लोकमणि पौडेल –
‘जहाँ राम त्यहीँ अयोध्या’ भने झैं राम–सीता–लक्ष्मण चौध वर्षको वनवासका क्रममा अनेक ठाउँमा पुगेर लामै समय बसेको उल्लेख रामायणहरूमा पाइन्छ र ती ठाउँहरू अयोध्याका नामले पुकारिनु अनौठो होइन । वनवासका क्रममा त्यसरी पुगेका ठाउँहरूमध्ये लखनौको अयोध्या पनि एक भएको प्रमाण शास्त्रीय उत्खननबाट भेट्न सकिएला । तर त्यो अर्को पक्ष हो । ठाउँ ठाउँमा भ्रमण गर्दै पुग्नु एउटा कुरा हो र जन्मनु अर्को कुरा । पुगेका ठाउँ धेरै हुन्छन् तर जन्मेको ठाउँ एउटै हुन्छ । जसरी अनेक स्थानमा अयोध्या भेटिन्छन् उसरी नै अनेक स्थानमा वाल्मीकिको स्मरणमा स्थापित “वाल्मीकि आश्रम” भेटिन्छन् । कुनै कुनै आश्रमहरू वाल्मीकि पुगेर केही समय बसेकै स्थानमा निर्माण गरिएका पनि हुन सक्छन् । तर तिनमा सीताले संरक्षण प्राप्त गरेको र लवकुश जन्मिएको एउटै वाल्मीकि आश्रम हो । नेपाल र इण्डिया दुवै मुलुक तथा शास्त्रोक्त वाणीहरूले पुष्टि गरेको वाल्मीकि आश्रम पनि त्यही हो । त्यो नेपालकै माडी नगरपालिकाकाे वडा १ मा पर्दछ । नगरपालिका बन्नुभन्दा अगाडी सो क्षेत्र गर्दी गाविसमा पर्दथ्यो । तमसा नदी र गङ्गा (गण्डकी अर्थात् नारायणी) का किनारमा अवस्थित उक्त आश्रम नै लवकुशको जन्मस्थान हो । सबैले मानिआएको र शास्त्रले पनि सही ठहराएको उक्त वाल्मीकि आश्रमलाई आधार बनाएर रामजन्मभूमिको शास्त्रीय खोजी गर्नु बुद्धिमानी हुन्छ । किनकि यो नै सबैभन्दा सरल उपाय हो ।
रामजन्म प्रसङ्गदेखि लिएर लवकुश जन्मप्रसङ्गसम्मका घटनाहरूको जानकारीका लागि सबैभन्दा आधिकारिक र प्रामाणिक पुस्तक भनेको वाल्मीकिको रामायण नै हो । त्यसमाथी लवकुश को जन्म वाल्मीकिकै संरक्षण र रोहबरमा वाल्मीकि आश्रममै भएको थियो । त्यसैले पनि लवकुशको जन्मप्रसङ्गका बारे ऋषि वाल्मीकि जति जानकार अरु कोही हुन सक्दैनन् । रामायणकालपछि महाभारतकालमा आएर वेदव्यास ले अध्यात्म रामायण लेखेका थिए । जो वाल्मीकि रामायणकै संक्षेपीकृत संस्करण जस्तो प्रतीत हुन्छ । त्यसैले वाल्मीकि रामायणमै अडिएर लवकुश जन्मप्रसङ्गका कुरा गर्नु सर्वाधिक प्रामाणिक र समीचीन ठहरिन्छ ।
वाल्मीकि रामायणमा वर्णित लवकुश जन्मप्रसङ्गका आधारमा अयोध्या र वाल्मीकि आश्रमका बीचको सम्बन्ध पत्ता लगाउन र तिनीहरूको भौगोलिक अवस्थिति फेला पार्न हामीलाई धेरै सहायता मिल्दछ । जनताको अभिमतलाई सम्मान गर्नु नै राजाको कर्तव्य हो भन्ने बुझेका राजा रामले धोबीको कुरालाई महत्त्व दिएर सीतालाई परित्याग गरेको घटनाबाट लवकुश जन्मप्रसङ्गको