--प्रा.शम्भुप्रसाद ढकाल--
ज्योतिष शास्त्रमा समयको ज्ञान गरिने वृत्तलाई नाडी वृत्त भनिन्छ भने सूर्य हिँड्ने वृत्तलाई क्रान्ति वृत्त भनिन्छ । दुईवटा महावृत्तहरुको संपात १८० अंशको अन्तरमा दुई ठाउँमा हुन्छ । नाडी वृत्त र क्रान्तिवृत्तको पहिलो संपातलाई मेषसंपात र दोस्रो संपातलाई तुलासंपात भन्ने चलन छ । त्यही संपातको अर्को नाम गोलसन्धि पनि हो ।
मेषसंपातबाट क्रान्तिवृत्तको बराबर १२ ओटा टुक्राको नाम क्रमशः मेषादि १२ ओटा राशिहरुको नाम हो । त्यस्तै २७ ओटा टुक्राहरु क्रमशः अश्विन्यादि २७ ओटा नक्षत्रहरु हुन् ।
एउटा वृत्तको मान ३६० अंश हुने भएकाले प्रत्येक मेषादि २ ओटा राशिहरुको मान ३०, ३० अंशको हुन्छ भने प्रत्येक नक्षत्रको मान १३ अंश २० कलाको हुन्छ । यस हिसाबले सवादुई नक्षत्रको एक राशि हुन्छ ।
ज्योतिष शास्त्रको मान्यता अनुसार सृष्ट्यादिकी नाडी वृत्त र क्रान्तिवृत्तको प्रथम संपात निरयण मेषादि संपात हो । त्यस समयमा मानिसहरुलाई गोलसन्धि स्थिर छैन भन्ने कुरा थाहा थिएन । कालान्तरमा गएर गोलसन्धि चल हुँदोरहेछ भन्ने कुरा थाहा भयो र त्यस बारेमा चिन्तन मनन हुनथाल्यो । त्यस किसिमको चलनान्तरलाई अयनांश भन्ने नाम दिइयो ।
अब यहाँ सूर्य सिद्धान्त अनुसार अयनांश ल्याउने तरिका प्रस्तुत गर्छु:
ज्योतिष शास्त्र अनुसार ४३२०००० तुल्य सौरवर्षको एक महायुग हुन्छ । एक भगण भन्नाले १२ राशिको समूह अर्थात् एक चक्र भनेर सम्झनु पर्छ । युगकु दिन भन्नाले एक महायुगमा हुने दिनसंख्या १५७७९१७८२८ तुल्य दिनको समूहलाई सम्झनु पर्छ । एक महायुगमा गोलसन्धिको चलन ६०० भगण तुल्य हुन्छ । एक महायुगको वर्ष संख्या ४३२०००० ले एक महायुगमा हुने अपन चलन भगण ६०० लाई भाग गर्दा एक वर्षमा हुने अयन चलन भगण ०.०००१३८८८ आउँछ । यसलाई १२ ले गुन्दा राशि हुन्छ, राशिलाई ६० ले गुन्दा अंश हुन्छ, अंशलाई ३० ले गुन्दा कला र कलालाई ६० ले गुन्दा विकला हुन्छ ।
नाडीवृत्त र क्रान्तिवृत्तको संपात विन्दु स्थिर छैन । सृष्ट्यादिमा जुन ठाउँमा संपात भएको थियो त्यो संपात प्रतिवर्ष ५४ विकलाको दरले अगाडि सर्दै जान्छ र १८०० वर्षमा २७ अंश पर पुगेर फर्कन थाल्छ । अर्को १८०० वर्षमा पुरानै ठाउँमा आइपुग्छ । त्यसपछि त्यो संपात त्यही नै गतिले तलतिर झर्न थाल्छ ।
यसरी झर्दा झर्दा १८०० वर्षमा प्रथम गोलसन्धि विन्दुबाट २७ अंश तल पुग्छ र पुनः फर्केर १८०० वर्षमा त्यही प्रथम गोलसन्धि विन्दुमा आइपुग्छ । यस किसिमको एक पटकको २×७४= १०८० तुल्य भ्रमणलाई अयनांशको एक भगण भनिन्छ । यसबाट २७ अंशभन्दा बढी अयनांश कहिले पनि हुन सक्दैन भन्ने कुरा सिद्ध हुन्छ ।
