दयालबहादुर शाही-
जननेता मदन भण्डारीको स्मृति दिवसको सन्दर्भमा उहाँले दिएका योगदानको स्मरण गर्नु र नियतवश वा असावधानीका कारणले भोग्नु परेको क्षति, शक्ति ऐठन र गल्तीबाट पाठ सिक्न नचाहने हठ र साँठगाँठ माथि प्रकाश पार्नु उपयुक्त हुनेछ । वास्तममा भन्ने हो भने नेपालको वामपन्थी आन्दोलन यी तीन दशक मदन भण्डारीका देन र सुझबुझसँग भड्काव र अवसरवाद बीचको टक्कर भएर गुज्रिरहेको छ । मदन भण्डारीको शेषपछि उत्तराधिकारीको रुपमा लामो समय नेकपाको सबैभन्दा ठूलो घटक पूर्वएमालेको प्रमुख र प्रभावशाली हैसियतमा रहेर वरिष्ठ नेता माधवकुमार नेपालले अर्का वरिष्ठ नेता झलनाथ खनालसँग खण्डित प्रकारकै सही, साँठगाँठ गरेर जनताको वहुदलीय जनवादी चेतमाथि पारेको क्षति र हैरानीको लेखाजोखा गरी भण्डारीका असंख्य शुभेच्छुक र अनुयायीहरुसामु सच्चाइँलाई राखी दिनु उहाँप्रतिको सच्चा श्रद्धान्जली हुनेछ ।
बाघको छालामा स्यालको रजाइँ भन्ने नेपाली उखान मदनले उठाएको सचेतनाको आन्दोलनमाथि नेपाल र खनालको गुपचुप र प्रकट दुबै प्रकारको रजगजमा लागु भएको छ । चोरसँग मिलेर आफ्नै घरको धनसार रित्याउनु प्रकृतिको जबजमाथिको नेपाल खनालको उपयोग र गद्दारी सिलसिला रहेको छ । नेताद्वयको अवसरवादी, अदूरदर्शी र अरुबाट उपयोग हुने ओछो राजनीतिले हिजोको एमालेलाई कसरी थला पारेको थियो र आज नेकपालाई कसरी गर्भपतन भएकी आमाको हालतमा पार्र्दैछ भन्ने सत्यमाथि प्रकाश पार्नु भालुको ऐरो जस्तै जटिल भए पनि यहाँ जोखिम उठाउने सिलसिला जारी राखिएको छ ।
मदन भण्डारीको मती, गति र सरस्वतीको त्रिवेणीको उपजका रुपमा रहेको रहेको जनताको बहुदलीय जनवादमाथि नेपाल र खनालको रबैया यी तीन दशकमा मुलाको मरली जस्तै बजे बजाउने नत्र चपाउने सरहको रह्यो । जवजले नेपाल र खनालको स्वार्थ रक्षा हुने देखिए सर्वसम्मत हुने र पालोको पैचो तिर्नु पर्ने वा मान, शान र अभिमानमा तलबितल पार्ने जस्तो देखिएपछि हुलहुज्जतको सामना गर्नु परेको सत्य बिगत तीन दशकको इतिहासको ऐना हेर्दा छर्लंग हुन्छ ।
नेपालको वामपन्थी आन्दोलनको लोकतान्त्रिकरण, मूलप्रवाहीकरण र जनसर्मथनका लागि अभिमुखीकरणको रुपमा रहेको जबजको आलोकबाट प्राप्त वाहवाही, सफलता, उपलब्धीमाथि खनाल र नेपाललाई कसरी तर मार्नमा एकाधिकार मिल्यो, अपजश, अपमान र असफलता जति कसरी बहुदलीय जनवादीहरुको थाप्लोमा थोपारियो, केपी ओली खेमा र वामदेव गौतम खेमामा धुत्याइँपूर्वक विभाजित पारेर बहुदलीय जनवादीमाथि कसरी र्भैँसीको मासु सिँगको अचानो गर्ने नीति प्रयोग गरी बदला लिइयो, समीक्षा अपरिहार्य छ ।
नेपाल र खनालले २०६४ सालमा जीवनमरणको दोसाँधमा पुगाएर मदनको विरासत माओवादीलाई बकसपत्र दिदै गरेको अवस्थामा रहेको एमालेलाई पुनर्जागरणको माध्यमबाट संगठित र सव्रिmय भएर बहुदलीय जनवादीहरुले कसरी पुनर्जीवन दिदै उत्कर्षमा पुगाउन सके, निरन्तरको संधर्ष, सफलता र नयाँ चुनौतीको सामना गर्नु पर्ने शिलशिलाका कारण सत्य सँधै ओझेलमा पर्ने गरेको छ । यसरी सत्य प्रकाश र यथोचित विमर्श हुन सकेको छैन ।
हालैको घटनाबाट सुरु गरौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम जस्ता खरो स्वाभावका नेतात्रय बीचको टक्करलाई मत्थर पारेर वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो शालीन व्यक्तित्वको आडमा पार्टी र स्वयं आफ्नो उद्धार गर्ने सुनौलो मौका खेर नफाल्ने अनुमान गर्नेको मात्रा बाक्लो थियो ।
जीवनको उत्तरार्धमा वरिष्ठ नेता नेपालले सुझबुझ र त्यागको प्रतिमूर्ति बनेर पार्टीको पोल्टामा सौभाग्य थमाउँदै गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीकै हाराहारीको प्रतिष्ठा, जनविश्वास, कद र छवी आर्जन गर्ने अपेक्षामाथि त्यतिखेर पानी खन्याउने काम भयो जतिखेर प्रधानमन्त्री केपी शर्मा ओलीको अवान्छित बिकल्पका लागि छरिएको चारामा गएर नेता नेपालले राल काढेर पनि जिल्लिनु परेको सत्य छरप्रष्ट भयो । आफ्नो प्रताप सूर्यलाई अस्ताचलमा धकेल्ने नेपालको यो लिप्साग्रस्त कदमले पारेको क्षति नेपालका लागि अब आजीवन पूरताल गर्न असम्भव हुनेछ ।
