जानुका अधिकारी –
कोरोना महामारीले विश्वका अधिकांश देश लकडाउनको अवस्थामा छन् । केही मुलुकले लकडाउन पालना गरेका र केही मुलुकले हटाएका पनि छन् । यद्यपि, विश्वमा कुनै पनि मुलुकमा जनजीवन पूर्ववतः अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले जनजीवन असहज बनाएको मात्र छैन विश्व अर्थतन्त्रलाई विचल्ली बनाएको छ ।
पछिल्लो अवस्थाले सामाजिक, पारिवारिक रहनसहनमा परिवर्तन ल्याएको छ । मानिसको आम्दानी प्रभावित भएको छ । मानिसको सोचमा पनि परिवर्तन देखिएको छ । यद्यपि, खर्च भने घट्न सकेको छैन । जसको सबैभन्दा बढी मार निम्न आय भएका नागरिकलाई परेको छ । मजदूरी गरी खाने निम्न वर्गीय मानिसको गाँस खोसिएको छ । दिनभरि मजदूरी गरी विहान साँझको छाक टार्नु पर्नेहरु हातमुख जोड्नै नसक्ने अवस्थामा पुगेका छन् ।
धन कमाउन भनी विदेशिएका दाजुभाई दिदिबहिनीहरु काम र पैसा दुबै सकिँदा अलपत्र परेका छन् । उनीहरुको उद्धार हुन नसक्दा उनीहरु स्वयं मात्र नभएर तिनका परिवार र आफन्त मर्माहत भइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा परिवारको भरण पोषण गर्न नसकेर कैयौं मानिसहरुले आत्महत्या गरिरहेका समाचार आउन थालेका छन् ।
धेरै समयसम्म घरभित्रै थुनिएर बस्नुपर्दा मानसिक समस्याका शिकार हुनेहरुको संख्या पनि दिनानुदिन बढ्दो छ । मानसिक समस्याका कारण उत्पन्न हुने परिस्थितिको असर दीर्घकालसम्म रहने निश्चित छ ।
सारांशमा यी कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति र त्यसका नकारात्मक प्रभावका केही उदाहरण हुन् ।
लकडाउनले पुर् याएको धेरै भन्दा धेरै नकारात्मक असरहरुको बीचमा यसका केही फाइदा पनि छन् । मुख्य फाइदा भनेको कोरोना महामारी तिब्र गतिमा फैलन पाएन । लकडाउन गरिएको थिएन भने निश्चय पनि कोरोना महामारीको प्रसार अहिलेको भन्दा तिब्र गतिमा हुने थियो । यसबाहेकका फाइदा पनि लकडाउनका कारण भएको छ ।
विश्वमा प्रकृति र मानिस बीचको कार्यव्यवहारका कारण वातावरणीय असन्तुलन तथा दुष्प्रभाव निरन्तर बढिरहेकाे थियाे तर लकडाउनका कारण त्याे असन्तुलन तथा दुष्प्रभाव घट्न थालेकाे छ। त्यसबाट हुन गएको वातावरण संरक्षण हो । कोरोना महामारी र त्यसका कारण जारी लकडाउनका कारण अहिले प्राकृतिक स्रोत साधनको दुरुपयोग हुने क्रम घटेको छ । त्यसले गर्दा प्राकृतिक वातावरणमा हुने नकारात्मक प्रभाव घटेर गएको छ । मानव निर्मित औद्योगिक तथा भौतिक सुख सुविधाका लागि प्रयोग गरिएका प्रविधिबाट प्रकृति तथा वायुमण्डलमा अस्वस्थ तथा खराब असर पर्ने क्रममा झण्डै एक तिहाई कमी भएको विश्वव्यापी अनुमान छ । यसलाई अझ यसरी भन्नु उचित होला कि कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थितिले प्रदूषण नियन्त्रण, हरियाली प्रवद्र्धन र फोहरमैला व्यवस्थापनजस्ता वातावरणीय संरक्षणका प्रमुख क्षेत्र अहिले अपेक्षित स्थानमा ल्याइपुर्याएको छ ।