एक महायुग भनेको सत्य, त्रेता, द्वापार र कलि चार ओटा युगहरुको सौर वर्षको योग हो । १७२८००० सौरवर्षको एक सत्ययुग हुन्छ, १२९६००० वर्षको एक त्रेतायुग हुन्छ, ८६४००० वर्षको एक द्वापर युग हुन्छ भने ४३२००० वर्षको एक कलियुग हुन्छ । उपर्युक्त चार युगहरुको सौरवर्षको योग ४३२०००० वर्ष हुन्छ ।
कलिको वर्तमान ४३२००० मध्ये ०६४ सालको आम्भसम्ममा ५१०८ वर्ष कलिले भोग गरिसकेको छ । सृष्टिको सुरुबाट द्वापरको अन्त्यसम्ममा बितेको जम्मा वर्षमान १९५५८८०००० हुन्छ । ७२०० वर्षको एक अयनांश भगण हुन्छ भने १९५५८८०००० वर्षको कति भगण होला भनी त्रैराशिक गर्दा २७१६५० भगण तुल्य लब्धि आउँछ तर शेष रहँदैन ।
यसबाट के सिद्ध हुन्छ भने कलियुउगको आरम्भमा अयनांशको मान शून्य थियो । कलि शुरु भएको ५१०९ वर्षमा पूरा हुन लागेको छ । अब यहाँ निरयण मेषादि विन्दुबाट अयनचलन विन्दु कहाँनेर पुगेको छ भन्ने कुराको खोजी गरिन्छ ।
अयनचलन विन्दु आरम्भको विन्दुबाट कहिले अगाडितिर र कहिले पछाडितिर दोलायमान भइरहन्छ । ७२०० वर्षमा ३६०० अंश हिँड्छ भने ५१०९ वर्षमा कति अंश हिँड्ला भनी त्रैराशिक गर्दा २५५.४५ अंश हिँड्छ भन्ने कुरा थाहा हुन्छ ।
अब ३६० अंशको चक्रमा २५५.४५ तुल्य अयनांश पाइन्छ भने १०८ अंशको फमा कति पाइएला भनी त्रैराशिक गर्दा ७६.६३५ अयनांश लब्धि आउँछ । किन्तु २७ अंश भन्दा बढी अयनांश कहिले पनि हुँदैन ।
आरम्भ बिन्दुबाट २७ अंशसम्म पुग्दाको समय प्रथम पाउ हो भने फर्केर आरम्भ बिन्दुमा आइपुग्ने समय दोस्रो पाउ हो । त्यस आरम्भ विन्दुबाट २७ अंश तल झर्दा लाग्ने समय तेस्रो पाउ मानिन्छ भने फर्केर पुनः प्रारम्भ विन्दुमा आइपुग्ने समय चौथो पाउको हुन्छ । त्यस्तै शुरुबाट २७ अंश पहिलो पाउ, फर्केर आउँदाको २७ अंश अर्थात् २८ देखि ५४ अंश भित्रको दोस्रो पाउ, ५५ देखि ८१ अंशसम्म तेस्रो पाउ र ८२ देखि १०८ अंशसम्म चौथो पाउ हुन्छ ।
माथि त्रैराशिकद्वारा प्राप्त ७६.६३५ अयनांश ५४ अंश नाघेर ८१ अंशभित्र परेकोले तेस्रो पाउको अयनांश रहेछ भन्ने कुरा थाहा हुन्छ । त्रैराशिकद्वारा प्राप्त लब्धि २७ अंश भन्दा कम छ भने त्यही नै अयनांश हुन्छ । २७ अंश भन्दा बढी लब्धि छ भने ५४ अंशबाट लब्धि घटाउनु अयनांश हुन्छ । ५४ अंशभन्दा बढी छ भने लब्धिबाट ५४ घटाउनु अयनांश हुन्छ । ८१ अंशभन्दा लब्धि बढी छ भने १०८ बाट लब्धि घटाउनु अयनांश हुन्छ । यहाँ प्राप्त भएको लब्धि ७६.६३५ अंश ५४ अंश भन्दा बढी भएकोले तेस्रो पाउको अयनांश रहेछ भन्ने कुरा थाहा भयो । यो कुरा स्पष्ट रुपमा बुझ्नको लागि चित्रको सहारा लिँदा राम्रो हुने हुनाले तल लेखिएको चित्रलाई राम्रोसँग ध्यान दिएर हेरौं–
