नेपाली राजनीति अब कता जान्छ ? यो महत्वपूर्ण प्रश्न उपस्थित भएको छ । नेपाली राजनीतिका मूल खेलाडिहरुको नियत अहिले खराब भएको छ । खासगरी सत्तापक्षका नेताहरुको नियत खराब देखिएको छ । उनीहरुको नियत अझ खराब बन्दै गयो भने राजनीति अझ बिग्रन्छ ।
हिजो मात्र सरकारले राजनीतिक दल र संबैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी गरायो । राम्रो नियतले यी अध्यादेश ल्याइएको होइन ।
कोरोना महामारीले देश आक्रान्त भएको बेला अध्यादेश जारी गर्नु भनेको कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो हो । लोकतन्त्र बलियो बनाउन नभएर भत्काउन, संविधान कार्यान्वयन गर्नु नभएर संविधानको धज्जी उडाउन अनि स्थिरतालाई भत्काउन अध्यादेश ल्याइएको हो भन्नेमा कुनै शंका छ र ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गिराउन सक्छन् भन्ने बुझेर अध्यादेश ल्याएका हुन् । उनले माओवादीसँग एकता गर्ने बेलै माओवादीबाट इमानजमानको अपेक्षा गर्न सकिन्न, माओवादीबाट शान्त र सिर्जनशील राजनीति गर्न सकिन्न, माओवादीबाट स्थिरतामा योगदान हुन सक्दैन भन्ने बुझेनन् ।
ओलीले त्यतिबेला त्यो कुरा बुझेनन्, अहिले सरकारको रक्षा गर्ने नाममा गलत बाटो गइरहेको छु भन्ने पनि बुझिरहेका छैनन् । प्रचण्ड र ओली अहिले जुन बाटोमा हिँडिरहेका छन् त्यो बाटोबाट भिरमा पुगिन्छ ।
हाम्रो राजनीति नै गलत बाटेमा गइरहेको छ । राजनीतिकर्मी, खासगरी राजनीतिक दलहरुको टुप्पामा बसेकाहरु गलत बाटोमा गइरहेका छन् । सत्तामा बसेकाहरु गलत बाटोमा लाग्नु नेपालको नियति नै भएको छ । जो सत्तामा बस्छ उसले विवेक गुमाउँछ हाम्रो नेपालमा । अहिले कम्युनिष्टहरुले विवेक गुमाएका छन् ।
राजनीति सेवा हो, समाज रुपान्तरणका लागि हो, गरिब जनता को जीवन परिवर्तनका लागि हो भन्ने मान्छेको संख्या धेरै छैन । यो चिन्ताको कुरा हो ।
आज हाम्रो राजनीति नेता, उनको परिवार र तिनका आसेपासेको जीवन परिवर्तनका लागि मात्र भएको छ । आफ्नो फाइदाको लागि, आफू र आफ्नो गुट बलियो बनाउनका लागि नेताहरु जस्तोसुकै सम्झौता गर्छन्, जस्तोसुकै कदम चाल्छन् । यही प्रवृत्तिको एउटा उदाहरण हो प्रचण्डले आफ्नै सरकार ढाल्न षडयन्त्र गर्नु अनि ओलीले अध्यादेश जारी हुनु ।
केपी ओली र प्रचण्ड दुई माहिर खेलाडि बीचको घम्साघम्सी खेलको परिणाम हो यो अध्यादेश । कसले कसलाई कसरी प्रयोग गर्ने, कसले कसलाई कसरी सक्ने भन्ने खेलको एउटा घिनलाग्दो नमुना हो यी अध्यादेश ।
एमाले र माओवादीको एकता घिउ बेचुवा र तरवार बेचुवाहरुको एकता थियो भन्ने फेरि पनि पुष्टि भएको छ । कम्युनिष्टहरुसँगको सहकार्य र एकतामा इमान भन्ने कुनै तत्व हुँदैन । यो कुरा नेपाली कांग्रेसले पनि धेरै पटक भोगिसकेको हो । गत स्थानीय चुनावमा कांग्रेसले माओवादीसँग सहकार्य गरेको थियो । अन्यत्रको उदाहरण के दिनु ? चितवनकै उदाहरण दिउँ । यहाँ हामीले तालमेलका नाममा माओवादीलाई मेयर पद नै दियौ । मेयर पद कस्तो लिला गरेर जिते भन्ने पनि हामी सबैले देखेकै हो । लगत्तै जिल्ला समन्वय परिषदको चुनावमा माओवादीले हामीलाई बेइमानी गरेर एमालेलाई जितायो । त्यतिमात्र होइन, कांग्रेससँग सरकारमा बसेर एमालेसँग चुनावी गठवन्धन बनायो । बेइमानीको यो पराकाष्ठा थिएन र ?
