काठमाडाैं । संक्रमितलाई अस्पताल लैजान खोज्दा रौतहटमा ७ सय बढी स्थानीय सडकमा निस्किएर विरोधमा उत्रिए । स्थानीयबाट ढुंगामुढा हुन थालेपछि प्रहरीले दर्जन राउण्ड हवाई फायर गर्नुपर्याे ।
रौतहटको ईशनाथ–७ जोकाहा स्थित अनवारुल इस्लामिक मदरसालाई क्वारेन्टाइन बनाइएको थियो । त्यहाँका दुईजनाको पीसीआर जाँच गर्दा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल लैजान लाग्दा यो अवस्था सिर्जना भयो ।
बाँकेको लक्ष्मणपुरमा एकजना संक्रमितलाई एम्बुलेन्समा ल्याउन प्रहरीलाई सात घण्टा लाग्यो । स्थानीयले ढुंगामुढा गरेपछि नेपाली सेनाको सहयोगमा संक्रमितलाई नियन्त्रणमा लिइयो ।
बाँके नरैनापुरमा ९ जना संक्रमितलाई स्थानीयले भगाए । गाउँलेले भगाएका संक्रमितलाई खोज्न प्रहरी नै परिचालन गर्नुपर्याे। नेपाल–भारत सिमानाबाट उनीहरुलाई प्रहरीले पक्राउ गर्याे ।
नरैनापुरका कतिपय संक्रमित ‘पैसा छुटेको’ बहाना बनाएर घरभित्र जान्थे । अनि, घरबाहिर स्थानीय जम्मा भएर आन्दोलन गर्न थाल्थे । उनीहरुको माग हुन्थ्यो–‘संक्रमितलाई अस्पताल लैजान पाईंदैन ।’
पर्साको वीरगञ्जका चारजना संक्रमित मुस्लिम धर्मगुरुले ‘हामीलाई केही भएको छैन्’ भन्दै स्वास्थ्यकर्मीलाई थुक्ने सम्मको हर्कत गरे । संक्रमितको त्यस्तो हर्कतपछि नारायणी अस्पताल प्रशासनले उनीहरुलाई आइसोलेशन कक्षमा राखेर ताल्चा लगाई दियो ।
कोरोना कम्युनिटी लेभलमा फैलीरहँदा यस्ता समस्या दैनिक बढिरहेका छन् । संक्रामक रोग ऐन–२०२० अनुसार कसैलाई रोग सार्न पाईंदैन् । तर, संक्रमितलाई अस्पताल लैजान प्रहरी परिचालन गरेर पक्राउ गर्नुपर्ने अवस्था जति बढ्छ, त्यति नै कोरोनाको संक्रमण बढ्दै जान्छ । यस्तो किन भइरहेको छ ?
भारतबाट फर्किएका र कन्ट्याक्ट ट्रेसिङबाट कोरोना संक्रमणको रेड जोनमा परेका एक लाखभन्दा बढी क्वारेन्टाइनमा छन् । अस्पतालको आइसोलेशनमा राखेका बिरामी भाग्छन् की भनेर प्रहरी गेटमा कुरेर बस्नुपर्छ । क्वारेन्टाइनमा राखिएका व्यक्ति भाग्लान् कि भनेर हेर्न प्रहरी परिचालन गर्नुपर्ने अवस्था छ ।
डर, त्रास र चेतनाको स्तर
भारतको मुम्बई, मद्रास र महाराष्ट्रबाट फर्केका नाै सय जनालाई बाँकेको नरैनापुरका १७ वटा क्वारेन्टाइन क्याम्पमा राखियो ।
क्वारेन्टाइनमा क्षमताभन्दा बढी मानिस थिए, सुविधा थिएन । क्वारेन्टाइनमा धमाधम संक्रमण देखिएपछि स्थानीय आन्दोलनमा उत्रिए । स्थानीयको माग थियोे–‘क्वारेन्टाइन र अस्पतालको आइसोलेशन हैन, हाम्रा बिरामीलाई आफ्नै घरमा राख्छौं ।’ स्थानीय डर र त्रासमा छन् । अस्पतालमा आफ्नो विरामीको उपचार हुनेमा उनीहरुलाई शंका छ ।
‘कोरोना संक्रमित र उनीहरुको परिवारमा डर र त्रास चाहिँ छ’ मनोविद् कृपा सिग्देल भन्नुहुन्छ–‘क्वारेन्टाइन अव्यवस्थित भएको म्यासेज आइरहेको छ, आइसोलेशनमा इम्युनिटीका लागि आवश्यक खानासमेत नभएको खबर आएको हुनाले डर त्रास अझै बढाइरहेको छ ।’
संक्रमित र उनका परिवारले सोध्छन्,–‘हाम्रो बिरामीमा कुनै लक्षण देखिँदैन, किन अस्पताल पठाउने ?’ तर सरकारी निकायले कोरोनाको जोखिम र त्यसको असर बारे समुदाय स्तरमा आवश्यक सचेतनाको कार्यक्रम लैजान सकेको छैन् ।
‘जम्मा १४ दिन कसैलाई नछोई बसेमा कोरोना निको हुन्छ भन्ने आमबुझाई छ’ मनोविद् सिग्देल भन्नुहुन्छ–‘एकोहोरो क्वारेन्टाइनमा बस्नुपर्छ भनिएको छ, तपाई बाहिरबाट आएको हुनाले संक्रमणको चान्सेज बढी हुन्छ त्यसैले क्वारेन्टीनमा बस्नुपर्छ भन्ने चेतना समुदायमा दिन जरुरी देखिन्छ ।’
कमजोर चेतनाको स्तर, क्वारेन्टाइन र आइसोलेशनको कमजोर ब्यवस्थापनले सिर्जना गरेको त्रासका कारण कोरोना भाइरस न्युनिकरण भन्दाथप फैलावटको जोखिम बढ्दै गएको छ ।
क्वारेन्टाइनमै संक्रमणको त्रास !