प्रस्तुत चित्रमा नाआडी चापखण्ड नाडी वृत्तको हो भने काआति चापखण्ड क्रान्तिवृत्तको हो । आ विन्दु भनेको नाडी र क्रान्तिवृत्तको संपात विन्दु हो । यसै विन्दुलाई गोलसन्धि, वसन्त संपात, मेषादि विन्दु आदि नाम दिइएको छ ।
अब यहाँँ आ विन्दुलाई सृष्ट्यादिको आरम्भ विन्दु मानौं । आतिर आका दुई चापखण्डलाई २७०, २७० अंशको मानौं । आ संपात विन्दु ती विन्दुतर्फ सर्दै जाँदा जब न विन्दुमा पुग्दछ, तब आन चाप तुल्य अयनांश हुन्छ । त्यो आ विन्दु ती विन्दुमा पुगेर नफर्केसम्म प्रथम पाउको अयनांश हुन्छ र त्यो अयनांश वृद्धि क्रममा हुन्छ । ती विन्दुमा पुगेपछि अयनांशको प्रथम पाउ समाप्त भएर दोस्रो पाउमा प्रवेश गर्छ तर त्यो अयनांश घट्ने क्रममा हुन्छ । ती विन्दुबाट फर्केर पुनः न विन्दुमा आइपुग्दा आ चाप जति नै अयनांश हुन्छ । त्यसबाट पति तल झरेर आ विन्दुमा आएपछि दोस्रो पाउ समाप्त हुन्छ र त्यो आ संपात विन्दु का विन्दुतिर झर्न थाल्छ । जब का विन्दुमा पुग्छ त्यतिबेला तेस्रो पाउ समाप्त हुन्छ । आ चापभित्रको प विन्दुमा पुग्दा आप तुल्य चापांश अयनांश हुन्छ । का विन्दुबाट फर्केर जब आ विन्दुतर्फ लाग्दछ त्यस समयको अयनांश चौथो पाउको हुन्छ र घट्ने क्रममा हुन्छ ।
यसरी घट्दै घट्दै गएर जब पुनः आरम्भकै स्थानमा आ विन्दुमा पुग्दछ त्यतिबेला अयनांशको एक चक्र अर्थात् १०८ अंश पूर्ण हुन्छ । यसरी यस संपात विन्दुलाई एक चक्र अर्थात् १०८ अंश पूरा गर्न ७२०० वर्ष लाग्छ । यसबाट के थाहा भया भने यहाँ प्राप्त भएको ७६.६३५ अयनांश तेस्रो पाउको वृद्धि क्रममा रहेको आका चाप भित्रको स विन्दु रहेछ ।
त्यस कारण तेस्रो पाउको लब्धिबाट ५४ घटाउँदा वास्तव अयनांश हुने हुनाले ७६.६३५ बाट ५४ घटाउँदा २२.६३५ वास्तव अयनांश भयो । दशमलव पछाडिको ६३५ अंकलाई ६० ले गुन्दै जाँदा ३८०।६” कला विकला हुन्छ । अतः सूर्य सिद्धान्तअनुसार २०६५ सालको सुरुको अयनांश २२०।३८’।६” हुने रहेछ भन्ने कुरा सिद्ध हुन्छ । एवंरितले २०६५ सालको वर्षारम्भ समयको अहर्गणद्वारा पनि त्यही अयनांश आउँछ । जस्तैः वि.सं. २०६५ को वर्षारम्भको अहर्गण १८६६१०४, युगकुदिन १५७७९१७८२८ युगीयायन भगण = ६००, वर्षारम्भको अयनांश = ६००Â×१८६६१०४Â×३६०÷१५७७९१७८२८ऽ २५५.४४९५९११, १०८ को चक्रमा अयनांश = २५५.४४९५९११ ×१०८÷३६०ऽ = ७६.६३४८७७३३ हुन्छ । यसबाट ५४ घटाउँदा अयनांश २२.६३४८७७३३ऽ = २२।३८।६ हुन्छ ।