सूर्य हरेक दिन उसरी नै उदाउँछ र अस्ताउँछ तर गलत राजनीतिक कदम प्रतिको पीडाबोध र गल्तीमा निरन्तरता दिनैपर्ने बाध्यताको कापमा परेर राजनीतिज्ञ अशोककुमार राईको शरीरमा कहिलै धाम लागेको र मुस्कानले स्पर्श गरेको पाइँदैन । रामको शालीनताको प्रतापका अगाडि प्रचण्ड कोप र अभिमानको जोर नचलेपछि सन्दर्भ सकिएर कान्तिक्षय भएका परशुरामको जस्तो हालतमा लोभको निरन्तरताको पछिल्लो संस्करणले नेता नेपाललाई पुगाएको छ । मुटुमाथि ढुंगा राखी शैलीको रुन्चे हाँसो र खण्डित तर्कको तुष्टिकरणलाई अपवादमा राख्ने हो नेपालको मुहारमा अशोककुमार राई ब्राण्डको मलिनताको स्थायी रुपमा भएको बहाली यसको प्रमाण हो ।
माधव नेपालको यस गलत कदममा अर्का वरिष्ठ नेता झलनाथ खनालको भूमिका सुडेनीका जस्तो रह्यो । उसो त नेपालका हरेक ओरालो यात्रामा साथ र उकालो यात्रामा घातको उपहार दिनु खनालको नियमित आकस्मिकता नै हो । संक्रमणकालको जटिल चरण भएर गुज्रिरहेको सत्तारुढ दलको आन्तरिक जीवन यसरी असामान्य, अशान्त, अनिश्चित र अव्यवस्थित हुनुको जरा नेताद्वयमा बिगत चार दशक यता गुपचुप वा प्रकट रुपमा, साँठगाँठ वा एक्लाएक्लै रुपमा प्रभावी हुन पुगेको शल्य सेनापति प्रवृत्तिको निरन्तरतामा रोपिएका छन् ।
लक्ष्यको जग्गामा लालच र लगनशीलताको जग्गामा लिप्साको झण्डा फहराएर लज्जाहिनता र व्यक्तिगत महत्वाकांक्षा र लाभलाई सर्वोपरी राख्ने प्रवृत्तिलाई महाभारतीय साहित्यले निन्दा र भत्र्सना गर्दे शल्य सेनापतिको संज्ञा दिएको छ । मर्यादाको ख्याल गर्ने, निष्ठा, त्याग, कुर्बानी र अनुशासनको मेरुदण्ड भएको आधुनिक राजनीतिले पनि शल्य सेनापति प्रवृत्तिलाई निन्दा र भत्र्सनाको अर्थ र बिम्बका रुपमा प्रयोग गरेको पाइन्छ । शल्य सेनापति प्रवृत्तिलाई उत्कृष्ट ढंगले उदांग पारिएकाले शरशैयामा सुताइएका भीष्मको मनोवादमा आधारित भएर भारतीय लेखक भगवतीशरण मिश्रको उपन्यास ‘मै भीष्म बोल रहाँ हुँ’का केही हरफ यहाँ उल्लेख गर्नु उपयुक्त ठहरिएको छ । विभिन्न प्रसंगमा मद्रासका राजा शल्यको लिस्साग्रस्त व्यवहार सृंखलामाथि भीष्मको आत्मन्थनबारे मिश्र लेख्छन्–
मैले विनम्र शब्दमा शल्यलाई संवोधन गर्र्दै भनें– रिपुमर्दन, मलाई यहाँ कन्या हेतुले आएको सम्झिनुहोस् । मैलै थाहा पाएँ कि यहाँको साथमा एक अत्यन्त सुन्दरी एबं यशश्विनी बहिनी छन् जो अत्यन्तै विनम्र एवं साधु स्वभावले युक्त छिन् । उनको नाम जहाँसम्म मैले पत्ता पाएको छु कि माद्री हो । म यिनै पुण्यशालिनीलाई आफ्नो पाण्डुको लागि वरण गर्न यहाँ उपस्थित भएको छु । शत्रुमर्दन, तपाईँ हामीसँग सम्बन्ध स्थापित गर्नका लागि सर्वथा सुयोग्य हुनुहुन्छ र हामी पनि तपाईँको योग्य छौं । मद्रेश्वर, विधिपूर्वक विचार गरेर आफ्नो निर्णय मलाई अवगत गराउनुहोस् ।
मद्रनरेशले मेरो भनाई ध्यानपूर्वक सुने र निवेदन गरे, कुरुश्रेष्ठ तपाईँको कुलसँग समन्ध स्थापित गरेर म आफूलाई धन्य मान्दछु । यो सम्बन्ध मलाई सर्वथा प्रिय छ तर मेरो एक विवशता छ जसलाई यहाँसमक्ष परिचित गराइदिनु म उचित सम्झन्छु ।
यहाँ निःशंकोच ढंगले आफ्ना कुरा राख्नुहोस् । जब मैले तपाईँकी बहिनीलाई पाण्डुसँग वरणका लागि निश्चय गरेँ, हरेक बाधालाई पन्छाएर आफ्नो यस कामनालाई पूरा गर्न चाहन्छु । मैले मद्रराजलाई आश्वस्त पार्दै भने मेरो कुलको यो परम्परा छ कि कन्या निःशुल्क दिइँदैन ।
मलाई यस बारेमा थाहा थियो र मैले सहर्ष भने, मैले कुलमर्यादाको रक्षा गर्नु छ । यहाँका पूर्वजहरुले जुन परम्परा स्थापित गर्नुभएको छ, त्यसको पालना त यहाँले पनि गर्नै पर्दछ । सौभाग्यवश हस्तिनापुर साम्राज्य धनधान्य सम्पन्न छ । मैले आफ्नो रथमा पर्याप्त शुल्क लादेर आएको छु । म अहिल्यै यहाँसमक्ष राख्छु ।
त्यसपछि मैले बहुमूल्य रत्नहरु, सुनका गहनाहरु, रेशमी वस्त्रहरु आदिले भरिएको रथलाई शल्यको राजमहलको द्वारसम्मै पुगाइदिएँ । यसको साथसाथै पर्याप्त पशुधन जस्तै हात्ती, घोडा आदि पनि महलको द्वारमा बढी संख्यामा खडा गराइदिएँ ।
