नाम स्थायी समिति तर काम चाहिँ अस्थायी । नेकपाको स्थायी समितिलाई यसै भन्न सकिन्छ । स्थायी समितिले दीर्घकालीन नीतिगत काम गर्न सकिरहेको छैन । स्थायी समितिलाई तत्कालीन र खुद्रे विषयमा अल्मलाउने, आफ्नै पार्टीको सरकार विरोधी मञ्च बनाउने प्रयाश भइरहेको छ । यसो किन भइरहेको छ ? समीक्षाको खाँचो छ ।
अहिले नेकपाको नेतृत्वमा देशभक्त विकासप्रेमी नेपाली जनताको सरकार छ । करिबकरिब दुई तिहाई छ सरकारसँग । तर, सरकारले दुई तिहाई हाराहारीको छु भनेर काम गर्न कहिले पाएको देखिँदैन । बरु, अल्पमतको सरकार झैं काम गर्न परिरहेको बाहिरबाट देखिन्छ । सत्तापक्षभित्रै प्रतिपक्षी सिर्जना गर्ने पुरातन नेपाली राजनीतिक रोगबाट नेकपा पनि ग्रस्त भएको देखिन्छ । सत्तापक्षभित्रै प्रतिपक्षी सिर्जना हुन्छ भने त्यसलाई निस्तेज पार्ने काम स्थायी समितिले गर्नुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । बरु, मलजल गर्ने काम पो भइरहेको छ ।
नेकपाका एकखाले नेताहरुको बोली र व्यवहार हेर्दा उनीहरु प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता हुन् कि नेकपाका हुन् छुट्याउन गाह्रो हुन्छ । सरकारलाई बदनाम बनाउन खोज्ने, खुईल्याउने, ताछ्ने काम नेकपाभित्रैबाट भइरहेको छ । यस्तो कामलाई नेकपाको स्थायी समितिले नियन्त्रण गर्नुपर्ने हो तर त्यो आश नगरे हुन्छ । किनभने स्थायी समितिलाई सरकार विरोधी मञ्च बनाइएको कुरा माथि नै उल्लेख भइसकेको छ ।
कस्तो मूल्यांकन ?
अहिले चलिरहेको स्थायी समितिको बैठकको एउटा अजेण्डा निकै रोचक छ– ‘सरकारको कामको मूल्यांकन’ । आफ्नै सरकारको मूल्यांकन नेकपाले कसरी गर्छ उत्सुकताको विषय हुन्छ र आम जनताका लागि यो चाखलाग्दो कुरा पनि हुन्छ । स्थायी समितिका सदस्यहरु नेपाली राजनीति तथा समाजका चीरपरिचित अनुहारहरु छन् । उनीहरुमध्ये कसले सरकारको कसरी मूल्यांकन गर्छन् भन्ने पहिले नै थाहा छ । स्थायी समितिका कतिपय सदस्यहरुको गालीगलौज शैली, आलोचना शैली, छिर्के हान्ने तरिका र प्रवृत्ति नेपाली जनताले चिनिसकेका छन् । स्थायी समितिका केही सदस्यहरु सरकारलाई निम्त स्तरमा झरेर गाली गर्छन् । भारतीय मिडियाले नेपाल देश तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्ने गाली र कतिपय स्थायी समिति सदस्यले बर्बराउने गालीमा खासै फरक देखिँदैन । उनीहरुले सरकारको मूल्यांकन गर्नुको तुक छैन, मूल्यांकनका नाममा उनीहरुले सरकारलाई नै ताछ्ने हुन्, सरकार र प्रधानमन्त्रीलाई बदनाम गर्न कोशिस गर्ने मात्र हुन् ।
