नबराज पथिक - केही वर्ष यतादेखि गाउँका जमिन बाँझै छन् । अन्न फलफूल र तरकारी फल्ने जमिनमा काँडा उम्रिएका छन् । गाउँका माटो र बाटोमा युवा युवतीको पैताला नबज्रिएको कति भो कति । अनि बारी के गरी जोतिनु, के गरी रोपिनु र के गरी उब्जिनु । सुनसान र उजाड गाउँलाई अन्त कतै जाने विकल्प नभएका र घर कुर्न बसेका बुढाबुढीहरुले धानिदिएका थिए । उनीहरुले घरमा ताला लाग्न दिएका थिएनन् र आज त्यही गाउँ काम लाग्यो ।
अहिले गाउँका घरहरु भरिभराउ छन् । संक्रामक रोग कोरोनाको महामारीले आतंकित र त्रसित बनाएको यो समय सहरभन्दा गाउँ प्यारो भएको छ । सबैलाई सहरले हैन गाउँले तानेको छ । तीनचार दिनको पैदल हिँडेर पनि मानिस गाउँ पुगेका छन् । अहिले सहर सुनसान बनेको छ, गाउँ भरिभराउ भएको छ । दशैँ तिहार जस्ता चाडबाडमा समेत गाउँ नसम्झनेहरु पनि अहिले गाउँ पुगेका छन् ।
कुनैबेला सहरबाट गाउँ आउनुलाई सान मानिन्थ्यो । बिदेशबाट आउनेको त मानभाउ नै अर्कै हुन्थ्यो । गाउँका गवाँरहरु सहरियासँग कसरी मिल्नसक्नु ? गाउँको धुलो, माटो, घाँसपात, गोवरमा लुटपुटिएर बसेकाहरु सहरबाट जानेहरुको लागि हाँसोका पात्र बन्थे । ठस्ठसी गनाउने गन्धेहरु, पाखे, असभ्य यस्तैयस्तै ठानिन्थे । अहिले सहरबाट गाउँ छिरेकाहरु नुन खाएको कुखुरा जस्तो झोक्राएर बसेका छन् । म सहरबाट आएको भनी खुलेर भन्न सक्दैनन् । विदेशबाट आएकाहरुले त कसैले थाहा नै नपाइदिओस जस्तो गर्दैछन् ।
सधैंभरि उपेक्षामा परेको गाउँ र उपेक्षित भएका गाउँलेहरु संकटको बेलामा काम लागेका छन् । गाउँ र गाउँले संकटको बेलामा सहर बस्नेहरुको लागि मात्र हैन राज्यलाई पनि सबैभन्दा बढी काम लागेका छन् । तर सहज अवस्था अाउने बित्तिकै सहर र राज्यले नै यी सबै कुरा बिर्सन्छन् । अनि गाउँ र गाउँले फेरी उपेक्षामा पर्छन् ।
विकासको ठूलो बजेट सहर र बजारमा खर्च हुन्छ । गाउँ र गाउँलेको भागमा चुहिएर छिरेको विकास मात्र पुग्छ । सुख सहर र सहरबासीलाई चाहिन्छ, विकास सहरलाई चाहिन्छ, अस्पताल सहरलाई चाहिन्छ, राम्राराम्रा स्कुल र अस्पताल सहरलाई चाहिन्छ, प्रविधि सहरलाई चाहिन्छ, रोजगारी सहरलाई चाहिन्छ, अनि राहत र अनुदान पनि गाउँलाई भन्दा सहरलाई नै चाहिन्छ । तर विपत्तिको बेलामा सहर हैन फेरी गाउँ नै चाहिन्छ ।
नेपालमा भारतले नाकावन्दी लगाएको बेला सहरले निक्कै कष्ट झेल्यो । थैलोमा खानेकुरा ल्याएर खाने सम्पन्न भनिएकाहरुको थैलोमा समल सकियो । ग्यासका सिलिण्डर खालि भए । तरकारी पाइएन । बिहान बेलुका हातमुख जोर्न धौधौ पर्यो । तर गाउँमा त्यसको खासै प्रभाव परेन । आफ्नै बारीमा उब्जाएको धान, मकै, गहुँ, कोदो, फापरले गाउँलाई पाल्यो । बारीमै उब्जाएको तोरीको तेल, गाई भैसीको दूध जमाएर मोही पारि निकालेको घ्यूले भुटन टर्यो । गाउँकै सागपात, गेडागुडी, गुन्द्रुक र सिन्किले तरकारीको अभाव हुन दिएन । गोबरका गुईँठा, बारी काल्ना र खरबारीका झिक्रा अनि भदौमा संगालेका मकैका ढोडका छड्केले इन्धनको अभाव धान्यो । नाकावन्दीका कारण सहरमा हातमुख जोर्न गाह्रो परेकाहरु गाउँ फर्किए । गाउँमा बसे खाए पिए, फेरी नाकावन्दी खुलेपछि सुखका लागि सहर पसे । त्यसपछि गाउँ विर्सिए । गाउँमा बस्नेहरु फेरी पनि गवाँर नै भए ।
