ठाकुर बेलवासे -
२०६७ सालको कुनै महिनाको एक विहान फोन आयो, मरिचमान सिंह श्रेष्ठको ।
“म मरिचमान सिंह । तपाईलाई भेटन मन छ । मै भेट्न आऊँ भने, तपाईँजस्तो गणतन्त्रवादीलाई गाह्रो पर्ला !”
कम्तीमा एक दशक मरिचमानका बारेम गालीगलोज मात्रै सुनेको थियो, नेपाली समाजले । आलोचना र गालीमा निकै ठूलो अन्तर छ । उनीमाथि आलोचना होईन । उनलाई गाली गर्नमा नेपाली राजनीतिक वृत्तले निकै ठूलो मेहनतका साथ लामो समय गुजारेको छ ।
२०५० पछि जब मुलुकको संसदीय राजनीतिमा मनलाग्दी सुरु भयो । सर्वसाधारणले देख्ने गरी नेपाली राजनीतिक निर्णयमा भारतको उपस्थिति हुनथाल्यो । पातलो पर्दा भित्र सीआइए र यूरोपेली संस्थाहरुका योजना बन्न थाले । अनि मरिचमानलाई सामान्यजनले राष्ट्रवादीका रुपमा चर्चा गर्न थाले । यस बेलासम्म पनि कांग्रेस, कम्युनिष्टको त कुरै भएन, पूर्वपञ्चहरु समेत सिंहलाई अछुतो व्यवहार गर्दै छोइछिटो गर्थे । नेपाली राजनीतिको त्यही छोट्जिब्रे प्रवृत्ति समाजमा रुपान्तरित भइसकेको छ ।
पञ्चायतमा उधुम मच्चाएका सूर्यबहादुर थापा संसदीय राजनीतिमा कांग्रेस, कम्युनिष्टको काँध चढेर राइँदलो गर्न भ्याए । मरिचमानले कहिल्यै राजनीतिक शिर उठाउन सकेनन् ।
किन ?
सधै दन्किएको आगो ताप्ने नेपली समाजको चरित्रले उनका बारेमा केही खोजखबर गरेन । मरिचमान सिंहको राजनीतिक पतनका बारेमा नेपाली समाज र राजनीतिक वृत्त बेखवरजस्तै बन्यो ।
उनको राजनीतिक अवसानको कारण के थियो ?
०४५ सालमा भारतले नेपाल विरुद्ध लागाएको नाकाबन्दी र त्यसलाई चुनौती दिने गरी मरिचमानले चालेका कदमलाई प्रमुख कारण मान्छ, नेपाली समाज आज पनि । मरिचमानकै शब्दमा “यसमा केही अंशमात्रै सत्य छ ।”
एक भेटमा उनको राजनीतिक पतनका बारेमा लामो कुराकानी गर्ने अवसर पाएको थियो, पंक्तिकारले । पतन शब्दलाई उनले अस्वीकार गर्दै भनेका थिए –“म प्रधानमन्त्री भएकै बेला धनकुटाको एक गाउँमा दुईजना इसाई धर्मप्रचार गर्दै हिँडेको खबर आयो । खबर धनकुटा जिल्ला प्रशासनबाटै आएको थियो । मैले ती दुईजनालाई पक्राउ गर्न निर्देशन दिएको थिएँ । यो निर्णय नै मेरो राजनीतिक जीवनका लागि भयानक बन्न पुग्यो । यस पछि मेरो राजनीतिक जीवन जटिल बन्दै आयो । मलाई राष्ट्रवादी या राष्ट्रघाती भन्नेहरु दुवैले भारतसँगको सम्बन्धलाई लिएर मेरो बारेमा कुरा गर्छन । यो पूर्ण सत्य होइन ।”
पंक्तिकारको एक अर्को जिज्ञासामा उनले भनेका थिए–“तत्कालीन भारत सरकारको राजनीतिक धार अहिलेको जस्तो थिएन । धारले राजनीतिमा प्रभाव र दवावको काम गर्छ । मेरो प्रधानमन्त्रीकालको नेपाली राजनीति न कांग्रेस, कम्युनिष्ट, दरवार न त मैले नै बुझन सकेको थिएँ । म राजाको प्रधानमन्त्री राजसंस्थाप्रति वफदार त थिएँ । तर दरवार म प्रति कस्तो थियो थाहा थिएन ।’
उनले भारतीय र पश्चिमाहरुले भागशान्तिमा नेपालमा कब्जा जमाउन चाहेको अनुभव सुनाउँदै भनेका थिए –“राजीव गान्धीको भारतीय सरकार योजनाबद्ध नेपालमा काम गर्न चाहेको थियो । नेपालप्रति भारतका कतिपय सुनियोजित योजनालाई पश्चिमाहरुले साथदिने अनि पश्चिमाहरुका नेपालप्रतिका चाहनालाई भारतीयहरुले साथदिने रणनीतको सिकार म बन्न पुगें ।”
‘र’ अनि ‘सीआइए’लाई खुसी बनाउन नसक्दा आफ्नो राजनीति समाप्त भएको भन्ने भनाई सिंहको थियो । भारतले राजनीतिक निर्णयमा भूमिका खोज्ने, अमेरिका र यूरोपेलीहरु धार्मिक सामाजिक क्षेत्रमा भूमिका खोज्ने विषयलाई मरिचमानले बेवास्ता मात्रै गरेका थिएनन् । उनीहरुका विरुद्धमै उत्रिएका थिए ।
उनीसंग प्रश्न उत्तरको शैलीमा गरिएका केही कुरालाई यहाँ प्रस्तुत गर्दा अझ सान्दर्भिक होला ।
तपाईँलाई यति धेरै किन सत्तोसराप गरिन्छ ?
