गाेबिन्द थापा-
केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन अनेक षडयन्त्र गरिएको थियो, त्यस्ता सबै षडयन्त्रलाई परास्त गर्दै नेपाली जनताले उहाँलाई पहिलो पटक प्रधानमन्त्री बनाएका थिए । तर, केही महिनामै अपदस्त गरिएको थियो । नाकावन्दी विरुद्ध तथा नेपालको हितको पक्षमा चट्टानी अडान लिनुभएका ओली नेतृत्वको सरकार किन अपदस्त गरियो, कसले षडयन्त्र गरेको थियो भन्ने खुल्ला इतिहास हो ।
केपी ओलीलाई अपदस्त गरिएपछि उहाँ बालुवाटारको सरकारी निवास छाडेर भक्तपुर बालकोट स्थित आफ्नै निवासमा जानुभयो । बालुवाटारबाट बालकोट निवास जाँदा सडकमा हजारौं नरनारी आएका थिए । ‘धन्यवाद केपी ओली’ भन्दै देश जुरुक्क उठेको थियो ।
त्यो बेला यो पंक्तिकार पनि धन्यवाद केपी ओली भन्ने नारा लगाउँदै बालुवाटारबाट बालकोटसम्म गएको थियो । बालकोट निवास बाहिर अपार भीड थियो । सो भीड बीचमा एकजना विद्धान भेटिनुभयो । उहाँले भन्नुभयो– ‘गोविन्द भाई, तपाईं त केपी ओलीकै निर्वाचन क्षेत्रको हुनुहुन्छ । देशहितको पक्षमा उभिने नेताले नेपालमा सेरिएर मर्नुपरेको, हत्याको सिकार बन्नुपरेको इतिहास छ । त्यसैले केपी ओलीको सुरक्षाको चिन्ता लागेको छ । अतितमा मारिने देशभक्त नेताहरुकै नियति केपी ओलीले भोग्न नपरोस्, यो सन्देश केपी ओलीलाई सुनाइदिनुहोला ।’
पूर्व परिचित ती विद्धान मित्रको कुरा सुनेर मलाई रिंगटा लाग्यो । हो, नेपालको इतिहास भनेको राजनीतिक हत्याको इतिहास हो । हाम्रो इतिहासको पाना देशभक्तहरुको षडयन्त्रपूर्ण हत्याले रंगिएको छ ।
तत्कालीन राजा बीरेन्द्रको वंशनाश किन र कसरी गरियो भन्ने अज्ञात छ । नेपालको राजपरिवारमा हत्या मारकाट सामान्य थियो । राजतन्त्रको इतिहास हेर्ने हो भने आफ्नै परिवार मारेर शासन हत्याउने परम्परा देखिन्छ । नेपालको राजपरिवारमा पनि यस्तो दुर्दान्त परम्परा थियो । अतितमा राजनीति भनेकै छलकपट, हत्या, मारकाट थियो । तर, राजनीतिक हत्या राजपरिवारमा मात्र सीमित थिएन ।
ब्रिटिश भारतसँग लडाईं गर्ने नेता भीमसेन थापाले सेरिएर मर्नुपरयो । देशका लागि लड्ने योद्धा दामोदर पाण्डेहरुले षडयन्त्रबाट मारिनुपरयोे । गगन सिंह, माथवर सिंह थापा, त्रिभुवन प्रधान, अभिमान सिंह बस्नेत, नरसिंह गुरुङ जस्ता देशभक्तहरुलाई अनेक षडयन्त्र गरेर मारियो ।
काठमाडौंको हनुमानढोकामा मानिसको रगतको खोला बगाएर राणा शासन सुरु भएको थियो । राणा शासनकालभरी हत्या मारकाट चलिरह्यो ।
हत्या मारकाट जस्तो अतितको बर्बर तरिका आज पनि नेपालमा यदाकदा प्रयोग भइरहेको पाइन्छ ।
