नबराज पथिक एकाबिहानै मन्थली बजारमा एकहल लैना बाच्छा देखिए । सडकमा भौतारीँदै हिँडेका ती लैना बाच्छा निक्कै थाकेका देखिन्थे । रातभरि गाउँतिर बालीमा पसे होलान् । बालीमा पसेकै कारण कुटाई पनि खाए होलान् । राम्रो घाँस देखेपछि खान पस्नु ती अवोध पशुको के दोष ! अनि बाली खान लागेपछि छाडा छाडेको पशुलाई लखेट्नुमा किसानको पनि के दोष !
सडकमा दुवै बाच्छा थचक्क बस्ने ठाउँको खोजिमा थिए । सडकबाट यसो छेउ लागेर मेरो घरको आगन तिर लागे, अनि घरको भित्ताकै आडमा एउटा थचक्क बस्यो । अर्काे पनि उसैको छेउमा मुख जोडेर बस्यो ।
बाच्छाहरु तिर्खाए जस्तो लाग्यो । तिनले माऊको दूध नखाएको कति दिन भइसकेको थियो होला । आमाको वात्सल्य नपाएर न्यास्रिएका ती बाच्छाको नजिकै गएँ । पीठो र पानी पनि लगेर दिएँ । मान्छेबाटै लखेटिएका र दपेटिएका बाच्छाहरु निक्कै तर्सिए । एउटा जुरुक्क उठेर भाग्यो । अर्काे उठ्न खोज्यो तर उठ्न सकेन । तर्सिएर बसिरह्यो । विस्तारै सुम्सुम्याएँ, प्रेमभाव देखाएँ । केही रत्तिए जस्तो गर्याे । भोक तिर्खा र थकाईले चुर भएका बाच्छाले डराईडराई पीठो पानी खाए । केही बेरपछि तागत भरिएछ क्यारे । दुवै उठेर नजिकैका घाँसका मुन्टा तान्न लागे ।
कहाँका बाच्छा हुन् ? कसले छाडिदियो ? केही पत्तो थिएन । सहरमा तिनले अझ दुःख पाउने छाँट देखेर छिमेकी दाजु र मैले ती बाच्छालाई खोला किनारतिर धपाइदियौँ । बजारमा खान पाउँदैनन् बरु खोला किनारतिर गए भने हरियो घाँसका बुटा चाट्छन् भन्ने लाग्यो । दूध खान नपाएर सुकेका आन्द्रा पानी खाएर भए पनि रसिला हुन्छन् भन्ने ठानेर दुईभाइले त्यो काम गरेका थियौँ । भोलिपल्ट छिमेकीले सुनाए– ‘ती दुवै बाच्छालाई त खोलाको बगरमा दशवटा जति कुकुरहरु मिलेर मारेछन् । आन्द्राभूँडि तानातान गर्दैछन् ।’
सुनेर स्तब्ध भयौं । गाउँघरतिर कुकुरको हूलले बाच्छाबाच्छी मारेको सुनिएको थिएन । जंगली कुकुरले हूल बाँधेर सिकार गरेको टेलिभिजनमा देखिएको हो । तर, हाम्रै गाउँमा यस्तो कहालीलाग्दो घटना भयो ।
घटनाको भोलिपल्ट ती बाच्छा कसका थिए भनेर गाउँमा सोधखोज गरियो । बाच्छा कसका हुन् भन्ने त कसैले भनेनन् तर सबै गाइपालक कृषकहरुको एउटै भनाइ थियो, ‘अब गाई फुकाएर छाड्ने बेला भयो, काम नलाग्ने बाच्छा नछाडेर के गर्नु ?’
‘घाँसको त्यान्द्रो छैन, दानाको गेडो छैन । बन्दले गर्दा दाना, घाँस ल्याउन सकिएको छैन । दूध बिक्री नभएर एक पैसा कमाई छैन । यी गाई कसरी बचाउनु ? बरु फुकाएर छाडेपछि थलामा त मर्दैनन्’– कृषकहरुको भनाई थियो ।
यस्तो विचार मानिसको स्वार्र्थी भाव हो कि वाध्यता ? मानवीय संवेदना मरेकै हो त ?
बन्दाबन्दीले गर्दा अहिले बजारहरु बन्द छन् । शहर बजारमा मानिसको आउजाउ बन्द भएसँगै होटल पसल पनि बन्द छन् । बजार सफाईको प्रमुख भूमिका निर्वाह गर्ने सामुदायिक कुकुरहरु होटल बन्द भएपछि भोकमरीमा परेका छन् । भोकमरीमा पर्ने मानिसलाई बचाउने कुरा गर्दा मानिसहरुसँगै जोडिएका यी कुकुरहरुको कुरा खासै उठेको छैन । करिब एक महिनादेखि खान नपाएका कुकुरहरु बसेका ठाउँबाट उठ्न नसक्ने भएका छन् । भोक मेटाउने केही उपाए नपाएपछि ती कुकुरहरुले गाईका ज्यूँदा बाच्छाहरुलाई मार्न पुगे । अब यही क्रम चलि रह्रयो भने मानिसलाई मारेर भोक मेटाउनुको विकल्प तिनीहरुसँग के होला र ? त्यतिबेला कतिवटा विपत्तिसँग लड्ने हो ?