“म मरिचमान सिंह हुँ, यसैले । ”
नाम कि काम ?
“काम । सूर्यबहादुर, गिरिजा, अहिले आएका प्रचण्ड अरु केके हुनले जति मैले के विगार गरे ? भन्नु होस् त ! ”
मैले ठट्टाको शैलीमा भने, काम कि राजनीतिक अपराध ?
निकै बेर घोरिएर । “मेरो चुरोटपिउने बानी छ । ”
चुरोट सल्काउँदै ।
“तपाईले के सोध्नु भएको थियो ? ”
काम कि राजनीतिक अपराध ? भनेर सोधेको थिए ।
“अपराध प्रचण्डले जति मैले गरेँ हुँला ? डा. छन् नि एउटा ।
अँह......
प्रचण्डको साथलागेर हिड्ने क्या..... ”
बाबुराम ?
“हो हो, बाबुराम, गिरिजा सम्झनुस् सूर्यबहादुर, अरु धेरै ।
अपराध के हो ? कस्तोलाई अपराध भन्ने ? म चानचुन तीन वर्ष प्रधानमन्त्री हुँदा देशको राजनीतिक परिस्थिती के थियो ?कसैले कल्पना गर्न सक्छ ? ”
मरिचमानले आफ्नो राजनीति जीवनलाई काकतालीबाट आरम्भ भएको ठान्दारहेछन् ।राजनीति गर्छु भन्ने कल्पना, सपना थिएन छ, उनीसंग । त्यही काकतालीले सुरु भएको राजनीतक जीवनबारे केही क्षण भावुक बने, उनी– “स्कूलमा पढाउँदै थिए । स्कूलका लागि रकम आयो । सुनियो त्यसमा त भ्रष्टाचार भएको छ । कांग्रेस, कम्यूनिष्ट भनेर भित्रभित्रै चिनिएकाहरुले भ्रष्टाचार गरेको थाहा पाएँ । मैले उनीहरुको विरोध गरे । विद्रोह गरे । यसपछि म हरेक सामाजिक काममा संलग्न हुन थाले । गाउँघरमा मेरो खोजी हुन थाल्यो । त्यही विद्रोहले मलाई राष्ट्रिय पंचायतको सदस्य मात्रै बनाएन । प्रधानमन्त्री नै बनायो ।”
०४६ पछि पूर्वपंचहरु पूर्ण राजनीतिमा सक्रिय छन् । लोकेन्द्र बहादुर र सूर्यवहादुर त प्रधानमन्त्री नै बनिसके । तपाई किन असफल ?यस्तो प्रश्नमा उनले भनेका थिए –“म न सूर्यबहादुर हुँ । न लोकेन्द्रबहादुर । यसैले असफ बने हुँला । म राजनीतिमा छैन् । ”
सबै पूर्वप्रधानमन्त्रीहरुले सुरक्षको दस्ता पाइरहदा उनलाई त्यो सुविधा थिएन । मन्त्रीपरिषद्ले निर्णय गरेर विशिष्ठ श्रेणीको सुरक्षाका नाममा एक जना पूर्वप्रधानमन्त्रीले पछुवा सहित कम्तीमा १३ जनासम्मको सुरक्षा सुविधा प्राप्त गर्छ । यसमा संख्या तोकिएको कुनै नियम छैन । शक्ति र प्रभावका आधारमा निर्णय हुने रहेछ । कानूनको घाँटी मुठ्ठीमा अठ्याएर हुकुमबजाइले निर्णय हुने रहेछ । प्रचण्ड, गिरिजाबाबुको सन्दर्भ त अझ अर्कै छ । पूर्वप्रधानमन्त्रीको हैसियतमा उनीहरुको सुरक्षाका लागि राज्यले ठूलो धनराशी खर्च गर्यो । गरिरहेको छ । त्यसो त माओवादीको त्रास देखाएर सुरक्षामा बाँचेका मन्त्रीहरु पनि छन् । उनीहरु आजसम्म पनि सरकारी प्रहरीको चाकरी खाएर सुरक्षित बाचेको भ्रम पालिरहेका छन् ।
