गाेविन्द थापा-
नेपाली राजनीतिमा पनि कोरोना भाइरस सल्केको लक्षण छ । हुनत नेपाली राजनीतिमा कोरोनाभन्दा डरलाग्दा भाइरस पनि छन् । तर, ती भाइरस अहिले खासै सक्रिय छैनन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सरहको ‘राजनीतिक कोरोना भाइरस’ले अहिले नेपाली राजनीतिमा टाउको उठाउने प्रयास गरिरहेको छ । अनेक दाउपेच गरिरहेको छ ।
जसरी भूकम्पपछि नेपालमा संविधान बनाउन नदिने प्रयास भयो, नेपाललाई नाकावन्दी लगाइयो, नाकावन्दीपछि तंग्रिन थालेको बेला सरकार ढाल्ने कुकार्य गरियो, अहिले त्यस्तैत्यस्तै खालको खेल गर्ने प्रयास भइरहेको देखिन्छ । अस्थिरतामा मात्र आफ्नो राजनीतिक भविष्य देख्ने तत्वहरुको नेपालमा कमी छैन । हत्याहिँसा र अस्थिरताको बलमा आफ्नो आकार र उचाई बढाएका थुप्रै नेता नेपालमा छन् । उनीहरु ध्वंशमा रमाउँछन्, ध्वंशमा मात्र आफ्नो तथा परिवारको राजनीतिक भविष्य देख्छन् । काेराेना महामारीकाे विपतभित्र उनीहरुले सुनाैलाे माैका नदेख्लान् भन्न सकिन्न ।
विश्व अहिले संकटमा छ । नेपाल अहिले समस्यामा छ । पहिलो र दोस्रो विश्वयुद्ध भन्दा ठूलो संकटमा विश्व छ । तेस्रो विश्वयुद्ध कस्तो हुन्छ भन्ने उत्सुकता थियो । तेस्रो विश्वयुद्ध सरहको अवस्थामा छ अहिले विश्व । कतिपय अर्थ र सन्दर्भमा त अहिलेको विपदलाई तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो मान्न सकिन्छ । यस्तो विपदको बेला पनि कुनै न कुनै राजनीतिक हर्कत गरेर देशलाई दुख दिन खोज्ने पात्रहरुको नेपालमा कमी छैन । प्रकृतिले ध्वंश गरिरहेको मौका छोपेर राजनीतिक ध्वंश कसरी गर्ने भनी उपाय खोजिरहेकाहरुलाई नेपाली जनताले चिन्न जरुरी छ ।
विपतका बेला हरेक देशभित्र व्यापक राष्ट्रिय एकता पहिलो आवश्यकता हो । कोरोना महामारीको विपतका बेला हरेक मानिस जो जहाँ छ त्यहाँ घरभित्र बस्नुपर्छ । अनि, राजनीतिक शक्ति र नेताहरु पनि जो जहाँ छन् त्यहीँ बस्नुपर्छ, चलखेल गर्न हुँदैन । यो चलखेल गर्ने बेला होइन । सबैजना मिलेर कोरोनासँग लड्नुपर्ने बेला राजनीतिक चलखेल गर्न थालियो भने कोरोना विरुद्धको लडाईंमा पराजित भइन्छ । यति कुरा नेपाली नेताहरुले बुझेका छैनन् भन्न मिल्दैन । बुझीबुझी पनि कसैले चलखेल गर्छ भने उ हजारौं मानिसको मृत्युका लागि जिम्मेवार हुनेछ । मानवता विरुद्धको अपराधी हुनेछ ।