२०७२ सालमा माहाविनाशकारी भूकम्प आयो । त्यति बेलाको दुःख पनि सहरले धान्न सकेन । सहरका ठूला घर काम लागेनन् । छाप्रो हालेर बस्ने जमिन सहरमा भएन । फेरी सहर बसेकाहरुलाई गाउँले बोलायो । सहरीयाहरुले गाउँका छाप्रोमा छिरेपछि सुरक्षित महसुस गरे । सहरमा भूकम्पले बारम्बार मारेको मनलाई गाउँको छाप्रोले बचाई दियो । भूकम्पको त्रास हटेपछि फेरी सुख खोज्न गाउँ पसेकाहरुले गाउँ विर्सिए । गाउँ उजाड बन्यो । कतिपय विदेश उडे, छोराहरु विदेश उडेपछि बुहारीहरु गाउँमा बस्ने कुरै आएन । लालाबाला च्यापेर सुखको खोजिमा उनीहरु पनि सहर छिरे । विदेश जान नसक्नेहरु पनि सहर नै पसे । सहरमा घर भएका नभएका सबै सुखको खोजिमा सहरमै छिरेर गाउँलाई विर्सिए ।
अहिले फेरी विश्व्यापी महावितकारी कोरोनाको संक्रमणले मानिसलाई एकपटक गाउँ फर्काएको छ । गाउँको नामै लिन नचाहनेहरु गाउँ जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन् । गाउँ फर्कने यो मोह सबैमा सधैं भए कस्तो हुन्थ्यो होला ? अनि सबै सहर बस्नेहरुले गाउँको बारेमा सोचिदिने हो भने गाउँको अनुहार अहिलेसम्म कस्तो भइसक्थ्यो होला ?
यसै पनि सहरको प्रदूषण सबैको लागि टाउको दुखाईको विषय बनेको छ । तिनै सहरका प्रदुषणले विभिन्न रोग भित्राएका छन् । त्यसलाई गाउँले सहनु परेको छ । चीन विश्मै सबैभन्दा बढी प्रदूषण फाल्ने राष्ट्रहरु मध्ये पर्छ । त्यहीँबाट आज कोरोना जस्तो प्राणघातक महामारी निस्किएको छ । यसको हाम्रो जस्तो निर्दाेष गाउँले सामना गरिरहनु परेको छ । सहरहरुको ठूलो समस्या बनेको प्रदूषणले बारम्बार प्राणघातक रोगहरु फालिरहेका छन् । त्यसलाई रोक्ने र थेग्ने भूमिका खेलेको गाउँले के पायो ? यो सँगै सहरको प्रमुख रोगको रुपमा देखा परेको तनाव हटाउने थलो पनि गाउँ नै बनेको छ । तनावबाट छुटकारा पाउन मानिसहरु केही दिनका लागि गाउँ पुग्छन् । हरिया डाँडापाखा, खोलानाला र ग्रामिण परिवेशमा रमाएर तनाव कम गरेर फर्कन्छन् । फेरी उनीहरु सहरकै सुखमा रमाउँछन् तर गाउँले केही पाउँदैन ।
गाउँमा रोजगारी छैन, अवसर छैन भन्दै सहर दौडने र दौडाउने वातावरण कसले बनायो । आखिर यसको जिम्मेबार हामी नै होइनौं र ? अझ भन्ने हो भने सहरमा बसेर नीति निर्माण गर्ने विद्धान वुद्धिजिवी भनिएकाहरुले गाउँलाई विकास दिन सकेननन् । अवसर दिन सकेनन्, रोजगारीको वातावरण दिन सकेनन् । हामी सहरको सुखभोगको अतृप्त प्यासमा आफू पनि भौतारियौँ र अरुलाई पनि लगातार भौतारिन बाध्य पार्र्यौँ ।
आज गाउँमा राम्रो स्वास्थ्य, शिक्षा, राजगारीको अवसर सिर्जना गर्न सकेको भए रोजगारीको खोजिमा हाम्रा युवा युवतीहरु विदेश पस्नु पर्ने थिएन । राम्रो शिक्षा र स्वास्थ्यको लागि बुढाबुढी भएका ससुरा र सासुलाई घरमा एक्लै छाडेर बुहारीहरु काखे नानी च्यापेर सहर छिर्नुपर्ने थिएन । गाउँमा जन्मिएकाहरुले गाउँमै बढ्ने, पढ्ने, काम गर्ने र रमाउने मौका पाउँथे । अनि यस्तो विपत्तिको घडिमा न विदेश र देशभित्रकै सहरबाट मानिसहरुलाई फर्काउने चिन्ता हुन्थो न देशमा महामारि भित्रने र फैलने चिन्ता हुन्थ्यो । अनि न विदेश र सहरबाट आएकाहरुले रोग लिएर गाउँमा आए कि भन्ने चिन्ता गाउँले बोक्नु पर्थ्यो । अझै पनि सुख भोगको लागि फेरी सहर नै दौडने र दौडाउने चेत नफिर्ने हो, गाउँको विकास र गाउँमै सबैलाई अडिने वातावरण बनाउन तर्फ नलाग्ने हो भने फेरी पनि यस्तै संकट आउँदा गाउँ फर्कने र फर्काउने नैतिक हैसियत हामी राख्छौँ त ?