नेपालमा पछिल्लो कालमा सुखानी हत्याकाण्ड गरियो । अन्य धेरै राजनीतिक हत्याकाण्ड गरियो । त्यसपछि मदन भण्डारी र जिवराज आश्रितको हत्या गरियो । पश्चिम नेपालमा कालापानी क्षेत्रमा नेपाली भूमि मिचिएको भनी आवाज बुलन्द गर्ने प्रेमसिंह धामी पनि रहस्यमय तरिकाले मारिए भन्ने कतिपयको भनाई छ ।
आधुनिक नेपालमा राजनीतिक हत्यामा एउटा खास प्रवृत्ति देखिन्छ । देशभक्त, नेपाली राष्ट्रियतालाई माया गर्नेहरुको हत्या हुने गरेको छ । देशभक्तहरुलाई राजनीतिबाट समाप्त पार्ने प्रयास हुने गरेको छ, राजनीतिबाट समाप्त पार्न नसकेको अवस्थामा हत्या हुने गरेको छ । देशभक्त नेताहरु विरुद्ध अनेक षडयन्त्र हुने गरेको छ ।
निश्चय पनि तत्कालीन राजा बीरेन्द्र सामन्तवादका प्रतीक थिए । तथापी, राजा बीरेन्द्र नेपाली राष्ट्रियताका पक्षधर थिए । उनले नागरिकता विधेयक अस्वीकार गरेका थिए भन्ने पनि स्मरणीय छ । नारायणहिटी हत्याकाण्डको पृष्ठभूमिमा नागरिकता विधेयक पनि थियो भन्ने कतिपयको भनाई छ । यो भनाई कति सत्य छ थाहा छैन तर सत्य के हो भने नेपालमा देशभक्तहरुको ज्यान सधैं खतरामा हुने गरेको छ ।
नेपालमा देशभक्त नेताहरुलाई खुइल्याउने, तास्ने, एक्ल्याउने, बदनाम गराउने, समाप्त पार्ने प्रयास हुँदै आएको इतिहास छ । अर्का एकजना विद्धान मित्रले मरिचमान सिंहको प्रसंग सुनाएका थिए । पञ्चायतकालका अन्तिम प्रधानमन्त्री थिए मरिचमान । प्रजातन्त्र आएपछि पूर्व पञ्चहरुले पार्टी खोले तर मरिचमानलाई राखिएन । भारतले नेपाललाई लगाएको नाकावन्दीका बेला उनी प्रधानमन्त्री थिए । त्यसैले भारतले बदला लिन मरिचमानको राजनीति नै समाप्त पारेको ती विद्धान मित्रको भनाई थियो । अर्थात्, नेपालमा देशहितको पक्षमा अडान लिनेलाई राजनीतिक रुपमा समेत समाप्त पारिन्छ ।
ब्रिटिश भारतसँग लडाई गर्ने, नेपालको राष्ट्रियतालाई शिखरमा पुराउने भीमसेन थापा विरुद्ध पनि षडयन्त्र गरियो । सन् १८१४–१६ मा अंग्रेजसँगको युद्धमा नेपाल पराजित भयो । सुगौली सन्धि भयो । भीमसेन थापा सत्तामा यथावत थिए । उनलाई सत्तामा रहन दिँदा भविष्यमा शक्ति संचय गरेर पुन ब्रिटिश भारतको साम्राज्यवादी हर्कत विरुद्ध लडाईं गर्न सक्थे । त्यसैले सुगौली सन्धि पछि षडयन्त्र गरेर भीमसेन थापाको पतन गराइयो । ब्रिटिश भारत विरुद्ध लाग्नेको यस्तो हविगत हुन्छ भनेर सबैलाई तर्साउने काम भयो ।
मरिचमानलाई राजनीतिबाट सदाका लागि पाखा लगाए जस्तै केपी ओलीलाई पनि सदाका लागि पाखा लगाउने प्रयास नभएको होइन । तर, केपी ओलीको साथमा जनता छन् । त्यसैले ओलीलाई भीमसेन थापको नियतिमा पुराउन सकेका छैनन्, मरिचमान बनाउन पनि सकेनन् । बरु, ओलीलाई नेपाली जनताले दोस्रो पटक प्रधानमन्त्री बनाइदिए । दोस्रो पटक प्रधानमन्त्री बनेपछि केपी ओलीले पुन देशहितको झण्डा उठाउनुभएको छ । नेपाल कसैको अधिनस्थ देश होइन, नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो र नेपाललाई हेप्ने, चेप्ने र थिच्ने दुष्चेष्टा कसैले नगरे हुन्छ भनी ओलीले कदम चालिरहनुभएको छ ।