राजा शल्य यति सम्पत्ति पाएर अत्यन्त प्रशन्न भए । उनले आफ्नी बहिनीलाई मेरो साथमा लगाइदिए । हस्तिनापुरमा ल्याएर मैले माद्रीको विवाह विधिपूवक पाण्डुसँग सुसम्पन्न गराइदिएँ ।
आज यो अवसर आएको छ कि आफैं एक्लै शल्यको यस कृत्यमाथि पुर्नविचार गरुँ । मलाई यो सम्बन्ध माद्रीको रुपगुणको प्रशंसाका कारणले गर्नु परेको थियो ।
शल्यको चरित्र अन्ततः यस महाभारत युद्धको पूर्वमा स्पस्ट भएर आयो । युद्धमा आफ्ना भान्जा नकुल र सहदेवका कारणले पाण्डवको पक्षमा भाग लिने हेतुले शल्य राज्यबाट प्रस्थान गरेका थिए । चतूर दुर्याेधन शायद उनको लालची स्वरुपलाई जान्थ्यो । उसले ठाउँठाउँमा शल्य र उनको सेनाको स्वागतको लागि पर्याप्त प्रबन्ध गर्यो । सबै प्रकारका खाद्य सामग्री र पेय पदार्थले तिनको सेवा गरियो । पहिला त शल्यले ठाने कि यो सबै पाण्डव पक्षबाट भइरहेको छ तर अन्तमा दुर्याेधनले यो सबै प्रवन्धको बारेमा स्पष्ट गरेर शल्यलाई आफ्नो पक्षबाट लड्नको लागि आमन्त्रित गर्यो । लिप्साको प्रतिमा शल्य अरु पनि केही प्राप्त गर्ने आशाले आफ्ना रक्त सम्बन्धीहरुलाई त्यागेर दुर्याेधनको पक्षमा मिल्यो ।
मलाई शल्यको यस चरित्रको पहिले नै अनुमान हुनुपर्दथ्यो, तर मेरो तथाकथित बुद्धिमताले कहिलै पनि साथ दिएको छैन । शल्यको यस कृत्यको भत्र्सना जस्तासुकै शब्दमा गरे पनि कमै हुनेछ ।
शल्य जस्तै उदांग भएका लोभी र लिप्साग्रस्त मान्छेको यस धरतीमा कमी छैन र यसको परिणाम हो यो महासमर ।
शल्यको बदमासी यत्तिमै सीमित छैन । महाभारत युद्धमा उनले महारथी कर्णको सारथी भएर कर्णका प्रत्यासी अर्जुनको सारथी भएका कृष्णकै हाराहारीको स्थान पाउँछन् । शल्य सारथीको धर्ममा पनि कृष्ण जसरी दत्तचित्तले लागेनन् । कतै पनि अटल नरहने शल्यले पाण्डवहरुलाई दिएको वचन पालना गर्दै सारथी धर्मबाट समेत च्यूत भएर आफ्नै महारथी कर्णको तेवोवध र निन्दा गर्ने र अर्जुनको पराक्रमकाे प्रशंसा गर्ने दोहोरो चरित्र देखाउँछन् । कर्ण वध गराएर शल्य कौरव सेनाको सेनापति बन्छन् र अन्ततः युधिष्ठिरको हातबाट मारिन पुग्छन् ।
यसप्रकारको शल्य सेनापति प्रवृत्ति सन् १९७० को दशकमा भारतमा चरमचुलीमा पुगेको थियो । यसका जल्दाबल्दा उदाहरण थिए चौधरीचरण सिंह र राजनारायण ।
सन् १९७७ को २५ मार्चमा मोराजी देसाईले प्रधानमन्त्री पदको सपथ लिएपछि कांग्रेसको ३० वर्ष लामो अविछिन्न सत्ता यात्रा खण्डित भयो । इन्दिरा गान्धीले चुनाव हारेकी भए पनि उनको आकांक्षा अझै पनि मजबुत नै थियो । उनी यो जान्दथिन् कि भिन्नभिन्न विचारधारा र केही मुद्दामा विपरीत मान्यता बोकेका दलहरु विलय भएर बनेको जनता दल स्थायी बिकल्प बन्न सक्दैन । कमजोर बिन्दु खोजेर हथौडडाले हान्ना साथ संयुक्त दललाई टुक्राटुक्रा पार्न समय लाग्नै छैन । उनी यही अवसरको खोजीमा थिइन् ।
नभन्दै मोराजी देसाई मन्त्रिपरिषदका गृहमन्त्री दल परिवर्तनमा चर्चित पात्र चौधरी चरण सिंह र स्वास्थ्य मन्त्री राजनारायणले प्रधानमन्त्रीसँग निहु खोज्न सुरु गरिहाले । विदेशमन्त्री अटलविहारी वाजपेयी र सूचनामन्त्री लालकृष्ण आडवाणीले गैह्र कांग्रेस सरकार चल्न नसक्ने गलत सन्देश जाने र ३० वर्षपछि आएको अवसर खेर फाल्न नहुने भनेर सम्झाए पनि इन्दिरा गान्धीले प्रधानमन्त्री बनाइदिने आश्वासन दिएकाले सिंहले गृहमन्त्रीबाट राजिनामा दिए । आफूलाई चौधरी चरण सिंहको हनुमान बताउने राजनारायणले उनलाई उक्साइदिए । यी राजनारायण तिनै राजनारायण थिए जसले सन् १९७१ को लोकसभा चुनावमा रायबरेली निर्वाचन क्षेत्रमा इन्दिरा गान्धीसँग भएको चुनावी हारलाई लिएर हाई कोर्ट हुँदै सुप्रिम कोर्टसम्म मुद्दा लडेर प्रधानमन्त्री इन्दिरा गान्धीलाई घुडा टेकाएर संकटकाल घोषणासम्म धकलेका थिए । उनै राजनारायणले इन्दिरा गान्धी र सन्जय गान्धीले छरेको चारामा लोभिएर चौधरी चरण सिंहलाई प्रधानमन्त्री बन्न उक्साए ।
