इन्द्रबहादुर कार्की
चारपाँच दशक अघिको नेपाल कल्पना गरौं । त्यसबेला अधिकांश दम्पत्तीका पाँच÷छ जना सन्तान हुन्थे । प्रायले बर्षेनी सन्तान जन्माउँथे । सन्तान धेरै भएकाले को जेठो, को माहिलो अथवा को जेठी को कान्छी छुट्याउन पनि मुस्किल पर्दथ्यो ।
धेरै जना छोराछोरी भएकाले त्यसबेला जेठा माहिला देखि अन्तरे, जन्तरे, लखन्तरे हुँदै कान्छो भनेर बोलाउनु पर्दथ्यो । त्यसैगरी छोरी पनि जेठी, माहिली हुँदै देखि ठाईंली हुँदै कान्छी भनेर बोलाउनु पर्दथ्यो ।
जेठा–जेठी या कान्छा–कान्छी शब्द अहिले पनि छ तर अन्तरे अन्तरी, जन्तरे जन्तरी जस्ता शब्द नयाँ पुस्तालाई थाहा नहुने दिन आइसक्यो ।
समय अघि बढ्दै गयो । हिजो नपढेका छोरीहरु आमा हुन्थे, आजका आमाहरु केही न केही पढेका हुन्छन् । देशकाल र परिस्थिति बुझेका हुन्छन् । श्रीमानको इच्छामा गर्भवती बन्नुपर्ने दिन गए, आफ्नो इच्छामा गर्भवती हुन पाएका छन् । विगतमा परिवार नियोजनका उपाय थिएनन्, पछि साधनहरु आए, तर त्यस्ता साधनहरु सर्वसुलभ भएनन् । सुलभ भएको अवस्थामा पनि प्रयोग गर्न पाइँदैन थियो । आज चाहे अनुसारका साधन महिलाकै इच्छामा प्रयोग गर्न पाइएको छ ।
समाजको बदलिएको यो चरित्रले परिवारको आयातन घट्दै गएको छ । यसको अर्थ महिलाहरु अब बच्चा जन्माउनमा मात्र व्यस्त छैनन् उनीहरु पढलेख जागिर सबै धान्न पुगेका छन् । बच्चा जन्माउने नजन्माउने आफैं निर्णय गर्ने ठाउँमा पुगेका छन् ।
जनसांख्यिक भाषामा भन्नुपर्दा महिलाको प्रजनन दर घट्दै गएको छ । ०३० को दशकमा एक महिलाले औसत ६ जना भन्दा धेरै बच्चा जन्माउँथे भने ०६८ को जनगणना अनुसार २.६ जना मात्र जन्माएका छन् ।
प्रजनन दर पत्ता लगाउने माध्यम जनगणना
जनगणना मुलुकभित्र बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको निश्चित अवधीमा निश्चित विधि अपनाई पूर्णरुपमा गणना गर्ने प्रक्रिया हो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ । पछिल्लो जनगणना बि.सं. २०६८ सालमा भएको थियो । आगामी जनगणना वि.सं.२०७८ सालको जेठ र असारमा हुँदैछ । यो जनगणना नेपाल संघीयतामा प्रवेश गरेपछिको पहिलो हुनेछ ।
जनगणनामा देशभर बसोवास गर्ने प्रत्येक व्यक्ति तथा परिवार हरेकको गणना गरी सम्पूर्ण व्यक्तिको जनसांख्यिक, सामाजिक तथा आर्थिक क्रियाकलापहरु समेतको विवरण संकलन गरिन्छ । यस अन्तर्गत ब्यक्तिको विभिन्न विवरणका साथै महिलाको प्रजनन सम्बन्धी विवरण पनि समावेश गरिएको हुन्छ । यसबाट महिलाको प्रजनन दरमा के कस्तो परिवर्तन भएको छ र यसले जनसंख्याको बनोटमा आएको परिवर्तन अध्ययन गर्न मद्धत पुग्दछ । वैज्ञानिक जन्मदर्ता प्रणाली नभएको, भए पनि नियमित नभएको र पूर्णता नभएको अवस्थामा जनगणनाबाट प्राप्त विवरण नै प्रजनन दरका सूचकहरु प्राप्त गर्ने एकमात्र आधार हो ।
