गोविन्द थापा-
एउटा देशका प्रधानमन्त्री हट्दा अर्काे देश खुसी हुन आवश्यक छ र ? अथवा, खुसी हुन सुहाउँछ र ? नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गरिने भयो भन्दै भारतीय मिडियाहरुको खुसीको सीमा देखिँदैन । किन ? भारतीय नेताहरुले पनि केपी ओलीको सरकार ढाल्न चाल चलिरहेका छन् र कतिबेला ढल्छ भनेर आश गरिरहेको देखिन्छ । किन ?
सामान्यतया कुनै पनि देशमा सरकार फेरिँदा त्यो देशको विदेश नीति फेरिँदैन । केपी ओली प्रधानमन्त्री नरहनुभएको अवस्थामा अरु कोही प्रधानमन्त्री बन्छ । नयाँ प्रधानमन्त्रीले विदेश नीतिलाई निरन्तरता दिनुपर्ने हो । तर, नेपाल यसको अपवाद हो । नेपालका सबैजसो प्रधानमन्त्रीले भारतमुखी विदेश नीति अपनाए, केपी ओलीले भने स्वतन्त्र र तटस्थ नीति अपनाउनुभयो । भारतलाई नेपालले स्वतन्त्र र तटस्थ नीति अपनाएको चित्त बुझ्दैन । त्यसैले केपी ओलीलाई भारतले हटाउन खोजेको हो ।
केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्नुहुँदा पनि नेपालले राष्ट्रिय स्वाभिमानको ऐतिहासिक विदेश नीति लियो । दोस्रो पटक अर्थात् अहिले प्रधानमन्त्री बन्दा पनि नेपालले राष्ट्रिय सम्मान र स्वाभिमानको नीति लिएको छ । यही कारण केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने षडयन्त्र भारतले गरेको हो ।
भारतले षडयन्त्र नगरेर मैले नै हटाउन खोजेको हूँ भनेर नेकपाकै नेता पुष्पकमल दाहाल प्रचण्डले भन्नुभएको छ । नेकपाका अन्य केही नेताले पनि त्यसो भनेका छन् । हो त ? यो विषयमा तथ्य पहिचान गर्नुपर्ने भएको छ ।
तथ्य– १
केही दिन अघि सरकारले नीति तथा कार्यक्रम ल्यायो । सो नीति तथा कार्यक्रमलाई पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरुले प्रशंसा गर्नुभयो । सरकारले राम्रो काम गरिरहेको छ भन्नुभयो । सो नीति तथा कार्यक्रमलाई नेकपाका सबै सांसद्ले संघीय संसद्मा समर्थन गरेर मत दिए । पारित गराए । नेकपाका एकजना पनि सांसद्ले नीति तथा कार्यक्रमको विपक्षमा मत दिएनन् । प्रचण्ड र माधवका गुटले नीति कार्यक्रम ठिक भएन भन्दै विपक्षमा मत किन दिएनन् ? किनभने त्यसबेलासम्म उनीहरुका लागि पनि सरकार ठिक थियो ।
तर, अहिले प्रचण्ड र माधवको बेग्लाबेग्लै गुट सरकार ढाल्न लागिपरेको छ । नीति तथा कार्यक्रम ठिक तर सरकार वेठिक कसरी ? अढाई वर्षसम्म सरकार ठिक तर केही दिनभित्रै सरकार वेठिक कसरी ? रातारात सरकारप्रतिको धारणा परिवर्तन स्वदेशी कारणले मात्र भएको कसरी मान्ने ? यता सरकार ढाल्ने तयारी चल्नु उता भारत रमाउनु संयोग मात्र हो भनेर कसले पत्याउँछ ? रातारात दृष्टिकोण परिवर्तन गराउने काम भारतले नगरेको हो भने कसले गरिदियो त ? त्यसैले भन्न सकिन्छ– भारतले नै सरकार ढाल्न यहाँ मान्छे परिचालन गरेको हो ।
तथ्य–२
तथ्य १ मा जे ब्याख्या गरियो २ मा पनि त्यही कुरा लागू हुन्छ । केही दिन अघि सरकारले संघीय संसद्मा बजेट ल्यायो । त्यो बजेटलाई पनि प्रचण्ड र माधव समूहले समर्थन गर्याे । सो समूहका सांसद्हरुले संघीय संसद्मा बकाइदा भोट दिएर बजेट पारित गरे ।
याे अालेखकाे भिडियाे हेर्न याे लिंकमा क्लिक गर्नुस् :
बजेट या नीति तथा कार्यक्रम पारित नगरेको भए हुँदैनथ्यो र ? त्यो अवस्थामा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने हुन्थ्यो । तर, त्यसो गरिएन । संघीय संसद्मा नेकपाका सम्पूर्ण सांसद्हरुले टेबल ठटाएर समर्थन गर्दै बजेट पारित गरे । बजेट पारित गर्न टेबल ठटाएको हात दुख्न निको भइसकेको छैन होला तर सरकार गिराउन किन लागिपरेको ?
