ठाकुर बेलवासे -
नेपालका राजनीतिक कर्मीले घुस खान्छन् कि खाँदैनन् ? खाएनन् वा खाँदैनन् भनिन्छ भने ठूलो पाखण्डता प्रदर्शन गर्नु हो । घुस खानकै लागि राजनीति गरिन्छ हाम्रो नेपालमा । घुस खान सहज राजनीतिक बाटोबाटै हुन्छ । आमजनले बुझ्ने कुरा यही हो ।
मुठठ्ठीभर मानिसले राजनीतिमा छिरेर भ्रष्टाचार गर्दै सिँगो राजनीतिलाई बदनाम गराएका छन् । राजनीतिमा असलभन्दा खराब मानिस धेरै घुसेका छन् भन्दा अतिशयोक्ति नहोला । यस्ता खराबहरुले समाजलाई नै नकारात्मक बनाउँदै लगेका छन् । अहिले समाजले कुनै व्यक्तिका सकरात्मक कुरा सुन्न चाहँदैन । असल मानिसका नकारात्मक कुरा आए भने समाज दंग पर्छ । यसको अर्थ हो– अनैतिक, भ्रष्ट र घुसखोरीले समाज संक्रमित भइसकेको छ, नकारात्मक भावमा समाज डुब्दै गएको छ ।
थोरै असल मानिसका कारण आदर्श, आस्था, भरोसा बाँचिरहेको छ, आशाको दियो निभ्न पाएको छैन । तिनै मानिसलाई हेरेर हामीले सपना देख्न पाएका छौं ।
दियो कुनै आगोको मुस्लो हुँदैन । कपासको मसिनो धागोले दिने प्रकाश अँध्यारो चिर्र्न काफी हुन्छ । सुन्दर भविष्यको कल्पना अँध्यारोको कल्पनामा डुबेर होइन उज्यालोको सम्झना गरेर गर्नुपर्छ ।
केही मानिसका थोरै राम्रा कामले पनि हामीमा हर्ष सञ्चार हुनसक्छ । हुनुपर्छ । ती मानिस दियो हुन सक्छन् । भ्रष्टाचार, अनैतिक अनि घुसखोरीको भयानक अँध्यारोमा थोरै असल मानिसका सत्कर्महरु उज्यालो प्रकाश बन्न सक्छन् । हामीले ती प्रकाशको खोजी कति र कसरी गर्ने भन्ने सवाल महत्वपूर्ण हुन्छ ।
धेरै नेपालीलाई काशीनाथ गौतमको नाम थाहा छैन । राजनीति गर्नेहरुलाई त पत्तो छैन । सामान्य नागरिकलाई उनका प्रति केको चासो ? उनले रगत पसिना बगाएको कांग्रेस पार्टीका नेता कार्यकर्ताले त चिन्दैनन् र सम्झँदैनन् भने अरुले कसरी सम्झिउन् ? इतर पार्टीका नेता कार्यकर्ताले उनलाई चिन्नुको टन्टा किन गर्ने ? राजनीतिक संस्कार र सुसंस्कृत समाज हुन्थ्यो भने असल मानिसको खोजी सर्वत्र हुन्थ्यो । सर्वथा हुन्थ्यो । संस्कार र सुसंस्कृति नेपाली राजनीति र समाजमा मर्दै गएको छ । वर्षाको अभावमा धाँजा परेको खेत जस्तै बनेको छ नेपाली समाज । यसलाई कबुल नगर्नु अर्को कुरा ।
काशीनाथ गौतम असल थिए ।
