिए । यी दुवै भाइरसका अध्ययनहरूले पशुहरुमा उत्पत्ति भएर मानिसमा सरेको देखाएका थिए । यी भाइरस जनावरहरूको प्रजाति जस्तै :– चमेरो तथा केही बन बिरालोको प्रजातिबाट मानिसमा सरेको विश्वाश गरिएको छ । मध्य पूर्वमा चमेरोबाट ऊँटमा सरेको र त्यसपछि मानिसमा सरेको विश्वाश गरिन्छ ।
त्यसैगरी २०१९ को अन्त्यमा फेरि नयाँ प्रकोप र बिनास लिएर आएको छ कोरोना भाइरसले । यो प्रकोप चीनको उहान शहरबाट सुरु भएको थियो । पहिलो बिरामी २०२० को डिसेम्बर १२ मा अस्पताल भर्ना गरिएको थियो । सिगान वा र्यालकाे जिनोमिक अध्ययनले आरएनए भाइरस भएको पत्ता लाग्यो । जुन सार्ससँग मिल्दोजुल्दो थियो । यो द्रुत रूपमा फैलिने नयाँ भाइरसलाई पहिले 2019-nCoV भनियो । पछि, विश्व स्वास्थ्य संगठनले आधिकारिक रूपमा यस भाइरसलाई कोभिड १९ भनी नामकरण गरेको छ ।
प्रारम्भिक अध्ययनहरुले कोभिड १९ तिब्र रुपमा प्रसारण हुने भाइरस भएको देखाएका छन् । एकजना संक्रमितले तीनजना सम्मलाई सार्न सक्ने अनुमान गरिएको छ । यो मानिसको श्वासप्रश्वासका कोशिकाहरुमा प्रवेश गरी तिनलाई नष्ट गर्दै अन्य मुख्य अङगा समेत असर गर्दछ । कोभिड १९ सक्रमित धेरैजसोमा ज्वरो, सुख्खा खोकी र जिउ दुख्ने लक्षण देखिएका छन् जुन धेरै संक्रामक रोगका प्रारम्भिक लक्षण हुन् । संक्रमितले खोक्दा निस्कने छिटा अति नै संक्रामक हुन्छ । त्यही छिटाबाट रोग सर्छ । मुखबाट निस्किएको छिटा भुई, टेबल, धातुजन्य सामग्री, ढोकाको समात्ने ठाउँ, धाराको टुटी आदिमा पर्न गएमा यो भाइरस ३ घण्टा देखि ३ दिनभित्र सम्पर्कमा आउने मानिसमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार न्यूनताम एक मिटरको दूरीमा कम्तिमा १५ मिनट निकटमा रहने ब्यक्तिलाई यो सर्न सक्छ ।
नयाँ भाइरस अन्य जीवबाट मानिसमा यसरी सर्छ
वातावरण विनास गर्ने मानव गतिविधि नै रोगजन्य जीवहरूको विकासका लागि प्रत्यक्ष अप्रत्यक्ष जिम्मेवार छन् । हाम्रा धेरै कृयाकलापले यी प्रकोपलाई योगदान गरिरहेका हुन्छन् । जस्तै, बढ्दो जनसंख्या, हरित ग्याँस उत्सर्जनबाट सिर्जित मौसम परिवर्तन, अनियन्त्रित शहरीकरण, बासस्थानको विस्तार र वन्य जीवनको अतिक्रमण आदी । विभिन्न प्रकारका जंगली जनावरको बढ्दो सिकार, मासु र दुग्धजन्य पदार्थको माग पूरा गर्न पशुधनको संख्यामा आएको बढोत्तरी, यातायात को सुगमताले बढ्दो पर्यटकीय आवागमन, मनोरन्जन र सोखको लागि गरिने गतिविधि आदि । संसारभर जनस्वास्थ्य प्रति देखिएको हेलचेक्राई, स्वास्थ्य सेवामा बढ्दो ब्यापार र नाफा कमाउने प्रवृत्ति पनि अन्य कारक हुन् ।
बिभिन्न वन्यजन्तु कोरोना भाइरस र अन्य रोगजन्य सुक्ष्म जीवका विभिन्न प्रजातिका बासस्थान हुन् । र कैयन यस्ता सुक्ष्म जीवहरु जनाबरबाट मानिसमा सर्ने सामर्थ्य राख्छन् र विश्वव्यापी खतरा बन्न सक्छन् ।
इतिहासमा वन्यजन्तुबाट मानिसमा भाइरस सरेको अनुमान गरिएको यो पहिलो घटना होइन । एचआईभी, जीका भाइरस, ह्युमन टी (लिम्फोट्रोफिक भाइरस), इन्फ्लूएन्जा लगायतका भाइरस जनावरबाट मानिसमा जम्प गरेका थुप्रै प्रमाण छन् । यसबाहेक, निपा, हेन्ड्रा, मारबर्ग, रेविज, क्यासनूर फरेस्ट भाइरस पनि चमेरो लगायतका जीवबाट मानिसमा सरेको विश्वास गरिन्छ । इबोला पनि फलफूल खाने प्रजातिको चमेरोबाट आएको हुनसक्छ तर पुष्टि भएको छैन ।
वन्यजन्तुको व्यापार रोक्न र संसारभर पशुमा विकसित यस्ता रोगको निरन्तर अनुगमन गर्ने कार्य तुरुन्त थाल्नुपर्छ । प्रत्येक सरकारले सम्भावित पशुजन्य रोग निगरानीका लागि प्रयास गर्नुपर्छ । प्रकृतिले यो धरतीका स्रोतहरु मानवका लागि मात्र बनाएको होइन । हरेक जीवजन्तु र मानिसका पनि सीमा छन् भन्ने बुझ्नु पर्छ । हरेक प्राणीलाई आफ्नो प्राकृतिक बातावरणको घेराभित्र बाँच्न दिनु पर्छ अनि मात्र हामी पनि सुखपूर्वक बाँच्न सकौंला ।
हालको प्रकोप कसरी नियन्त्रित हुन्छ ?