२० अक्टुवरमा नयाँ प्रधानमन्त्री चौधरी चरण सिंहले लोकसभामा वहुमत सिद्द गर्नपर्ने थियो । भने बमोजिम इन्दिरा गान्धीले समर्थन नदिएपछि मध्यावधी चुनावको ढोका खुल्यो । यसरी शल्य सेनापति प्रवृत्तिको आधुनिक संस्करणले धुलो चाट्नु परेको थियो ।
राजनीतिको लामो यात्रामा पाइला पाइलामा सुझबुझ र निष्ठाको ख्याल गरेकाले अटल बिहारी वाजपेयी र लालकृष्ण आडवाणीको आजको भारतमा इज्जत छ । वाजपेयी र आडवाणीको विरासत थाम्ने अनुयायीहरुको अभाव छैन । धमिलो पानीमा माछा मार्ने अवसरवादको हालत भने योग्य र असल अनुयायीको अभावमा एक थान पुच्छर नभइदिँदा नाथे झिँगाको झिँजोबाट बच्ने उपाए नभएको लिडे गोरुको जस्तो छ ।
नेपालमा अस्थिर र अवसरवादी राजनीतिका उपासकहरु पञ्च, महापञ्चहरु थिए । कदाचित दरबार दाहिने नभएपछि दिल्ली र कांग्रेसको फेरो समात्न माहिर सूर्यबहादुर थापा नै पचायतकालमा सबैभन्दा बढी जम्न सके । २०५४ सालमा एमाले समर्थनमा बनेको आफ्नै पार्टीका नेता लोकेन्द्रबहादुर चन्दको सरकार ढालेर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नु र एमाले बिभाजन भएपछि कांग्रेसलाई सत्ता छोड्न बाध्य हुनु सूर्यबहादुर थापाले अवलम्वन गरेको चौधरी चरण सिंह पथको नमूना थियो । त्यसपछि यसप्रकारको शल्य सेनापति बन्नमा नेकपाका वरिष्ठ नेताद्वय बीच यसरी एक अर्काको कीर्तिमान तोड्ने होडबाजी चलेको छ :
खनालको शल्य प्रवृत्ति
सीपी मैनालीलाई २०३९ सालमा नेकपा(माले) महासचिवबाट अपदस्त गरिएपछि उक्त पद खनाललाई चिट्ठा पर्नुलाई इतिहासकार डा. सुरेन्द्र केसी खनालको शल्य सेनापति प्रवृत्तितिर संकेत गर्दछन् । तत्कालिन पोलिटब्युरो सदस्य जीवराज आश्रित र माधवकुमार नेपाललाई महासचिव बनाउँदा गैह्र झापाली समूहले नेतृत्व हत्याएको सन्देश जाने हुनाले केन्द्रीय सदस्य खनाललाई अघि सारिएको संकेत गर्दै केसी आफ्नो पुस्तक नेपाली कम्युनिष्ट आन्दोलनको विगत र वर्तमानमा लेख्छन्– सीपी झापाली मूलका भएकाले मुक्तिमोर्चा वा अन्य समूह र मूलबाट आएकाहरु उनीसँग नजानिँदो मतभेद राख्दथे । अरु व्यक्ति र विचारशैलीका नेताहरु पनि यस मनोरोगबाट ग्रस्त थिए । सँगसँगै तिनीहरु इतिहासमा यस्तो आक्षेपबाट कसरी मुक्त रहन सकिन्छ भन्नेतर्फ पनि त्यत्तिकै सचेष्ट रहने गर्दथे । सीपी मैनाली र मोदनाथ प्रश्रित जस्ता केही नेताहरुसँगको कुराकानीले पनि यस तथ्यलाई मानेको पाइयो । अन्यथा जीवराज आाश्रित र माधव नेपाल जस्ता पोलिटब्युरोका वरिष्ठ नेताहरु रहेकै अवस्थामा झलनाथ जस्तो केन्द्रीय समितिको सदस्य मात्र रहेको व्यक्तिलाई सीपीको स्थानमा महासचिव बनाउने कुराको प्रयोजन देखिँदैन ।
वास्तवमा त्यसो नगरी जीवराज या माधव नेपालमध्येबाट महासचिव चयन गरिँदा त्यस्तो आरोप लाग्ला भन्ने अभिप्रायवश नै झापा इलामतिरकै खनाललाई उक्त पदमा चयन गरिएको थियो । स्वाभाविक थियो यस्तो प्राविधिक योजनामा नेता बनाइएको व्यक्ति अधिक दिनसम्म उक्त पदमा कायम रहिरहन सम्भव थिएन । पूर्वपृष्ठभूमि शक्ति र सकृयताका दृष्टिले उनमा वान्छित शक्ति सन्चय हुन नसक्दा नै उन(खनाल)ले महासचिवको पद अर्काे नेता(मदन भण्डारी)का लागि खाली गरिदिनुपर्यो ।
कांंग्रेसको उत्कर्षकालमा कांगे्रस परस्त र माओवादीको उत्कर्षकालमा माओवादी परस्त रुझान राख्नुको हिसाबले पनि खनालको शल्य प्रवृत्ति जाँच्न सकिन्छ । माओवादीको उत्कर्षकालमा आफ्नो गोर्वाचोभ शैलीको पार्टीप्रतिको गद्दारीलाई लुकाउन प्रश्न उठाउने जतिलाई कांग्रेसपरस्त भनेर आफ्नो सक्कली अनुहार छोप्ने असफल प्रयास गरे पनि नेता कृष्णप्रसाद भट्टराईको ताबेदारी र आफ्नै पार्टीको महासचिव मदन भण्डारीलाई गरेको घातको स्वीकारोक्तिसहित खनालको आलेख प्रकाशमा आएको छ ।