जनसंख्या बहुपक्षीय सरोकारको बिषय हो । यसको व्यवस्थापनमा सबै क्षेत्रको संलग्नता आवश्यक हुन्छ । जनसंख्यामा परिवर्तन ल्याउने प्रमुख तीन तत्व जन्म, मृत्यू र बसाई सराई हो । जनसंख्याको आकार पविर्तनमा योगदान पु¥.................... ...................... याउने कारक तत्व मध्ये प्रजनन सबै भन्दा महत्वपूर्ण हो । हालका बर्षमा नेपालका महिलाको प्रजनन दरमा कमी आइरहेको छ । २०४८÷ २०५८÷ २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर क्रमश ओरालो लाग्दो छ ।
हाम्रो देशमा बाल विवाह, उच्च प्रजनन दर, कम उमेरमै र थारै समयको अन्तरालमा गर्भधारणका कारणले प्रजनन तथा मातृ स्वास्थ्यमा अपेक्षित सुधार हुन सकेको छैन । तथ्याङ्क अनुसार २०६८ को जनगणनामा नेपालको कूल प्रजनन दर २.६ प्रति महिला थियो ।
आधा जतिको विवाह किशोर उमेरमै
नेपालमा ४८.९ प्रतिशत विवाहित व्यक्तिहरूको पहिलो विवाह १५ देखि १९ वर्ष बीचमा भएको तथ्यांकले देखाउँछ ।
१४ वर्षमुनीको उमेरमा पहिलो विवाह हुनेहरू ११.५ प्रतिशत रहेका छन् । पचास वर्षको उमेर पार गरिसकेपछि पहिलो विवाह हुनेहरू पाँच हजार ८६ जना रहेको देखिन्छ ।
जनगणना २०६८ अनुसार विवाहित १५ देखि ४९ बर्षका महिलामध्ये १५.९ प्रतिशत महिलाको बच्चा छैन । बच्चा भएका आमा मध्ये २९ प्रतिशतसँग दुई जना, २१ प्रतिशतसँग एक जना सन्तान छ । जन्मको आधारमा वालिका ४७.८ प्रतिशत जन्मेका छन् । गत १२ महिनामा भएको जन्म हेर्ने हो भने ५०.५ प्रतिशत बालकको जन्म भएको देखिन्छ ।
आफ्ना कोखबाट जन्मिएकाको मात्र विवरण लेखाउनु
राष्ट्रिय जनगणना २०७८ मा कम्तिमा एक पटक विवाह भएका महिलालाई हालसम्म कति जिवित जायजन्म भएको सम्बन्धमा प्रश्न सोधिने छ । जिवित जन्म भएका बच्चा मध्ये कति छोरी र कति छोरी भनेर पनि सोधिनेछ, साथै ती मध्ये निधन भएका कति छन् र जीवित कति छन् भनेर पनि सोधिनेछ । एकपटक भन्दा बढी विवाह भएका महिलाका लागि पहिलेका पतिबाट जन्मेका र हालको पतिबाट जन्मेका बच्चाहरुको समेत हिसाब गर्नु पर्दछ भने धर्मपुत्र वा आफूबाट नजन्मेको तर अर्कै आमाको कोखबाट जन्मी हाल आफूसँगै बसेका छोरा छोरीहरु गणना गर्नुृ हुँदैन ।
