नेपालले भारतीयलाई बचाएर स्वदेश पठाउँदैछ । भारतले नेपालीलाई मर्न जाउ भन्दै नेपाल पठाउँदैछ । यो कोरोना विपत्तिमा नेपालमा रहेका भारतीय नागरिकलाई हामी उच्च सम्मान र सहयोग गरिरहेका छौं । उता भारतले चाहिँ त्यहाँ रहेका नेपालीलाई अमानवीय व्यवहार गरिरहेको छ ।
यो महामारीमा संक्रमित नेपालीलाई भारतले मर्न जाउ भन्दै नेपालको बोर्डरमा ल्याएर अलपत्र छाडिदिन्छ । नेपालले चाहिँ यहाँ भारतीय नागरिक विरामी परे भने अस्पतालमा उपचार गरी निको पारेर सम्मानसाथ स्वदेश पठाउँछ ।
भारत र नेपालमा एकदुईवटा समानता होला तर लाखौं भिन्नता छ । भारतमा मानवता छैन, नेपालमा मानवता छ । नेपाल त्यस्तो देश हो जसले आफ्नो देशमा रहेका लाखौं भारतीयलाई लकडाउनका बेला भोकै परें, पानी पिउन पाइँन, उपचार पाइँन भन्ने अवस्थामा पुर्याएको छैन । आफ्ना नागरिक सरह भारतीयलाई मानवीय सेवा सुविधा दिएको छ नेपालले ।
तर, भारतले के गरिरहेको छ ? त्यहाँ रहेका नेपालीमाथि अत्यन्त अमानवीय व्यवहार गरिरहेको छ । भारतबाट मातृभूमि नेपाल छिर्ने हरेक नेपालीको एउटै भनाई छ– भारतमा हामीले खाना त पाएनौं नै, पानी समेत पाएनौं ।
भारतमा खाना र पानी अनि उपचार नपाएर केही नेपालीले बोर्डरसम्म आइपुगेपछि प्राण त्याग्नुपरेको छ । केहीले मातृभूमि पसेर प्राण त्याग्नुपरेको छ । त्यसरी प्राण त्याग्नेमा एक हुन् होनहार नेपाली युवा बीरेन्द्रकुमार गुरमैता यादव । नेपाल भारत सीमामा भारतीय भागमा ३२ वर्षीय बीरेन्द्रले प्राण त्याग्नुपर्यो । धनुषाको जटही सिमानाकामा यादवको इहलीला समाप्त भयो ।
कोरोना महामारीबाट जोगिन भारतको गुजरातबाट घर फर्किनुभएका यादवको जीवन आफ्नो देश छिर्न नपाई समाप्त भयो ।
बीरेन्द्रकुमारको ज्यान किन गयो ? ३२ वर्षे एक लक्का जवान नेपालीले भारतीय भूमिमा भोकप्यास मेट्न नपाउँदा ज्यान गयो भन्ने तथ्यले भारत लज्जित हुनुपर्ने हो । तर, त्यसो भएको देखिँदैन ।
गुजरातबाट नेपालको सीमासम्म आउँदा बीरेन्द्रकुमारले मानवोचित सुविधा केही पाउनुभएन । नेपालीलाई भारतले लकडाउनका बेला समेत मानवीय सहयोग दिएको छैन ।
लकडाउन लम्बिँदै जाँदा कार्यथलो छाडेर घर फर्किएका नेपालीलाई भारत सरकारले एक छाक खान दिएन ।
बीरेन्द्रकुमारको मृत्यु स्वाभाविक थिएन, भारतमा त्यहाँको सरकार र समुदायले खानसमेत नदिएपछि भोकप्यासका कारण बीरेन्द्रकुमारको निधन भएको हो । भोकभोकै एक त्यान्द्रो सास देशभित्र छिराएर पेटभरी खाने यादवको इच्छा कहिल्यै पूरा नहुने गरी टुङ्गियो ।
बीरेन्द्रकुमारको मृत्युमा भारत सरकार बोल्नुपर्छ, भारत सरकारले क्षमा माग्नुपर्छ । मानवीयताको दृष्टिले हेर्ने हो भने बीरेन्द्रकुमारको निधन कालगतीले भएको होइन, भारतले हत्या गरेको हो ।
नेपाली भूमिमा कोही पनि भारतीयले मानवीय सहयोगको अभावमा ज्यान गुमाउनुपरेको छैन । पानी पिउन र खान पाइनँ भन्ने भारतीय नेपालमा छैनन् । जसरी भारतमा नेपाली काम र श्रम गर्छन्, त्यसैगरी नेपालमा पनि भारतीयले काम र श्रम गर्छन् । नेपालमा भारतीय नागरिकहरुप्रति पूर्ण मानवीय व्यवहार गरिएको छ । तर, भारतमा भने नेपालीप्रति अमानवीय व्यवहार गरिँदैछ । यसको एक ज्वलन्त उदाहरण बीरेन्द्रकुमारको निधन हो ।
