काेमल अर्याल-
अर्बाैं डलर लगानी भएको छ गत २० वर्षमा विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन शिक्षाका लागि । सन् २००० पछि विश्वमा विपदका जति पनि ठूला घटना भएका छन् ती सबै घटना पछि संयुक्त राष्ट्रसंघीय निकायहरु, विश्व बैंक, एसियाली विकास बैंक लगायतका अन्तराष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरु विपद विरुद्ध लडिरहेका छन् ।
उनीहरुले आफूलाई विपद जोखिम न्यूनीकरण व्यवस्थापन क्षेत्रमा अग्रणी भूमिकामा उभ्याउँदै आएका छन् । विभिन्न तरिकाबाट आर्थिक स्रोत जम्मा गरी विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विभिन्न खाले कार्यक्रम चलाइरहेका छन् । व्यापक जनसहभागितामा कार्यक्रम सम्पन्न भएको प्रतिवेदन तयार पारी इन्टरनेट र आफ्नो दराजमा राखिरहेका पनि छन् ।
धनी तथा विकसित देशहरुले नयाँ युग र समय अनुसार नयाँनयाँ विषय तथा क्षेत्रहरुको पहिचान गर्दै त्यस्ता विषयमा विज्ञहरु तयार पारिरहेका छन् । त्यस्ता देशका विश्वविद्यालयहरुले विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन शिक्षालाई उच्च प्राथमिकता दिँदै अगाडि बढाएका छन् । उनीहरुले यो विषयलाई आउँदो युगको एक प्रमुख आवश्यकता ठान्दै व्यापारीक दृष्टिकोणबाट समेत लगानी गरी हजारौंको संख्यामा विपद जोखिम व्यवस्थापन विज्ञहरु उत्पादन गरिरहेका छन् ।
धनी देशका त्यस्ता विश्वविद्यालयहरुले विपद जाखिम न्यूनीकरण एवं व्यवस्थापन विषयमा अध्ययन अनुसन्धान गराइरहेका छन् । अध्ययन अनुसन्धानको काममा लगाएर ती विश्वविद्यालयहरुले विपद व्यवस्थापनको क्षेत्रमा विज्ञहरु उत्पादन गरिरहेका छन् । तर, नेपाल सहित कैयन देशहरुमा विपदको अवस्था आएपछि विपद व्यवस्थापनको कुनै ज्ञान र शिक्षा नभएका, त्यस्तो क्षेत्रमा कुनै अनुसन्धान नगरेका मानिसलाई विज्ञका रुपमा अगाडि सार्ने गरिन्छ । नेपाल सहित तेस्रो विश्वका देशहरुमा विज्ञताको एक मुख्य आधार नै राज्यसत्ताको उच्च तहमा बसेकाहरुसँगको सम्बन्ध हो । सम्बन्धका आधारमा राज्य संयन्त्रले विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापनको क्षेत्रमा कुनै ज्ञान र शिक्षा नभएकाहरुलाई जिम्मेवारी दिने गरेको छ ।
नेपालको सन्दर्भमा विगत अशान्ति कालमा द्धन्द विषयमा कुनै ज्ञान नभएका मानिसहरु पनि ‘द्धन्दविद्’, ‘द्धन्द विशेषज्ञ’ जस्तो भूमिकामा प्रकट भएको धेरैलाई सम्झना हुनुपर्छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा पनि अहिले यस्तैयस्तै खालको अवस्था देखिन्छ ।
विपद ओखिम न्यूनीकरण एवं व्यवस्थापन कति संवेदनशील विषय हो भन्ने अहिलेको कोरोना महामारीको बेला ब्याख्या गरिरहन नपर्ला । विपद न्यूनीकरण एवं व्यवस्थापन कार्यको महत्व विश्वभरीका मानिसले अहिले बुझिरहेका छन् । तर, यति महत्वपूर्ण र संवेदनशील क्षेत्रमा यो विषयको ज्ञान र शिक्षा नभएका मानिसले अगुवाई गर्ने, उनीहरुले नै विज्ञ उत्पादन गर्ने विडम्बनापूर्ण अवस्था धेरै देशमा रहेको देखिन्छ । अधुरो ज्ञान खतरनाक हुन्छ भन्ने सबैले बुझ्न जरुरी छ । खासगरी राज्यसत्ता सञ्चालकहरुले यो कुरा बुझ्न जरुरी छ ।
विपद जोखिमका दृष्टिले कोभिड–१९ को विपद अहिले विश्वको केन्द्रमा छ । हरेक देशका लागि कोभिड–१९ चुनौती बनेको छ । कोभिड–१९ का कारण अबको तीन महिना भित्र विश्वमा प्रत्यक्ष रुपमा पाँच लाख र अप्रत्यक्ष रुपमा थप पाँच लाख गरी करीब १० लाख मानिसले ज्यान गुमाउनुपर्ने अवस्था छ । महामारी मात्र नभएर कुनै पनि विपदले मानवीय र भौतिक क्षति मात्र गर्दैन, आर्थिक सामाजिक क्षति पनि ठूलो परिमाणमा गर्छ । विपदले समाज र व्यक्तिको मनमष्तिष्क र ह्रदयमा गहिरो घाउ लगाइदिन्छ । विपदबाट सिर्जना हुने मनोवैज्ञानिक असरका कारण दसौं बर्षसम्म लाखौंलाख मानिसले पीडा र कष्ट बोकिरहनु पर्छ । त्यसैले हरेक देशले, हरेक सरकारले विपद न्यूनीकरण र व्यवस्थापन कुशलतापूर्वक गर्न आवश्यक हुन्छ ।
अब के गर्ने ?