कसै कसैको मतमा अयनचलन विन्दुको यात्रा २७ अंशको सीमाभित्र रहँदैन, २७ अंशबाट पनि अघि बढी नै रहन्छ भन्ने छ । यदि त्यसै नै भन्ने हो भने २०६५ को वर्षाम्भको अयनांश = ६००Â×५१०९Â×३६०÷४३२००००ऽ = २५५०४५ऽ = २५५०। २७ हुन आउँछ । यसैलाई अयनांश किन नमान्ने ।
त्यसैले म सूर्य सिद्धान्तलाई मान्दछु । ग्रहहरुको गणनामा सूर्यसिद्धान्तीय पद्धतिको उपयोग गर्ने तर अयनांश साधनको तरिकालाई नमान्ने भन्ने कुरा युक्तिसंगत देखिँदैन । २० ले गुनेको २१६०० बाट प्राप्त फल ४३२००० लाई ४ ठाउँमा राखेर क्रमशः ४, ३, २, १ ले गुनेर आएको पृथक् पृथक् फल १७२८०००, १२९६०००, ८६४००० र ४३२००० हरुर्ला क्रमशः सत्य, त्रेता, द्वापर र कलिको वर्षमान हो भनेर सूर्यसिद्धान्तले भनेको कुरालाई मान्ने एवं यी सत्यादि युगहरुको वर्षमानयोग ४३२०००० तुल्य सौरवर्षको एक महायुगको मान हुन्छ र एक महायुगमा त्यति नै सूर्य, बुध र शुक्रको भगण हुन्छ भनेर मान्ने तर “तद्दोस्त्रिघ्ना दशाप्तांशा विज्ञेया अयनाभिधाः” भन्ने सूर्यसिद्धान्तको वाक्यांशलाई नमान्ने भन्ने कुरामा कुनै पनि किसिमको कारण देखिंदैन ।
२१६०० भनेको १×१२×३०×६० को गुणन फल हो, तर २१६००० को गुणक २० केही पनि होइन । यस किसिमको ४३२००० लाई पूर्वाचार्यहरुले त्यसै निराधारमा मानेर आएका होइनन् । यसलाई हामीले सर्वथा मान्नु पर्ने हुन्छ र मानेर आएका पनि छौं । त्यसैले सूर्यसिद्धान्तको अयनांश ल्याउने तरिका शतप्रतिशत ठीक छ ।
ग्रहगणना गर्ने हाम्रा सम्पूर्ण पद्धतिहरु निरयण छन् । त्यसैले ती पद्धतिहरुको आधारमा परिगणित सूर्यादि ग्रहहरु निरयण हुन्छन् । हामीले आकाशमा हेर्दा देखिने सबै ग्रहहरु सायन हुन् । कुनै पनि तरिकाले दृष्टयुपलब्ध ग्रहलाई राश्यादिक अङ्गमा उतार्न सकेमा त्यस किसिमको ग्रहबाट गणितागत ग्रहलाई घटाउँदा वास्तवम अयनांश प्राप्त हुन सक्छ । यस किसिमको प्रयोग सूर्यमा गर्न सकिन्छ । यस सम्बन्धमा सिद्धान्त शिरोमणि ग्रन्थका ग्रन्थकार श्रीभास्कराचार्यले सिद्धान्त शिरोमणिको गोलाध्यायअन्तर्गतको यन्त्राध्यायको ३९ श्लोकमा भनेका छन्–
छायातोऽग्रातो वा भानुः सक्रान्तिपात एव स्यात् । पातोनः स्फुटभानुः स्फुटभानुः स्फुटभानूनो भवेत् पातः ।
छायाँबाट अथवा अग्रबाट साधना गरिएको सूर्य सायन हुन्छ । त्यसबाट गणितागत सूर्य घटाउनु अयनांश हुन्छ । अयनांश घटाउनु स्पष्टसूर्य हुन्छ । भास्करले भनेको अयनांश साधना गर्ने यो तरिका अति नै सजिलो तरिका हो । यस किसिमका अरु पनि धेरै तरिकाहरु छन् ।