उनी वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकार २०१६ सालमा स्वास्थ्य तथा स्थानीय स्वयत्तशासन र २०३८ सालमा निर्माण तथा यातयातमन्त्री बनेका थिए । यसकारण उनी ‘असल’ थिएनन् । मन्त्री भएका मानिस नेपालमा ‘असल’ हुँदैनन् । यस्तो मान्यता नेपाली समाजको मनमष्तिष्कमा गढेको छ ।
काशीनाथले दुईदुई पटक मन्त्री बनेर पटक्कै पैसा कमाएनन् । भविष्यलाई अकुत सम्पत्ति जोडेनन् । यसकारण काशीनाथ ‘असल’ थिएनन् भन्ने उनको परिवारलाई पनि लाग्न सक्छ ।
एउटा मानिस हजार गुणले सम्पन्न हुँदैन । औँलामा गन्न पुग्ने गुण भइदियो भने पुग्छ । समाजको कुनै न कुनै तप्काले या पुस्ताले सम्झिन्छ उसलाई ।
अवगुण देखाउनलाई उसको नाक बढी तिखो छ । उसका आँखा चिम्सा छन् । या उसको कपाल गाढा कालो छैन भने पनि हुन्छ ।
सदीयौँ देखि नकच्चरोको कठघरामा सिँगो मुलक जाकिएको छ । कुनै पात्रले आफ्नो कर्तव्य भित्रको कामलाई सिधासिधी ढंगबाट गरिदियो भने पनि मरुभूमिको यात्रीले पानी भेटे झै हुने अवस्थामा छ देशको ।
०६८ साल तिर राजनीतिज्ञ एवं वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाले मलाई ‘काशीनाथ गौतमका बारेमा एउटा पुस्तक तयार गर’ भनेका थिए । काशीनाथको जिल्लावासीका नाताले पनि मैले यो काम गर्नु कर्तव्य हुनआउँछ भन्ने विचार देवकोटाको थियो ।
अर्को भेटमा देवकोटाले भने ‘काशीनाथ गौतम ०३८ सालमा निर्माण तथा यातयातमन्त्री हुँदा, ‘हेभी ईक्विप्मेन्ट डिभिजन’को स्थापना भयो । डिभिजनलाई आवश्यक साधनहरु विदेशबाट मगाइए । त्यसबाट विधिवत रुपमा कमिसन आउँथ्यो मन्त्रीलाई । मन्त्री लगायतका व्यक्तिहरुमा सो कमिसन पुग्थ्यो । कमिसनको ठूलो हिस्सा दरवार पठाउनु पथ्र्यो । बाँकी कमिसन रकम प्रधानमन्त्री हुँदै मन्त्रालयका तत्तत् पहुँचमा बाँडिन्थ्यो । गौतमजीले त्यसलाई तोडिदिनु भयो । कमिसन बोकेर आएका कम्पनीका प्रतिनिधिसँग हामीलाई ‘लाइट ईक्विप्।मेन्ट’ पनि चाहिन्छ भन्दै कमिसनको पैसाले ‘लाइट ईक्विप्।मेन्ट’ को सम्झौता गर्नु भएछ । उहाँले त्यो आत्मघाती काम गर्नु भएको थियो ठाकुरबाबु ।’
देवकोटाको ‘आत्मघाती’ शब्दले पंक्तिकारलाई उत्सुकता जगाएको थियो । र, सोधेको थियो– ‘त्यति राम्रो निर्णय कसरी आत्मघाती हुन्छ ?’