आरम्भ हुन्छ । रामले वनवासका चौधवर्ष पूरा गरेर तथा रावणलाई मारेर फर्केको केही वर्षपछिको घटना हो । त्यो बेला राम राजगद्दीमा आसीन थिए । सीताको चरित्रमाथी धोबी (एक सर्वसाधारण जनता) ले शंका गरेको कुरा राजा रामले आफ्नै कानले सुनेपछि आफ्ना सल्लाहकारसँग सो विषयमा गहन विमर्श गरेका थिए । सो विमर्शमा बहुसंख्यक जनताले त्यस किसिमका कुरा गर्ने गरेको जानकारी रामले प्राप्त गरे । त्यसपछि राजा रामले जनताको भावनालाई सर्वोपरी ठान्दै आँफूले सर्वाधिक प्रेम गरिएकी आफ्नी अर्धाङ्गिनी सीतालाई परित्याग गर्ने निधो गरे । वाल्मीकि रामायणको उत्तरकाण्डको चवालीसौं र पैंचालीसौं सर्गमा यस कुराको वर्णन छ । पैंचालीसौं सर्गमा रामले लक्ष्मणलाई पीडाले व्याकुल बन्दै भनेका छन्–
आरुह्यसीतामारोप्य विषयान्ते समुत्सृज । गङ्गायास्तु परे पारे वाल्मीकेस्तु महात्मनः ।। १६ ।। आश्रमो दिव्यसङ्काशस्तमसातीरमाश्रितः । तत्रैनां विजने देशे विसृज्य रघुनन्दन ।। १७ ।।
अर्थात् (हे लक्ष्मण !) सीतालाई रथमा लिएर गङ्गा र तमसाको किनारमा अवस्थित वाल्मीकि आश्रम नजीकै छाडेर आऊ ।
त्यो बेला सीता दुई जिऊकी थिइन् । त्यसैले लक्ष्मणले रथमा आरामदायी बिस्तराको व्यवस्था गरेर सीतालाई राखी रथलाई सकेसम्म उबखाबड नभएको बाटोमा विस्तारै हिँडाउँदै एक दिन र एक बिहान लगाएर वाल्मीकि आश्रम पुर्याएको चर्चा पनि वाल्मीकि रामायणमै छ । अर्को महत्त्वपूर्ण कुरा के पनि छ भने त्यसरी जाँदा गङ्गा नदीलाई दुई पटक तरेका छन् । पहिलो दिनमा अयोध्याबाट उत्तर–पश्चिम लागेका छन् गङ्गाको किनारमा बास बसेका छन् । दोस्रो दिन सोही गङ्गा तरेर वाल्मीकि आश्रमतिर लागेका छन् । र, फेरि गङ्गा तरेर मध्यान्ह अगावै वाल्मीकि आश्रम नजीकैको गङ्गा तटमा पुग्दछन् र सीतालाई त्यहीं छाडेर फर्कन्छन् ।
यसरी सीतालाई छाडेर फर्केको केही महीनामा रामका कान्छा भाई शत्रुघ्न मथुरावासीलाई लवणासुरको अत्याचारबाट मुक्त गराउने उद्देश्यले मथुरा जाने तयारीमा लागेका हुन्छन् । रामले लवणासुरलाई मार्ने वाण दिनुसँगै शत्रुघ्नलाई जाँदाजाँदै बाटोमा वाल्मीकि आश्रम पसी सीताको स्वास्थ्यस्थिति बुझेर अगाडी बढ्ने सल्लाह दिन्छन् । दाजूको आज्ञा मुताबिक शत्रुघ्न वाल्मीकि आश्रम पुग्छन् र वाल्मीकिलाई भन्छन्–
भगवन्वस्तुमिच्छामि गुरोः कृत्यादिहागतः । श्वः प्रभाते गमिष्यामि प्रतीचीं वारुणीं दिशम् ।।७.६५.४।।