त्यसैले अतितमा देशभक्तहरुले भोग्नुपरेको नियति केपी ओलीले पनि भोग्नुपर्ने हो कि भन्ने चिन्ता सर्वत्र सुनिन्छ । यो चिन्तामा मन बुझाउने ठाउँ के छ भने केपी ओलीको साथमा नेपाली जनता छन्, सिंगो नेपाल छ । तर, षडयन्त्र भनेको बाजा बजाएर गरिँदैन, खुसुक्क गरिन्छ, अनपेक्षित तरिकाले गरिन्छ । त्यसैले केपी ओली आफैंले पनि र समस्त जनताले पनि होशियार हुन जरुरी छ । केपी ओलीलाई रोगले लैजान्छ भनेर आश गरेर तथा भाकल गरेर देशविरोधीहरु बसेका थिए । तर, केपीले रोगलाई जित्नुभयो । अब ओली लामो आयु बाँच्नुहुन्छ भन्ने तथ्य थाहा पाउँदा स्वदेशी विदेशी षडयन्त्रकारीहरु तीनचित खाएका छन् । अब उनीहरुले उभय उपाय प्रयोग गर्न सक्छन् ।
देशभक्त नेताहरु विरुद्ध हुने षडयन्त्र र हत्यामा बुझ्नुपर्ने कुरा के छ भने षडयन्त्रकारी र हत्याराहरु देशभित्रै हुन्छन् । नेपाली नागरिकता धारण गरेका पात्रहरु नै हुन्छन् । उनीहरुलाई विदेशीले प्रयोग गरेका हुन्छन् । जस्तो कि भीमसेन थापाकै कुरा गरौं । सुगौली सन्धि गर्न नेपालले पठाएको गजराज मिश्र अंग्रेजका मानिस रहेछन् । पछि अंग्रेजहरुले यो कुरा खोले । नेपालबाट सन्धि गर्न गएको प्रतिनिधि अंग्रेजको एजेण्ट हुने दुर्दान्त नियतिबाट देशले शिक्षा लिएको देखिँदैन ।
नेपालमा अहिले पनि गजराजहरुको कमी छैन । उभयवेतन खानेहरु नेपालमा धेरै छन् । किलोका किलो जोखेर नागरिकता बेच्ने कर्मचारीहरुले उभयवेतन खाएका थिएनन् कसरी भन्ने ? कर्मचारीतन्त्र र सुरक्षातन्त्रमा उभयवेतन खानेहरु कति छन् भनेर खोज्ने बेला आएको छ । उभयवेतन खानेहरुको पहिचान गर्न सकिएन भने तिनले नेपालको फुली लगाएर विदेशीको षडयन्त्रलाई सघाउँछन् । नेपालका देशभक्त नेताहरुलाई उभयवेतन खाने कर्मचारीतन्त्र र सुरक्षातन्त्रबाट मात्र खतरा छ भन्न चाहिँ मिल्दैन । अहिले उभयवेतन खुवाएर पत्रकारलाई राखिएको छ, अधिकारकर्मी भनाउँदाहरुलाई पालिएको छ, खासखास किसिमका नेतालाई पालिएको छ । उभयवेतन खानेहरुबाट नेपालका देशभक्त नेताहरुलाई खतरा छ नै, देशलाई नै खतरा छ ।
नेपाल देशको गला रेट्न चाहने षडयन्त्रकारीहरुले देशभक्त नेताहरुलाई बदनाम गर्ने अभियान चलाएको हामीले देखिरहेका छौं । नेपाली राष्ट्रिय जागरणका अगुवा केपी ओली नै हो, उहाँको सुरक्षा गर्न सकिएन भने देशले यस्तो नेता पाउन लामो समय लाग्नेछ । त्यसैले केपी ओलीको सुरक्षा राष्ट्रिय चिन्ताको विषय बन्न पुगेको छ ।
