अरुलाई सताएर, अरुलाई होच्याएर, अरुलाई अँठ्याएर, अरुलाई सानो देखाएर आनन्द मनाउने केही देश छन् विश्वमा । तीमध्ये एक हो भारत । नेपाललाई सानो र आफूलाई ठूलो देखाउने अनौठो मानसिक रोगले भारत ग्रस्त रहँदै आएको छ । नेपाललाई ‘छोटे भाइ’ र आफूलाई ‘बडे भाइ’ भन्दा भारतीय मिडिया र नेताहरुलाई आनन्द आउँछ ।
पहिलो कुरा– नेपाल छोटे भाइ होइन र भारत बडे भाइ पनि होइन । दुवै समान हो । जसरी बलियो चीनका अगाडि भारतले लुगलुग काम्दै ‘हिन्द चिनी भाइभाइ’ भन्ने गरेको छ त्यसैगरी नेपालसँग पनि ‘नेपाल भारत भाइभाइ’ भन्न सक्नुपर्छ । भारत त्यसो भन्न सक्दैन भने हामी पनि भन्छौं– नेपाल बडे भाइ, भारत छोटे भाइ ।
ऐतिहासिक तथ्य प्रमाण हेर्ने हो भने नेपाल दाइ र भारत भाइ हो । नेपाल विश्वकै प्राचीन देशमध्येको एक हो । नेपालको एकीकरण यही माटोका पृथ्वीनारायण शाहले गरेका हुन् । तर, भारत भन्ने देश सात समुद्र पारीका ब्रिटिशले बनाइदिएका हुन् । आजको भारतको जन्म सन् १९४७ मा मात्र भएको हो । अर्थात्, नेपालभन्दा भारत धेरै नै कान्छो हो, दाइभाइ भन्न पनि मिल्दैन, जिजुबाजे र नाती भन्नुपर्ने खालको सम्बन्ध हो ।
तर, नेपाल यस्ता कुरामा विश्वास गर्दैन, समानता र मित्रतामा विश्वास गर्छ । त्यसैले नेपाल आफूलाई बडे भाइ भन्दैन, आफूलाई दाइ भन्दैन । भारत र नेपाल मित्र हो भन्छ । तर, भारतले नेपाललाई किन सत्रुको व्यवहार गर्छ ? यो प्रश्नको जवाफ खोज्ने उपयुक्त बेला आएको छ । किनभने हामीसँग सिंगै ‘केपी ओली’ छ । सारा नेपालीले भारतका सामु शिर उँचा गरेर हेपेकै हो त भनेर आँखा जुधाएर च्यालेन्ज दिनसक्ने नेतृत्व नेपालमा विरलै जन्मिए । इतिहासले विरलै जन्माउने र देशले युगौंमा एकपटक पाउने नेता नेपालले केपी ओली पाएको छ । त्यसैले आँखा जुधाएर भारतलाई सोधौं– हेपेकै हो त ?
अहिले नेपालले आफ्नो सम्पूर्ण भूमि समेटिएको नक्सा सार्वजनिक निर्णय गरेको छ । यो कुरा भारतलाई चित्त बुझेको छैन । किनभने उसले कालापानी लिपुलेक सहित दर्जनौं ठाउँमा नेपालको सीमा मिचेको छ । नेपालले आफ्नो भूमिमा दावी गरेपछि भारतलाई रीस उठेको हो । र, अहिले भारतीय मिडिया र त्यहाँका नेताहरु नेपाललाई छोटेभाई भन्न व्यस्त छन् ।
भारतले दशकौंदेखि नेपाली भूमि मिच्दै आएको छ । अहिले नेपाल बोल्यो । किनभने अहिले नेपालमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । नेपालको प्राचीन गौरव जगाउने, पुर्खाको बीरता र बुद्धिमानीको गाथा गाउने, पुर्खाको योगदान स्मरण गर्ने अभियानले केपी ओलीले चलाइरहनुभएको छ । यही क्रममा कालापानी लिपुलेकमा पनि केपी ओलीले राष्ट्रिय स्वाभिमानपूर्ण अडान देखाउनुभएको छ ।
भारतले अतिक्रमण गरेको आफ्नो भूमि फिर्ता ल्याउने गरी सरकारले काम कारबाही अघि बढाएको छ । यसबाट नेपालमा खुसीको र भारतमा चिन्ताको लहर चलेको छ ।
भारतले जहिलेतहिले नेपाललाई सानो र ‘छोटे भाइ’ ठान्ने गरेको थियो । आफूले जति अत्याचार गरे पनि नेपालले सहन्छ भन्ने विश्वास भारतलाई थियो । तर, केपी ओली पहिलो पटक प्रधानमन्त्री पदमा हुँदा भारतले नेपाली स्वाभिमानकोा वास्तविक परिचय पायो । अहिले त्यस्तै परिचय पाउँदैछ । भारतले कहिले सोचेको थिएन कि उसले छोटे भाइ भनेर अपमानित गर्दै आएको, सताउँदै आएको नेपालले यसरी अडान देखाउँछ भनेर । त्यसैले नेपाल विरुद्ध पूरै भारतीय मिडिया र भारतीय नेताहरु खनिन थालेका छन् ।
