ललित सुब्बा-
पूर्व एमाले र पूर्व माओवादी दल मिलेर बनेको नेकपाको स्थायी समिति बैठकले पार्टीको विगत भूमिका, वर्तमानको कार्यभार र आगामी कार्ययोजनामा छलफल हुने आशा देशभरका कार्यकर्ता तथा शुभचिन्तकले राखेका थिए । पार्टी निर्माणको सुरुवाती समयमा यो दल निर्माणमा जुन जिम्मेवारी बोधको आभाष नेताहरुमा देखियो त्यसले देशको सुदूर भविष्य र विगतको राजनीतिक अस्थिरताको पीडाबोध नेतृत्वमा भएको ठानियो । अब बिगतमा जस्तो दलको चलखेलले मात्र देश बन्दैन, स्थिरताको जगमा देशले विकासको फडको मार्नेछ, इतिहासदेखि वर्तमानसम्म बहुमत मतदाता बामदलको समर्थनमा भएका कारण देशको जिम्मा नलिई अल्मलिने छुट बाम विचारलाई छैन भन्ने बोध बिगतको अस्थिर राजनीति गरेका नेतामा पनि आएको हो कि भन्ने विश्वास कार्यकर्ता पंक्तिमा समेत पलाएको हो ।
देश भूकम्पले थिलथिलाएको मौका पारेर भारतीय हस्तक्षेप बीच जनताले देश अघि बढाउने विचार र नेतृत्व खोजेका थिए । आफ्नो अनुकुलको विचार र पात्रको खोजि गर्दै नेपाललाई अर्तिको छिटो छर्किन आएको छिमेकीको छाँट नेकपाका सबै नेताले बुझेका थिए । फलस्वरुप दशगजाको बीचमा बसेर उताका समेतलाई पठाएर उफार्ने र त्यही निहुँमा देशलाई थला पार्ने गरी नाकावन्दीको जञ्जीर लगाउने छिमेकीको कार्य विरुद्ध प्रष्ट धारणा साथ उभिएको नेताको चुनावी आह्वानलाई जनताले वेहिचक साथ दिए ।
निर्वाचन परिणामबाट नेकपा करिब दुई तिहाइ बहुमत प्राप्त दल बन्यो । तर विडम्बना, सरकार गठनको सुरुवातबाटै यसलाई अंकुश लगाउन देशीविदेशी लागिपर्न थालिहाले । बिस्तारै दलभित्र सत्तासाझेदारीको आकांक्षा बोकेका, अरुको नेतृत्व कहिल्यै नस्विकारेका, विकासमा भन्दा विनासमा रमाउने बानी परेका र ध्वंसको राजनीतिक चटक देखाउन पल्किएकाहरु जाग्न थाले । दायित्ववोधलाई बिर्सिएर सत्ताको भाग लगाई खान पाउनु पर्दछ भन्ने आग्रह जारी गर्न थाले । सरकारको कार्यमा अलमल्याउने वातवरण बनाउन प्रयत्न सुरु भयो ।
देश विकासमा अर्जुन दृष्टी दिनुपर्ने नेतृत्व सत्ताको प्रसाद बाँडन लाग्नुपर्ने भयो । त्यस्ता बेठिक उदेश्य लक्ष्य बोकेकाहरुले सरकारका कामको खण्डन मण्डन गर्न अरुलाई उक्साउने, भित्री सल्लाह दिने, कहिले त्यस्ता कार्य गर्न आफ्ना झुण्ड भेला गरी निर्देशन दिने र संलग्नतामा समेत कार्य गर्न गराउन थालेका समाचार बाहिर आउन थाले ।
यसैबीच सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको स्वास्थ्यमा गम्भिर समस्या देखियो । स्वास्थ्य उपचारार्थ केही समय खर्चिनु प¥यो । स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि कतिपयले निकृष्ट राजनीतिक दाउ थापे । जनविश्वासको दह्रो जगमा उभिएको नेतत्वले खुट्टा कमाएन । आफ्नो कार्य जिम्मेवारी बोधका साथ अगाडि बढाइरह्यो । तर सरकारका कामको नकारात्मक प्रचार गर्न षडयन्त्रका तानावाना पित पत्रकारलाई सिकाउन लागि परेकाले सरकारलाई लगातार प्रहार गरिरहे । ठाउँ कुठाउँ अनावश्यक वखेडावाजी गर्ने र नसकेपछि आफू मूल नेतृत्वसँग मिलेको, सरकारको काममा सघाएको रट लगाउने दोहोरो नीति अख्तियार गरेको आफ्नै भित्रको उकुच समयसमयमा बढी चिलाउने भएपछि नेतृत्वले पनि अरु काम छाडि बेला कुबेला त्यसलाई कनाउन कर लाग्यो । सही ठाउँमा लगाउनु पर्ने अमूल्य समयको केही भाग विना तुकको कामले खान थाल्यो । यद्यपि सरकारको नेतृत्व नडगमगाइ अघि बढी रह्यो ।