अर्काथरी स्थायी समितिका सदस्यहरु सरकार विरोधी अभिव्यक्ति सीधै दिँदैनन् तर घुमाएर दिन्छन् । सरकारको राम्रा पक्षको चर्चा गर्नुलाई उनीहरु मरेतुल्य ठान्छन् । सरकारको विरोध सीधै नगर्ने तर प्रशंसा पनि नगर्ने उनीहरुको चरित्र देखिन्छ । सरकारलाई बदनाम बनाउन र खुइल्याउन आविष्कार गरिएका अजेण्डाहरुलाई भने उनीहरु धाप मार्छन्, घुमाइफिराई समर्थन गर्छन् ।
अर्काथरी स्थायी समिति सदस्यहरु न यता न उता गर्छन्, सरकारको समर्थनमा पनि बोल्दैनन्, विरोधमा पनि खासै बोल्दैनन् ।
सरकार विरुद्ध हुने आक्रमणको प्रतिवाद विरलै नेताले विरलै मात्र गरेका छन् । यो सरकारको विरुद्धमा भारतले खुलेआम विषवमन गर्दा समेत नेकपाका नेताहरु प्रतिकार गर्दैनन् । बरु, भारतले विरोध गरेकोमा आनन्द मान्ने र रमाउने प्रवृत्ति देखिन्छ ।
स्थायी समितिका सदस्यहरु कतिपयले सरकारप्रति अपनत्व नै लिएको देखिँदैन । यो नेकपाको सरकार होइन, यो सरकार गिरे गिरोस् भन्ने ढंगको गैरजिम्मेवार चिन्तन र व्यवहार उनीहरुले देखाउने गरेका छन् । तीन करोड जनताको तर्फबाट प्राप्त मतको बलमा यो सरकार बनेको छ भन्ने उनीहरु बिर्सन्छन् । यो सरकार जनताले बनाएको होइन, फलाना फलाना कमिटिमा बस्ने हामीले बनाएका हौं भन्ने घातक चिन्तनले नेकपाका धेरै नेताहरु ग्रस्त बनेका छन् ।
यस्ता विविध गलत चिन्तनले नेकपाको स्थायी समिति प्रभावकारी बन्न सकेको छैन । नेकपाको सचिवालयमा पनि यही रोग देखिन्छ । यो चिन्तन विरुद्ध नेकपाको कार्यकर्ता पंक्तिले मात्र नभएर आम जनताले वैचारिक संघर्ष गर्न जरुरी छ ।
याे लेखकाे भिडियाे -
सरकारलाई सुझाव नदिने, सुझाव दिँदा पनि खुइल्याउने र बदनाम बनाउने प्रयोजनका लागि ‘हामीले त सुझाव दिएकै हो नि’ भनेजस्तो पार्न सुझाव दिने प्रवृत्ति छ । वस्तुनिष्ट र व्यवहारिक धरातलमा उभिएर, सरकारको सीमा, सम्भावना र सामथर््यलाई ध्यानमा राखेर सुझाव दिने काम नेकपाका नेताहरु विरलैले मात्र गरेको सुन्न पढ्न पाइन्छ । धेरैजसोले त सुझावका नाममा सरकार विरुद्ध एम्वुस थाप्ने काम मात्र गरेको देखिन्छ । सरकारलाई छुरा हान्ने अनि त्यसैलाई सुझाव दिएको भन्ने प्रवृत्ति पनि नेकपाभित्र व्यापक छ ।
चामल र ढुंगा
राजनीतिक दल सत्ता प्राप्तिका लागि बनेका हुन्छन् । जसरी फुटबल या क्रिकेट क्लबको उद्देश्य प्रतियोगिता जित्नु हुन्छ, त्यसैगरी राजनीतिक दलको उद्देश्य चुनाव जितेर सरकार बनाउनु हुन्छ । सरकार बनाउने अवसर जनताले दिने हुन् । त्यसकारण सरकारको पहिलो र अन्तिम दायित्व जनताप्रति हुन्छ । नेकपाको सरकारले जनताप्रतिको दायित्व पूरा गरिरहेको छ कि छैन भन्ने मुख्य कुरा हो । अहिलेको सरकारले इतिहासमै सर्वाधिक गतिशील ढंगले काम गरिरहेको तथ्यले देखाइरहेको छ । सरकारले दैनिक हजारौंहजार काम गरिरहेको हुन्छ । तीमध्ये कतिपयमा भुलत्रुटी हुनसक्छ । त्यस्ता कुनै भुलत्रुटी च्याप्प समात्ने अनि यो सरकारले केही पनि गतिलो काम गरेन भन्ने प्रवृत्ति नेकपाभित्रैबाट सल्काउन खोजिँदैछ ।