छोराछोरीको संख्या लेख्दा सम्बन्धित महिलाको कोख÷गर्भबाट जन्मेका छोरा–छोरीको संख्या मात्र उल्लेख गर्नुपर्र्छ । अरुबाट जन्मेको वा श्रीमान्को अर्की श्रीमतीबाट जन्मेका छोराछोरी (परिवारमा भए पनि नभए पनि) वा धर्मपुत्र÷पुत्री समावेश गर्नुहँुदैन ।
जन्मने बित्तिकै निधन भएका बच्चाहरुको समेत गणना गर्नुपर्ने भएकाले यो प्रश्न संवेदनशील पनि छ । गणनाको बेला सम्बन्धित महिलासँग नै यो प्रश्न सोध्न पाएमा यसको विवरण राम्रो आउने कुरामा कुनै विवाद छैन । त्यसैले गणनाको समयमा घरमा सम्बन्धित महिला उपस्थित भएमा सम्भव भएसम्म सम्बन्धित महिलासँग विवरण लिने सहज वातावरणका लागि परिवार मूली वा उत्तरदाताले सहयोग पु¥........................ ............................... याउनु पर्दछ ।
हाम्रो देशको समाजिक परिवेश अनुसार प्रजनन सम्बन्धी प्रश्न अविवाहित महिलालाई सोध्न सहज नभएकाले जायजन्म सम्बन्धी प्रश्न हालसम्म कम्तिमा एकपटक विवाह गरेका महिलाहरुलाई मात्र सोधिन्छ । यस अन्तर्गत विवाहित, विधवा, विवाहपछि छुट्टिएर बसेका महिला र सम्बन्ध विच्छेद भएका महिला सबै पर्दछन् । सम्बन्धित प्रश्नको यथार्थ विवरण दिनु उत्तरदाताको कर्तव्य हो
यसरी थाहा पाइन्छ प्रजनन दर
नेपाली महिलाको वर्तमान प्रजनन दर थाहा पाउन प्रजनन उमेरका, खासगरी १५ देखि ४९ वर्ष सम्मका महिलाबाट गत वर्ष सन्तान जन्मिएका छन् या छैनन्, जन्मिएका भए छोरा वा छोरी के हो सोधिन्छ । यसमा जन्मने वित्तिकै निधन भएका शिशुलाई पनि समावेश गर्नु पर्दछ । ज्यूँदो जन्मिएका भन्नाले जन्मेपछि बच्चा हलचल गरेको, आवाज निकालेको वा अन्य कुनै संकेत दिएको भन्ने बुझिन्छ । यसरी जन्मिएर तुरुन्तै बितेका बच्चाबच्चीको रिपोर्टिङ कम हुनसक्ने र जन्मेकाहरुको संख्या कम हुन जान्छ । मृत्यूको विवरण समेत दिनका लागि सम्बन्धित महिलालाई अनुरोध गरिन्छ ।
बिहे गरेकी छोरी नछुटुन् है !
हालसम्म जन्माएका सन्तानहरुको विवरण दिँदा उत्तरदाताले विशेष गरी विवाह पश्चात अन्तै बसेका छोरीहरुको विवरण दिन छुटाउनु हुँदैन । खासगरी आमाहरुले बिहे गरेर बर्षौं पहिले गएकी छोरीहरुको विवरण नटिपाउने सम्भावना हुन्छ । तर आफूले जन्माएका सबै छोराछोरीको विवरण नबिर्सी टिपाउनु पर्दछ । खासगरी निधन भएका सन्तानहरुको विवरण माग्नु अत्यन्त संवेदनशील विषय भएकोले सो को विवरण दिन आमाबाबुलाई सहज नहुन सक्छ ।
जन्म भएको तुरुन्तै वा केही समयपछि निधन भएका बच्चाहरूको विवरण दिन र लिन छुट हुने सम्भावना बढी हुन्छ । महिलाले जिउँदो जन्म दिई तुरुन्तै वा पछि निधन भएको दुःखद घटनालाई बिर्सन चाहने हुनाले बितेका छोराछोरीको बारेमा प्रश्न सोध्नु संवेदनशील हुन्छ तर प्रजनन र मृत्युसम्बन्धी अध्ययनका लागि यो विवरण अत्यावश्यक हुन्छ ।