‘कमिसन प्रधानमन्त्री हुँदै दरवार नपुर्याउनु गौतमजीको अपराध भयो । सजाय स्वरुप उनलाई केही समय पछि मन्त्री पदबाट वर्खास्त गरिएको थियो । मैले काशीनाथका बारेमा १५ पेज जति लेखेको छु । सकिन्छ भने उनका बारेमा पुस्तक निकालौँ । मसँग भएको लेख लिन आउनु ।’ देवकोटाले भन्नु भएको थियो ।
राजेश्वरले काशीनाथका बारेमा बताइरहँदा त्यहाँ साथमा हुनुहुन्थ्यो सीमा र नागरिकताका विषयका जानकार राजनीतिक विश्लेषक चेतेन्द्रजंग हिमाली । देवकोटाका कुरालाई सही थाप्दै चेतेन्द्रजंगले भन्नु भएको थियो– ‘काशीनाथको यो सन्दर्भलाई पुष्टी गर्ने मसँग सन्दर्भ सामग्रीहरु पनि छन् । पुस्तक निकाल्ने भए म पनि लेख्न तयार छु । कमिसन नखाएको अपराधमा उहाँले मन्त्रीबाट बाहिरिनु भएको सत्य हो ।’
कमिसन बाँडफाँड गर्दै दरवाससम्म नपुगेका कारण काशीनाथले मन्त्रीपद गुमाउनु परेको तथ्यले यो पंक्तिकारलाई खुबै पिरोल्यो त्यसबेला । देशमा निरन्तर ब्रम्ह्लुट चलिरहेको बेला ती दुई अग्रजका कुरा नपत्याउनु पर्ने कुनै अर्थ थिएन ।
देवकोटा र हिमालीको ताकेताका कारण पुस्तक प्रकाशनका सन्दर्भमा गौतमकी सुपुत्री पुष्पा भुसाल (हाल नेपाली कांग्रेसका सांसद्)लाई देवकोटा र हिमालीका कुरा मैले सुनाएँ । पिताजीमाथि एउटा ग्रन्थ प्रकाशन गरौँ भन्ने प्रस्ताव गरेँ । पुष्पाको चासो त्यति धेरै देखिएन । पंक्तिकारलाई सम्झना छ– पिताजीमाथि काम गर्नु किन अल्छी मानेको दिदी भनेको थिएँ । सायद पुष्पा त्यसबेला राजनीतिमा निकै व्यस्त हुनुहुन्थ्यो ।
आगो त बलेको न तापिन्छ !
२०१५ सालको संसदीय निर्वाचनमा कांग्रेसबाट जितेका थिए काशीनाथले । पछि दुई पटक राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए । गौतमका राजनीतिक सहयोगी एवं पूराना राजनीतिकर्मी तथा समाजसेवी मणिराम पौडेल भन्छन्– ‘काशीनाथलाई धनसम्पत्ती र परिवारको वास्ता थिएन । आफूसँग भएको पैसा अरुलाई दिने र फिर्ता नमाग्ने उहाँको गजबको स्वभाव थियो । अरुबाट लिएको पैसा पनि उहाँ फिर्ता गर्नुहुन्नथ्याे । उहाँलाई कहिल्यै धेरै पैसा चाहिएन । हजार पाँचसय बढीमा दुईहजार सम्म कसैबाट लिए पनि फिर्ता नदिने । कसैलाई दिए पनि फिर्ता नमाग्ने । यसको अर्थ उहाँ पैसालाई कहिल्यै महत्व दिनुहुन्थ्यो ।’
नेपाली समाजले आदर्श, इमान्दारी र सादगीलाई कमजोरी ठान्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमाले छिमेकमा कपडा धोएर र भाँडा माझेर आफूलाई हुर्काएको, आफू निकै गरीब परिवारमा जन्मिएको, गरिबीसँग जुध्न आफूले कष्टकर काम गरेको कुरा सगर्व सुनाउने गर्छन् । उनको गरिबी र संघर्षलाई भारतीय जनताले प्रेरणाका रुपमा ग्रहण गरिरहेका छन् ।