जहाँ समस्या हुन्छ त्यहाँ समाधान पनि हुन्छ । मानव जातिका लागि विपद नयाँ होइन । हरेक क्षण विपदको सामना गर्दै र जित्दै मानव समाज यहाँसम्म आइपुगेको हो । मानव सभ्यता अगाडि बढ्दै जाँदा विपदहरुको पहिचान पनि शशक्त तरिकाले गर्न थालियो । तीन चारसय वर्ष अघि कोरोना भाइरसको महामारी फैलिएको थियो भने यो कस्तो विपद हो भन्ने पहिचान नै हुँदैनथ्यो । पहिचान भएका विपदहरुको सामना गर्ने शिक्षा, ज्ञान र विज्ञता अहिले मानव समाजसँग उपलब्ध छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विद्यार्थीका नाताले यो पंक्तिकार पनि विभिन्न सुझाव पस्कन सक्छ ।
जस्तो कि –
१) हरेक देशले विद्यालय एवं विश्वविद्यालयमा स्थानीय विपदका जोखिम, खतरा, कमजोरी र बुद्धिमतालाई पाठ्यक्रममा अनिवार्य रुपमा सामेल गर्नुपर्छ ।
(नेपालको हकमा विद्यालय तहको पाठ्यक्रम निर्धारण स्थानीय तहले गर्न सक्ने भएकाले यो काम गर्न गाह्रो छैन ।)
२) हरेक देशले आफ्नो विपद सूचना प्रणालीलाई सशक्त बनाउनुपर्छ । गाउँ र शहर अनि धनी र गरीब बीच सूचना प्रविधि प्रयोगमा रहेको विषमतालाई घटाउनुपर्छ । अर्काे अर्थमा भन्ने हो भने डिजिटल डिभाइडलाई कम गर्नुपर्छ ।
३) हरेक देशमा कुनै पनि केन्द्रीय एवंं स्थानीय कार्यक्रम बनाई लागू गर्दा स्थानीय जोखिम, खतरा, कमजोरीको विष्लेशण अनिवार्य रुपमा गर्न लगाउनु पर्छ ।
४) कुनै पनि क्षेत्रमा कुनै पनि जोखिमको सम्भावना देखिएमा त्यो जोखिमका विषयमा हरेक नागरिकले खुला रुपमा छलफल गर्न सक्ने वातावरणको प्रत्याभूती कानूनी तवरबाट गर्ने ।
(यो चौथो कुरा किन गरिएको हो भने यो पंक्तिकार केमा विश्वास गर्दछ भने हाल विश्वले भोगिरहेको कोरोना महामारी यो रुपमा फैलने थिएन यदि कोरोना भाइरस उत्पन्न भएको देशका हरेक नागरिकले खुला रुपमा स्थानीय जोखिम, खतरा, र कमजोरीपनको बारेमा खुला तथा निर्भिक भएर स्थानीय विपद जोखिमको सूचना निर्वाध रुपमा आदान प्रदान गर्ने अवस्था हुँदो हो त..)
बढ्दो जनसंख्या र जलवायु परिवर्तनका कारण विपदको जोखिम विगतभन्दा झन्झन् बढ्दै गएको छ । आगामी दिनमा जोखिम झन् बढ्ने आकलन गरिएको छ । त्यसैले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई हरेक देश र नागरिकले गम्भीरतासाथ लिनुपर्छ ।
(नेपाली मूलका बेलायती नागरिक डा. कोमलराज अर्याल २३ वर्षदेखि विपद जोखिम व्यवस्थापनीय शासन पद्धतिमा अनुसन्धानरत हुनुहुन्छ । बेलायत, दक्षिण कोरिया, गाम्बिया तथा नेपालमा विपद जोखिम न्यूनीकरणको क्षेत्रमा काम गरिसक्नुभएका डा. अर्याल हाल संयुक्त अरब इमिरेट्सको विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने एक सरकारी निकायमा सहायक प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।)