नेपालसँग सिमाना जोडिएको भारतको बिहार र उत्तरप्रदेशमा रेड जोनमा परेका दिनभर क्वारेन्टाइनमा बस्छन् । अनि, राति सुत्न घरमा जान्छन् ।
उत्तर प्रदेश र बिहारका क्वारेन्टाइनमा पनि खानेबस्ने सुविधा नभएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
नेपालमा पनि त्यही समस्या देखिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सीमावर्ती जिल्लामा कोरोना संक्रमित धेरै देखिएका छन् ।
भारतसगँ सिमाना जोडिएका जिल्लामा बनाएको क्वारेन्टाइन क्याम्प अव्यवस्थित हुँदा त्यहीबाट संक्रमणको त्रास बढ्दो छ । त्यसैले रेडजोनमा परेका शंकास्पद क्वारेन्टाइनमाभन्दा घरमै बस्न चाहन्छन् । तर, सरकारले क्वारेन्टाइनमा राख्न वाध्य पारेपछि झडप र ढुंगामुढाको अवस्था आउन थालेको छ ।
‘घरमै सेफ हुन्छु भन्ने आम बुझाई देखिन्छ’ मनोविद् सिग्देल भन्नुहुन्छ–‘ क्वारेन्टाइनको कमजोर ब्यवस्थापनको यसपछाडीको मुख्यकारण हो ।’
क्वारेन्टाइन राम्रो भए रेड जोनमा परेकाहरु त्यहीँ रमाउन सक्ने उदाहरण सिंगापुरले प्रस्तुत गरेको छ । सिंगापुर सरकारले कन्ट्याक्ट ट्रेसिङबाट रेड जोनमा परेकाका लागि ‘क्वारेन्टाइन रिसोर्ट’ बनाएको छ । जहाँ रेड जोनमा नपरेका मानिस पनि क्वारेन्टाइनमा बस्न पुग्छन् । सामाजिक दुरी सहित अत्याधुनिक सुविधा सहितका त्यस्ता क्वारेन्टाइनबाट संक्रमण सर्दैन ।
नेपालको कमजोर व्यवस्थापन भएका क्वारेन्टाइनबाटै संक्रमण हुनसक्ने त्रास बढ्दो छ । आइसोलेशनमा पानी र चाउचाउको भरमा बस्नुपर्ने बाध्यताका कारण संक्रमितले त्यहाँ बसेर कोरोना जितिन्छ भन्ने आत्मवल गुमाउन थालेका छन् ।
‘सुविधा छैन, पुलिस लगाएर मात्र हुँदैन’
यो समस्या भारतमा पनि छ । क्वारेन्टाइनमा कुनै सुविधा नभएपछि रेड जोनमा परेका भाग्ने गरेका छन् । अहिले आमगुनासो के छ भने,–‘क्वारेन्टाइनमा खाने बस्ने सुविधा छैन ।’
अस्पतालको आइसोलेशनको अवस्था त्यस्तै छ । मेडिकल सुविधा छैन, अनि प्रहरी लगाएर मान्छे भाग्न नदिनु भनेर मात्रै हुँदैन ।
अर्को कुरा, रोगसँग लड्ने र बिरामीसँग सम्बन्धित काम स्वास्थ्यकर्मीले गर्ने हो, त्यहाँ सुरक्षाकर्मी प्रयोग गरेर हुँदैन । यहाँ समस्या सरकारी व्यवस्थापनको छ तर, पुलिसले झेल्नुपरेको छ । त्यसबाट पुलिस वदनाम हुँदै छ ।
संक्रमितसँग स्वास्थ्यकर्मीले डिल गर्नुपर्छ । तर, यहाँ रेड जोनमा परेकालाई पुलिसको गाडीमा लाने, पक्राउ गर्ने गर्दा अब सुरक्षा एजेन्सी माथि खतराको घण्टी बजिसकेको छ ।
युनिटका युनिट प्रहरीलाई संक्रमण हुनथालेको छ । यसमा कालीमाटी प्रहरीलाई उदाहरणको रुपमा लिन सकिन्छ । यसरी प्रहरी युनिट नै सिल गर्नुपर्ने अवस्था आएपछि सुरक्षा ग्याप हुँदै जान्छ ।
पहिले र अहिलेको पुलिस डिप्लोयमेन्ट फरक हुनुपर्छ । बिरामीसँग सम्बन्धित कुरामा डाक्टर नै सहभागी भएर काउन्सेलिङ गर्नुपर्छ । क्वारेन्टाइन र आइसोलेशन वार्डको क्षमता विस्तार गरे यसरी संक्रमितलाई अस्पताल ल्याउन प्रहरीले ढुंगामुढा झेल्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।