केही दिन अघि सरकारले ल्याएको बजेटको समर्थन गरेर पारित गर्ने अनि केही दिनपछि सरकार गिराउन चलखेल गर्ने काम विवेक भएको मानिसले गर्दैन । बुद्धि र विवेक अन्तै बन्दक राखेकाहरुले मात्र यस्तो काम गर्न सक्छन् । तथ्य १ र २ लाई हेरेर भन्न सकिन्छ– सरकार गिराउने षडयन्त्र प्रायोजित हो । भारतबाटै प्रायोजित हो ।
तथ्य- ३
वास्तवमा कतिपय नेताहरुले यो सरकार विरुद्ध एम्वुस थाप्न नेपालको नयाँ नक्सा जारी गर्नुपर्छ भनेर माग राखेको सबैलाई थाहा भएकै कुरा हो । नयाँ नक्सा जारी गर्नुपर्छ भनेर माग राख्ने, त्यसपछि भारतले ‘खबरदार नयाँ नक्सा जारी गर्लास् भनेर हपार्छ’, त्यसपछि केपी ओलीले नक्सा जारी गर्नुहुन्न । अनि सरकारलाई प्रहार गर्नुपर्छ भन्ने उनीहरुको रणनीति थियो । तर, केपी ओलीको नशानशामा देशभक्तिको रगत बगेको छ भन्ने उनीहरुले बुझेनन् । सरकारले नयाँ नक्सा जारी गरेर संविधान संशोधन विधेयक ल्यायो । विधेयकको समर्थन गर्न उनीहरु बाध्य भए । रहरले होइन करले, मनले होइन मुखले मात्र समर्थन दिएका हुन् भन्ने अहिले सरकार ढाल्ने गतिविधिबाट प्रष्ट भएको छ । नत्र भारतलाई सजिलो पारिदिन केपी ओलीको सरकार किन ढाल्न खोजेको ? यो तथ्य जनताले बुझेका छन् ।
संविधान संशोधनपछि भारत विक्षिप्त भयो । भारतले प्रधानमन्त्री ओली विरुद्ध आफ्नो मिडिया उतार्यो । प्रधानमन्त्री ओलीलाई नानाभाँती आरोप लगायो । भारत षडयन्त्रमा उत्रियो । सरकार ढाल्न पहिले देखि नै बुनिएको तानाबानालाई कार्यान्वयनमा ल्याइयो । यता सरकार ढाल्ने खेल सुरु भयो उता ओली सरकार ढल्ने भयो भन्दै भारतमा हर्षबढाईं हुन थाल्यो । भारतीय मिडियाले भारत समर्थक प्रचण्ड अब प्रधानमन्त्री बन्ने भए भन्दै समाचार दिन थाले । सरकार ढाल्न चाहनेहरुको रणनीति केके छ भनेर भारतीय मिडियाले पहिले नै समाचार दिए । उनीहरुले समाचार दिए अनुसारको बाटोमा सरकार ढाल्नेहरु हिँड्न थाले ।
यस्तो तथ्यहरुले छर्लङग हुन्छ– भारतले नेपालको सरकार गिराउने ग्राण्ड डिजाइन रचना गरेको हो ।
तथ्य– ४
भारतले आफ्नो सरकार ढाल्ने ग्राण्ड डिजाइन बनाएको प्रधानमन्त्री ओलीले नबुझ्ने कुरै भएन । पहिलो पटक प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकावन्दीको प्रतिकार गर्ने केपी ओली प्रधानमन्त्रीलाई पुन प्रधानमन्त्री बन्न नदिन भारतले प्रयास गरेको सबैले देखेकै हो । वाम गठवन्धनले बुहमत ल्याएपछि पनि ओलीको बाटो छेक्न भारतले खेल रचेकै हो ।
