कल्पना गरौं– केपी शर्मा ओली नाम गरेका मानिसको यो देशमा जन्म भएकै थिएन ।
अर्काे पनि कल्पना गरौं– केपी ओली नेपालमै जन्मिएको तर प्रधानमन्त्री चाहिँ नबन्नुभएकाे भए ?
केपी ओली बिनाको नेपाल कल्पना गरौं । केपी अाेली नभएकाे भए कालापानी लिपुलेककाे अवस्था कस्ताे हुन्थ्याे हाेला ?
केपी ओलीको जन्म नभएको भए पनि नेपाल रहन्थ्यो तर यस्तो रुपमा होइन । अर्कै रुपमा । केपी ओली प्रधानमन्त्री बन्नुभएको थिएन भने ? यो प्रश्नले चाहिँ हरेक नेपालीलाई गम्भीर बनाउँछ ।
नेपालले आफ्नो लुटिएका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको छ । यो ऐतिहासिक क्षण हो । यो ऐतिहासिक उपलब्धी हो । आफ्नो मातृभूमिको नयाँ नक्सा हेरेर हरेक नेपाली भावुक भएका छन् । हरेक नेपालीले खुसीको आँशु झारेका छन् । नेपालीको शिर गर्वले ठाडो भएको छ, नेपालीको छाति गर्वले ढक्क फुलेको छ । आजको नेपाली पुस्ताले भावी पुस्तालाई नेपालको नयाँ नक्सा विरासतमा दिएको छ । यो सानो उपलब्धी होइन । यो उपलब्धीको नेतृत्वकर्ता हो– केपी ओली ।
केपी ओली बाहेक अरु कोही प्रधानमन्त्री पदमा थिए भए नेपालको नयाँ नक्सा जारी हुन सम्भव थिएन । कालापानी लिपुलेक शब्द नै उच्चारण गर्दैनथे । पूर्व प्रधानमन्त्री तथा राजा रजौटाहरुलाई दोष दिँदै पन्छन्थे । केपी ओली बाहेक अरु कोही प्रधानमन्त्री थिए भने कालापानी लिपुलेक नेपालकै हो भन्ने हिम्मत नै गर्दैनथे ।
अरु कोही प्रधानमन्त्री थिए भने लगलग थरथरी काम्दै उभिन्थे, भारतले अतिक्रमण गरेको भूभाग सम्बन्धमा चुईंक्क बोल्दैनथे । प्रतिवाद गर्नु त असम्भव नै हुन्थ्यो । नक्सा नै जारी गर्ने कुरा कल्पना पनि गर्दैनथे । नक्सा जारी गर्ने कल्पना गर्दा पनि तिनको एकदुई लिटर पसिना पक्कै छुट्थ्यो होला ।
देशलाई माया गर्ने नेपालीको कमी छैन नेपालमा तर देशलाई माया गर्ने नेताको अभाव भएको हो । देशलाई माया गर्ने प्रधानमन्त्री विरलै भए । देशप्रतिको माया अरु प्रधानमन्त्रीमा पनि थियो होला तर पदलाई भन्दा देशलाई माया गर्ने, निजी राजनीतिक भविष्य दाउमा राखेर देशका लागि केही गर्ने प्रधानमन्त्री भएनन् । केपी ओली २० या ३० वर्ष अघि प्रधानमन्त्री बन्नुभएको थियो भने देशको मुहार अर्कै भइसक्थ्यो । तर, इतिहास र नियतिलाई वर्तमान कालखण्डमा केपी ओली चाहिएको रहेछ ।
आजका केपी ओलीको यात्रा काँडा नै काँडाको बाटोबाट भइरहेको छ । साथमा पूर्ण बहुमत छ तर पूर्ण बहुमत अनुसारको सहयोग छैन । आफ्नैहरुबाट कतिबेला छिर्के लगाइन्छ भन्ने केपी ओलीलाई नै थाहा छैन । प्रतिपक्षी खोज्न अन्त जानु नपर्ने, पार्टीभित्रै हेरे पुग्ने अवस्थामा हुनुहुन्छ । राष्ट्रिय स्वाभिमान र अडानको पक्षमा लाग्दा केपी ओली विरुद्ध भारत उभिन्छ नै, तर, नेपालभित्रका भारतीय पनि उभिन्छन् । किनभने नेपालभित्र नेपाली नागरिकता धारण गरेका ‘बाबुराम’हरु प्रशस्त छन् । नेपालले नयाँ नक्सा जारी गरेको ‘बाबुराम’ खलकलाई पच्दैन । यिनले विरोध गर्छन् नै । नेपालको नयाँ नक्सा जारी हुँदा बाबुराम खलक छाती पिटीपिटी रुँदैछन्, विलौना गर्दैछन् । ‘भौगोलिक राष्ट्रवाद’ भन्दै डाँको छाड्दैछन् । भारतले भूमि मिच्दा चुप लाग्नु असली राष्ट्रवाद, विरोध गर्दा चाहिँ भौगोलिक राष्ट्रवाद भन्ने बाबुराम खलकको नियत कति खराब छ भन्ने प्रष्टै छ ।