अर्कातर्फ लामो बिगतदेखिका सहकर्मी, दलका केही नेता र नेता समर्थक कार्यकर्ताको धेरथोर असन्तुष्टी यदाकदा छापा र मुख्यतः सामाजिक सञ्जालमा देखिँदै आएका थिए । तिनको असन्तुष्टिको कारण उनको स्वार्थपूर्तिको तुष्टिको माग नै मुख्य थियो । फलस्वरुप, सरकार सञ्चालनको जिम्मा सरकारमा बस्नेले मात्र लिनुपर्ने र दलले त्यसबाट पूर्ण उन्मुक्ति लिन खोज्ने बीचको रस्साकस्सीले दलका यस अगाडिका भेला बैठकमा पनि निकै फराकिलो ठाउँ पाएको थियो । जसको कारण जनताको करिब दुई तिहाई मत पाएर बनेको सरकारले आफना कामको फेहरिस्त दलका सहकर्मीहरु सामु प्रस्तुत गर्नुपर्ने तर दलको उच्च नेतृत्वले सरकारका कामको आलोचना मात्र गरिरहने परिस्थिति रहिरह्यो । मन्त्री मात्रले दलका कार्यको बेलिविस्तार लगाउनु पर्ने र दलका उच्च नेतावर्ग दलमा आफनो भाग, हिस्सा खोजी असंन्तुष्टि पोखिरहने कार्यले प्रत्येक बैठक, भेलामा सरकारमा रहने नेतृत्व र मन्त्रीहरुले प्रतिरक्षात्मक बन्नुपर्ने भयो । जुन आफैँमा पीडादायक परिस्थिति थियो ।
दलका शुभचिन्तकहरु सधैँनै नेतृत्वलाई घच्घच्याउँदै उपयुक्त माग र विधिको पक्षमा लचिलो बन्न भनिरहेका थिए नेतृत्व पनि सहकार्यको वातावरण बनाउँदै लचिलो हुँदै थियो । तर एकाएक कथा बनिबनाउ नाटक मञ्चनबाट अगाडि बढन थाल्यो । उनै जाने एकाएक कस्तो ब्रह्मज्ञान उनका उपर सवार भयो । फलतः आत्मातुष्टिको माग पूरा गराउन अमुक स्थानमा बसालिएका कोठे बैठकका निर्णयको तरवार सरकार नेतृत्वमाथि लगातार देखाउन थालियो । यहाँसम्म कि आफूले दिएको सल्लाह सुझावको सत्यलाई छोपी मौकामा चौका हान्न विधेयक प्रकरणलाई आवश्यकता भन्दा ज्यादा अतिरञ्जना साथ उछालियो । समयको तकाजालाई बुझी सरकार आफनो कार्यबाट पछि स¥यो । तैपनि गैह्र राजनीतिक कार्यको अत्तो थापि सरकारको विरोधको बाजा बजाउन छाडिएन । आफूले दिएको सल्लाह बमोजिम भएको कार्यको जिम्मा लिनु त कता कता त्यसैलाई नेतृत्वको असक्षमताको विल्ला बनाउन स्वार्थी जत्था लागिरह्यो । नेतृत्वबाट त्यसकुराको विरोध भयो तर त्यो कार्य रोकिएन मौका हेरी यस्ता कार्य दोहोरिरहे । नेतृत्व यसबाट गलेन । त्यसपछि प्राविधिक कुराको अत्तो सरकारमा थाप्न थालियो ।
यसैबीच इतिहासमा पूर्खाको सौर्यले आर्जेको र एक कालखण्डबाट निश्चित सीमामा निसृत भइ सदियौँ नेपालले भोगेको तर ५८ वर्षदेखि जोरजवरजस्ति हडपेको हाम्रो भूमिको भाग आफ्नो नक्सामा हाली नक्कली नक्सा छापेर नेपाललाई जिस्क्याउन निकट छिमेकी लाग्यो । त्यसकुराको प्रतिरोध यथासमयमा सरकारले ग¥यो तर त्यस विरोध पत्रको वेपर्वाह गर्दै नेपाली राजनीतिको भित्री भागमा नै चिरापारी नेपाललाई वसिभूत गर्न लागेको बाह्यतत्व समेत नेपाल सरकारको वर्तमान नेतृत्वको बहिर्गमनको तानावाना बुन्न लागेको कुरा राजनीतिमा सामान्य ज्ञान राख्ने जो कोहीले बुझने गरी उसका समाचारले दिन थाले ।