एक्कासी देखा पर्ने संक्रामक रोग बिरुद्धमा मानव शरीरमा प्रतिरोध क्षमता बिकास भएको हुँदैन, न बनिबनाउ औषधी उपलब्ध हुन्छ । त्यसैले यस्तो प्रकोप नियन्त्रणका लागि तुरुन्त गरिहाल्नु पर्ने काम भनेको ब्यक्तिबाट समुदायमा फैलन नदिनु नै हो ।
जस्तै, जनतालाई हात धुन र दूरी कायम गर्न सुसूचित गर्ने । शंकास्पदहरुलाई क्वारेन्टाइनमा राख्ने, नमूना जाँच गर्ने, र संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने हो । जुन सबै जसो मुलुकहरुले गरिरहेका छन् । यसमा सम्पूर्ण नागरिकको साथ र सहयोग आवश्यक हुन्छ । जुन मुलुकका नागरिकले यसलाई राम्रोसँग पालन गरेका छन् त्यहाँ संक्रमण नियन्त्रणको क्रममा छ । तर अझै धेरै मुलुकमा नागरिकको असहयोगले संक्रमण बढिरहेको छ ।
नेपालमा विगत दुई हप्ता भित्र मुलुक भित्रिएका मानिस तर्फ ध्यान दिनुपर्छ । हजारौको संख्यामा भारतबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गरेका र मध्यपूर्वका मुलुकहरुबाट हवाइ मार्ग हुँदै प्रवेश गर्नेहरु गाउँगाउँ पुगेका छन् । भेटघाट गरेका छन्, जोडसँग हात मिलाउँदै खुशी साटेका छन, चकलेट बाँडेका छन्, बिहानमा चिया पसलमा हुने गफ र बेलुका भट्टीमा हुने खानपानमा पनि रमाएकै होलान् । हाम्रा गाउँघरमा हुने यस्ता कृयाकलापले नजानिँदो रुपमा समुदायमा भाइरस सरिरहेको हुन सक्छ ।
त्यसैले अबको दुई हप्ता नेपालका लागि निकै संवेदनशील हुनेछ । धेरै मानिस साँघुरो कोठामा सुत्नुपर्ने, एउटै चर्पी प्रयोग गर्नुपर्ने, हात धुने पानी उप्लब्ध नहुने जस्ता असुविधाले परिवारका सदस्यहरुमा भाइरस सरिरहेको हुनसक्छ ।
संक्रमणको जुन चक्र छ त्यसलाई बेलैमा रोक्न सकिएन भने बिश्वका ५०–६० प्रतिशत मानिसमा यो भाइरस सर्नसक्ने अनुमान गरिएको छ । प्रकोप यो गतिमा गयो भने स्थिति कति भयावह हुनेछ भन्ने अहिले नै अनुमान गर्न सकिन्छ । विश्वको ठूलो जनसंख्याको मृत्यु हुनेछ र करोडौले रोगको पिडा भोग्नुपर्नेछ ।
आशलाग्दा पक्षहरु
हालै गरिएका केही प्रयोगात्मक र गणितीय अध्ययनहरुले कोविड १९ का भाइरस १८ डिग्री माथिको तापक्रम र ६० प्रतिशत माथिको आद्रतामा त्यति सक्रिय नहुने देखाएको छ । उतरी गोलार्धमा जुन महिनासम्म तापक्रम चिसो नै रहन्छ, त्यसैले गर्मी मौसम लागेपछि संक्रमण घट्न थाल्ने अनुमान गरिएको छ । यो अनुमान लाई पुष्टि गर्न मिल्ने केही अरु पनि तथ्य छन् । जस्तो कि– अहिले पनि दक्षिण एसियाका केही मुलुक र अष्ट्रेलियामा संक्रमणको दर उत्तर अमेरिका र युरोपको तुलनामा कम देखिएको छ । प्राय श्वासप्रश्वासको संक्रमण गर्ने भाइरस हिउँदे सिजनमा सकृय देखिने हुनाले यो भाइरस पनि त्यही प्रकृयामा जाने आशा गर्ने ठाउँ छ ।
खोप विकास प्रकृया