चामलको बोरामा ढुंगा हुनसक्छ । चामलबाट कुनै सानो ढुंगा टिपेर ‘यो चामल होइन ढुंगाको बोरा हो’ कसैले भन्छ भने उसले ठिक भनेको हुन्छ त ? सरकारको कामकारबाहीका बारेमा यस्तै शैलीमा विरोध गराइने गरेको तथ्यबाट नेकपाका नेताहरु अवगत हुनुपर्ने हो । तर, कतिपय नेताहरु गुटको पुच्छरमा झुण्डिएर चामलको बोराबाट ढुंगा टिपेर देखाइरहेका छन् । चामल नदेख्ने ढुंगा मात्र देख्ने कस्तो आँखा हो ? कस्तो प्रवृत्ति हो ? यसबारेमा विमर्श हुनुपर्छ र स्थायी समिति सहित नेकपाका सबै नेतालाई सच्याउन जरुरी छ ।
गुटलाई अरु कसैले चश्मा लगाइदिने, त्यो चश्माबाट हेर्ने अनि सरकारले केही पनि गर्न सकेन, देश बरबादै भइसक्यो भन्ने खालका अनर्गल हुईंयाँ मच्चाउने प्रवृत्तिलाई नेकपाले कारवाही गर्न सक्नुपर्ने हो । त्यस्तो प्रवृत्ति विरुद्ध स्थायी समितिले वैचारिक प्रतिरोध चलाउन सक्नुपर्ने हो । तर, त्यो आशै नगरे हुने अवस्था आएको हो ?
नेपाली राजनीतिलाई यो उचाईमा मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेसले यहाँसम्म ल्याएको हो । पछिल्लो कालमा नेकपा माओवादी पनि यसमा मिसिएको हो । कांग्रेस र नेकपामा सक्षम नेताहरुको अभाव छ जस्तो देखिँदैन । तर, जब यी दुई पार्टी सरकारमा पुग्छन् तब पार्टीभित्रै प्रतिपक्षी सिर्जना हुन्छन् र आफ्नो सरकारको ढाडकम्मर भाँच्न खोज्छन्, सरकार विरुद्ध अभियान चलाउँछन्, मौका पर्दा आफ्नै सरकारको घाँटी निमोठ्छन् । ०७ सालदेखिकै प्रवृत्ति हो यो । कम्युनिष्ट पार्टीको नेतृत्वमा ०५१ सालमा बनेको सरकारलाई अपवाद मान्ने हो भने सबै सरकार आफ्नै पार्टीको सिकार बनेका छन् । कतिपय प्रधानमन्त्रीहरु नालायक नै सावित भए, कतिपयले कामै गर्न सकेनन् । अहिले नेपाली इतिहासका सबैभन्दा सक्षम प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पनि त्यसरी नै अभियान चलाइएको छ, त्यो पनि आफ्नै पार्टी भित्रबाट ।
भारत विरुद्ध संघर्ष गरिरहेको सरकारलाई सम्पूर्ण जनताले साथ दिइरहेका छन् । यस्तो बेला घरेलु र खुद्रा मसिना विषयमा सरकारलाई अल्मलाउने र तगारो हाल्ने काम गर्न हुँदैन । नेकपा भित्रैबाट सरकारलाई छिर्के लगाउने खुराफात चलिरहेको बेला भारतीय मिडियाहरु रमाइरहेका छन् । ओली विरुद्ध उनकै पार्टीका नेताहरु खुलेर लागे भन्दै भारतीय मिडियाहरुले उकास्ने र थेचार्ने काम गरिरहेका छन् । भारतीय मिडिया रमाइरहेका छन् । भारतको मिडिया रमायो भने बुझ्नुपर्छ– त्यहाँ अरु नै कोही रमाइरहेको छ, उसको खुसीको प्रतिविम्ब मिडियामा देखिएको मात्र हो ।
के गर्ने ?