आन्तरिक कलहको सानो चिरामा पानी हाली त्यही स्थानबाट ठूलो चिरा पारेर फुटाउन पल्केको त्यस शक्तिले विश्व नै कोभिड १९ को महामारीमा परेका बेलाको समय पारि नेपालको भूभागमा बलजफ्ती बनाएको बाटो भर्चुयल मायध्यबाट उद्घाटन गरी नेपाललाई थिच्न चाहेको कुरा कामबाट नै प्रदर्शन ग¥यो । यसको प्रतिरोध गर्नु र राष्ट्रिय अस्तित्वको जगेर्ना गर्नु देशको नेतृत्वको खास जिम्मेवारी भएको हुनाले त्यो कामको उद्घोष सरकारको नेतृत्वबाट यथासमयमा भयो । अरुले जवरजस्त हडपेको भूभागलाई समेटेर नक्सा जारी गर्ने कामको नेतृत्व सहित सरकार अगाडि बढने उद्घोष सरकारबाट भयो । जसको जस सरकारमा जाने र नेपाली राष्ट्रियताको जग बलियो हुने कुरा बुझेको चतुर छिमेकीले त्यो कार्य रोकाउन आफ्ना तर्फबाट प्रयास गरेपनि नेपाली स्थापित नेतृत्व र जनदवावका अगाडि यसको बिरोधको आवाज कतैबाट निस्केन, निस्कनसकेन । बरु सरकारको नेतृत्वमा भएको कार्यको जस लिन दलभित्र बाहिर तछाडमछाड चल्यो । कालजयी कामको जस लिने लालसाले सबै जसो नेतृत्वदायी ब्यक्ति, दललाई लोभ्यायो । यस कार्यले बाह्य शक्ति समेत प्रतिरक्षात्मक बन्यो । तर भित्री रुपमा उ चुप बसेन । आफ्ना टेन्टीकल्स चलाइ रह्यो ।
यसैबीच सत्ता भोकको लालसाले लैस दल भित्रका उपबुज्रुक, सामाजिक सञ्जालको माध्यम राजनीति गर्नेहरु साथै दलमा चिरा पार्न यो विषय काफी छ भनी ठान्नेहरु समेतले (सम्भाब्य विषयलाई तातो केक ठानेर) अमेरिकी सहयोग एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) को सहयोग लिने नलिने विषयलाई संसदको विजनेसबाट झिकेर बाटामा विस्कुन सुकाएजस्तो फिजाएर विवाद खडा गरी दलमा नेतृत्वलाई अल्पमतमा पार्ने खेलको मञ्चन गर्न थालेका छन् । यो विषय संसदको विषय भएको र नेपालका सांसदहरु सार्वभौम जनताका प्रतिनिधि भएकाले त्यसलाई त्यहीँबाट छिनोफानो गर्न दिने नेतृत्वको भनाइलाई वेवास्ता गर्दै सहयोग भित्र राष्ट्रवादको छायाँ खोज्न तल्लिनहरुले एमसिसिलाई अतिरञ्जीत तरिकाले उछाल्न थाले । त्यस कार्यको नेतृत्व गर्ने मध्ये दलका अध्यक्षको पदासिन समेत रहे जसले आफू समेतको संयुक्त सरकारले सहयोग ल्याउने गरी निर्णयमा सही गरेको बिर्सिए वा अवचेत भए ।
सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हुन्छ त्यसैले त्यसको कार्यको अटुट सम्बन्ध हुन्छ, पूर्ववर्ती सरकारका काममा खण्डीकरण गर्न त्यसको वर्तमानको औचित्यबारे जनतालाई स्पष्टिकरण दिनु आवश्यक हुन्छ भन्ने बोध उनले गर्नु परेन । बरु एमसिसिको बिरोधको निहुँमा त्यसबारे छलफल गर्न भनी दलको स्थायी समितिको बैठकको अलाप जारी भयो । दलको बैठक नियमित प्रकृया भएकाले समय मिलाएर बैठक बोलाउन नेतृत्वले समय दिएकोलाई सरकार विरोधी झुण्डले सरकारलाई तह लगाउने हतियार ठान्न थाल्यो । बैठक बाहिर अमुक ब्यक्तिका घर कोठाबाट निर्णय बोकी ल्याएर नेतृत्वलाई सुनाउने खेलको नाटकको मञ्चन यस पटक पनि दोहोरियो ।