अर्थात्, हे महाराज म आजको रात यहाँ रोकिन चाहन्छु । भोलि सवेरै उठेर पश्चिम दिशातिर जाने योजना छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के देखिन्छ भने कुनै व्यक्तिले बीच बाटोमा रोकिएर म पश्चिमतिर जाँदैछू भन्छ भने ऊ शुरुदेखि नै पश्चिमतिर आइरहेको हुनु पर्छ । यसले अयोध्याबाट वाल्मीकि आश्रमलाई पश्चिम दिशातिर भएको सिद्ध गर्नुसँगै वाल्मीकि आश्रमबाट मथुरा अझै पश्चिममा रहेको पनि प्रमाणित गर्दछ ।
यो कुराको जानकारीसँगै वाल्मीकिले शत्रुघ्नलाई स्वागत गर्दै उक्त आश्रम रघुकुलवंशबाटै परिपालित भएको बताउनुले अयोध्या आश्रम बाट नजीकै भएको समेत अवगत हुन्छ ।
वाल्मीकि आश्रमबाट पश्चिम दिशामा मथुरा रहेको र त्यहाँबाट बाटोमा सात रात बिताएर मथुराको यमुनातटमा पुगेको वर्णन पनि वाल्मीकिले छैसट्ठियौं सर्गमा यसरी गरेका छन्–
स गत्वा यमुनातीरं सप्तरात्रोषितः पथि । ऋषीणां पुण्यकीर्तीनामाश्रमे वासमभ्ययात् ।।१५।। अर्थात् बाटोमा सात रात बिताएर आठौं दिन शत्रुघ्न यमुनाका तटमा रहेका ऋषिका आश्रममा पुग्दछन् ।
शत्रुघ्न वाल्मीकि आश्रममा रोकिएकै रातमा सीताले जुम्ल्याहा छोरा जन्माउँछिन् र वाल्मीकिले सोही रातमै ती बालकहरूको नामाकरण गरिदिन्छन् । वाल्मीकि रामायणको उत्तरकाण्डको छैसट्ठिऔं सर्गको पहिलो श्लोकमा लेखिएको छ–
यामेव रात्रिं शत्रुघ्नः पर्णशालामुपाविशत् । तामेव रात्रिं सीतापि प्रसूता दारकद्वयम् ।। अर्थात् शत्रुघ्न वाल्मीकिका आश्रममा बसेकै रातमा सीताले दुई पुत्र जन्माइन् ।
त्यो साउन महीनाको पूर्णिमाको रात थियो । अर्थात् अहिले हामीले मनाउँदै आएको जनैपूर्णिमाको रात । वाल्मीकिले ती दुई बालकहरूलाई कुशका सहायताले शुद्धीकरण गरेका थिए । जसमध्ये जेठालाई कुशको अग्रभागले शुद्ध पारेकाले उनको नाम कुश र कान्छालाई कुशको जरा (लव) ले शुद्ध पारेकाले उनको नाम लव राखियो । यो कुरा सोही सर्गको सातौं र आठौं श्लोकमा यसरी बताइएको छ–
यस्तयोः पूर्वजो जातः स कुशैर्मन्त्रसत्कृतैः । निर्मार्जनीयस्तु तदा कुश इत्यस्य नाम तत् ।।७।। यश्चावरो भवेत्ताभ्यां लवेन स समाहितः । निर्मार्जनीयो वृद्धाभिर्लव इत्येव नामतः ।।८।।
उनै शत्रुघ्न यो घटनाको १२ वर्षपछि मथुराबाट अयोध्या फर्केको प्रसङ्गलाई वाल्मीकिले रामायण उत्तरकाण्डको एकहत्तरौं सर्गमा यसरी उतारेका छन्–
ततो द्वादशमे वर्षे शत्रुघ्नो रामपालिताम् । अयोध्यां चकमे गन्तुमल्पभृत्यबलानुगः ।।१।। स गत्वा गणितान्वासान्सप्ताष्टौ रघुनन्दनः । वाल्मीक्याश्रममागत्य वासं चक्रे महायशाः ।।३।।
अर्थात् १२ औं वर्षमा शत्रुघ्न केही सेवकहरू र सैनिक साथमा लिएर राजा रामचन्द्रपालित अयोध्याका लागि प्रस्थान गर्दछन् ।१। बाटोमा सात–आठ ठाउँमा वास बसेपछि उनी वाल्मीकि आश्रम आइपुग्छन् ।३।