भारत सरकार कति अमानवीय छ भन्ने उदाहरण महाकाली नदीमा पनि देखियो । भारतका विभिन्न शहरबाट रातदिन हिँड्दै दार्चुलाको नेपाल भारत सिमाना पुलघाट आइपुगेका नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसबीआई)ले टिक्नखान दिएन । उनीहरुलाई कुट्यो, पिट्यो र लखेट्यो ।
एसबीआईको अत्याचार यति धेरै थियो कि सीमापारी आइपुगेका नेपाली ज्यान माया मारेर महाकाली नदीमा हेलिए । भारतको अमानवीय अत्याचार भोगेर बीरेन्द्रकुमार यादवको नियति भोगेर ज्यान गुमाउनुभन्दा महाकालीमा हेलिएर ज्यान जोखिममा पारेर मातृभूमि पस्नु श्रेयष्कर ठाने ।
जो महाकालीमा हेलिए, भाग्यवश बाँचेर मातृभूमि पसे । केही सय नेपाली त्यसरी भारतीय कहर सहँदै नेपाल आइपुगे । भारतको दिल्लीमा मुस्लिम धार्मिक कार्यक्रम जमातीमा गएका पर्सा जिल्लाका चार जना नेपाली मुस्लिम धर्मगुरुलाई भारतमा पक्राउ गरिएको छ । कोरोना फैल्याएको भन्दै क्वारेन्टिनको नाममा हरियाणा सेन्टर जेलमा राखिएको छ । भारतमा त्यसै पनि मुस्लिममाथि अत्याचार गर्ने गरिएको छ । त्यसमाथि नेपालका मुसलमानलाई भेटेपछि भारतले के छाड्थ्यो, कोरोना फैलाएको भन्दै जेल हालेको छ । रौतहट, बारा लगायतका जिल्लाका १३ जना विद्यार्थीलाई दिल्लीको नुरैना स्थिति एक अपार्टमेन्टमा कोरोना नेगेटिभ देखिँदा समेत ६५ दिनदेखि बन्दी बनाएर राखिएको छ । उनीहरुको नेपाली नागरिकताको प्रमााणपत्र समेत खोसेर राखिएको छ । अब उनीहरुलाई मुद्दा चलाउने रे ।
भारतको उत्तरखण्ड राज्यमा श्रम गर्न गएका ६२ जना नेपालीलाई खानु न पिउनु बनाएर १० दिनसम्म एउटा कोठामा थुनियो । त्यसपछि कञ्चनपुरको सीमामा ल्याई अलपत्र छाडियो । उनीहरु बल्लतल्ल नेपाल भित्रिएर विभिन्न क्वारेन्टिनमा बसेका छन् । उनीहरु भन्दैछन्, ‘मातृभूमि नेपाल आइपुग्यौं, अब मर्न परेपनि आफ्नै माटोमा मरिन्छ ।’
भारतको हरियाणा स्थित एक गेष्ट हाउसमा म्यानेजर रहेका वैतडी जिल्लाको दशरथचन्द नगरपालिका–९ का एक युवा कोरोना महामारीपछि स्वदेश फर्कनुभयो । नेपालले आफ्नो भूमि समेटेर नयाँ मानचित्र सार्वजनिक गरेसँगै भारतमा नेपाली माथिको अपमान र अत्याचार बढेको उहाँको भनाई छ । भारतमा उहाँले अमानवीय व्यवहार भोग्नुभयो । त्यसैले उहाँले अब कुनै हालतमा भारत नजाने, आधा पेट खाएर मातृभूमिमै बस्ने भनेको समाचार सनराइज खबरमा प्रकाशित भएको छ । आइतबार मात्र बाजुरा जिल्लाको बुढीगङ्गाकी २ वर्षीया बालिकाको कोरोनाबाट ज्यान गयो । ती बालिकालाई उनका बाबुआमाले भारतबाट अनेक दुःख सास्ती खेप्दै जेठ १४ गते बाजुरा ल्याएका थिए । नेपाल आउनासाथ ज्यान गयो । भारतमा उपचार पाएको भए ती बालिकाको ज्यान शायद जाँदैनथ्यो ।
लामो यात्रा, खाना बस्नको बेटुङ्गो, गर्मी, भिडभाड तथा असुरक्षित यात्रामा ती बालिकाले के खाइन् होला ? कहाँ सुतिन् होला ? खानपानको अव्यवस्था, गर्मी अनि पर्याप्त हेरचाह नहुँदा उनलाई कोरोनामाथि निमोनियाले पनि भेट्यो । पानी समेत नदिने भारत सरकारले औषधि किन दिन्थ्यो र ! अमानवीय भारत सरकारले दुई वर्षकी बालिकाको हत्या गर्यो ।
यो संकटको बेलामा नेपालले भारतीय माथि चाहीँ कस्तो व्यवहार गरिरहेको छ त ?