संक्रामक रोग संसारबाट दिर्घकालका लागि उन्मुलन हुन वा नियन्त्रणमा रहन प्रभावकारी खोप चाहिन्छ । खोपकै कारण महाविनाशकारी बिफर आज संसारमा छैन, विगतमा बाल मृत्युको कारण मानिएका दादुरा, ठेउला, पोलियो, हाडे, लहरेखोकी, भ्यागुते, र धनुस्टंकार जस्ता रोग लगभग उन्मुलनको अवस्थामा पुगेको छ । पोलियो हाल अफगानिस्थान, पाकिस्तान र नाइजेरियामा मात्र सीमित रुपमा रहेको छ । यो सबै प्रभावकारी खोप उप्लब्धताले सम्भब भएको हो । कोविड–१९ को खोपका लागि पहिलो चरणको अध्ययन शुरु भएको छ, यसले सकारात्मक नतिजाकासाथ अरु केही चरण पूरा गर्नुपर्ने छ । यसका लागि १–२ बर्ष लाग्नसक्छ । त्यसपछि पनि ठूलो जनसंख्यामा खोपको प्रभावकारिता र खोपबाट आउनसक्ने अरु जटिल अवस्थाको मूल्यांकन हुनेछ, अनि मात्र खोप प्रभावकारी र सुरक्षित भएको मानिने छ ।
सबै रोगजन्य किटाणु विरुद्ध प्रभावकारी खोप बन्छ भन्ने कुनै निश्चितता छैन, किटाणुको जिनले कस्तो खालको प्रोटिन निकाल्छ र एक जन्तुबाट अर्को जन्तुमा जम्प हुँदा र मान्छेबाट मान्छे बीच सर्ने प्रकृयामा कस्ता फेरबदल देखा पर्छन् आदिमा भर पर्छ । यिनै जटिलताका कारण ठूलो प्रयासका बावजुद आजसम्म पनि मलेरिया, कालाजोर, डेङगु, हेपाटाइटिस सी, जिका र यस्तै कैयौं रोगहरुको प्रभावकारी खोप बन्न सकेको छैन ।
प्रभावकारी औषधी
रोग लाग्नै नदिन खोपको भूमिका हुन्छ भने रोग लागिसकेपछि त्यसलाई पूर्ण निको पार्न वा नियन्त्रण भित्र राखेर संक्रमितको जीवन सजिलो बनाउन र संक्रमितबाट अरुमा सर्ने सम्भावना कम गर्न औषधीको महत्वपूर्ण भूमिका हुन्छ । आजसम्म बिज्ञानले भाइरसबाट पूर्ण मुक्त गर्न सकिने औषधी बनाउन सकेको छैन । औषधीको भूमिका संक्रमितको जीवन सामान्य अवस्थामा ल्याउने र अरुलाई सर्न बाट रोक्ने सम्म मात्र हुन्छ । जुन एचआईभी लगायतको संक्रमणमा उपयोगी भएको छ । केही बर्ष देखि हेपाटाइटिस सीको पनि प्रभावकारी औसधी बनेका छन् जसलाई डाइरेक्ट एक्टिङ एन्टिभाइरल भनिन्छ । यसमा भाइरस बिरुद्धका ३ देखि ४ वटा औसधीको एकसाथ प्रयोग गरेर उपचार गरिन्छ । कतिपय बिरामीमा यो ९० देखि ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको छ ।
हालको महामारी बिरुद्ध लड्न कोविड– १९ को कुनै अति प्रभावकारी औषधी छैन । विश्वभरका वैज्ञानिकहरू चिकित्सकीय विकल्प हेरिरहेका छन् जुन वर्तमान महामारीलाई नियन्त्रण गर्न उपयोगी सिद्ध हुन सकोस् ।
पहिले अन्य भाइरसका लागि भनेर अनुमोदित औषधीहरुको सम्भाव्यताको खोजी गर्न सुरु गरिएको छ । पहिले हेपाटाइटिस सी र इन्फ्ल्युएन्जा आदिमा प्रयोग गरिएका औषधी रेम्डिसिभिर, युमिफेनोभिर र ओसेलटाम्भिरको क्लिनिकल परीक्षण थालिएको छ ।