२०४७ सालकोमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार मन्त्री छँदा २०४८ सालको चुनावका लागि काठमाण्डौ क्षेत्र न. १ मा कृष्णप्रसाद भट्टराई चुनाब हार्ने र भण्डारीले चुनाब जित्ने सूचना चुहाएको स्वीकारसहित भट्टराईको मृत्युमा लेखिएको २०६७ साल फागुन २२ गते नागरिक दैनिकमा खनालको आलेखमा उल्लेख छ : निर्वाचन प्रकृया अघि बढ्यो । उहाँ (भट्टराई) काठमाण्डौं क्षेत्र न. १ बाट उठ्नुभयो । हाम्रो पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी पनि त्यही निर्वाचन क्षेत्रबाट उठ्नुभयो । संसद्मा किसुनजी आउनै पर्छ, उहाँँ विजयी हुनुपर्छ भन्ने मेरो मनदेखिको चाहना थियो । निर्वाचनका क्रममा म पनि आफ्नै चुनाव क्षेत्र इलाम पुगेँ । एकदिन काठमाण्डौंबाट प्राप्त सूचना अनुसार किसुनजी चुनाव हार्ने सम्भावना देखेँ । त्यसपछि मैले उहाँलाई भनेँ, किसुनजी मैले तपाईँ चुनाव हार्दै हुनुहुन्छ भन्ने सूचना पाएको छु ।
यसरी पार्टीमा कतै कुनै कमिटीमा सल्लाह नगरी एक पार्टीको मन्त्रीले प्रधानमन्त्रीलाई पार्टीको सूचना लिक गर्नु मन्त्री धर्म त मानिएला तर दलीय अनुशासनको कोणबाट हेर्ने हो भने घात हो र शल्य सेनापति प्रवृत्तिको निरन्तरता नै हो ।
भट्टराई क्याबिनेटमा मन्त्री रहँदासम्म सीपी बिरोधी क्याम्पमै मुस्किलले थामिए पनि खनाललाई मदन भण्डारीको रापतापप्रतिको जलनले सीपीको शरणमा पुगायो । पाँचांै महाधिवेशनमा दुबै पूर्वमहासचिवको सम्पूर्ण ऊर्जा जनताको बहुदलीय जनवादको भ्रुण हत्या गर्नमा खपत भयो । मदन भण्डारीको अवशान भएको र कार्यवाहक महासचिवको १०० दिने हनिमुन अवधी पनि पूरा नभएको बेला दुई पूर्व महासचिवको प्रेरणामा १८ जना सांसद पार्टी निर्णय अवज्ञा गर्दै राष्ट्रिय सभामा बागी उम्मेद्रवार जगतबहादुर बोगटी लाई जिताउन पुगे । खनालको अर्काे चरम अवसरवादी रबैया एमालेको चर्चित उपमहाचिव पदको सृजना र खारेजी प्रकरण, महासचिव हटाउ अभियान र लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषद्का उपप्रधानमन्त्री आफूभन्दा जुनियर नेता वामदेव गौतमको मातहतमा सञ्चार मन्त्री बन्नुमा निखारसहित आएको थियो ।
सीपी मैनाली र वामदेव गौतमलाई अर्काे पार्टी गठनको ढोकासम्म पुगाएर आफू एमालेमै रहनु एमालेमा पनि नेपाल र ओली बीच दरार ल्याएर शक्ति ऐठन पार्नु खनालको मन्दविष राजनीतिको करामत थियो ।
२०५६ सालमा इलामबाट चुनाव हारेका खनाललाई लगायत केही एमाले नेतालाई संसदमा छिर्ने प्रलोभनमा पारेर गिरिजाप्रसाद कोइराला र प्रचण्ड अन्तरिम व्यवस्थापिका संसदमा एमालेकै हाराहारीमा ७० माओवादी सांसद बनाउन सफल भए । प्रयोग गर्न सहज र लम्फु ताल देखेर जीपीले खनाललाई धोती न टोपीको नेता भनी गरेको टिप्पणी कांग्रेस वृत्तमा छाएको थियो । शान्तिप्रकृयामा आएका माओवादी कानुन हातमा लिएर राज्य संयन्त्रलाई निरिह बनाएर आतंकको बलमा चुनाव जित्ने दाउमा थिए ।
माओवादीले आफ्नो इरादामा बाधक तत्कालिन कोइराला मन्त्रिपरिषदका उपप्रधानमन्त्री केपी ओलीलाई देखिरहेका थियो । महासचिव माधव नेपाल विदेशमा रहेको बेला बसेको सर्वदलीय बैठकमा खनालले उपप्रधानमन्त्री नराख्ने भनी राखेको प्रस्तावमा लगाएको ल्याप्चे २०६४ सालको पहिलो संविधान सभा चुनावमा एमालेले करारी हार बेहोर्नुको जग साबित भयो । सेनापति काण्डका लागि उक्साएर माओवादीलाई सत्ताकब्जाको सपना देखाउनु र नेपालमा आफ्नो सुरक्षा नदेखेर चीनतिर हानिनु खनालको डरपोक र घातक राजनीतिको घानमा उत्कर्षकालको माओवादी पर्यो । तत्कालीन सेनापति रुक्मांगद कटवाल यदि बघिनीको दुध खाएको डमरु जस्तो नभई काँतर परको भए प्रचण्डलाई जनवादी गणतन्त्रमा जान र सर्वेसर्वा तनाशाह हुनबाट रोक्न सक्ने कोही हुने थिएन । कांग्रेस एमालेका नेताहरुलाई दलाई लामा बनाउने खेलमा खनाल प्रयोग हुनु शल्य सेनापति प्रवृत्तिको निरन्तरता थियो ।
माधव नेपाल सरकारको विस्थापन गराउनदेखि डा. बाबुराम भट्टराई सत्ताको बागडो बुझाउँदा सम्म खनाल चौधरी चरण सिंहको नेपाली संस्करणमा अवतरित भएको देखिन्छ । प्रधानमन्त्रीमा बहाली रहेको बेला माओवादीलाई गृहमन्त्री नदिने निर्णय हुने छाँटकाँट देखिएपछि आफैले अध्यक्षता गरेको बैठक बहिस्कार गरेर कीर्तिमान कायम गर्नु खनालको राजनीतिको असली निखार थियो ।