यथासंभव धेरै तरिकाहरु अपनाएर पृथक् पृथक् किसिमका अयनांश साधन गरेर विशेष अनुसन्धान गरेर वास्तव अयनांश पत्ता लगाउनु पर्छ । शक वर्षको १९ सौं शताब्दीका केतकरका बाबुछोराले ज्यादै ठूलो परिश्रम गरेर अयनांशको गति पत्ता लगाएका थिए । यो कुरा केतकीको अध्ययन गरेमा स्पष्ट हुन्छ ।
भारतको बागलकोट नामक स्थानमा १ड१८ शाकेमा जन्मेका केतकरले आफ्नो ४३ औँ वर्षको उमेरमा केतकी ग्रहगणितम् नामक करणग्रन्थ लेखेका थिए । उनका विद्वान् सुपुत्र दत्तराजले केतकी परिमलभाष्य नामक केतकीको टीका लेखेका छन् । त्यस टीकामा अयनांशको बारेमा अति विस्तृत र खोजपूर्ण अध्ययन गरिएको छ ।
दत्तराजको त्यो लेख सम्बन्धित सबैको लागि अध्ययन योग्य छ । केतकरले आफ्नो केतकी ग्रहगणितको स्पष्टाधिकारको छैटौं श्लोकमा अयनांश ल्याउने तरिका दिएका छन् । उनको तरिका अनुसार इष्टशकबाट १८०० घटाएर आएको अन्तरलाई दुई ठाउँमा राखेर एकातिर ७० ले भाग गर्ने, अंशादि लब्धि आउँछ । अर्कोतिर ५० ले भाग गर्ने, कलादि लब्धि आउँछ । कलादिलब्धिर्लाइ अंशादि लब्धिबाट घटाउँदा आएको अन्तर फललाई अंशादि क्षेपक २२।८।३३ मा जोड्नु अभीष्ट समयको अयनांश आउँछ ।
उदाहरणार्थ २०६५ को वर्षारम्भ समयको अयनांश साधन गरिन्छ । यस वर्षको शक १९३० बाट १८०० घटाउँदा १३० अन्तर फल आउँछ । यसलाई ७० ले भाग गर्दा १।५१।२५.७१ अंशादि फल आउँछ । त्यही १३० लाई ५० ले भाग गर्दा २।२६ तुल्य कलादि फल आउँछ । अंशादिफलबाट कलादिफल घटाउँदा १।४८।५६.७१ हुन्छ । यसलाई अंशादिक्षेपक २२।८।३३ मा जोड्दा २३।५७।३३ अयनांश प्राप्त हुन्छ । केतकरका अनुसार वि.सं. २०६५ को वर्षारम्भ समयको अयनांश = २३।५७।३३ हुन्छ ।
सर्वानन्दकरण नामक करणग्रन्थका ग्रन्थकार गोविन्दगणकले पनि आफ्नो करणग्रन्थ सर्वानन्दकरणको स्पष्टाधिकारको ४१ श्लोकमा अयनांश ल्याउने तरिका दिएका छन् । सो अनुसार गणना गर्दा वि.सं. २०६५ को वर्षारम्भको अयनांश १९।५९।१४ आउँछ । त्यसै गरी ग्रहलाघवको तरिकाले गणना गर्दा उक्त समयको अयनांश २४।२६ आउँछ । त्यस्तै हाम्रो देश नेपालमा भने अयनांश साधन गर्ने तरिका बेग्लै छ । जस अनुसार उपयुक्त समयको अयनांश २४।१६।४१ आउँछ ।
सूर्यसिद्धान्तीय अयनांश २२।३८।६, वार्षिक गति ५४ विकला केतकीय अयनांश २३।५७।३३, वार्षिक गति ५०.२ विकला सर्वानन्दीय अयनांश १९।५९।१४, वार्षिक गति ५०.२ विकला ग्रहलाघवीय अयनांश २४।२६, वार्षिक गति ६० विकला नेपाली अयनांश २४।१६।४१, वार्षिक गति =