वाल्मीकि रामायणका यी श्लोकहरूले पनि मथुराबाट अयोध्या जाँदा बाटोमा वाल्मीकि आश्रम पर्ने कुरालाई थप पुष्टि दिन्छन् । शत्रुघ्न त्यो रात वाल्मीकि आश्रममै रोकिन्छन् । लवकुशले रामायणका श्लोकहरूको सुमधुर वाचन गरेर शत्रुघ्नलाई सुनाउँछन् । शत्रुघ्न मन्त्रमुग्ध हुन्छन् । रामसीताका व्यथाकथा सुनेर उनका आँखाबाट आँशुका धारा बग्छन् । भोलिपल्ट बिहान वाल्मीकिसँग विदा मागेर शत्रुघ्न आफ्ना परिचरलाई लिएर अयोध्यातर्फ लाग्छन् र सोही दिनमै अयोध्या पुग्दछन् । यो कुरालाई बहत्तरौं सर्गका छैटौं र सातौं श्लोकले यसरी बताउँछन्–
सोऽभिवाद्य मुनिश्रेष्ठं रथमारुह्य सुप्रभम् । अयोध्यामगमत्तूर्णं राघवोत्सुकदर्शनः ।।६।। स प्रविष्टः पुरीं रम्यां श्रीमानिक्ष्वाकुनन्दनः । प्रविवेश महाबाहुर्यत्र रामो महाद्युतिः ।।७।।
अर्थात् मुनिश्रेष्ठ (वाल्मीकि) लाई प्रणाम गरेर आफ्नो रथमा चढी श्रीरामचन्द्रलाई दर्शन गर्ने उत्कण्ठा बोकेर अयोध्यातर्फ प्रस्थान गर्दछन् ।।६।। उसै दिन इक्ष्वाकुनन्दन श्रीरामचन्द्रको मनोहर अयोध्यापुरीमा पुगेर रामचन्द्र भएको भवनमा प्रवेश गर्दछन् ।।७।।
माथिका यी लवकुश जन्मसँगै आएका अनेक प्रसङ्गहरूले वाल्मीकि आश्रमको अवस्थितिलाई प्रष्ट पार्नुसँगै वाल्मीकि आश्रमबाट रामजन्मभूमि अयोध्या पूर्वतिर र मथुरा पश्चिमतिर भएको प्रमाणित गर्दछन् । त्यसैगरी अयोध्या वाल्मीकि आश्रमबाट एक दिनको दूरीमा र मथुरा आठ दिनको दूरीमा रहेको पनि देखाउँछन् । नारायणी नदी नै रामायणमा वर्णित गङ्गा नदी हो । नारायणीलाई हामीले गण्डकी पनि भन्छौं । पहिले पहिले ठूला नदी जतिलाई गङ्गा भन्ने पनि चलन थियो । रामायणकालदेखि आजसम्म अनेक ठूला ठूला भूकम्प गए । पहाड बगेर कति नदीहरू ले बाटो फेरे । काली नदी देवघाटमा आएर अरु नदीसँग मिसिएपछि एउटा भङ्गालो पहाडको काछकाछ हुँदै केही पूर्व पुगे पछि दक्षिण लागेर अहिलेको राप्तीमा मिसिएको हुन सक्छ । या अझै तल पुगेर रियू नदी बनेको हुन सक्छ । यसको गहन खोजी आवश्यक छ । काली नदीको मुहान प्रथम मानसरोवर हो । दामोदर कुण्ड नजीकै रहेको ब्रह्म कुण्डलाई कतिपय शास्त्रहरूमा प्रथम मानसरोवर बताइएको छ । यी सबै कुराहरू लाई गहिरोसँग चिन्तनमनन गर्दा वर्तमान समयमा चितवनको माडीमा रहेको अयोध्यापुरी नै रामको वास्तविक जन्मभूमि भएको कुरा हरेक दृष्टिकोणबाट सिद्ध हुन्छ ।
लाेकमणि पाैडेलसँगकाे कुराकानी तलकाे भिडियाेमा हेर्न सकिन्छ