कोरोना विरुद्धको लडाईं कसको नेतृत्वमा लड्ने हो ? कतिपयले यो बारे भ्रम फैलाउँदै छन् । यो विषयमा प्रष्ट हुनुपर्छ । कोरोना विरुद्धको लडाईं सरकारको नेतृत्वमा लड्ने हो । नेपालमा मात्र नभएर विश्वमा जुनसुकै देशले आफ्नो सरकारको नेतृत्वमा कोरोना विरुद्ध लड्नुपर्छ । कोरोना महामारीकै मौका छोपेर यो सरकार हटाएर मुलुकमा पुन अस्थिरता सुरु गर्न पाए हुन्थ्यो भन्ने पनि कतिपयलाई लागिरहेको देखिन्छ । तर, सबैले बुझ्नुपर्ने तथ्य के हो भने यो विपतको अवस्थामा सरकार कमजोर भयो भने, सरकारले काम गर्न पाएन भने, राजनीतिक चलखेल गरेर सरकारलाई छिर्के हान्न थालियो भने हजारौं मानिसको ज्यान जानसक्छ ।
विगतमा नेपालमा जुन हत्या हिँसाको ताण्डव मच्चाइयो त्यसमा १७ हजार मानिसको ज्यान गएको थियो । हिँसावादीहरुलाई त्यति संख्यामा मान्छे मराउन १० बर्ष लागेको थियो । अहिले राजनीतिक चलखेल गरेर सरकारलाई अल्मलाउन थालियो भने कोरोना महामारीका कारण १० दिनमै १७ हजारको मानिसकाे ज्यान जाने दर्दनाक दिन आउन सक्छ । यो कुरा बुझ्दाबुझ्दै पनि चलखेल गरेर सरकारको काममा बाधा दिने, सरकारको कामको गलत व्याख्या गर्ने, सरकार विरुद्ध भ्रम फैलाउने अनि सरकार गिराउन कालो कोठाभित्रबाट षडयन्त्र गर्नेहरु मानवता विरोधी हुन् ।
माथि नै लेखियो– कोरोना विरुद्धको लडाईं सरकारको नेतृत्वमा लड्ने हो । नेपालमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । यी तीनवटै तहको सरकारलाई अगाडि लगाएर, यी सरकारहरुलाई साथ दिएर मात्र कोरोना विरुद्धको लडाईं जित्न सकिन्छ । हामीलाई थाहा भएकै कुरा हो– तीन तहमा विभिन्न राजनीतिक दलको सरकार छ । विभिन्न स्थानीय तहमा दलहरुको मिश्रित सरकार छ । सबै सरकारलाई सहयोग गर्नु नागरिक कर्तव्य हो र राजनीतिक दल तथा नेता कार्यकर्ताहरुको पनि कर्तव्य हो । यो कर्तव्य भुल्ने दुस्साहस गरियो भने हामीलाई कोरोना भाइरसले खानेछ ।
यो तथ्य पनि बुझौं– ७६४ वटा स्थानीय सरकार जनताले बनाएका हुन्, सात प्रदेशको सरकार जनताले मत दिएर बनाएका हुन्, केन्द्रको सरकार जनताले भोट दिएर बनाएका हुन् । यी सरकारले काम गरेन भन्दै कसैले समानान्तर सरकारको अवधारणा ल्याउँछ भने त्यस्तो अवधारणा ल्याउनेलाई राजनीतिको कोरोना भाइरस भने हुन्छ । जनताले निर्वाचित गरेको सरकारले काम गर्न सकेन भन्दै खुट्टा तान्ने अनि ती सरकारको समानान्तर हुने गरी सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने कुरा एकथरी नेताहरुले उठाइरहेका छन् । उनीहरुको नियत ठिक छैन भन्ने सबैजनाले बुझ्न जरुरी छ । आफ्नै पार्टीको सरकार विरुद्ध लाग्नेहरुको नियत अझ खराब छ भन्ने बुझ्नुपर्छ । के पनि बुझौं भने चित्त नबुझेर गरिने आलोचना र ध्वंशका लागि गरिने आलोचना फरक हुन्छ ।