अरु कसैको उक्साहटमा नेपालले कालापानी लगायतको भूमि फिर्ता लैजान खोजेको अभिव्यक्ति भारतीय सेनापतिबाट आएको थियो । भारतका अन्य सरकारी अधिकारीहरु पनि लगातार नेपाल विरुद्ध कुण्ठा पोखिरहेका छन् ।
विश्वको सबैभन्दा अविश्वसनीय र हावादारी सञ्चार माध्यमका रुपमा भारतीय सञ्चार माध्यम बदनाम छ । बदनाम भारतीय मिडियाले नेपाल विरुद्ध अहिले लाजमर्दाे प्रचार अभियान चलाइरहेको छ ।
भारतले नेपाललाई सधैं गुन लगाएको दावी गर्दै गुन बिर्सिएर नेपालले कालापानी लिपुलेक लगायतको भूमि फिर्ता मागेको आरोप लगाएका छन् । यतिसम्मकी नेपाल ‘छोटे भाइ’ भएर ‘बडे भाइ’ भारतसँग सिँगौरी खेल्न खोजेको समेत त्यहाँका मिडियाको टिप्पणी देखिँदैछ ।
आफूलाई ‘बडे भाइ’ ठान्ने भारतले के बुझ्नुपर्छ भने आजको विश्वमा भूगोल वा जनसंख्याका दृष्टिले कुनै पनि देश बडे भाइ र छोटे भाइ हुँदैन । देशको आकार र जनसंख्याले कुनै देशको सम्प्रभुता र स्वाभिमान ठूलो, कुनै देशको सानो हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले यो कुरा प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रष्टसँग भारतलाई पढाइदिनुभएको छ । प्रम ओलीको मंगलबारको भाषण नेपालको राष्ट्रियताको व्याख्याका दृष्टिले, नेपालको स्वतन्त्र हैसियतको व्याख्याका दृष्टिले वास्तवमै ऐतिहासिक थियो । प्रम ओलीको त्यो ऐतिहासिक भाषणपछि भारत अझ आत्तिएको छ र त्यहाँका मिडियाहरुलाई फोहोरी कलम बोकाएर मैदानमा उतारेको छ ।
भारतले नेपाल विरुद्ध आफ्ना मिडिया, सेना, नेता र सरकारी अधिकारीहरुलाई मात्र उतारेको छैन, नेपालभित्र भाडामा लिइएका केही मान्छे तथा बाबुराम भट्टराई विरादरीका ख्यात पात्रहरुलाई पनि नेपाल विरुद्ध प्रयोग गरिरहेको छ । तर, बाबुराम भट्टराई जस्ता ख्यात पात्रहरुलाई नेपाली जनताले चिनिसकेका छन् र भारतीय नियत पनि बुझिसकेका छन् ।
भारतले कालापानी लिपुलेक क्षेत्रमा बलजफ्ती मिचेर बनाएको सडक उद्घाटन गरेपछि केही नेपाली सडकमा उफ्रिने छन्, टायर बाल्नेछन्, प्रहरीले दुईचार जनाको हातखुट्टा भाँच्ने छ, नेपाल सरकार मौन रहने छ र आफ्नो अभिष्ट पुरा हुने छ भन्ने सोचेको थियो । तर, उल्टो भयो । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली नेपालका परम्परागत प्रधानमन्त्री जस्तो होइन भन्ने भारतले बुझेन । नाकावन्दीका बेला केपी ओलीले लिएको अडान भारतले बिर्सियो । प्रधानमन्त्री पद जोगाउन केपी ओली विगतका प्रधानमन्त्रीहरु जस्तै निहुरमुन्टी न बन्नुहुन्छ भन्ने भारतलाई भ्रम थियो । तर, उल्टो भयो । सरकारले आफ्नो भूमि फिर्ता ल्याउने घोषणा गरेको एकहप्ता नबित्दै विगतका शासकहरुले खुच्याएको आफ्नो देशको नक्सा सच्याएर सार्वजनिक गरेको छ ।
नेपालको नयाँ नक्साले के भन्छ ? नक्साले भन्छ– यो सीमाका लागि मर्न मार्न तयार छौं । यो नक्साले भन्छ– नेपाल कसैको छोटे भाइ होइन । यो नक्साले भन्छ– हामी अन्याय सहँदैनौं ।