निवासमा सुरक्षा तैनाथी हुनुपर्ने होईन ? यस्तो प्रश्नमा उनको जवाफ थियो – “किन चाहियो सुरक्षा ? यो सरकारले मलाई किन सुविधा दिन्छ ? ”
“सुरक्षाका नाममा एकजना सिपाही दिएको छ । सरकारले दिने तलवले तिमीलाई के नै हुन्छ र ! जाउ तिमी ट्याक्सी लचाउ, भनिदिएको छु ! उसलाई बाच्ने पैसा त आउँछ । मलाई मार्नै आए छन् भने, त्यो विचरोले के गर्छ ? उल्टै उसैलाई मारिदिन्छन् ! ”
मुलुक ०४६पछि मात्रै बनेको थिएन । मुलुको निर्माणमा कानूनको निरन्तरता भइदिएन भने, त्यो मुलुक समाप्त हुने हो । मरिचमनलाई पूर्वप्रधानमन्त्रीको हैसियत दिन नचाहने नेपाली राजनीत कति पाखण्डपूर्ण छ, भन्ने त लोखाजोखा हुनै बाँकी छ । राजनीतिक परिवर्तन पछि संस्कार पनि खोजिनु पथ्र्यो । हाम्रा लागि निरङ्कुश राजतन्त्र । त्यसभित्रको राजनीतिक समय अनिवार्य छ । यदि त्यो कालखण्डलाई विर्सने हो भने, देश कहाँ थियो त्यसबेला ? यस्ता सवाल त हामी उठाउँदैनौ नै ।
सिंहलाई कांग्रेस, एमालेले सोधखोज नगरेको गुनासो रहेनछ ।बरु जनयुद्ध लड्दै गरेको माओवादीले सोधखोज गर्दा आश्चर्य लागेको अनुभव उनीसंग रहेछ ।
“मेरो जन्म जिल्ला सल्यान भएका कारण पनि माओवादीले भेटन खोजेको हुनुपर्छ । रोल्पामा प्रचण्ड लगायतलाई भेट्न जानुपर्यो । हामी प्रबन्ध मिलाउँछौँ भन्नेहरु पनि आए । मैले मेरो निवास धापासीमै भेटौ किन रोल्पा भनिदिएको थिएँ । ”
“कतिले माओवादीको नाम लिएर धम्कीका कुरा पनि सुनाए । म कुनै सुरक्षा घेरामा छैन । मार्न मन भए आए हुन्छ भन्ने खबर पठाएँ ।”
सुदूर वस्तीमा जन्मिएको सामान्य परिवारको सदस्य शिक्षक हुँदै मुलुकको प्रधानमन्त्री सम्म बन्न पुग्नुलाई भाग्यसंग तुलना गर्नु मूर्खता हुनेछ । बरु देश अनि समाजप्रतिको विश्वासले उनलाई मुलुकको शासनकर्ता बनायो ।
सदियौँ देखिको नेपाली राजनीतिको एउटै दुर्भाग्य हो – विदेशी शक्तिकेन्द्रसंग सम्झौता नगरे राजनीतिबाटै समाप्त हुनुपर्ने । मरिचमान त्यसका एक जीवन्त दृष्टान्त हुन । नेपाली राजनीतिले मरिचमानको जस्तो अभिहित नियती भोग्ने थुप्रै पात्र जन्माइ सकेको छ ।
सुन्दा अपत्यारिलो लाग्छ मरिचमानको राजनीतिक अवसान । नेपालको कानूनले निषेध गरेको सामान्य विषयलाई कुनै विदेशी नागरिकले उलंघन गर्छ ।र, त्यसलाई कानूनी कारवाही गर्दा प्रधानमन्त्री समेत बनेको मानिसको राजनीतिक जीवन समाप्त हुन्छ । कति कमजोर अवस्थामा छ, मुलुक र मुलुकको राजनीति ।यतातिर कहिल्यै कसैको ध्यान पुग्न सकेन ।