केपी ओली प्रधानमन्त्री हुनुहुन्नथ्यो भने दावीका साथ भन्न सकिन्छ– नेपालको नयाँ नक्सा जारी हुँदैनथ्यो । यो कुरा हरेक नेपालीले बुझेका छन्, हरेक नेपालील्े भन्न सक्छन । नेपालीले मात्र नभएर भारतले पनि भन्न सक्छ । किनभने किन्दा नकिनिने, झुकाउँदा नझुक्ने, तर्साउँदा नतर्सने नेपाल र नेपालीलाई शिरमा राख्ने प्रधानमन्त्री नेपालमा केपी ओली मात्र हो भन्ने उसले थाहा पाइसकेको छ । भारतका मिडियाले पनि यो कुरा थाहा पाइसकेको छ त्यसैले केपी ओली विरुद्ध अभियान चलाइरहेको छ ।
यो सबै काम गर्ने, नेपालको राष्ट्रिय स्वाभिमानलाई सगरमाथातर्फ लम्काउने, विश्वमा नेपालको परिचय र पहिचान अनि इज्जत बढाउने हिम्मतिला नेता केपी ओली दुई पटक मृगौला फेरिसकेका व्यक्ति हुनुहुन्छ । केपी ओलीको स्वास्थ्यले साथ दिँदैन, त्यसैले उहाँले पद छाड्नुपर्छ भन्ने नेताहरु पनि उत्पत्ति हुने गरेका छन् । हो, केपी ओलीको शारिरिक स्वास्थ्य राम्रो छैन । प्रतिनिधि सभामा उहाँले घन्टौं बोल्नुभयो तर पूरै समय उभिएर बोल्न सक्नुभएन । कुर्सीमा बसेर बोल्नुभयो । यसमा केही कुरा विचारणीय छन् ।
याे लेखकाे भिडियाे पनि हेराैं
केपी अाेलीले धेरै बेर बाेल्न उभिएर बाेल्न गाह्राे हुन्छ, बसेर बाेल्न मिल्छ कि भनी प्रतिनिधि सभा बैठकमा सभामुखलाई भन्नुभयाे । उहाँकाे याे अाग्रह सुनेर त्यहाँ धेरै खालकाे हासाे देखियाे । केहीले 'मेराे पालाे अाउने भाे' भन्ने भावमा हासे । केहीले शकुनी हासाे हासे । ककसकाे अनुहारमा कस्ताकस्ता भाव देखियाे भन्ने भिडियाेमा हेरे छर्लङग हुन्छ । तर, त्याे कुर्सीमा बसेर केपी अाेलीले जे बाेल्नुभयाे त्याे नेपालकाे इतिहासकाे एेतिहासिक क्षण भएकाे छ, एेतिहासिक अभिव्यक्ति भएकाे छ । त्यहाँ उहाँकाे अभिव्यक्तिले काेराेना विपद्का बेला पनि देशमा उर्जा सञ्चार गरेकाे छ ।
स्वास्थ्य सद्दे भएका विगतका प्रधानमन्त्रीहरुले केके गरे ? मृगौला फेरेका केपी ओलीको प्रधानमन्त्रीत्व कालमा केके भइरहेछ ? तुलना गरेर हेरौं । तीन घन्टा उभिन नसक्ने केपी ओली प्रधानमन्त्री पदमा रहँदा केके काम भइरहेको छ अनि दिनभरी उभिन सक्ने विगतका प्रधानमन्त्रीका पालामा केके काम भयो ? यो पनि हेरौं । यो सबै तुलना गरेर बुझौं– प्रधानमन्त्री तिघ्राले भइने होइन, ठूलो पाखुरा भएको मानिस प्रधानमन्त्री बन्दैमा केही हुँदैन । ठूलो छाति, दह्रिलो मुटु, आँट हिम्मत साहस, सकारात्मक सोंच, ‘देशका लागि केही गरौं–मर्न पर्छ भने मरौं’ भन्ने भावना भएको प्रधानमन्त्री चाहिन्छ । केपी ओलीको शरीर कमजोर होला तर मन भने आफ्नो देश र जनताका लागि जस्तोसुकै कुर्बानी गर्न सक्ने निस्वार्थ छ भन्ने बारम्बार प्रमाणित हुँदै आएको छ ।
यस्ता प्रधानमन्त्री मंगलबार प्रतिनिधि सभामा अढाई घन्टा भन्दा धेरै समय बोल्नुभयो । सांसद्हरुको अनेक प्रश्न सामना गर्नुभयो । उहाँको हरेक वाणीमा देश र जनता झल्किएको थियो । हरेक वाक्यमा नेपालको स्वाभिमान र सम्मानका लागि निष्ठा देखिएको थियो । स्वास्थ्य स्थिति राम्रो भएको भनिएका विगतका प्रधानमन्त्रीहरुले भारतको बारेमा प्रतिनिधि सभामा बोल्दा लगलगी र थरथरी कामेका हामी नदेखेका हौं र ? भारतको बारेमा बोल्न पर्दा जिब्रो कामेको हामीले नबुझेका हौं र ? तर, खुट्टा काम्यो भनेर कुर्सीमा बसेर बोल्नुभएका प्रधानमन्त्री ओलीको वाणीले यहाँ धेरैकाे मुटु कामेको छ ।