माधव नेपालको शल्य प्रवृत्ति
पंचायत कालमा एउटै पार्टी नेकपा(माले)का पव्रmाउ परेका परेका नेताले राज्यतर्फबाट दुई प्रकारको व्यवहार भोगे । एक खालका नेताले सत्र सत्र वर्ष लामो कठोर सजाय भोग्नु परेको थियो भने नेपाल र खनाल लगायत केही नेतालाई कागज गराएर सजिलै उन्मुक्ति प्रदान गरिएको थियो । यसप्रसंगलाई जोडेर कनेक्सनहरुको लहरो तानेर पहरो थर्काउने इतिहासकारहरु पनि प्रशस्त छन् । माधव नेपालको व्यक्तित्वको सबैभन्दा कमजोर पाटो जनताको बहुदलीय जनवाद र वहुदलीय जनवादीहरुसँगको कृतघ्नता नै हो । २०५० सालमा मदन भण्डारीको अवशान पछि महासचिवमा आफु चयन हुन र पूर्व महासचिवको बिल्लाधारी सीपी मैनाली र झलनाथ खनाललाई रोक्नलाई सबैभन्दा बलियो कार्ड पाँचौं महाधिवेनमा भारी बहुमतले पारित भएको जबज कार्ड थियो । जबज प्रतिपादनमा नेपालको धेरै मेहनत परेको भने होइन । सुरुमा मौनता साँधेर पछि मदन लहरको उभार देखेर सम्झौता गरेकाले नेपाललाई सुरुदेखि नै नाम मात्रको बहुदलीय जनवादी मान्ने गरिन्थ्यो । जबजले ल्याएको तरंग र उभारबाट सबैभन्दा बढी लाभ नेपालकै पोल्टामा गयो ।
बहुदलीय जनवादी भर्यांग चढे पनि नेपालले बहुदलीय जनवादीको एकता मजबुत पारेनन् । सबैको राम्रो हुने लोभले भुइँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै पार्टी नै विभाजन भयो । जबज बलियो हुँदा पार्टीमा केपी ओली र वामदेवको पल्ला भारी हुने जोडकोण सहित जबजका हिमायती नेताहरुलाई भिडाइयो । उपमहासचिव पदको सृजना ओली ताछ्नका लागि थियो भने उक्त पदको खारेजीको प्रपञ्चको मक्सद गौतम ताछ्नु थियो । २०५४ सालमा जबजको कार्यनीति ओली र गौतमको सहयोगमा आफै नलेखी दोहोरो भूमिका खेलेर दुबै सहकर्मीलाई लेख्न लगाई पार्टीमा तनाव बढाउनु नियतवश गलत संकेत दिएर गाडी जुधाउने ट्राफिकको जस्तै इमानको खडेरी थियो । शक्तिमा टिकिरहन नेपालको लोभले सहकर्मी भिडाउने हर्कतको ढोका त खोल्यो तर एमाले छैटौं महाधिवेशनमा विभाजन भयो । निराश हतास एमालेको तरुणपंतिm माओवादीमा जाने र त्यहाँ सबैभन्दा जोखिम काममा जोतिएर मारिने जुन चव्रm चल्यो यो सब नेता नेपालको लोभले लाभ, लाभले विलापले गर्दा सम्भव भएको थियो ।
राजा, कांग्रेस र कम्युनिष्टको त्रिपक्षीय शक्ति सन्तुलनको सुरुवाती कालमा जननेता मदन भण्डारीको अगुवाई कालमा एमालेको इज्जत थियो । एमाले दरवार, दिल्ली र कांग्रेसको टाउको दुःखाइको विषय थियो । पछि एमाले माधव नेपालको पानी रंगमा झर्न थाल्यो । दरवार हत्या काण्डको छानबिनमा बस्ने तत्परता र पछि हटाई, राजाको गोडामा दाम रखाई र प्रधानमन्त्रीका लागि बिन्ती पत्र लेखाई जस्ता नेपाल कदमको बाझबाट एमाले थिचिँदै गयो ।
माओवादी शान्ति प्रकृयामा आएपछि वाईसीएल नेतृत्वले सिताराम प्रसाईँको निम्तो स्विकार गर्दै नेता नेपाल एक भोजभतेरमा सहभागी भएको चाल पायो । कालो सूचीमा परेका व्यक्तिको निम्तामा एमालेको बसउठ गर्छ तर माओवादी सुशासनको लागि दत्तचित्त पार्टी हो भन्ने देखाउन वाईसीएलले प्रसाईँलाई खुलामन्चमा लिएर जुत्ताको माला लगायो र कालोमोसो दल्यो । कानुन हातमा लिने र व्यक्तिलाई थुनछेक गर्ने वाईसीएल हर्कतको निन्दा गर्ने आँट नेपालमा देखिएन । कारबाही गर्ने निकाय छ, मैले निम्तो स्विकार गरेको साँचो हो तर क्लिन चिट दिएको होइन भनेर प्रतिबाद गर्नुको सट्टा नेपालको निम्छरो अभिव्यक्ति आयो, कुन दशा लागेर त्यहाँ गइएछ । आफ्नै कारणले प्रसाईँको दशा लागेको गहिराइसम्म जाने जवाफ दिने सम्मको हिम्मत नदेखेपछि माओवादीले नेपालको राजाको गोडामा दाम राख्दै गरेको फोटो बाँडेर चुनाव हराइदिएको थियो ।