समुदायमा सफाई गर्ने अर्काे जीव काग । सहर बजारमा मानिसको चाप घटेसँगै फोहोर घटेको छ । मानिसले फालेको फोहोर सफा गर्ने काग पनि आज खान नपाएर हूलका हूल कराएर आकाशमा कावा खेलिरहेका छन् । उनीहरुले खानेकुरा केही पाएका छैनन् । उनीहरुले के खालान् भन्ने चिन्ता कसैलाई छैन ।
नेपाली समाजमा हिन्दु सानातन धर्म परम्पराबाट यहाँसम्म अमाइपुगेको हो । हाम्रो सनातनले पशुपंक्षीलाई मानिसलाई जीवित राख्ने ईश्वरीय अवतार मान्यो । त्यसैले पशुपंक्षीले मानिसलाई लगाएको गुण तिर्न हाम्रा मित्र पशुपंक्षी काग, कुकुर, गाई, गोरुको पूजा गरेपछि मात्र मानिसले आफ्नो पूजा अर्थात् म्हः पूजा गर्ने परम्परा बनाइयो । त्यसपछि दिदी बहिनीले दाजुभाइको र दाजुभाइले दिदी बहिनीको पूजा गर्ने सनातन धर्म परम्परा बसाइयो ।
अझ बौद्ध परम्परा र संस्कृतिले त जनावरको महत्वलाई यति माथि राख्यो कि वर्षहरुनै जीव जनावरलाई समर्पित गरियो । यसले मानव जीवनमा समस्त जीवको महत्व र आवश्यकतालाई पुष्ट्याउँछ ।
कोरोना महामारीका कारण अहिले सिंगो मानव समुदाय संकटमा परेको छ । यस्तो बेला मानिसलाई बचाउनु पहिलो प्राथमिकता हो । मानिससँगै संकटमा परेका मानिसका मित्र जीवलाई पनि जोगाउनु मानिसको परम् कर्तव्य हो । तर मानिस यस्तो स्वार्थी बन्दै गएको छ, अप्ठेरोमा केवल आफ्नो बारेमा मात्र सोंच्छ । त्यसैले त बाहिरबाट आएका मानिसबाट अरुलाई रोग सर्न सक्छ, छुट्टै बस भन्दा समेत् टेर्दैन । भाग्छ, लुकाउँछ र अन्तत एकले अर्कालाई रोग सार्छ । वास्तवमा मान्छे यति स्वार्थी किन हुन्छ ? यति विश्वासघाती किन हुन्छ ? महासंकटको बेलामा मानिस झन् किन महास्वार्थी हुन्छ ? यस्तै बेलामा ठग्छ । कालोबजारी गर्छ । भ्रष्टाचार गर्छ । कहाँ कतिखेर मरिने हो भन्ने ठेगान नभएको बेलामा समेत आफ्नो बारेमा मात्र सोचिरहन्छ ।
यतिसम्मकी यस्तो घडिमा उचार गर्न ल्याउने औषधि र उपकरणमा समेत बक्रदृष्टि लगाउन भ्याउँछ । यस्तो बेलामा पनि आरोप प्रत्यारोप । ढाँट, छल र अनियमिता । थुपार्ने र कुम्लाउने धुन । कस्तो एक पाइला पर पनि सोच्न नसकेको ? कस्तो आफ्नै सन्तान, परिवार, समाज र समुदायको बारेमा ध्यान नदिएको ? कस्तो मानविय संवेदना गुमाएको ? एकदिन मर्नुपर्छ भन्ने तथ्य मनको एक कुनामा पनि किन नराखेको ?
मानिस मात्र होइन मानिसलाई सधैं साथ दिएर सहयोग गर्ने पशुपंक्षीहरु अहिले मानिससँगै संकटमा छन् । मानिससँगै संकटमा परेका पशुपंक्षीलाई बचाउने विषयमा खै वहस चलेको ? यसबारेमा खै सोचेको ? आज आफूसँग संकटमा परेका यी पशुपंछिलाई गाँस काटेर बचाउन सकिएन भने भोलि संकटबाट उत्रिए पछि यिनीहरुबाट सहयोग र सेवा लिने हैसियत हाम्रो हुन्छ त ?
माथि कुकुरको हूलले दुई बाच्छालाई मारेको चर्चा गरियो । अरुबेला जस्तै तिनले खान पाएकाे भए पक्कै बाच्छा मार्दैनथे । त्यसैले बाच्छालाई कुकुरले मार्दा मलाई ‘थुक्क कुकुर’ भन्न मन लागेन । बरु, ‘थुक्क मान्छे’ भन्न मन लाग्यो ।