उदयपुरको भुल्केमा रहेको मस्जिदमा एकैपटक १२ जना भारतीयमा कोरोना संक्रमण देखियो । उनीहरु मुस्लिम धर्मगुरु थिए । भारतमा भएको भए ती मुस्लिमलाई अमानवीय व्यवहार गरिन्थ्यो । धार्मिक उत्पीडन गरिन्थ्यो । तर, नेपालले ती भारतीयलाई सम्पूर्ण रुपमा मानवीय व्यवहार गर्यो । बिराटनगर अस्पतालमा राखेर उपचार गर्यो । निको बनायो । अनि सम्मानसाथ उनीहरुको देश फर्कायो ।
बीरगञ्जमा भारतको उत्तर प्रदेशका तीन जना नागरिकमा कोरोना देखियो । उनीहरुलाई पनि अस्पतालमा आइसोलेसनमा राखेर उपचार गरियो । मर्न जाउ भन्दै बोर्डरमा लगेर अलपत्र छाड्ने अमानवीय काम नेपालले गरेन । नेपालले नागरिकता हेरेन, मानवीयता हेर्यो ।
वर्दियाको कोठघाटको क्रशरमा काम गर्ने २ जना भारतीयमा पनि कोरोना देखियो । उनीहरुलाई नेपाल सरकारले भारतको सीमामा लगेर लात्ताले हानेर पठाएन । बरु, ससम्मान उपचार गर्यो ।
विश्व स्वास्थ्य संगठनले भनेको छ– ‘कोरोना कहरमा कसैलाई विभेद नगर, विपत्तिको यो घडिमा जो जहाँ छ त्यही देशमा रहन देउ र त्यो देशका नागरिक सरहको सेवा सुविधा र उपचारको प्रवन्ध गर ।’
तर भारतले त्यहाँ रहेका नेपालीलाई घोर अमानवीय व्यवहार गरिरहेको छ । नेपालीलाई अमानवीय व्यवहार गर्दा भारतीय मिडियाले ताली बजाइरहेको छ, समर्थन दिइरहेको छ । जसरी भारत सरकारले मानवता विरोधी व्यवहार गरिरहेको छ त्यसैगरी भारतीय मिडियाले पनि आफूलाई मानवता विरोधी कित्तामा उभ्याएका छन् ।
केही भारतीय सञ्चार माध्यमले नेपालले चिनियाँ भाइरस कोरोना भारत पठाउँदैछ भन्ने घटिया आरोप समेत लगाएका छन् । यस्तो आरोप सुनेपछि भन्न सकिन्छ– विश्वमा सबैभन्दा घटिया मिडिया भारतमा छ ।
तर, कालक्रमले के देखायो भने भारतले चाहिँ नेपालमा कोरोना पठायो, नेपालले भारत हैन ।
भारत र भारतीयको हेपाहा र मिचाह प्रवृत्ति नेपाल र नेपालीले कति सहने ? सिमानामा आएर जंगे पिल्लर उखेल्दा पनि सहनु पर्ने, नेपाली भूमि मिचेर भारतीय सेनाको क्याम्प राख्दा पनि सहिदिनु पर्ने, नेपाली भूमिमा आई भारतीय सीमा सुरक्षाबलले नेपालीलाई हातपात गर्दा पनि मौन बसिदिनुपर्ने । अझै कति सहने भन्ने प्रश्न हरेक नेपालीको मनमा उठिरहेको छ ।
हुनत नेपालसँग मात्र नभएर सबै छिमेकीसँग भारतको सम्बन्ध कहिले पनि राम्रो थिएन र अहिले पनि राम्रो छन । जित्नेलाई मिच्ने र नजित्नेसँग झुक्ने भारतीय नीति रहँदै आएको छ । तर, केपी शर्मा अोलीको नेतृत्वमा नेपालले भारतसँग नझुक्ने नीति लिएको छ । नेपालको यो स्वाभिमानी नीति भारतलाई रुच्ने र पच्ने कुरै भएन ।