सिलिगुडी, रोल्पा, दिल्ली पुगेर सुरक्षित अवतरणका लागि सघाएको माओवादीले गरेको कृतध्नताको जवाफ दिने नेता नेपालसँग न ईख थियो न आँट र आशा नै शेष थियो । यो सबै कुराको राम्रै लेखाजोखासहित प्रचण्ड जस्तो चतुर राजनीतिक खेलाडीले कांग्रेस र एमालेलाई सदाका लागि सिध्याउन त्यहाँ भित्रैबाट शिखण्डीको खोजी गरेर राष्ट्रपतिको पदमा आसिन गराउने इरादाले लोभका प्रतिमुर्ति जतिलाई उधारो आश्वासन बाँडेर नाडी छाम्नु अनपेक्षित थिएन । गिरिजाप्रसाद कोइराला प्रचण्डको अधिनायकवादी महत्वाकांक्षाको तगारो बन्ने हुनाले ध्यान नेता नेपालतिर मोडियो । ओली र नेपाल सम्भावित मिलनले आफ्नो चैन हराउने देखेर खनालको पहल पनि नेपाललाई राष्ट्रपति बनाउने नै थियो । अनुकूलभन्दा अनुकूल लाचारछायाँको खोजी गर्ने होड सहाना प्र्रधानतिर मोडिँदै रामराजाप्रसाद सिंहसम्म पुगेर रोकियो ।
आज गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु भूल थियो भनेर कृष्णप्रसाद सिटौला, गगन थापालाई थामथुम पार्ने प्रयास गरे पनि त्यति बेला प्रचण्डको इरादा अर्कै थियो । सायद माधव नेपालले लोभ नदेखाएका भए प्रचण्डको ध्यान गिरिजाप्रसाद कोइरालालाई खुरुक्क राष्ट्रपति बनाउनु भन्दा अन्यत्रतिर मोडिने थिएन । जुन एमाले लामो समयसम्म नेता नेपाललाई मियो मान्यो त्यही एमाले चुनावी पराजयका कारण मुर्छा परेको बेला स्वाभिमान र मर्यादाको मेरुदण्डको आडमा उभिएर पानी छम्किनु त कता हो कता समाप्त पार्न सघाउने शिखण्डी हुन तयार हुनु अथवा भनौ राष्ट्रपति पाउने लोभले चुनावमा माओवादीले गरेको हर्कत बिर्सिएर प्रचण्डको हातको सिन्दुरले सिउँदो भर्न तयार हुनु र अन्नतः धोका पाएर जिल्लिनु नेपालको शल्य प्रवृत्तिको पराकाष्ठा र त्यसको स्वभाविक परिणती थियो ।
महासचिवमा बहाल हुँदा जबज र बहुदलीय जनबादीको आडभरोसाले हुनु तर २०६४ सालमा पार्टीको चुनाबी हारलाई कारण देखाएर महासचिव पदबाट राजिनामा गर्दा ओली वा गौतमलाई नभएर खनाललाई एक व्यक्ति दुई पद दिनु नेपालको चारैतिर बराबर देख्ने लक्ष्यहीन र सिद्धान्तच्यूत राजनीतिको प्रकटीकरण थियो । भनिन्छ सुरुमै राष्ट्रपतिको आश्वासन पाएपछि प्रचण्डको सल्लाहमा खनालतिर तराजुको पल्ला ढल्काइएका थियो । राष्ट्रपति बनाउनका खनालले प्रचण्डसँग गतिलो र भलदायी पहल नगरेको तुष साँध्न नेता नेपालसँग त्यति बेलाको अघोषित उग्रवामपन्थी क्याम्पका हस्तीत्रय प्रचण्ड, खनाल र गौतमसँग दूरिएर कोइराला, ओली क्याम्पमा पुग्नुको बिकल्प रहेन ।
एमाले त्यो वर्ष आठौं महाधिवेशन बुटवलमा आयोजना गर्दै थियो । छिटफुट रुपमा सम्मन्न भएका जिल्ला अधिवशनहरुको परिणमले संकेत गरेको थियो कि ओली नेपालको सम्पूर्ण ताकत सहितको मोर्चाको सामना गर्न भर्खरै मात्र महासचिवमा थमाइएका खनालसँग शक्ति थिएन । नेता नेपालको लोभी र लिप्साग्रस्त राजनीतिबाट भलिभाँती जानकारी राख्ने प्रचण्ड, खनाल र गौतम मोर्चाले एमाले सभासद सुशीलचन्द्र अमात्यलाई फिर्ता बोलाएर बदलामा माधव नेपाललाई संवैधानिक समितिमा ल्याउने चारा हाल्यो । नेता नेपालले त्याग गर्ने कुरै थिएन । कोइराला र ओलीको लोकतान्त्रिक गठबन्धनले पनि पछि नेपाललाई त्यहाँभन्दा ठूलो लोभ देखाएर प्रचण्डको अहितमा प्रयोग गर्न सकिने जोडघटाउ सहित उक्त प्रस्ताव स्विकार गरेपछि मतोले मुर्तरुप लियो । यसरी नेता नेपाललाई तटस्थ पारिएपछि एमालेको आठौं महाधिवेशनमा उर्लिएको ओलीको पक्षको कार्यकार्ताको उभारबाट खनालको अध्यक्षको पद बालबाल बचेको थियो ।
सेनापति काण्डमा प्रचण्डको तख्ता पल्टियो । पार्टीको निर्वाचित अध्यक्ष, संसदीय दलको नेता र निर्वाचित सभासद भएकाले एमालेबाट प्रधानमन्त्री हुनुपर्दा पल्ला खनालकै भारी थियो । बाहिरबाट कोइराला र एमाले भित्रबाट केपी ओलीले व्रmेनले जसरी माधव नेपाललाई उठाइदिएपछि खनालको कुनै जोर चलेन ।
आफूले पालेको ठानेको सुगाले अरुकै भाषा बालिदिएपछि प्रचण्डको रिस चुलियो । विषवृक्षका सादृश्यमा राखेर संसद्मा निन्दा वर्षा वर्षिन थाल्यो । माओवादीलाई गलाएको लगायत राम्रा कामको श्रेय कोइराला र ओलीलाई जाने र भवितावश हेगमा जानु परे आफूले जानुपर्ने भय नेता नेपालमा माओवादीको आम हडताल अघि नै थियो । फोटो सिंहदरबारमा भुण्ड्याउने सपना पूरा भैसकेको थियो । गौरववोध र दायित्वोध दुबै नभएकाले र पार्टीभित्रैबाट प्रधानमन्त्री पदका अगाडि सम्मानीयको सट्टा हरुवाको पगरी भिराउन खनाल बटालियन हात धोएर लागेपछि विक्षिप्त भएर नेपाललाई पदत्यागको बिकल्प रहेन ।