जनताले भोट दिएका सरकारहरुले काम गर्न सकेनन् भने, जनताले चुनेका प्रतिनिधिले काम गर्न सकेनन् भने तिमीले गर्न सकेनौ भन्ने अधिकार हरेक नागरिकले राख्छ । सरकार र जनप्रतिनिधिहरु नियम कानुन र संविधानमा बाँधिएका हुन्छन् । तिनले गलत गरेमा पद मात्र गुम्दैन, हतकडी पनि लाग्छ । तर, कथित संयन्त्रले काम गर्न सकेन भने कुन कानुन लाग्छ ? तिनलाई कसले कारवाहि गर्छ ? जनताले दिएको मत अर्थहीन भयो भन्दै खासखास नेताहरुको कालो कोठाबाट प्रस्तावित गरिएका नामहरुको संयन्त्र बनाएर केन्द्रदेखि जिल्लासम्म कोरोना विरुद्धको लडाईंको नेतृत्व दिन सकिँदैन ।
संयन्त्र गठनको प्रस्ताव राम्रो नियतले आएको छैन । संविधान भत्काउने, जनताले दिएको भोटलाई रद्दीको टोकरीमा फाल्ने, नियम कानुन भत्काउने, अराजकता सिर्जना गर्ने, लोकतन्त्रलाई अफाप सिद्ध गर्न चाहने, व्यक्तिगत स्वार्थ सिद्ध गर्न चाहने नियतले संयन्त्र गठनको प्रस्ताव आएको हो । संविधानले व्यवस्था गरेको स्थानीय, प्रदेश र केन्द्र सरकारले काम गर्न सकेन भन्दै संयन्त्र गठनको प्रस्ताव ल्याउनेहरुले भन्नुपर्यो– संविधानको कुन धारा, कानुनको कुन दफा अनुसार त्यस्तो संयन्त्र गठन हुन्छ ? उनीहरुले भन्नुपर्यो– जनताले भोट दिएर बनाएको सरकारको समानान्तर हुने गरी संयन्त्र बनाउन कुन कानुनले दिन्छ ?
हिजोको अराजकता
संसद्मा एक सिट मात्र भएको पार्टीले देश हल्लाउने र चलाउने दुर्दिन नेपालले भोगेकै हो । प्राइभेट लिमिटेड जस्तो कोठे पार्टीले ७५ वटै जिल्ला, गाउँ र नगरमा ‘सर्वदलीय संयन्त्र’ नाममा शासन गरेको हामीले देखेकै हो । त्यस्तो संयन्त्रले गरेको भ्रष्टाचारमा कुनै छानविन गर्न सकिएन । किनभने ऐन कानुन र संविधानले त्यस्तो संयन्त्र चिन्दैनथ्यो ।
सर्वदलीय संयन्त्र केन्द्रदेखि गाउँगाउँसम्म थियो । केन्द्रमा पतिपत्नी मात्र भएको पार्टीले पनि जिल्लाजिल्लामा संयन्त्रमा हिस्सा लिएकै हुन् । संयन्त्रमा बसेपछि लुट्न पाइन्छ भन्ने बुझेपछि आफ्नो जिल्ला तथा गाउँमा जुन पार्टीको अस्तित्व छैन त्यो पार्टीका नेतालाई काठमाडौंमा खोज्ने, सदस्यता लिने र संयन्त्रमा बस्ने गरेको पनि देखिएकै हो ।
यस्ता संयन्त्रले नेपालमा धेरै वर्षसम्म विकृति विसंगतिको राज चलाएका थिए । संयन्त्रको विगविगीले आजित भएपछि जनताले स्थानीय चुनावको माग गरे । त्यसैले अत्यन्तै प्रतिकूल राजनीतिक परिस्थितिको बीचमा पनि स्थानीय तहको चुनाव सम्भव भयो । चुनाव भएपछि देश र जनताले कथित राजनीतिक संयन्त्रको चंगुलबाट छुटकारा पाएका थिए ।