कम्युनिष्टहरुको विचित्र लिलाको साक्षी हामी चितवने जनता हौं । स्थानीय चुनावमा दुई कम्युनिष्टको कति ठूलो द्धन्द थियो भन्ने हामीले देखेका थियौं । पछि लपक्कै मिले । त्यसबेला कम्युनिष्ट लिलाको सिकार कांग्रेस मात्र भएन, व्यक्तिगत रुपमा म पनि भएको थिएँ । त्यो कथाव्यथा बारेमा अहिले म केही भन्दिनँ, यसबारेमा मेरो पुस्तक नै प्रकाशित हुँदैछ ।
सत्तापक्षमा बसेर प्रतिपक्षीसँग तालमेल गर्ने यिनै कम्युनिष्टहरु हुन् । अहिले प्रचण्डले सत्तापक्षमा बसेर सत्तापक्षकै जहाजमा प्वाल पार्दैछन् । अनि, प्रचण्डले प्वाल पार्न लागे भन्ने बहानामा ओलीले चाहिँ अधिनायकवादी बाटो समात्न खोज्दैछन् ।
यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने यी कम्युनिष्टहरु मिल्दा पनि देश र जनताले सुख पाउँदैनन्, नमिल्दा पनि सुख पाउँदैनन् । त्यसो भए गर्ने के त ? यो महत्वपूर्ण प्रश्न हो ।
समग्र नेपाली राजनीतिको शुद्धिकरण नै समाधान हो । राजनीतिलाई व्यवसाय बनाउने काम गरियो । राजनीति भनेको सेवा होइन व्यापार हो भन्ने स्थापित गरियो । सर्वहाराको अधिनायकत्वको नारा दिएर देशमा लुटेराहरुको एउटा वर्ग उदायो जो राजनीतिमा पनि हावी भयो र कम्युनिष्ट पार्टीमा पनि हावी भयो । अहिले कम्युनिष्ट पार्टीहरुमा हेर्नुस्, अर्बपतिहरुको बोलवाला छ । हिजो सबै सम्पत्ति पार्टीको नाममा दिएर सर्वहारा भएको घोषणा गरेका राजनीतिक कार्यकर्ताहरु आज अर्बपति बनेका छन् ।
विगतमा राजनीतिमा भ्रष्टतन्त्र हावी थियो, पछि लुटतन्त्र हावी भयो, अहिले माफियातन्त्र हावी भएको छ । यसमा के भन्न सकिन्छ भने भोट गनेर राजनीति गरेकाहरुको मति बिग्रँदा उनीहरुको बिग्रने पनि एउटा सीमा हुन्छ । भोलि फेरि भोट चाहिन्छ त्यसैले नांगै बनेर विकृति विसंगतिको बाहक बन्न हुँदैन भन्ने भावना हुन्छ । तर, लाश गनेर राजनीति गरेकाहरुले चाहिँ जे पनि गर्दा रहेछन् । माफिया नै बन्दा रहेछन् ।
नेपाली राजनीतिलाई शुद्धिकरण गर्ने हो भने माफियातन्त्रको अन्त्य गर्नुपर्छ । माफियातन्त्रको अन्त्य गर्नका लागि कम्युनिष्टहरुभित्रै शुद्धिकरण गर्नुपर्छ । जसरी कोरोना भाइरस जुन ठाउँका मानिसमा देखिन्छ त्यो ठाउँ पूरै सिल गरेर क्वारेन्टाइन, आइशोलेसन र उपचारको व्यवस्था गरिन्छ । त्यसैगरी माफियातन्त्र हावी भएको ठाउँलाई पनि सिल गर्नुपर्छ । माफियागिरीमा लागेकाहरुलाई छानीछानी ठेगान लगाउनुपर्छ । इमानदार कम्युनिष्ट कार्यकर्ताहरुले यसो गर्लान् भनेर आश गरौं तर भर नपरौं ।
अहिले नेकपाभित्र जुन विकृत राजनीति सुरु भएको छ, यसमा खुसी हुन सकिन्न । खासगरी प्रतिपक्षी नेपाली कांग्रेसको कित्तामा नेकपा भित्रको महाभारत हेरेर खुसीको लहर छाएको देखिन्छ । खुसी हुन जरुरी छैन । नेकपाभित्र राजनीतिक कोरोना फैलिएको हो, भोलि त्यो कोरोना अन्य पार्टीमा पनि आइपुग्न सक्छ । आफ्नो पार्टीको सरकार आफैंले ढाल्ने विकृतिको सिकार नेपाली कांग्रेस भएको थियो । त्यो विकृतिको पुनरावृत्ति नहोस् भन्ने कांग्रेसको चाहना हो । यस विपरित बाटोमा नेकपाका नेताहरु लागिपरेका छन् ।
हामीलाई थाहा छ, केपी ओली नेतृत्वको सरकार गतिलो छैन । ओलीको सरकार ढालेर प्रचण्डको सरकार बन्यो भने त्यो झन् पतित सरकार हुनेछ । नेपाली कांग्रेस राजनीतिक स्थिरताको पक्षमा छ, कोरोना महामारी विरुद्ध एकतावद्ध भएर लड्ने पक्षमा छ । यस्तो बेला सत्तापक्षभित्र फुट र विभाजन देखिनु दुर्भाग्यपूर्ण हो । सत्तापक्षभित्र माफियातन्त्रको चलखेल देखिनु चिन्ताजनक विषय हो ।
एमाले र माओवादी मिलेर बनेको नेकपा क्रमश माओवादीकरण र माफियाकरण हुँदै गएको छ । जे भए पनि विगतको एमाले लोकतान्त्रिक बाटोमा दह्रोसँग अगाडि बढेको थियो तर माओवादीसँग मिसिएपछि मुलुकले संसद्मा बहुमत प्राप्त पार्टी त पायो तर विकृति र विसंगतिको भण्डार बनेको पार्टी पायो ।
नेपाली राजनीतिले शुद्धिकरणको लामो बाटो हिँड्नुपर्ने भएको छ । शुद्धिकरणको यो यात्रा सत्तापक्षभित्रैबाट हुनुपर्ने देखियो । सत्तापक्ष भित्रको विग्रहमा त्यहाँका इमानदार तहतप्काको जित हुन्छ कि माफियाहरुको जित हुन्छ भन्ने प्रतिक्षाको मात्र नभएर चिन्ताको समेत विषय बनेको छ ।