२२ महिना प्रधानमन्त्री हुँदा काँध थापेर साथ दिने पार्टी, कोइराला र ओलीलाई एक शब्द नसोधी राजिनामा दिनु र ओली उभारदेखि पैदा भएको जलन ठण्डा पार्न खनाल गौतमसँग मिलेर मोर्चा जमाउनु नेता नेपालको कृतध्नता थियो । खनाल र गौतमले ओलीसँग अमखाइँका कारणले जे गरे पनि आफुलाई सघाउने अनुमानले नेता नेपाललाई २०७० को एमालेको भागमा परेका बन्दसूचीका सभासद सभासद छान्ने चर्चित गोकर्ण रिसोर्ट बैठकमा धोका दियो । बन्दसूचीमा एक्लौटी गर्न खोजेपछि जहिलै नेता नेपालबाट आफ्नो अहित हुने गरेको निष्कर्षसहित गौतमले ओलीसँग साझेदारीको मार्ग रोजेपछि नेपाल र खनालको प्रताप सूर्य अस्ताउन थाल्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ । जस्तोसुकै साँठगाँठ र तिकडमको सहारा लिइए पनि संसदीय दलको नेतामा खनाल र एमालेको अध्यक्षमा नेपाल ओलीसँग पराजित हुनु यसको दृष्टान्त थियो ।
निष्कर्ष
विश्व कम्युनिष्ट इतिहासमा कहीँ कतै पनि पार्टी प्रमुखले नयाँ अनुहारबाट पराजित हुनु परेको वा मैदान नै छोडेर भागेको इतिहास छैन । नेपाल र खनालको बिगत चार दशकदेखिको रजगजलाई ओलीले समाप्त पार्नु एक विरलाकोटीको घटना थियो । नेताद्वयको शल्य सेनापति प्रवृत्तिबाट आजित भएरै कार्यकर्ताको अदालतले यस्तो फैसला हानेको थियो । आज नेकपामा देखिने साना ठूला उल्झनका जरा केपी ओलीलाई संसदीय दलको नेतामा विजयी गराउने सांसद र अध्यक्षमा विजयी गराउने महाधिवेशनको फैसलाप्रतिको नेपाल र खनाल तुष र बदलाको लागि दाऊ हेर्ने ओछो राजनीतिमा छन् । कार्यकर्ताको फैसलालाई शिरोधार्य गर्नुको सट्टा उल्टै ओलीप्रति ईख पालेर बसेका नेपाल र खनाललाई प्रचण्डले गर्ने उपयोग उकालोलाग्ने गाह्रो यात्रा नभई ओरालो लाग्ने सजिलो यात्रा हो । यो सवर्था अनुचित छ ।
एकतापूर्वको सानो घटक र ठूलो घटकको गैह्र संस्थापनको ठूलो घटक बिरुद्धको यो जालसाँझी अन्यायपूर्ण, असान्दर्भिक र अवान्छित छ । यसले एकताको गति, भावनालाई चोट पुर्याउँछ र औचित्यमाथि प्रश्न उठाउँछ । यसले अन्ततः पार्टीको एकताको गला रेट्ने छ । फेरि पनि नैतिक मूल्यको सट्टा आधुनिक शल्य यो देशको आवश्यकता होइन । अटललाई उखेलेर अस्थिर छुचुन्द्रालाई चमेली तेल थोपर्नु इतिहासको बेरुजू हो ।
अनादर अपमान, निन्दा चाहना र अभीष्ट होइन, मातृभूमिको शान र सौभाग्यसँगको हसिमजाक र हर्कत सैह्य छैन । जनताको बहुदलीय जनवादी र जनयुद्धका मानसपुत्रहरुको चेत, विवेक र सम्मिलनले नैतिकमूल्यको क्षयीकरणको राजनीतिलाई मुहतोड जवाफ दिने छ । अग्रजहरुबाट प्राप्त सकारात्मक विरासतको रक्षा र नकारात्मक कुँडाकर्कटको परित्याग कलामै अनुयायी र नयाँ पुस्ताको परीक्षणको कसी मानिन्छ । विवाहपूर्व अर्जुन र द्रौपदीका अग्रजहरु बीचमा चरम शत्रुता थियो । गूरु द्रोणलाई खुशी पार्न अर्जुनले नै द्रौपदीका पिता दु्रपदलाई युद्धमा पराजित गरेका थिए । पाण्डव पान्चाली विवाहले स्थिति बदलियो । पछि गएर पान्चालीका कारण जोडिन पुगेका पाण्डव पान्चाल गठबन्धनले नै महाभारत युद्धमा कौरव सेनाहरुलाई हराउन सकेको थियो ।
एकतापूर्व अवश्य पनि एमाले र माओवादी बीच तुष थियो । एकतापछि सन्दर्भ बदलिएको छ । यो मुलुकमा व्याप्त भ्रष्टाचार, अवसरवादी, उपयोगितावादी राजनीति सृजित नैतिक मूल्यको गिरावट रोक्न नेकपाको मझौला र युवापुस्ताको चेत, विवेक र हस्तक्षेप निर्णायक रहने छ । नेतृत्वका घृणित खेलमा खेलौनाको रुपमा उपयोग नहुनु र सिंगो जीवन आन्दोलनमा होमेको नेतृत्वलाई माकुरी माऊ नबनाउनुको सन्तुलनमा रहँदा नै जनताको बहुदलीय जनवादीहरु र जनयुद्धका मानसपूत्रहको गरिमा बढ्ने छ । देश, जनता, पार्टी र साथीलाई यो उचाई र अनुकूलतामा पुगाउने जननेता मदन भण्डारी, जनआन्दोलन र जनयुद्धका महान शहिदहरुको सहादतको सम्मान र उहाँहरुप्रतिको सच्चा श्रद्धान्जली यही हुनेछ ।
