अस्मिता क्षेत्री -
कवि भूपी शेरचनले नेपाललाई हल्लै हल्लाको देश भनेका थिए । साढे पाँच दशक अघि भूपीले जे लेखेका थिए, अहिले पनि अवस्था उस्तै छ । अहिले पनि नेपाल हल्लैहल्लाको देश हो । त्यो बेला हल्ला गर्नका लागि फेसबुक, ट्वीटर, युट्युब लगायतका इन्टनेट सञ्जाल थिएन । तैपनि त्यसबेला हल्लाले धेरै थोक गर्दथ्यो । अहिले त जे गर्छ हल्लाले नै गर्छ ।
अहिलेको सुपर हिट हल्ला हो– बिहे गरेको सात वर्षपछिमात्र विदेशी महिलाले नेपालको नागरिकता पाउने व्यवस्था मधेसी समुदाय विरुद्ध छ ।
राष्ट्रिय सभा बैठकमा भगवती न्यौपानेले भूपीको त्यो कविता उदृत गर्दै नागरिकता विधेयक सम्बन्धमा फैलाइएको हल्लाबारे बोल्नुभएको थियो । हो, अहिले नागरिकता विधेयक सम्बन्धमा अनेक हल्ला र भ्रम फैलाइएको छ ।
यो हल्लासँग गाँसिएर आएको थप हल्ला हो– नागरिकता कानुनमा प्रस्ताव गरिएको व्यवस्था भारत विरोधी छ ।
आउनुस्, यो हल्लाको सामान्य अप्रेशन गरौं ।
सुजाता कोइराला सबैले सुनेको नाम हो । उहाँले जर्मन नागरिकसँग विवाह गर्नुभएको छ । उहाँकी छोरीले बङगलादेशी नागरिकसँग विवाह गर्नुभएको छ । नेपालको प्रतिष्ठित कोइराला परिवारका सदस्यहरुले भारत, पाकिस्तान र अन्य देशका नागरिकसँग पनि विवाह गरेका छन् ।
कांग्रेसकै डा. नारायण खड्काले पनि क्यानडेली महिलासँग विवाह गर्नुभएको छ ।
खोज्दै गए धेरै दम्पत्ती भेटिन्छन् जसले भारत बाहेक तेस्रो मुलुकका मानिससँग विवाह गरेका छन् ।
इलाम जिल्लाको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका बजार भारतको दार्जिलिङसँग सीमा जोडिन्छ । नेपाल र भारत छुट्याउनै गाह्रो हुन्छ । त्यहाँ पनि वारीपारी विवाह हुन्छ । नागरिकता कानुन इलाम र दार्जिलिङका मानिसलाई नलाग्ने गरी संशोधन गर्न लागिएको हो ? अहँ होइन । तर, मधेसी समुदायलाई मात्र लक्षित गरेर कानुन संशोधन गर्न लागियो भनी हल्ला चलाइएको छ । भ्रम फैलाइएको छ ।
अरुको त कुरै छाडौं, कांग्रेस मधेसवादी दलका नेताहरुले समेत यस्तो भ्रम फैलाइरहेका छन् । मधेसी समुदायको विरुद्धमा नागरिकता कानुन संशोधन गर्न खोजियो भनिँदैछ ।
हो, नागरिकता संशोधनमा महिला र पुरुषमा विभेदकारी व्यवस्था प्रस्ताव गरिएको छ । नेपालीसँग विवाह गर्ने महिलाले सात वर्षपछि नागरिकता बनाउने तर विदेशी पुरुषले चाहिँ १५ वर्षपछि पाउने प्रस्ताव गरिएको छ । नेपालीसँग विहे गर्ने महिलाले पनि १५ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था हुनुपर्छ । अथवा, नेपालीसँग विवाह गर्ने पुरुषले पनि सात वर्षमै नागरिकता पाउनुपर्छ ।
सात वर्षपछि नागरिकता पाउने व्यवस्था जुन प्रस्ताव गरिएको छ, त्यसलाई तोडमरोड गरेर, बङग्याएर, त्यसलाई गलत ढंगले ब्याख्या गरेर हल्ला र भ्रम फैलाइँदैछ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले नेपालीसँग विवाह गरेकी विदेशी महिलाले तत्कालै सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार पाउने व्यवस्था गरेको छ । यो कुराको चाहिँ हल्लावाजहरु चर्चा गर्दैनन् ।
नेपालीसँग विवाह गर्ने विदेशी महिलाले तत्कालै स्थायी आवासीय अनुमतिपत्र पाउने व्यवस्था गरिएको छ । नागरिकता ऐन संशोधन विधेयकमा समितिले त्यस्तो प्रस्ताव गरेको हो ।
नेपालीसँग विवाह गरेकी महिलाले नेपालमा आर्थिक कारोबार गर्न पाउनेछिन्, सम्पत्ति कमाउन, बेचबिखन गर्न, व्यवसाय चलाउन पाउनेछिन् । त्यस्ती महिलाले नेपालको शैक्षिक संस्थामा भर्ना हुन, अध्ययन गर्न लगायतको सुविधा पनि पाउनेछिन् ।
बिहे गरेर नेपाल आएकी महिलाले राष्ट्रिय परिचयपत्र पनि पाउनेछिन् ।
याे पनि पढाैं- रैथानेको चिन्ता गरौं, थारू आन्दोलनको मर्म बुझौं
आवासीय परिचयपत्र भएकी महिलामाथि पति या परिवारले अन्याय तथा विभेद गरेको अवस्थामा न्यायिक उपचार पनि खोज्न पाउनेछिन् । यसको अर्थ हो– विवाह गरेर आएकी महिला पूर्ण सुरक्षित हुनेछिन् ।
यस्ता तथ्यलाई ढाकछोप गर्ने अनि बिवाह गरेर आएकी महिलाले केही पनि नपाउने भइन् भनेर भ्रम फैलाइँदैछ ।
नागरिकता विधेयकमा प्रस्ताव गरिएको संशोधन मधेसी विरोधी भनिँदैछ । कसरी मधेसी विरोधी ? के मधेसीका लागि मात्र यो संशोधन गर्न लागिएको हो ? डडेलधुरा र दार्चुलाका मानिसको पनि भारतमा विहेबारी हुन्छ । जताततै भारतीयसँग नेपालीको बिहेबारी हुन्छ । मधेसीको मात्र नभएर अरु समुदायको पनि बिहे हुन्छ । अनि, कसरी मधेसी विरोधी भयो ? मधेसी विरोधी भन्दै हल्ला र भ्रम फैलाइँदैछ ।
रमाइलो त के छ भने आफूलाई महिलावादी भन्नेहरुले पनि यस्तै हल्ला र भ्रम फैलाइरहेका छन् । भारतीय इशारामा चलेका डलरे प्रोजेक्टका पत्रकारहरु पनि भ्रम र हल्ला फैलाइरहेका छन् । नागरिकता कानुन संशोधन गर्दा मधेसी समुदायको संस्कृतिमा हमला भयो भन्ने कुर्तक पनि यो देशमा सुन्न पाइँदैछ ।
नेपालले आफ्नो कानुन संशोधन गर्दा भारत विरोधी हुने कसरी ? यो हास्यास्पद कुतर्कका पछाडि धेरै मानिस लागेको देखिन्छ ।
हल्लाका पछाडि नकुदौं । आवासीय अनुमतिपत्रले विहे गरेर आउने महिलाका सबै अधिकार सुनिश्चित हुन्छ, यो कुरा बुझेर मात्र नागरिकता विधेयक संशोधनका बारेमा टिप्पणी गरौं ।