मानिस खुट्टाले बोल्दैन । मुख, ह्रदय र बुद्धिले बोल्ने हो । केपी ओलीको मुख, ह्रदय र बुद्धि मंगलबार प्रतिनिधि सभामा पनि देखियो । नेपालको नयाँ नक्सा जारी गर्दा झन् गजबसँग देखियो । नेपालमा प्रधानमन्त्री धेरैजना भए, सिंहदरबारको भित्तामा कैयनले आफ्नो फोटो टाँसेका छन् । विगतका प्रधानमन्त्री सबै नालायक थिए भन्न खोजिएको होइन तर केपी ओली जति लायक, देशभक्त, बुद्धिमान र हिम्मतिला प्रधानमन्त्री चाहिँ विगतमा भएनन् । हुनत सिंहदरबारको भित्तामा अरु कुनै देशका सपुत तर नेपाल देशका चाहिँ कपुतहरुले पनि आफ्नो फोटो टाग्न सफल भएका छन् । त्यस्ता कपुतहरुले केपी ओली विरुद्ध प्रहार गर्न न्वारानदेखिको बल लगाउनेछन् ।
निष्कर्ष
अब केपी ओलीमाथि प्रहार कडा हुनेछ । भारतीय मिडियाले गरेजस्तै दुष्प्रचार यहाँ तिनका ‘भाइ मिडिया’हरुले गर्नेछन् । जी न्यूज र आज तक जस्ता भारतीय पहेंलो मिडियाका नेपाली अवतारहरुले केपी ओली विरुद्ध घृणानिन्दा अभियान चलाउनेछन् । काेराेना महामारीलाई बिर्साउने गर घृणानिन्दाकाे महामारी फैलाउने छन् ।
भारतीय नेताहरुले नेपाल देश तथा प्रधानमन्त्री केपी ओली विरुद्ध विष ओकलिरहेका छन् । यहाँ तिनका ‘छोटे भाइ’ हरु छन् । उनीहरुले ‘बडे भाइ’को आज्ञाकारी बन्दै केपी ओली र वर्तमान सरकार माथि प्रहार केन्द्रीत गर्नेछन् । खासखास प्रजातिका नेपाली मिडिया र छोटे भाइ नेपाली नेताहरुको लोलीबोली मिल्नेछ ।
कोरोना फैलिएर मानिस मरुन्, हाहाकार होस् अनि केपी ओली असफल भन्दै दावी गर्न पाइयोस् भनी भाकल गर्दै बसेका प्राणीहरुले अब ‘नेपालको नक्सा जारी गर्नु ठिकै हो तर...’ भन्दै जनतामा भ्रम फैलाउनेछन् । तिनले 'तर' भन्ने शब्दपछि जेजे बाेल्छन् त्याे स्वदेशी बाेली हाेइन भन्ने बुझ्नु जरुरी छ ।
केपी ओली नेतृत्वको सरकार गिराउने प्रयास असफल भए लगत्तै भारतले कालापानी लिपुलेक क्षेत्रमा नेपाली भूमि मिचेर बनाएको सडक उद्घाटन गरेको तथ्यलाई अर्थपूर्ण तरिकाले ध्यान दिइनुपर्छ । नेपालले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको परिस्थितिलाई ध्यानमा राखेर केपी ओली सरकार गिराउने नयाँ खालको षडयन्त्र हुनसक्छ । नेपालमा कसैले नसोचेको प्रकारको अप्रत्यासित अनिष्ट गराइन सक्छ ।
काेराेना महामारी विरुद्ध लड्न र नेपालकाे राष्ट्रियता रक्षा गर्दै सबै छिमेकीसँग समानताकाे अाधारमा न्यायपूर्ण सम्बन्ध राख्न अहिले केपी अाेलीकाे विकल्प छैन भन्ने जनताले बुझिसकेका छन् । दिल्लीमा रिमोट दबाएर काठमाडौंमा राजनीति चल्ने युग केपी ओलीको हातबाट अन्त्य भइसकेको छ । त्यसैले कालो कोठामा बसेर सरकार गिराउने हर्कत् पनि सफल हुने छैन । किनभने सरकार गिराउनु पहिले केपी ओलीलाई लाखौंलाख नेपालीको मनमष्तिष्कबाट गिराउनुपर्छ, ह्रदयबाट निकाल्नुपर्छ । तर, यो सम्भव छैन । तैपनि जनमनबाट केपी ओलीलाई गिराउन भयानक दुष्प्रचार चलाइनेछ र त्यस्तै दुष्प्रचारमा रमाएर एकथरी मानिस बसिरहनेछन् ।