मलेरिया परजीवीको उपचारमा प्रयोग गरिने क्लोरोक्वीन र इबोला भाइरस विरुद्ध प्रयोग गरिने रेम्डििस्भिरे औषधीले प्रारम्भिक प्रयोगमा राम्रो नतिजा आएको छ । तर, यसको भिभिन्न तहको प्रयोग र अनुसन्धानको नतिजा आउन समय लाग्ने देखिन्छ ।
भविष्यमा आउन सक्ने महामारिमा राज्यको दायित्व
माथि उल्लेख गरिए अनुसार हालको प्रकोप पहिलो होइन र अन्तिम पनि होइन । मानव समुदायले फेरी पनि यस्ता बिपदहरुको सामना गर्नु पर्नेछ । कोविड–१९ को महामारिबाट विश्वका सबै बिशेष गरी बिकसित र सम्पन्न भनिने देशहरुले आफ्नो जनस्वास्थ्य सेवाको स्तर राम्ररी बुझेको हुनुपर्छ । बिसुद्ध मानव कल्याणका लागि हुनुपर्ने स्वास्थ्य सेवा र उपचारमा प्रयोग गरिने औषधीलाई नाफा कमाउनका लागि मात्र प्रयोग गरिएकाले यो अवस्था आएको भनिएको छ । संसारमा केही अपवादको रुपमा क्युबा जस्ता साना मुलुक बाहेक लगभग चिकित्सा बिषय पढाउने देखि उपचार गर्नेसम्मका बिधाहरुलाई बिक्रीको बस्तु बनाइएको छ । आज यो क्षेत्रमा बहुराष्ट्रिय कम्पनीहरुको ब्यापक उपस्थिति र लगानी छ तर सेवाका नभएर अकुत नाफाका लागि उनीहरुको उपस्थिति छ ।
अमेरिका जस्तो मुलुकमा आज विज्ञानले सिर्जित गरेको उपलब्धी सामान्य श्रमजीवी वर्गको पहँुचमा छैन । क्यान्सर हेपाटाइटिस लगायतका औषधीहरु बहुराष्ट्रिय कम्पनीहरु र कार्टेलिङवालाहरुले ब्राण्डको नाममा करोडौ मूल्य असुल्ने गरेका छन् । नेपालमा पनि चिकित्सा क्षेत्रमा नाफखोरहरुको ठूलो उपस्थिति छ, बर्षेनी बिरामी र विध्यार्थीबाट अर्बौंं रुपैयाँ असुल्नेहरुले अहिलेको महामारिमा के योगदान गरे ? भोलि त्यसको मूल्यांकन हुनुपर्छ ।
भनिन्छ– आज जीवन भर अनुसन्धानमा योगदान दिने वैज्ञानिकहरुको जीवनस्तर औसत छ तर उसको आविष्कारलाई ब्राण्ड बनाएर बेच्ने बहुराष्ट्रिय कम्पनीहरुले संसारको लगभग ९० प्रतिशत स्रोतमा कब्जा जमाएका छन् । झन् नेपाल जस्तो मुलुकमा त बैज्ञानि खोज अनुसन्धान र विकासमा अति नगण्य लगानी छ ।
सामान्य उपकरणहरु जस्तै– मास्क र पिपिई जस्ता बस्तुको चरम अभाव छ । रोगको निदान गर्ने भरपर्दो प्रयोगशाला छैन । केन्द्रमा सीमित क्षमताको एउटा प्रयोगशाला छ, त्यसले दिनमा केही सयको पनि जाँच गरेर नतिजा दिन सकेको छैन अनि कसरी संक्रमितको पहिचान हुन्छ ? नाफाका लागि खोलिएका ठूला भनिएका निजी अस्पातल देखि देशका गल्लीगल्लीमा प्रयोगशाला खोलिएका छन्, यी सबैले सर्वसाधारण नेपालीको पसिना चुस्ने बाहेक के गरे ? हजारौं बैज्ञानिक र प्राविधिकहरु पलायन हुनुपरेको अवस्था छ । अनुसन्धानमा लाग्नुपर्ने विश्वविद्यालयहरु लथालिंग अवस्थामा छन् । यो क्षेत्रमा उल्लेख्य लगानी गरेर नतिजा देखाउन सफल दक्षिण कोरिया र चीनलाई हेरेर केही सिक्ने हो कि ?
(डा. बीरेन्द्र तिवारी सेन्ट जेम्स स्कुल अफ मेडिसिन, अङगोला ब्रिटिश वेष्ट इण्डिजका प्राध्यापक हुन् ।)