यसबाट के सिद्ध हुन्छ भने अयनांशको बारेमा विद्वानमा मतैक्यता छैन र वास्तव अयनांश पत्ता लगाउने तर्फ कोही पनि लागेको छैन । कसैले कुनै अयनांश लिन्छ भने कसैले अर्कै अयनांश लिएको हुन्छ । जसले गर्दा सम्बन्धित विषयहरुमा भिन्नता आएको कुरा हामीले स्पष्ट अनुभव गरिरहेका छौं ।
अहिले हाम्रो समाजमा पर्वसुधारको कुरा आइरहेको छ । यसको अर्थ हो अयनांश २४ अंशको आसपासमा भएकोले एक महिना जति पछि हटेर पर्वहरुको मिलान गर्ने । यसबाट सायन निरयणमा ६ अंशजतिको अन्तर पर्ने हुन्छ र दृष्टयुपलब्ध ग्रहहरु सँगको सामीप्य हुन्छ । तर यो सामीप्य सधैँ एउटै हुँदैन । किनभने २७ अंश पूरा नभएसम्म ५४ विकला वार्षिक गतिको दरले अयनांशको वृद्धि भइनै रहन्छ ।
अहिले तेस्रो पाउको अयनांश भएकोले २७ अंश नपुगेसम्म बढी नै रहन्छ । त्यसपछि घट्न थाल्छ । अयनचलनलाई रोक्न कसैले पनि सक्दौन । सूर्यसिद्धान्त अनुसार अबको लगभग २९१ वर्ष पश्चात् अयनचलन विन्दुले चौथो चरणमा प्रवेश गर्छ । त्यसपछि अयनांश घट्न थाल्छ ।एक महिनापछि हटे पनि सम्बन्धित ठाउँमा अयनांश जोड्ने वा घटाउने काम नगरी हुँदैन ।
यदि साँच्चै नै पर्वसुधार गर्ने हो भने एक महिना पछि हटेर हैन अयनांश तुल्य दिन पछि हटेर सायन मान लिनु नै राम्रो हुन्छ । यसबाट सायन र निरयणको खिचातानीबाट मुक्ति पाउन सकिन्छ ।
यसको लागि सबभन्दा पहिले वास्तवम अयनगति पत्ता लगाउनु पर्दछ । अनि सम्पूर्ण विश्वका सिद्धान्त ज्योतिषका विज्ञ विद्वानहरु एक ठाउँमा जम्माभएर यस सम्बन्धमा धेरै समय लगाएर पहिले वास्तवम अयनगतिको पत्ता लगाउने, निरयण पद्धतिलाई सायन पद्धतिमा परिवर्तन गर्ने र निरयण पद्धतिबाट सायन पद्धतिमा जाँदा त्यसको बीचमा पर्न जाने अयनांश तुल्य दिनका पर्वहरुको व्यवस्थापन गर्ने जस्ता अति महत्वपूर्ण विषयहरुमाथि राम्रोसँग छलफल गरेर निचोड निकाल्नु पर्दछ ।
त्यसपछि त्यस किसिमको विद्वत्सभाद्वारा निर्णय भएको कुराको सन्देश संसारको कुनै पनि कुनामा बसेको हिन्दूले थाहा पाउनुपर्दछ । हामीले मात्र यति महत्वपूर्ण विषय माथि राम्रोसँग विचार नगरी हात हाल्नु त्यति युक्तिसंगत हुन सक्दैन ।
यो काम गर्न सब भन्दा पहिले अयनांशकै कुरा अगाडि आउँछ । वास्तवमा अयनांश पत्ता नलगाई यो काम गर्न हुँदैन ।
यहाँ मैले पाँच थरी अयनांश दिएको छु । यी पाँच थरी अयनांशहरुमध्ये कुन अयनांश वास्तव हो त ? अनि हामीहरुले कुन अयनांशको आधारमा काम गर्ने ? त्यस कारण पर्वसुधारको लागि मात्र होइन वास्तव पञ्चाङ्ग निर्माण गर्न पनि वास्तव अयनांशको आवश्यकता भइसकेको छ । आगामी दिनहरुमा सम्बन्धित पक्षले यस विषयमा अवश्य पनि ध्यान दिने नै छ । अस्तु ।
