–अर्जुन खनाल–
नेपालमा विभिन्न कालखण्डमा धेरै प्रकारका आन्दोलन भए । आन्दोलनले पुराना संरचना ढलाउँदै नयाँ संरचना निर्माण गरे । कतिपय संरचनाका भित्ता फेरिँदै नयाँ नयाँ ठाउँमा झ्यालढोका राख्दै निकाल्दै गर्ने काम पनि भए । यस्तै योजना र कार्यदिशा परिवर्तन गर्दै हामी आजको दिनमा प्रवेश गरेका छौँ ।
धेरैको रगत पसिनाको प्रतिफल आजको दिन हो । छोटो समयमा नेपालमा धेरै सिद्धान्त प्रयोग भएका छन्, धेरै प्रयोगशाला निर्माण र भंग भएका छन् । बिजुली बत्तीको निर्माण गर्दा थोमसले धेरै प्रयोगशालामा प्रयोग गर्दै जाँदा आज उज्यालो प्रकाश दिने काविल बत्तीको आविष्कार भएको हो ।
मानिस आशावादी प्राणी हो । भोलि के हुने थाहा छैन, मृत्युको एक सेकेण्ड अघिसम्म पनि मानिसले सपना देख्न छाड्दैन र आफूलाई पूर्ण पनि देख्दैन । यस्तै विभिन्न कारणले मैले मेरो पूर्ण गणतन्त्र देख्न नसकेको हुन सक्छ ।
मैले देख्ने गणतन्त्र र अरुले देख्ने गणतन्त्रको आवरण फरक परेकाले पनि मैले कल्पना गरेअनुसारको गणतन्त्र देख्न नसकेको हुनसक्छ । यसमा मेरो दृष्टिभ्रम पनि हुनसक्छ । म एउटा व्यवस्थापनको विद्यार्थी भएको नाताले मेरो नजर प्रतिफलमा गएको पनि हुनसक्छ । विषयगत रुपमा कुनै पनि क्षेत्रमा लगानी गरेपछि त्यसबाट प्रत्यक्ष देखिनेगरी प्रतिफल आउनुपर्छ ।
अर्थशास्त्रको भाषामा कुनै दुईवटा बस्तुको छनोटगर्दा सम्बन्धित वस्तुबाट प्राप्त गर्ने उपयोगिताको आधारमा छनोट गरिन्छ । धेरै सन्तुष्टि जुन बस्तुबाट प्राप्त गर्छौ, त्यसलाई छनोट गरी प्राप्त गर्न खोज्नु मानवीय विशेषता हो । यसै कारण आम मानिसले देखेको गणतन्त्र सबैले आत्मसात गर्ने खालको र मन छुने खालको हुनुपर्छ । यो आजको आम चाहना र आवश्यकता हो ।
पहिलाको र अहिलेको शासन व्यवस्था एउटै मार्गमा चलाउन खोजियो भने हामीले देखेको मुकाममा पुग्न सक्दैनौँ । पूर्व जानको लागि पश्चिमको बाटो तय गरियो भने कहिल्यै गन्तव्यमा पुगिदैन । जनताको साथ र सहयोग निरन्तरताको लागि नभई क्रमभङ्गताको निम्ति हुनेगर्दछ । जनताको अधिकार जनता मै अधिनस्त राख्नका निम्ति हो । हाम्रो संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख नेपालको संविधान भनेका छौ । गन्तव्यमा पुग्न सहि बोटो हिँड्नै पर्छ ।
नेपालमा २००७ सालमा निरंकुश राणा शासनलाई घुडा टेकाइ प्रजातन्त्र स्थापना गरियो । फेरि विभिन्न कालखण्डमा धेरै खालका जालझेललाई चिर्दै आन्दोलनको शैली र नेतृत्व परिवर्तन गर्दै २०४६ सालमा भएको जन आन्दोलनबाट पञ्चायती व्यवस्था ढाली राजा सहितको प्रजातन्त्रको पुर्नस्थापना भयो ।
संवैधानिक राजतन्त्रले पनि नेपाली जनतालाई दुःख दिने र मनोभावनामा कुठाराघात गर्ने काम बारम्बार गरिरह्यो । संवैधानिक रुपमा राखेको राजतन्त्रले निरंकुशता लाद्न खोज्दा नेपाली जनताले प्रतिकार गरे । परिणाम स्वरुप ०६२⁄६३ को आन्दोलनबाट राजतन्त्र पनि कहिल्यै उठ्न नसक्ने गरी ढल्यो ।
जनताको चाहना अनुसार शासन व्यवस्था परिवर्तन गरि देशमा गणतन्त्र स्थापना गरिएको छ । नेपाली जनताको जननिर्वाचित सरकार छ । यो व्यवस्था नेपाली जनताको रगत, पसिना र बलिदानले स्थापना भएको हो । यो आन्दोलनमा मेरो पुस्ता पनि अग्र स्थानमा लागेकै हो । यो आन्दोलन सफल हुनका पछाडी मेरो पुस्ताको प्रत्यक्ष योगदान छ ।
आफ्नो रगत पसिना बगाएको भएरै होला अरु तन्त्र भन्दा गणतन्त्र सुन्दर होस् ,सबैको होस् भन्ने चाहना हुँदो रहेछ र माया पनि धेरै हुँदो रहेछ ।