अहिले त्यस्तै संयन्त्र ब्यूँताउन खोजिँदैछ । त्यस्तो संयन्त्र बनाएर मुलुकलाई पुन पुरानै लुट र अराजकताको युगमा फर्काउन खोजिँदैछ । केन्द्रदेखि गाउँसम्म अहिले स्थिर सरकार छ । कुकुरलाई घिउ पच्दैन भनेजस्तो स्थिर सरकार नपच्ने एउटा ठूलो जमात नेपालमा छ । त्यस्तो जमात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र पनि देखिएको छ । कोरोना भाइरस सरहको यस्तो जमात र व्यक्तिहरुलाई बेलैमा चिन्न सकिएन भने नेपाल फेरि पूरानै अस्थिरता र अराजकताको युगमा फर्कन सक्छ । हिजो हत्या हिँसामा भन्दा ठूलो संख्यामा कोरोना भाइरसबाट मानिस मारिन सक्छन् ।
यसाे गर्ने
के गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । के गर्ने भन्ने प्रश्नमा विचार गर्दा के भइरहेको छ भन्ने तथ्यतिर पनि ध्यान दिनुपर्छ ।
मुलुक लकडाउनमा छ । लकडाउन भन्ने अवधारणा नेपालका लागि मात्र नभएर विश्वकै लागि नयाँ हो । लकडाउनको अनुभव विश्वका कुनै पनि मुलुकसँग थिएन, नेपालसँग पनि थिएन । त्यसैले लकडाउन व्यस्थित हुन सकेको छैन । लकडाउनका बीच जनताको जीवन सहज बनाउन अनेक प्रयास भइरहेको छ । लकडाउनलाई व्यवस्थित बनाउँदै जनताको जीवन यापन सहज बनाउने सरकारको प्रयासमा सघाउनु नै सबैको दायित्व हो । गर्ने यही हो ।
यो राजनीति गर्ने बेला होइन । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका केही कुरा मननीय छ । उनले सरकारलाई सघाउनुपर्छ, अहिले सत्तापक्ष र प्रतिपक्ष हुने बेला होइन भनेका छन् । उनले कोरोना महामारी सकिएपछि राजनीति गरौंला भनेका छन् । यति भन्दा भन्दै पनि कांग्रेसका कतिपय मानिसले छिर्के राजनीति भने गरिरहेका छन् ।
प्रतिपक्षी कांग्रेस भित्रबाट यस्तो विचार आइरहँदा नेकपाकै कतिपय नेताहरुले भने ब्वाँसो विचार अगाडि सारेको देखिन्छ । उनीहरु राजनीतिक संयन्त्र बनाउने माग उठाउन लकडाउनभित्र बसेर छुद्र राजनीति गरिरहेका छन् । लाश गनेर बस्दा मात्र आनन्द मनाउने जमातको लाशको भोक फेरि जागेको छ । उनीहरु कोरोना विरुद्धको लडाईंमा सरकारलाई कमजोर बनाएर कोरोनालाई विजयी बनाउन चाहन्छन् । लाश गनेर बस्न पाइने दिन आयो भन्दै रमाउँदैछन् । यस्तो अमानवीय राजनीति गर्नेहरु पनि छन् नेपालमा । त्यस्ता तत्वहरु सुध्रिएका छैनन् भन्ने लक्षण यो कोरोना कालमा देखिँदैछ ।
अहिले राजनीति गर्ने होइन । लकडाउनभित्र चुपचाप बस्ने हो । सकिन्छ भने सरकारलाई सघाउने हो, सकिँदैन भने चुपचाप बस्ने हो । सरकारलाई असहयोग गर्ने बेला होइन यो ।
कालो कोठाभित्र सल्बलाएका राजनीतिका कोरोनाहरुलाई चिन्न सकिएन, तिनको नियत बुझेर बेलैमा नङग्याउन सकिएन भने कोरोना भाइरसले हामी सबैलाई एकै चिहान बनाउन सक्छ । दुवै खाले कोरोना विरुद्ध लड्न सबैले विवेक प्रयोग गर्नु नै आजको आवश्यकता हो ।