आर्थिक रुपमा कमजोर विगत सम्झनु पाप भन्ने बुझाई छ नेपाली समाजमा । सामाजिक रुपान्तरणमा हिँडेको भनिएको नेपाली राजनीतिक वृत्त त अझ टीठ लाग्दो अवस्थामा छ । आर्थिक समानता ल्याउन राजनीति गरेका हौँ भन्ने नेताहरु आफ्नो विपन्न विगतलाई पैंतालाले ढाक्न चाहन्छन् ।
काशीनाथको सादगी र आर्थिक अभाव न अपराध थियो न त पाप नै । काशीनाथको काठमाडौंको चावहिलमा घर थियो उबेलै । काठमाडौँमा घर हुने मान्छे आर्थिक रुपमा हरितन्नम कसरी हुनसक्छ ? प्रश्न गर्न सकिन्छ ।
जवाफ सरल पनि छ– त्यो बेलाको काठमाडौंको घरले ओत बाहेक केही दिँदैनथ्यो ।
काठमाडौंमा रहेको घर बुहारीका पिताजीले बनाइदिएको कुरा गौतमले धेरै पटक भनेको पौडेल सम्झन्छन् । आदर्श भन्दा पैसा ठूलो र इमान भन्दा बेइमानी राम्रो देख्ने समाज र परिवारका लागि आफ्नै घरबारे गरिएको यस्तो खुलासा प्रिय नलाग्न सक्छ ।
उनले अपराध र पाप नगरेकै कारण केही भौतिक सुख सुविधा त्याग्नु परेको थियो होला । तर, चीरकाल सम्मका लागि इमान फाल्नु परेन ।
संस्कृत साहित्यका विद्वान गौतम अति सरल र सहज भएको सम्झन्छन्– मणिराम पौडेल । उनी स्मरण गर्छन्– जनतासँग घुलमिल गर्नु र जनतासँगै रमाउनु गौतमको प्रमुख रुची थियो ।
गौतमको सुकर्मको रहस्योद्घाटन गर्ने राजेश्वर देवकोटा ०७२ मा भौतिक संसारबाट मोचन भइसकेका छन् । हिमाली पनि ०७७ को बैशाखमा परलोक बनिसकेका छन् । राजनीतिक या सरकारी क्षेत्रबाट राम्रा कुरा सुन्नु आश्चर्यको विषय बन्ने अवस्था भइरहेका बेला उहाँको सत्कर्म सम्झनु र देश दुनियाँका सामु भन्नु सान्दर्भिक लाग्यो ।
पूराना राजनीतिकर्मी केशरबहादुर विष्टसँग गौतमका बारेमा पंक्तिकारले केही जिज्ञाशा राखेको थियो ।
विष्ट भन्छन्– ‘गौतमजी निकै गन्यमान्य व्यक्ति । उहाँसँग हामी दोहोरो कुरा गर्दैनथ्यौँ । अति सरल र स्वच्छ भनेर चिनिनु भएको थियो । कांग्रेसमा निकै ठूलो योगदान दिनुभएका उहाँ आर्थिक अभावलाई झेल्न नसकेर पञ्चायतको मन्त्रीमण्डलमा आउनुभएको चर्चा थियो त्यसबेला । उहाँ त्यो कदमबाट वदनाम हुनुहुन्थ्यो । सबैले उहाँको बाध्यता बुझेको जस्तो लाग्छ ।’
शक्तिशाली मन्त्री भइकन पनि भ्रष्टाचार गर्नबाट जोगिनु प्रति आशंका गर्दै पंक्तिकारले विष्टलाई सोधेको थियो– ‘भ्रष्टाचारको जननीका रुपमा परिचित सूर्यबहादुर थापा प्रधानमन्त्री भएका बेलामा गौतमले कमिसनको रकमलाई कसरी सरकारी सम्पत्तिका रुपमा जोहो गर्न सक्नु भयो होला ?’