हाम्रो घरमा तीन पुस्ताले एकएक वटा आँपको बिरुवा लगाएका छौं । तुलनात्मक रुपमा हजुरबुबा र बुबाले लगाएको भन्दा आफूले लगाएको बिरुवामा धेरै माया लाग्छ । त्यसको संरक्षण पनि र हेरचाह पनि बढी नै गरिन्छ । यसबाट पनि के स्पष्ट हुन्छ भने अरु राजनीतिक आन्दोलनबाट प्राप्त गरेको उपलब्धि भन्दा मेरो आफ्नै सक्रिय सहभागितामा सम्पन्न भएको आन्दोलन र प्राप्त भएको गणतन्त्रको अझ बढी माया, चासो र चिन्ता लाग्नु स्वाभाविक हो । यो एउटा मानवीय गुण पनि हो ।
म ०६२⁄६३ को आन्दोलनमा विद्यालय तहमा अध्ययन गर्दै थिएँ । तत्कालीन समयमा हामी चितवनको गुञ्जगगर गाविसको बासिन्दा थियौँ । म लगायत मेरो परिवार पनि आन्दोलनमा सहभागी थियो । अहिले विश्वविद्यालयमा अध्ययन गर्दा पनि मेरो गणतन्त्रको भोक पूर्ण नहुनु र मेरो सपनाले मूर्तरुप लिन नसक्नु मेरो लागि पीडादायी नै भएको छ ।
राज्यव्यवस्था नै परिवर्तन गर्ने कुरा सामान्य अवस्था होइन । त्यो आन्दोलनको प्रमुख दायित्व नै समाज परिवर्तन र समतामूलक राज्यको स्थापना लागि थियो । रिमोट कन्ट्रोलको भरमा रातारात समाज परिवर्तन हुन्छ र गर्नुपर्छ भन्ने मेरो आशय होइन, तर सगरमाथाको चुचुरोमा पुग्न सोलुखुम्बु जाने यातायातमा चढ्नुपर्छ मात्र भनेको हुँ । मेरो दृष्टिकोणमा हामी अहिले बसपार्कमा कुन बस चढ्ने भनेर दोधारमा छौँ ।
मैले कल्पना गरेको मेरो गणतन्त्रमा कुर्सीमा बस्ने व्यक्तिसँगै उसको चरित्र पनि परिवर्तन गर्न खोजिएको हो । ०६२⁄६३ आन्दोलनपछि नेपालमा १० औँ सरकार परिवर्तन भएर अहिले ११ औँ सरकारले निरन्तरता पाइरहेको छ । के नेपाली जनताले यसैको निम्ति गणतन्त्रको कल्पना गरेका थिए त ? के नेपाली जनताको चाहना यहि थियो त रु यस्ता यावत प्रश्नको उत्तर कसले दिने ? हामी आन्दोलनकारीले दिने कि नेतृत्वले ? आज बल्ल ११ औं सरकारको पालामा आएर मात्र नेपाली जनताले स्थिर सरकारको अनुभव गर्न लागेका छन् । केही शुभ संकेत पनि प्राप्त गरेका छन् । यो सरकार दीर्घजीवि होस् , हामी आममानिसको चाहना यहि हो ।
नेतृत्वको हिसाबले यो सरकारबाट मानिसहरु बढीनै आशावादी छन् । आजसम्मको मेरो गणतन्त्र नारामा मात्र सिमित भएको तितो यथार्थ हो । गणतन्त्रको मार्गअनुसार दिशानिर्देशीत सरकार आएको आम मानिसले अनुभव गर्दै आएका छन् तर सरकार खतरामुक्त भने भइसकेको छैन ।
अहिले पनि आन्तरिक रुपमा लोभले भरिएको घिनलाग्दो समीकरण र घटनाको संकेत नदेखिएको होइन । अस्थिरतामा रमाउनेहरु मरिमेटेर सरकारलाई असफल गराउन लागेका छन् । कतै यो व्यवस्था हटाउन सकिन्छ कि भनेर धुप हालेर बसेका छन् । यो कुरा सबैलाई अवगत नै छ ।
त्यसैले सरकार अझ प्रभावकारी र विवेकपूर्ण रुपमा अगाडि बढ्नुपर्ने देखिन्छ । बल्लतल्ल अलि अलि पालुवा लाग्न लागेको गणतन्त्रलाई कुल्चने काम गर्दै छन् कि भनेर अझ चनाखो र अझै सुदृढ भएर अगाडि बढ्नुपर्ने साझा दायित्व र संकल्प अहिलेको आवश्यकता बनेको छ ।
यही व्यवस्थाबाट मात्रै नेपालीले देखेको सपनालाई मूर्तरुप दिन सक्छौँ । स्थायित्व नै गणतन्त्रको संरक्षण र विकास हो । नीति केन्द्रित योजना तर्जुमामा लाग्नु नै आजको आवश्यकता हो । यसले यो व्यवस्थालाई संस्थागत रुपमा अझ सशक्त , मजवुत र जनजनको मनमा अटाउन सक्ने बनाउँछ । जसले हाम्रो संविधान जस्तै गणतन्त्रको स्वरुप पनि अरु राष्ट्रको निम्ति उदाहरणीय बन्न सक्छ ।
अन्त्यमा हाम्रो भाविपुस्ताले राजनैतिक आन्दोलनमा अब समय व्यतित गर्न नपरोस् । कुनै द्विविधा नभएको र विकास निर्माणमा आमूल परिवर्तन गर्न सक्ने वातावरणको निर्माण होस् । जब हामीले व्यवहारिक रपमा नै सुखी नेपाली समृद्ध नेपाल निर्माण कार्यलाई सार्थक बनाउने छौँ तबमात्र मेरो गणतन्त्र पूर्ण हुनेछ ।
गणतन्त्र दिवसको अवसरमा ज्ञात अज्ञात सहिद प्रति श्रद्धासुमन व्यक्त गर्छु । वीर सहिदहरु अमर रहुन्, गणतान्त्रिक नेपाल जिन्दावाद् ।