पृथ्वी तथा वायुमण्डल स्वस्थ र सफा देखिएको छ । वातावरणीय विनाश र मौसम परिवर्तनका कारण जीवजन्तु र वनस्पति लोप हुने अवस्थालाई केही हदसम्म जोगाउने आशा गरिएको छ । किनभने एउटा विश्वव्यापी अध्ययनले वातावरणीय विनाशका कारण चालु दशकमा मात्रै विश्वभर १० लाख प्रजाति लोप हुने देखाएको छ । दक्षिण एशियाको मात्र कुरा गर्ने हो भने चालु दशकमा यस क्षेत्रमा पाइने प्रजातिमध्ये ४६ प्रतिशत लोप हुने आँकलन छ ।
अहिलेको अवस्थामा जीवजन्तु र वनस्पतिको लोप हुने अवस्थालाई केही जोगाउने आशा गरिएको छ किन भने हाम्रै घरटोलमा अहिले विभिन्न प्रकारका चराचुरुङ्गी देखिन थालेका छन् । हाम्रा राष्ट्रिय निकुञ्जहरु भित्रका सडकहरुमा वन्यजन्तु खेल्न थालेका छन् । करिब दुई महिनाअघि अफ्रिकाको सडकमा पेंगुइन हिँडिरहेको दृश्य होस् वा अफ्रिकाकै एक राष्ट्रिय निकुञ्ज बाहिरको सडकमा सिंहको बथान आरामले सुतेका तस्वीर । पान्डाले धरै वर्षपछि गर्भधारण गरेको उदाहरण पनि यसैसँग सम्वन्धित छ ।
पछिल्ला दिनमा सवारी साधनको ठेलमठेल, मानिसहरुको घुइंचो कम भएको छ ।
प्रदूषण कम हुँदा बोटविरुवाले प्राकृतिक रुपमा हुर्कन/बढ्न पाएका छन् । हामीलाई डाहा हुने गरी गज्जबले फूल फूलेका छन् । हाम्रा हिमाल र पहाड स्पष्ट र सुन्दर देखिएका छन् । ओजोन तह विनाश रोक्न पनि यसले मद्दत गरिरहेको विज्ञहरुले बताएका छन् । मानिसको विलासितालाई पनि केही हदसम्म नियन्त्रण गरेको छ । वन तथा वन्यजन्तुको चोरीशिकारी, तस्करी नरोकिएको भए पनि कमी आएको छ । भू–क्षयीकरण, पहिरो आदि पनि केही हदसम्म नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।
अझ प्रष्ट रुपमा भनौं– हामीले वर्षौंपछि स्वच्छ हावामा श्वास फेर्न पाएका छौं ।
यतिखेर विश्व जगतलाई पक्कै महशुस भएको छ यी सबै कुरा । यसबाट पाठ सिकेर कोरोना महामारीको अवस्थामा मात्र नभई अन्य समयमा पनि अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लागाउने हो भने वायु प्रदूषण सन्तुलनमा रहने निश्चित छ ।
अर्को पक्ष हाम्रो मुलुक कृषिप्रधान हो । लकडाउनको समयमा धेरै भन्दा धेरै मानिस कृषि कार्यमा आकर्षित भएको पाइएको छ । आज सांसद, मन्त्री भइसकेकाहरु पनि कृषि कार्यमा लाग्न थालेका छन् । आफ्नो खेतबारीमा हलो जोत्न थालेका छन् । आहा ! यसलाई दिर्घकालसम्म लान पाए । विदेशबाट फर्कन चाहेका जति सबैलाई व्यवसायिक कृषि कार्यमा संलग्न गराउन पाए । यसैबाट प्रेरणा लिएर सही नीतिनियम बनाएर कार्यान्वयन गर्न पाए ।
सबैले आफ्नो जमिनको भरपूर्ण उपभोग गरी कार्य गर्ने हो भने देशलाई केही हदसम्म आर्थिक पक्षमा टेवा पुग्ने थियो ।
यदि साँच्चै प्रत्येक नेपाली नागरिकले आफ्नो खर्च आफैले धान्न सक्ने र अरुको भर नपर्ने हुने हो भने हाम्रो देश नेपाल पनि छिट्टै विकसित राष्ट्रको सूचिमा पुग्ने थियो ।