भौतिक रुपमा आज मरिचमान हाम्रा सामु त छैनन् । “मरिचमानले संकेत गरेको कुरा नेपाली राजनीतिमा सीआइएको भूमिका हो । भारत त बाह्रमासे हिस्सेदार जस्तै छ नै । सीआइएको नेपाली राजनीतिमा प्रवेश पनि नयाँ होईन । “ र ” र “सीआइए”बाट दल र दरवार उहिल्यै देखि प्रभाव या दवावमा थिए । त्यसको भुक्तमान त मरिचमान मात्रै त होईनन् ।नपाली राजनीतिको शक्तिमा पुग्ने सबैसंग त्यो अनुभव छ । यत्ति हो, मरिचमानले लुतो कन्याइको आनन्द लिएनन् । या त्यो अवसर उनलाई जरेन ।
उनीसंगको लामो वहस पछि मरिचमान प्रधानमन्त्री भएका बेलामा भारत पनि सीआइएको प्रभावमै थियो । “ र ” र “सीआइए”को दवाव त मरिचमानले राम्रैसंग खेपेका रहेछन् भन्ने अनुमान गर्न गाह्रो परेन ।
मरिचमानका यी कुरा धेरै नेता र केही राजनीतिक विश्लेषहरु सहज स्वीकार गर्न चाहदैनन् । उनले इसाई धर्मप्रचार गर्दै गरेका दुईजनालाई किन पक्राउ गर्न लगाए ? उनको यो निर्णय देशका लागि हितकर थियो त ? उनका समकक्षी सबै पूर्वपञ्चको पुनरुत्थान हुँदा मरिचमानले चाहँदा पनि राजनीतिक पुनर्जीवन किन पाएनन् । धर्म विषयका नाममा मुलुकले खेप्नु परेको दूइृवटा संविधानसभा र पश्चिामाहरुको ठाडो हस्तक्षेपलाई विश्लेषण गर्ने हो भने,यसको प्रष्ट जवाफ आउने छ ।
सन्दर्भमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता गोन्दिराज जोशीसंग दुई इसाई धर्मप्रचारक पक्राउपछिको मरिचमानको राजनीतिक जीवन बारे भएको छोटो चर्चा यहाँ सान्दर्भिक होला –
जोशी भन्छन् – “भारतीय र पश्चिमाहरुले राख्ने गरेको राजनीतिक, सामाजि र संस्कृतिक चासो नयाँ होईन । भारत राजनीतिक चासोलाई ध्यान दिन चाहन्छ । यूरोपियन र सीआइए नेपाली धर्म, संस्कृति र समाजमा चासो राख्न चाहन्छन् । उनीहरु राजनीतिमा अनुकलता पनि हेर्छन् । मरिचमान प्रधानमन्त्री हुँदा भारतमा कांग्रेस आइको दवदवा थियो । कांग्रेस आइ र सीआइएका बीचमा नेपाली राजनीति मात्रै होईन,नेपाली धर्म, संस्कृति र समाजका बारेमा पनि दृष्टिकोण मिल्थ्यो । मरिचमानजीले भोगेको कुरा सत्य नै हो । धेरैले भारतसंगको सम्बन्ध विग्रनुलाई भन्छन् । मरिचमान प्रधानमन्त्री भएका बेला भारत पनि सीआइएकको प्रभावमा थियो । राजनीतिमा त प्रभाव र दवावले नै बढी काम गर्छ । अझ कुनै देशका विरुद्धमा विदेशी शक्तिकेन्द्रको योजनामा लेनदेन भयो भने त सकियो नि !”
( भौतिक रुपमा हाम्रा सामु नरहेका मरिचमानका बारेमा यी कुरा लेख्नुको कुनै निहित अभीष्ट छैन । छ, भने मुलुकको राजनीतिक संस्कार अनि कनूनी राज्यको शक्तिको खोजी । मरिचमान माथिको यो कुनै अभ्यर्चना पनि होइन । एउटै प्रकतकिा घटनामा हुने विभेद र त्यसले पार्ने सामाजिक सांस्कृतिक असर माथिको चिन्ता र चिन्तन मात्रै हो, यो छोटो आलेखको अन्तर्य । – लेखक )