विष्टको भनाई थियो– ‘थापा मान्छे हेरेर व्यावहार गर्ने व्यक्ति हुनुहुन्थ्यो । गौतम र म जस्तासँग उहाँले आर्थिक व्यवहार कहिल्यै गर्न चाहन्नुहुन्थ्यो । कारण हामीहरु मान्दैनौँ भन्ने उहाँलाई पक्का थियो । उहाँको आफ्नै संयन्त्र थियो । त्यो संयन्त्रले काम गर्ने गथ्र्यो । गौतमजीकै पालामा ‘हेभी ईक्विप्मेन्ट डिभिजन’को सुरुवात भएको थियो । पहिला पुलचोक पाटन ढोका क्षेत्रमा त्यसको कार्यालय थियो ।’
विष्टको भनाई यस्तो छ– ‘देवकोटा र काशीनाथको अति राम्रो सम्बन्ध थियो । अन्तरंग । गौतमले कमिसन नखाई सरकारकै लागि सदुपयोग गरेका थिए भन्ने कुरामा मलाई पनि विश्वास लाग्छ । मन्त्रीहरुलाई भ्रमण भत्ता दिने चलन थियो । अहिले पनि छ । हामी केही मन्त्रीले विदेश जाँदा बचेको भत्ता फिर्ता गथ्यौँ सरकारलाई । त्यो फिर्ता नगर्दा कुनै गैरकानूनी काम हुँदैन थियो । यसो भन्दा अहिले कसले पत्याउने !’
कमिसन नखाएको र नबाँडेकै कारण गौतम मन्त्रीबाट हटाइएका बारेमा विष्ट भन्छन्– ‘सूर्यबहादुर, काशीनाथहरु हाम्रा निकै अग्रज । एउटै मन्त्रीमण्डलमा भए पनि आवश्यक भन्दा हामी बोल्दैनथ्यौँ । बिनाकारण गौतम निष्कासित हुनुभयो । भित्री कारण थाहा भएन । तर, आज तपाईले राजेश्वरजीले भनेका कुरा सुनाएपछि गौतमलाई हटाइनुको कारण यही रहेछ भन्ने लाग्यो । राजेश्वर यसै बोल्ने मानिस होइन ।’
राजनीतिज्ञ एवं वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित गौतमलाई अत्यन्तै समर्पित नेताका रुपमा सम्झन्छन् ।
‘नेपाली राजनीति र समाजले सधैं सम्झनु पर्ने नाम हो काशीनाथ गौतम । नेपाली कांग्रेसका पहिलो पुस्ताका निकै असल नेता हुन् गौतम । उनी जनतासँग घुलमिल गर्न सक्ने लोकप्रिय नेता हुन् । उनले ०७ सालको आन्दोलनमा पश्चिमाञ्लको नेतृत्व मात्रै गरेनन्, पश्चिमाञ्चलमा गजबको छाप छोडे । उनको सरलपन र सादगी चरित्र नै लोकप्रियताको हतियार थियो । राजनीतिक परिवार भएका कारण उनमा आर्थिक संकट आयो । त्यसलाई सम्हाल्न गाह्रो परेको थियो भनिन्छ । जस्तै गाह्रो भए पनि इमान नबेच्नु गौतमको सफलता थियो ।’
आफ्न पिता घनश्याम उपाध्याय पौडेलका चेला समेत रहेका काशीनाथका बारेमा प्रश्रितको धारणा हो ।
आर्थिक संकटबाट पीडित भएर नै गौतम पञ्चायत पसेका हुन भन्ने कतिपयको दावी छ । तर, गौतमको पञ्चायत गमनप्रति ठूलो विरोध कसैले गर्न सकेनन् । त्यसको एउटै कारण थियो – गौतमले जहाँ बसे पनि प्रजातान्त्रिक चरित्र त्यागेनन् । बाँच्नका लागि बाटो लामो या छोटो रोजे होलान् तर पैसमा राजनीतिक आदर्श बेचेनन् ।
राजनीतिक या पदीय दलालीबाट हुने आम्दानी नखोज्नु, सच्चाईको राजनीति गर्नु जस्ता कारणले उनलाई जान्नेहरु आज पनि शुद्ध मनले स्मरण गर्छन ।
कमिसन नबाँडेकै कारण मन्त्रीपद गुमाएका काशीनाथ गौतम हाम्रा सामु छैेनन् । कमिसन नपाएर रिसले आगो छादेको दरवार पनि अस्तित्वमा छैन ।
दुर्भाग्य ! कमिसन प्रथालाई झनझन वैधीकरण गरिदैछ । कमिसन बिना न सरकार चल्छ न त समाज नै !