जनगणनाबाट प्राप्त यस प्रकारका विवरण अनुसार जन्म हुँदाको लैङ्गिक अनुपात, जन्म दिने औषत उमेर, मातृशिशु अनुपात, कोरा जन्मदर, उमेर विशिष्ट जन्मदर, कूल प्रजनन दर जस्ता विभिन्न प्रजननका सूचकहरु अनुमान गरिन्छ ।
समाजको स्तर मापन प्रजनन दरबाट
प्रजननका सूचकका आधारमा देशको जनसंख्याको बनावट, प्रक्षेपण, वृद्धि, व्यवस्थापन आदि गरिने हुँदा महिलाको प्रजनन सम्बन्धी विस्तृत विवरण राष्ट्रिय जनगणनामा अनिवार्य रुपमा समावेश गरिएको हुन्छ । प्रजनन दर घटेको, महिलाले एक मात्र वा दुईवटा मात्र बच्चा जन्माएको पाइएमा समाज आधुनिकता तर्फ मोडिएको बुझ्न सकिन्छ । यसको विपरित अझै पनि एउटी महिलाले दुईवटा भन्दा बढी बच्चा जन्माउँदैछिन् भने सम्झनुपर्छ– समाजमा अझै महिलाको स्तर कमजोर छ । त्यसकारण प्रजनन दर समाजको मापन गर्ने एउटा महत्वपूर्ण माध्यम हो । राष्ट्रिय जनगणना २०६८ अनुसार महिलाले आफ्नो प्रजनन उमेरमा सरदर दुईभन्दा बढी जिवित सन्तान जन्माएको पाइन्छ ।
उमेर समूह अनुसार महिलाको प्रजनन दरको अध्ययनबाट प्रजननका कारणले महिलामा हुने सकारात्मक र नकारात्मक प्रभाव बारे समेत जानकारी प्राप्त हुन्छ । यसबाट कुन उमेर समूहका महिलामा उच्च प्रजनन क्षमता हुन्छ भन्ने जानकारी पाइन्छ । जनगणनाबाट प्राप्त सूचकहरुकै आधारमा महिला र पुरुषको विवाहका लागि न्यूनतम कति उमेर हुनुपर्छ भन्ने निर्धारण गरेर लागु गर्न समेत सहज हुन्छ ।
यसरी तथ्यांक संकलनको क्रममा सुपरिवेक्षक तथा गणकले सोधेका हरेक प्रश्नको ठिकठिक जवाफ दिएर जनगणनाबाट निस्कने नतिजालाई विश्वसनीय बनाउनु हरेक नागरिकको कर्तब्य हो । यसमा सबैले बुझ्नुपर्ने कुरा के छ भने तपाईंले दिने विवरण गोप्य हुन्छ । त्यो तपाईंकै विवरण हो भनेर पछि कसैले थाहा पाउन सक्दैन । कानुनले नै गोपनीयताको ग्यारेन्टी गरेको छ । त्यसकारण निर्धक्क भएर जनगणनामा सहभागी हुनुपर्छ ।
जनगणना हामी सबैको गणना हो, त्यसैले जनगणनाको विवरण लिन घर घरमा आउने सुपरिवेक्षक तथा गणकलाई ठीकठीक जवाफ दिई, आफ्ना छर छिमेकी, साथीभाइलाई ठिकठिक जवाफ दिन लगाई राष्ट्रिय जनगणना २०७८ को मूल नारा ‘मेरो गणना, मेरो सहभागिता’ लाई सार्थक बनाउनु हामी सबैको कत्र्तव्य हो । सबैले यसो गर्न सके मात्र तपाईं हाम्रो नागरिक कर्तब्य पूरा हुनेछ ।
(इन्द्रबहादुर कार्की केन्द्रीय तथ्यांक विभागको जनगणना शाखाका निर्देशक हुनुहुन्छ )
‘’
