काठमाडौं । काठमाडौंको बानेश्वरस्थित मिलन चोकमा शनिबार बिहानै स्थानीयले डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मी बसेको होष्टलमा घेरा हाले । उनीहरुले होस्टल सञ्चालकलाई समेत गाली गलौज गरी स्वास्थ्यकर्मी नराख्न धम्क्याए ।
स्थानीय बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुदर्शन गौतम, सचिव दिनेश खड्का लगायतकोे टोलीले होस्टेल सञ्चालकलाई धम्याउँदै अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई नराख्न दवाव दिए ।
बानेश्वरस्थित सिभिल अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी राखेका लर्ड बुद्ध बोइज एन्ड गर्ल होस्टेलका सञ्चालक रोहित रानालाई धम्क्याएर उनीहरुले त्यहाँ काम गर्ने डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई मानसीक दवाव दिइरहेका थिए ।
यसरी आउने नबुझेका मानिस थिएनन् । काठमाडौंको केन्द्र बानेश्वरका नगरबासीको भेलाले छानिएका टोल सुधार समितिका संयोजक लगायत मानिस थिए । जसले यस्तो संकटको बेलामा अरुले अप्ठेरो पार्न खोजेपनि स्वास्थ्यकर्मीलाई संरक्षण गर्नुपर्थ्याे उनीहरूनै दुर्व्यवहारमा उत्रिए ।
कोरोना अहिले देशभरि आगो जस्तै फैलिएकाे छ । महामारीबीच आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मी अहिले सामाजिक बहिस्कारको सिकार बन्दै गएका छन् । त्यति मात्र हाेइन कोरोना उपचारका लागि तत्काल अस्पताल स्थापना गर्नुपर्ने चुनौती बढिरहेका बेला स्थानीयले अस्पताल स्थापनामा समेत अवरोध गरिहेका छन् ।
वीरगञ्जको पानीट्यांकीस्थित आशाराम अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाउन खोज्दा स्थानीयले विरोध गरे । बस्तीबीच कोभिड अस्पताल स्थापना गर्दा संक्रमण फैलँनसक्ने भन्दै उनीहरुले विरोध जनाए ।
स्थानीयले निषेधाज्ञाको उल्लंघन गर्दै विरोधमा उत्रिएका कारण केहीबेर तनाव उत्पन्न भएको थियो । सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा नै लिनुपर्याे ।
वीरगञ्जमा समुदायस्तरमा संक्रमण फैलिएको छ । दुई निजी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपनि संक्रमितहरुले समयमा उपचार पाउन अझै सकेका छैनन् । त्यसैले अस्पताल थप्न खोजिएको हो ।
अहिले काठमामाडौं लगायत देशभरि नै स्वास्थ्यकर्मीलाई अप्ठेरोमा पारिँदैछ । उनीहरु बस्ने घर र कोठामा समेत आउजाउ गर्न स्थानीयले प्रतिबन्ध लगाउनेसम्मका हर्कत गरेका छन् । होम आइसोलेशन र क्वारेन्टिनमा बसेका स्वास्थकर्मी र उनीहरुका परिवारलाई समेत मानसिक यातना दिने गरिएको छ ।
चितवनकाे रत्ननगरका मेडिकल सुपरिटेन्डेन्टले पनि दुर्व्यवहार सहनु पर्याे । उहाँकाे त घरमै काेराेना संक्रमितकाे घर भनेरै व्यानर राखिदिए ।
कतिपय ठाउँमा अस्पतालमा उपचार गरिरहेका चिकित्सकलाई समेत कुटपीट गरेका घटना आएका छन् । जसले गर्दा बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मी नै मनोवैज्ञानिक प्रभावमा छन् । यस्तै अवस्था आए स्वास्थ्य सेवा नै प्रभावित हुनसक्ने विज्ञले चेतावनी दिएका छन् ।
देशभरि यस्ता घटना बढ्दै गएपछि राजनीतिक स्तरबाट समेत यसको विरोध भएको छ । राजनीतिक तहबाट गरिएको विरोधले मात्र पुग्ने अवस्था छैन । भोलि स्वास्थ्यकर्मीले नै उपचार नगर्ने अवस्था आयो भने के हुन्छ ?
कोरोनाका हरेक बिरामीलाई माया र संरक्षण गर्नुपर्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउनुहुन्छ । रोगसँग लड्न समुदायको माया र संरक्षणले बिरामीको मनोबल बढ्ने उहाँको भनाइ छ । संक्रमणबाट निको भएकाको रगत पछि संक्रमण हुनेलाई काम लाग्ने भएकाले पनि उनीहरुको महत्व थप बढेको उहाँको भनाइ छ ।
संक्रमितलाई समेत संरक्षण र माया दिनुपर्ने अवस्थामा ती संक्रमतिको उपचार गर्ने स्वास्थ्यकर्मीलाई गर्ने अनुचित व्यवहारले कस्तो असर पार्ला ? भोलि आफू नै बिरामी हुँदा उपचार गराउन जाने ठाउँ चाहीँ कहाँ हो ? त्यसबारे पनि सोच्नुपर्छ । विपद्का बेला मानवीय संवेदना नगुमाऔँ, मानवोचित व्यवहार गरौँ ।