नेकपामा सक्षम नेताहरुको अभाव छैन । नेकपाले नेपाली राजनीतिमा लामो समयदेखि देखिँदै आएको कालीदास प्रवृत्ति त्याग्नुपर्छ, हटाउनुपर्छ । बहुमतप्राप्त पार्टीले आफ्नै सरकार विरुद्ध लाग्दा र सरकार गिराउँदा मुलुकले ठूलो धक्का खानुपरेको छ । नेकपाका नेताहरुले यो कुरा बुझेका छैनन् भन्न मिल्दैन तर नेकपामा बुझेर पनि बुझ्पचाउने प्रवृत्ति नेताहरुमा देखिएको छ ।
इतिहासले, समयले, क्षमताले, परिवन्दले र जनताको प्रबल चाहनाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदको जिम्मेवारी आइलागेको हो । यो तथ्यवोध नेकपाका सबै नेताले गर्नुपर्छ । त्यसैगरी यो सरकार पाँच वर्ष चलाउने जिम्मेवारी नेकपाका सबै नेता, आम कार्यकर्ता तथा समस्त जनताको हो भन्ने पनि सबैले मनन गर्नुपर्छ र त्यसै अनुसार व्यवहार गर्नुपर्छ । आफ्नो पार्टीको सरकारलाई छिर्के लगाउने, षडयन्त्र गर्ने हर्कत कोहीकसैले पनि गर्न हुँदैन । आफ्नो देशको सरकारलाई असफल पार्न विदेशीहरु लागिरहेका छन् भन्ने बुझेपछि विदेशीलाई सघाउने गरी हर्कत पनि कसैले गर्न हुँदैन ।
सरकार विरुद्ध चलाइएको भयानक प्रचार युद्धको स्वार्थ आम नेपाली जनतासँग गासिएको छैन, विदेशीसँग गासिएको छ भन्ने तथ्य नेकपाका नेता कार्यकर्ता सबैले बुझ्न जरुरी छ । प्रधानमन्त्री ओली तथा यो सरकारलाई भताभुंग पारियो भने, नेकपालाई गुटैगुटमा छिन्नभिन्न पार्न सकियो भने मात्र आफ्नो स्वार्थ पूरा हुनसक्छ भन्ने विदेशी शक्तिहरुले बुझेका छन् । नालापानीमा नेपालले देखाएको बहादुरीको काउन्टरमा व्रिटिश भारतले भीमसेन थापालाई सेरिनुपर्ने अवस्थामा पुरायो । नालापानीको गौरव ब्यूँझाउँदै कालापानीमा नेपालको शिर ठाडो पार्ने काम गरेका ‘प्रधानमन्त्री ओलीलाई विदेशीले पार्टीभित्रै सताए’ भनेर जनताले भन्न नपाउने बातावरण सिर्जना गर्ने काम नेकपाकै नेताहरुको हो ।
के गर्ने भन्ने प्रश्नको जवाफ सरल छ । मुलुकले नेकपाको काँधमा पाँच वर्ष सरकार चलाउने, सुखी र समृद्ध नेपाल बनाउने, नेपाली राष्ट्रियतालाई नयाँ उचाईमा पुराउने जिम्मेवारी दिएका छन् । नेकपाका नेताहरु पाँच वर्षसम्म जो जहाँ बसेका छन् त्यहीँ सन्तुष्ट भएर बस्नुपर्यो । पदको लोभ गर्न भएन । जिम्मेवारीमा बस्नेहरुको रीसडाहा गर्न भएन, दुष्प्रचार गर्न भएन । वस्तुनिष्ठ र यथार्थवादी बन्न पर्यो । नीजि कुण्ठाका आधारमा बोल्न र व्यवहार गर्न भएन । आफ्नो पार्टीको सरकारले गरेका ऐतिहासिक कामहरुमाथि पर्दा हाल्न भएन । छिर्के लगाउन भएन । स्वदेशी तथा विदेशीले सरकार विरुद्ध गरेको दुष्प्रचारमा फस्न भएन, त्यस्ताहरुलाई सघाउन भएन । आफैं बसेको हाँगा काट्ने कालीदाश बन्न भएन ।
नेकपाका नेताहरुले यसो गरे देश बन्छ, देश बन्यो भने पार्टी पनि बन्छ । देश नै नरहे पार्टी पनि रहँदैन, आफू पनि समाप्त भइन्छ भन्ने सबैले बुझ्न जरुरी छ ।