यसैबीच सरकार नेतृत्वले विदेशीले आफूलाई हटाउन गरेको प्रयासबारे एक कार्यक्रममा बोल्दै जनतालाई सूचित गर्नु भयो । इतिहासदेखि नै नेपाल राष्ट्रको एकाकार र बलियोपनाको भित्तामा तिखो र धारिलो हतियारले हिर्काएर सिद्धान्तको रङ लगाउँदै अरुकै थला किलामा घाँस खान पल्केको र अरुकै सल्लाह सुझावमा चमत्कारिताको नाममा वितण्डा मच्चाउन बानी परेको भित्री महत्वाकांक्षाले यही समयलाई मौका ठानी प्रायोजित वितण्डा सुरु गरियो । नतिजा कथामा झैँ यथार्थमा पनि चोरको खुट्टा काट भन्दा कसैले खुट्टा उचालेको देखियो । दुई कार्यकाल प्रधानमन्त्रीको कुर्सीमा आसिन हुँदा आफन्तलाई नियुक्ती बाँडन बाहेक सिन्को नभाँचेको र सेना प्रमुखलाई हटाउने गीत सहितको आफूले बजाएको बेमौसमी बाजाको स्वरबाट त्रसित भइ वाफरेवाफ भन्दै भइ रहेको सत्ता छाडेर उफ्रनेले जन अनुमोदित प्रधानमन्त्री र दलका सदस्य अनुमोदित अध्यक्ष हटाउने प्रस्ताव राखेको समाचार बाहिर आयो ।
जो अरुको घरको घाँसको भरमा पेट पाल्छ, त्यसैले दिएको आश्वासनमा भर परी दलको प्राविधिक बहुमतको नाममा देशको नेतृत्वमाथि धावा बोल्नु वर्तमानमा उचित अनुचित केहो नपर्गेली, बितण्डावादीको पछि लागेर, विगतको हेक्का हराएर, दलको इतिहास र प्रयासलाई विर्सेर दुई दुई स्थानबाट जनताले हराइदिए पछि संसदमा पुगेर राष्ट्रका नाममा सम्झनलायक एउटा पनि काम नगरी कार्यकाल खेर फाल्ने अर्का पुराना भनिने नेताको ब्यबहार पनि यसबेला उदेकलाग्दो र टिठलाग्दो भएको छ ।
यस्तै कामको चुरो ठयाप्पै नबुझ्ने, आफ्नै टाउको हल्लाएर भाषण अच्छा भयो भन्ठान्ने, इतिहास नहेरेसम्म नेपालका प्रधानमन्त्रीको नाममा कसैले सम्झनै नसम्झने भूपु समेत गठबन्धनमा कुदेको देख्दा घोडा कुद्यो घोडीसँग कानु साँढे पछिपछि भन्ने उखान चरितार्थ भएको छ । आफनै पारिवारिक भतिजसँग चुनाव हारेर केही दिन सत्ता बाहिर पर्दा बिरोधी काग्रेस भन्दा धेर छटपटाउने र कहिल्यै राजनीतिको चुरोमा नबसेको, बस्न नसक्ने, सधैँ अरुको पिछलग्गु बनेर आदर्श राजनीतिको भाषण छाँट्ने द्रब्यमित्रहरु समेतको साँठगाँठको लगन समेत मालदाम्लामा उनिएको वर्तमान नेपालको यथार्थ बनेको छ ।
बाघको छाला देखेर स्याल उफ्रे झैँ गैह्र राजनीतिक रुपबाट प्रधानमन्त्री हटाउन कुदेका नेताहरुको चर्तिकला हेर्न देश बाध्य छ । बर्तमान राजनीति यिनबाट आहात छ । न संवैधानिक प्रकृया न विश्वको चलनचाँजो न कानुनी प्रकृया न नीति नियम सबै सबै मिचेर आग्रहमा राजनीति गर्नेलाई को कसको भन्नै परेन । किनकि कसैको पुच्छर टेक्दा अरु कसैको जिउमा दुखेबाट नै त्यो स्पष्ट भएको छ । त्यसैले पार्टीका इमान्दार कार्यकर्ता, शुभेच्छुक र देशप्रेमी जनता सबैले बेलामा खबरदारी गर्नुपर्ने भएको छ । र, भन्नु पर्ने भएको छ– उत्तेजित नहुनुहोस् कमरेड, मौका सधैँ तपाईँको साथमा हुँदैन, संयम हुनुहोस कमरेड समय अझै भडकी सकेको छैन ।
अझैपनि नेपालमा वामपन्थी समर्थक मतदाताको बहुमत छ । देशको मुहार फेर्न बामदलले मात्र सक्ने जनविश्वास कायम छ । असत्य समाचारबाट जनतालाई केही समय भ्रममा राख्न सकिएला तर सधैँ जनता भ्रमित हुँदैन । त्यसैले संयम हुनुहोस समयले कतै तपाईँलाई पनि माफ गरी सत्ताको छेउ लैजान सक्नेछ । नभएपनि उज्वल नेपालको भविष्यसँग तपाईँको पनि भविष्य सँगै हुनेछ । देश तपाईँको स्वार्थको खेति गर्ने फोगटो मात्र होइन, तीन करोड नेपालीको वर्तमान र भविष्यको आधार हो । यसलाई बिगार्ने भत्काउने हक कसैलाई छैन, हुँदैन । सबैलाई चेतना भया ।