अहिले सरकार ढाल्न भारतले बल्छी थाप्यो । बल्छीका रुपमा प्रयोग भए नेकपाकै केही नेता । त्यसपछि प्रधानमन्त्री ओलीले भारतीय खेलको पोल सार्वजनिक रुपमै खोलिदिनुभयो । भारतले सरकार ढाल्न खोजेको खुलासा गरिदिनुभयो । यसको खण्डन भारतका नरेन्द्र मोदी या विदेश मन्त्रालयले गर्नुपथर््यो । अथवा काठमाडौं स्थित भारतीय दूतावासले गर्नुपथर््यो । तर, अचम्मसँग प्रचण्डले पो खण्डन गर्नुभयो । ‘भारतले होइन मैले सरकार ढाल्न खोजेको हूँ’ भन्नुभयो । नाकावन्दीका बेला डा. बाबुराम भट्राई, महन्त ठाकुर, खगेन्द्र संग्रौलाहरुले भारतले नाकावन्दी गरेको होइन हामीले दशगजामा बाटो छेकेका हौं भन्थे । त्यही शैलीमा प्रचण्डले भारतको ढाकछोप गरेर दोषजति आफ्नो टाउकोमा लिनुभयो ।
जसरी बाबुराम र महन्तहरुको जमातले आठसय किलोमिटर लामो नेपाल भारत सीमा छेक्न सक्दैन र छेकेको होइन पनि । त्यसैगरी प्रचण्डको बुँताबाट मात्र सरकार ढल्न सक्दैन । प्रचण्डहरुलाई कसले बोकेको छ र प्रचण्डहरुको हर्कतबाट कसले फाइदा पाउँछ भन्ने हेर्नुपर्छ । यसरी हेर्दा छर्लङगै भारत देखिन्छ ।
तथ्य– ५
नेपालमा भारत अस्थिरता चाहन्छ । दक्षिण एसियाका सबै देशमा अस्थिरता चाहन्छ । उसले विशेषगरी नेपाललाई सधैं अस्थिर बनाउन खेल गरिरहेको छ । आफ्ना समर्थकको सरकार बनायो भने पनि धेरै समय टिक्न दिँदैन । एउटा समर्थकलाई हटाएर अर्का समर्थकको सरकार बनाउँछ । यतिका वर्षसम्म गरेको यसै हो । ऐतिहासिक तथ्यले यही भन्छ । यो ऐतिहासिक तथ्यका आधारमा पनि प्रष्ट हुन्छ– केपी ओलीको सरकार गिराउन भारतले तानाबाना बुनिरहेको छ । प्रचण्डको इतिहास पनि अस्थिरता र अशान्तिलाई प्रश्रय दिएको घटनाले भरिपूर्ण छ ।
याे पाँचाैं तथ्यबारे धेरै लेखिरहन नपर्ला । किनभने यी तथ्यहरु नेपाली जनताले दशकाैंदेखि देख्दै र भाेग्दै अाएका छन् ।
र, अन्त्यमा
पहिलो संविधान सभा चुनावपछि प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न दिनुभएन । पछि उहाँलाई पछुतो भयो । त्यसपछि बारम्बार ‘गिरिजाबाबुलाई राष्ट्रपति बन्न नदिएर ठूलो गल्ती गरिएछ’ भनिरहनुभएको छ । इतिहासको त्यो गल्तीबाट उहाँले पाठ सिक्नुभएन ।
अरुको लहलहैमा लागेर केपी ओली नेतृत्वको सरकार ढाल्नु प्रचण्ड तथा उहाँको पछाडि लागेकाहरुका लागि भयंकर भुल सावित हुनेछ । गिरिजाप्रसादको मामिलामा गरेको भन्दा लाखौं गुणा ठूलो त्रुटी प्रचण्डबाट हुने छैन भन्ने आशा र विश्वाश गरौं । अरुको गोटी बनेर यो सरकार कसैले ढाल्छ भने उसको राजनीति समाप्त हुन्छ, त्यस्ता पात्रहरुको नाम नेपालको इतिहासमा सिक्किमका लेण्डुप दोर्जेेको जसरी अंकित हुनेछ ।
सिक्किमलाई भारतमा विलय गराएपछि लेण्डुप दोर्जेले केके नै पुरस्कार पाउँला भन्ने ठानेका थिए । तर, आफ्नै देशलाई गद्दारी गर्ने मानिसलाई विश्वास गर्न हुँदैन भनेर भारतले लेण्डुपलाई पाखा लगाइदियो । त्यसपछि सिक्किम त्यागेर लेण्डुप कालेबुङ गएर बसे । त्यहिँ गुमनाम बनेर मरे ।
कृपया लेण्डुप दोर्जे बन्ने दुस्साहस नगरौं । नेपालकाे राष्ट्रिय हित, स्वतन्त्र अस्तित्व र स्वाभिमानकाे पक्षमा सबैले उभिउँ ।
